सही समयमा फिल्मबाट ब्रेक लिएँ, कुनै पछुतो छैन : निरुता सिंह - कुराकानी - कान्तिपुर समाचार

सही समयमा फिल्मबाट ब्रेक लिएँ, कुनै पछुतो छैन : निरुता सिंह 

'भारत मेरो जन्मभूमि हो, नेपाल कर्मभूमि । भारतमा बस्दा हामीलाई नेपाली भन्छन् । नेपालमा आउँदा इन्डियन भन्छन् । हामी चेपुवामा परेका छौं ।'
रीना मोक्तान

काठमाडौँ — अभिनेत्री निरुता सिंहले नेपाली फिल्मबाट 'ब्रेक' लिएको १३ वर्ष भइसक्यो । लामो समय फिल्म क्षेत्रमा सफल रहेकी निरुता आक्कल-झुक्कल पर्दामा देखा पर्छिन् ।

पछिल्लो समय मह संचारले बनाएको फिल्म 'दालभात तरकारी'मा अभिनय गरेकी उनी अनमोल केसीको 'क्याप्टेन' मा पनि देखिएकी थिइन् । हाल भारतको मुम्बई बस्ने निरुतासँग फिल्मबाट ब्रेक तथा कमब्याकको तयारीलगायतका विषयमा रीना मोक्तानले गरेको कुराकानी :

लकडाउन कस्तो बित्यो ?

अचानक घोषणा भएको लकडाउनले 'एन्जाइटी' भयो । अपार्टमेन्टमा म एक्लै । एकदमै आत्तिएँ । काम गर्ने दिदी आउन बन्द भयो । आफैं सामान लिन जाने आफैंले पकाउनु पर्ने भयो । लकडाउनको सुरुवातमा अलिअलि रुघा लागेको थियो । मौसम परिवर्तनले होला भन्ने भयो तर पछि खोकी थपियो । खोकी लगातार लागिरहन्थ्यो । डाक्टर साथीसँग सल्लाह लिएर औषधि लिएँ । त्यतिबेला बल्ल डेंगुबाट तंग्रिएको थिएँ । रुघाखोकीले थला पार्यो । टाउको बेस्सरी दुख्थ्यो, मर्ने खालको दुखाई । लकडाउनको तीन महिना यसरी बित्यो ।

कोरोना पोजिटिभ भएको हो र ?

परीक्षण गरेको भए पोजिटिभ नै आउँथ्यो होला । तर म अस्पताल गइनँ । जबसम्म सास फेर्न गाह्रो हुन्न तबसम्म अस्पताल नजाउ भन्ने डाक्टरको सल्लाह थियो । घरमै औषधि खाएर बसें । बिस्तारै निको भएँ । तर, लकडाउनमा फ्रस्टेसनको उचाइमा पुगेको थिएँ म ।

कसरी ?

मुम्बई सहर चकमन्न सुनसान । झ्यालबाट कुकुर/बिरालोमात्र देख्ने । त्यहीबेला मैले टिकटक बनाउन थालेँ । पहिला त अकाउन्ट भए पनि बनाउँदिन थिएँ । तर लकडाउनमा कति टिभी हेर्ने ? मैले पनि टिकटक बनाएँ ।

टिकटक बनाउन थालेपछि अर्को झमेला । मैले मनपर्ने हिन्दी गीतमा टिकटक बनाएको थिएँ । दर्शकहरुले 'यसलाई हिन्दी गीतमात्र मनपर्ने' भन्दै गाली गर्नुभयो, कतिजनाले त अपशब्द पनि प्रयोग गर्नुभयो । कोभिडको त्यस्तो समयमा यस्ता गालीले झनै तनाव दियो ।

यसरी अपशब्द प्रयोग गर्दा मन दुख्दो हो ?

भारत मेरो जन्मभूमि हो, नेपाल कर्मभूमि । भारतमा बस्दा हामीलाई नेपाली भन्छन् । नेपालमा आउँदा इन्डियन भन्छन् । हामी चेपुवामा परेका छौं । यताको कलाकारले पनि हिन्दी गीतमा टिकटक बनाउनु हुन्थ्यो तर मलाई नै किन गाली गर्नुहुन्छ भन्ने लाग्थ्यो । धन्न इन्डियामा टिकटक बन्द गरिदियो । कलाको जात र धर्म हुँदैन नि । हामी त हिन्दी, नेपाली अंग्रेजी सबै गीत सुन्छौं । तर त्यसैको आधारमा मलाई 'धोती' भनेको मन पर्दैन । एकदमै चित्त दुख्छ । बम्बईमा म नेपाली फिल्मको प्रतिनिधित्व गरिरहेको हुन्छु । मलाई 'प्रवासी' नभनिदिए हुन्थ्योजस्तो लाग्छ ।

यसपालि काठमाडौं आउनुको कुनै खास उद्देश्य ?

नेफ्टा (नेपाल फिल्म टेक्निसियन) अवार्डमा सहभागी हुन आएकी हुँ । प्राविधिकहरुसँग मेरो छुट्टै लगाव छ । प्राविधिककै कारण आज म यहाँ छु । निरुता सिंह बन्नुमा ती प्राविधिकहरुको हात छ । लाइटम्यानदेखि हेयर ड्रेसर सबैले हामीजस्ता कलाकारको सेवा गर्नु भएको छ । उहाँहरुले माया गरेर बोलाउनु भएको छ नआउने कुरै भएन ।

अहिले हातमा कुनै नेपाली फिल्म छ कि ?

'दर्पणछायाँपछि' भन्ने छ । 'दर्पणछायाँ'कै कलाकार उत्तम प्रधानले स्क्रिप्ट लेख्नु भएको छ । एक वर्षअगाडि नै उहाँले स्क्रिप्ट लेख्नु भएको हो । कोरोना नभएको भए हामीले सुटिङ सकिसक्थ्यौं । 'दर्पणछायाँ' जहाँ सकियो त्यहीबाट यसको कथा सुरु हुन्छ । फिल्ममा उत्तमसँगै म र दिलिप रायमाझी नै हुनुपर्छ । यो फिल्म पक्का गर्छु ।

यसको सुटिङ नेपाल र सिक्किममा हुन्छ । जिन्दगीमा अरु फिल्म गर्छु/गर्दिनँ थाहा छैन तर यो फिल्म अवश्य गर्छु । फेरि 'दर्पणछायाँ' हेर्नु भएका ती दर्शकलाई त पक्का यो फिल्म हेर्दा मज्जा आउँछ । जसले हेर्नु भएको छैन उहाँहरुको लागि पनि यो नौलो हुनेछ ।

'दर्पणछायाँ' नक्कल गरेर बनाइएको थियो भन्ने हल्ला छ नि ?

खासमा त्यो चाहिँ बंगलादेशले यस्तै फिल्म बनाएपछि चलेको हल्ला हो । 'दर्पणछायाँ' सन् २००० मा बनेको फिल्म हो । बंगलादेशले २००६ तिर हाम्रै फिल्मको कथा चोरी गरेर फिल्म बनायो । उनीहरुले फिल्मको फ्रेमदेखि संवाद पनि हुबहु चोरी गरेर बनाएको थियो । उनीहरुले अक्कल नपुर्याकइ नक्कल गरेछन् । 'दर्पणछायाँ' नितान्त तुलसी घिमिरेको सिर्जना हो । दिलिप, उत्तम म नयाँ थियौं फिल्ममा । रोनाधोनावाला फिल्म चलिरहेकै बेला नयाँ कथामा यो फिल्म बनेको थियो ।

'दर्पणछायाँपछि'लाई तपाईंको कमब्याक भन्न सकिन्छ ?

कमब्याक त भन्न मिल्दैन । फिल्म क्षेत्रमा प्रवेश गरेको २९ वर्ष भयो मैले । 'दर्पणछायाँ' गरेकै २० वर्ष भयो । फिल्म क्षेत्रमा आफ्नो उपस्थिति देखाउन बेला-बेलामा म फिल्ममा काम गरिरहेकी हुन्छु । यो फिल्मलाई पनि त्यसकै भागको रुपमा लिनुपर्छ ।

कमब्याक नै नहुने हो कि फिल्मको अफर नआउने हो ?

कमब्याक भएर निरन्तर काम गर्ने अवस्था छैन अहिले । त्यो अब हुँदा पनि हुँदैन । समयको परिवर्तनलाई स्विकार्नुपर्छ मैले । त्यो बेला एक दशक पूरा इन्डस्ट्रीमा सक्रिय रहें । मेरो पोस्टर हेरेरै पनि फिल्म हेर्न आउँथे दर्शक । हिरोइनको नामैले फिल्म बिक्ने पहिलो कलाकार म नै थिएँ । तर, त्यो समय बितेर गयो । अहिले नयाँ कलाकार धेरै आउनु भएको छ । कमब्याक भएर पहिलाको जस्तै काम गर्छु भन्ने नहोला । हो मभित्र अभिनयको किरो छ । यो इन्डस्ट्रीदेखि अलग हुने सोच्न सक्दिनँ । क्यामेराको अगाडि नै मर्न पाउँजस्तो लाग्छ । तर, वर्षमा एकपटक पर्दामा देखिएर दर्शकको माया बटुल्न चाहन्छु।

फिल्मको अफर आयो भने त गर्नुहुन्छ ?

अब अफर आयो भन्दैमा जुन पायो त्यही गर्न मिल्दैन । तर मलाई राम्रो लाग्यो भने म गर्छु । मेरो उमेर र चरित्र फिट हुने भूमिका आयो भने त्यस्तो फिल्म गर्छु ।

तपाईंले फिल्मबाट ब्रेकचाहिँ किन लिनु भएको थियो ?

त्योबेला जो पनि हिरो-हिरोइन बन्ने । सुटिङ हेरेकै भरमा निर्देशक हुनेहरु थिए । उनीहरुले इन्डस्ट्रीलाई ऐयासीको अखडाको रुपमा लिन्थे । फिल्म गरे हिरोइन पाइहाल्छ, घुम्न पाइहाल्छ भन्नेखालको वातावरण थियो । मलाई त्यो देख्दा एकदम चित्त दुख्थ्यो । हामीले त पूजा गर्ने ठाउँ हो यो । तर, कलाको यस्तो क्षेत्रलाई ऐयासीको अखडा बनाएको देखेपछि यो माहोल मेरो लागि होइन भन्ने भयो ।

फिल्म क्षेत्रको यस्तो बदनामी मैले हेर्न सकिनँ। मैले त्यसबारे बोल्दा होइन निरुता भयंकर भई भन्दै मलाई फिल्ममा नलिने राजनीति भयो । यस्तो लफडामा पर्नु भन्दा बाहिरै बस्छु भनेर ब्रेक लिएँ । मैले सही समयमा सही निर्णय लिएँ, त्यसमा मलाई कुनै पछुतो छैन ।

अहिले फिल्म इन्डस्ट्रीमा कस्तो परिवर्तन देख्नुहुन्छ ?

अहिले त मलाई एकदम खुसी लाग्छ । पढेको कलाकार आउनु भएको छ । निर्देशकदेखि प्राविधिकहरु पनि निकै राम्रो काम गरेको देख्छु । अहिले त प्राविधिक रुपले पनि इन्डस्ट्री माथि उक्लेको छ । अहिले त नेपाली फिल्मको क्वालिटी धेरै बढेको छ ।

तपाईं फिल्म निर्माण र निर्देशनमा आउने कुरा थियो । कहाँ पुग्यो कुरा ?

फिल्म निर्देशन नै गर्ने त सोचेको छैन । खासमा निर्देशकलाई सबै कुरा थाहा भएको हुनुपर्छ । क्ल्याप गर्न नजानेको व्यक्ति नै निर्देशक भएर पनि यो क्षेत्र बिग्रेको हो । सिकेर आउनु पर्यो । केही काम नपाएर निर्देशनमा आउनु त फलदायी हुँदैन । फिल्म क्षेत्रजस्तो पवित्र ठाउँ अरु कुनै छैन । फिल्म मेकिङमा आउने सोच छ । तर, समय लाग्छ अझै ।

बलिउडमा तब्बु, काजोलजस्ता कलाकारका लागि फिल्म लेखिँदा नेपालम निरुताकै लागि किन स्क्रिप्ट लेखिएनजस्तो लाग्छ ?

तब्बु/काजोलले गरिरहेको फिल्म हेर्दा मलाई पनि किन मेरा लागि त्यस्तो स्क्रिप्ट लेखिएन जस्तो लाग्छ । मभन्दा बढी उमेरकोले फिल्म गरिरहेको देख्दा हामीलाई लिएर पनि फिल्म बनाइदिए हुन्थ्यो भन्ने हुन्छ । उनीहरुको क्यारेक्टरसँग धेरै दर्शकले आफूलाई रिलेट गरिरहेको हुन्छ । तर, खोइ नेपालमा त्यस्तो फिल्म बन्दैन । स्क्रिप्ट नै लेखिँदैन ।

पर्दामा 'हिरोइन'को आयु कम हुन्छ । किन यस्तो भएको होला ?

यो विषयमा म आफूलाई एकदम भाग्यशाली ठान्छु । हिरोइनको अधिकतम आयु ७ देखि ८ वर्ष हुन्छ । तर, मैले झन्डै १० वर्ष काम गरें । मैले 'दाल भात तरकारी'मा आएर आमाको भूमिकामा अभिनय गरें । मेरो अन्तिम फिल्म 'फर्की आउ' भन्नेसम्म पनि हिरोइन भएर काम गरें । यो मामिलामा हलिउड ठीक छ । त्यहाँ त झन उमेर बढ्दै गयो त्यस्तै चरित्रमा फिल्म बन्छ । हाम्रोमा पनि बन्दै जालान् ।

मुम्बईमा अहिले पनि प्रोडक्सन हाउसममै काम गर्दै हुनुहुन्छ ?

पहिला वाइस्टार भन्ने प्रोडक्सन हाउसमा काम गर्थें । त्यहाँ छोडेर अर्को प्रोडक्सन हाउसमा काम गर्दै थिएँ । त्यो मेरै साथीको श्रीमान्‌को थियो । तर कोभिडले साथीको श्रीमान बित्यो । अहिले त अधिकांश प्रोडक्सन हाउस बन्द भएको छ । त्यसैले अहिले म त बेरोजगार छु ।

मुम्बईमा धेरै समय बिताउनुभयो । अभिनयतिर लागौं भन्ने लागेन ?

मलाई धेरैचोटी एकदम राम्रो फिल्महरुको अफर आएको थियो । कति कुरामा भाग्य पनि जोडिँदो रहेछ । वाइस्टारबाट 'द एनिमल' भन्ने फिल्म गर्ने कुरा थियो । फिल्ममा प्रमुख भूमिका पाएको थिएँ। नेपालमा सुटिङ गर्ने तयारी थियो । तर के समस्या आएर काम अगाडि बढेन। त्यसरी धेरै प्रोजेक्ट रोकियो । मलाई त्यता नेपालको नम्बर वान आर्टिस्ट मान्छन् । त्यहाँ शून्यदेखि संघर्ष गर्न सक्दिनँ म ।

अडिसन दिएर काम गर्नु छैन मलाई । कसैले मलाई अफर गर्‍यो भने म फिल्म गर्छु । बलिउडमा स्थापित कलाकारलाई पनि गाह्रो छ । आज एउटा फिल्ममा काम गरेको कलाकारलाई अर्को काम के हुन्छ थाहा छैन । त्यहाँ आ-आफ्नै गुट छ । मलाई मेरो काम, प्रतिभाको हिसाबले फिल्मको अफर आयो भने ठीक छ । मैले नेपालमा जत्ति नाम कमाएको छु त्यो काफी छ ।

प्रकाशित : फाल्गुन २९, २०७७ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्

पहिलो महिला प्याराग्लाइडर त्रिशा भन्छिन् : आँट्नु नै ठूलो कुरा हो

रीना मोक्तान

काठमाडौँ — पहिलो प्याराग्लाइडिङ पछि त्रिशा श्रेष्ठ दोस्रोपटक आकाशमा उड्दिनन् भन्ने पक्का थियो । पहिलो उडानमै झन्डै बेहोस् भएकी उनले दोस्रोपटक उड्ने सोचुन् पनि कसरी ! प्रेमी राजेश बोम्जनसँगै आकाशमा उड्दै गर्दा उनलाई कैयौंपटक बान्ता भयो । ल्यान्डिङसम्म त शिथिल शरीरमा ठीकसँग उभिन पनि सकेकी थिइनन् । प्याराग्लाइडिङले बिरामी बनाइदिएको त्रिशालाई सम्हाल्न प्रेमी बोम्जनलाई हम्मेहम्मे पर्‌यो ।

आज उनै त्रिशा आकाशमा प्यासेन्जरलाई लिएर उडान भर्छिन् । भुइँ छोडेर बादलको बीचमा उड्दै गर्दा प्यासेन्जरको अनुहारमा देखिने खुसीले उनलाई उत्साहित बनाउँछ । १५ वर्षअगाडि आकाशमै बिरामी भएकी उनका लागि अहिले आकाशमा उड्नु एक किसिमको लत नै बनिसक्यो ।

नेपालको पहिलो महिला सोलो प्याराग्लाइडिङ पाइलट त्रिशा पाँच वर्षयता ट्याण्डम(दोस्रो व्यक्तिसहित) पनि उडाउँदै आएकी छिन् ।

पहिलो उडानमै 'मोसन सिक्नेस'को सिकार भएकी त्रिशाले कसरी उड्न मनपराइन् त ?

१६ वर्ष अगाडि राजेशसँग उनको भेट भयो । त्यतिबेला उनी ग्राफिक डिजाइनर भएर पोखराको एडभर्टाइजिङमा काम गर्दै थिइन् । राजेश आफ्नो प्याराग्लाइडिङ कम्पनी सनराइज प्याराग्लाइडिङको बोर्ड बनाउन उनको अफिस पुगे । त्यही बेला उनले प्याराग्लाइडिङबारे पहिलो पटक थाहा पाइन् । बोम्जन प्याराग्लाइडिङको पाइलट रहेको पनि जानिन् । त्यही भेटबाट उनी दुईबीच प्रेम झांगियो । प्रेम सम्बन्धमा रहेकै बेला बोम्जनसँग प्याराग्लाइडिङ गर्दा उनी बिरामी परेकी थिइन् । डेढ वर्षको प्रेम सम्बन्ध विवाहमा परिणत भयो ।

बिहेपछि नै हो त्रिशाले प्याराग्लाइडिङ थालेको । बिहेपछि उनले ग्राफिक डिजाइन छोडिन् । घरमा बस्दा-बस्दै दिक्क लागेपछि एकदिन श्रीमान बोम्जनलाई जिस्केर भनेकी थिइन्,'प्याराग्लाइडिङ पो सिक्नुपर्छ कि, घर बसेर के गर्नु ?'

राजेशले पनि उनलाई 'कोसिस गरी हेर' भने । तालिममा सहभागी भइन् । त्यसपछि उनलाई थाहा भयो तालिममा एकजना भारतीयबाहेक उनीमात्रै महिला रहेछन् । १० दिनको सैद्धान्तिक अध्ययनपछि पनि उनमा उड्ने आत्मविश्वास थिएन । मोसन सिक्नेसले गाह्रो बनाउँथ्यो । तर सिकेरै छोड्छु भन्ने उनको अठोटले उनलाई उडानको अभ्याससम्म पुर्‌यायो । 'सुरुमा एक्लै उड्दा डर लाग्थ्यो । लामो फ्लाइट गर्दा टाढा-टाढा झर्नुपर्छ,' उनले सिकाइका दिन सम्झिन्,'हामीसँग प्रयोगात्मक अनुभव हुँदैन त्यतिबेला । सुरुमा त उडिरहँदा पनि के हुन्छ भनेर हामीलाई थाहै हुँदैन ।'

वाकीटकीमा इन्स्ट्रक्टरको निर्देशनकै आधारमा टेकअफ र ल्याण्डिङ हुन्थ्यो । डरले मनको ढुकढुकी बढ्थ्यो । पूरा भरोसा इन्स्ट्रक्टरमा राखेरै १० मिनेटको पहिलो उडान भरिन् त्रिशाले । त्यो पहिलो उडान उनी कहिल्यै बिर्सनँ सक्दिनन् । 'जबसम्म जमिनमा आफ्नो खुट्टा पर्दैन तबसम्म कामेको काम्यै हुन्थ्यो । दिमाग ब्रेकमै भएर होला खासै बान्ता आएन,' उनले भनिन्, 'पहिलो फ्लाइटपछि 'मैले गर्न सकेँ' भन्ने अनुभव भयो ।'

अभ्यासले नै डरमा आत्मविश्वासको पंखा जोडिन थाल्यो । उडानमा आत्मविश्वास बटुलिन् । त्यसपछि त्रिशाले सोलो प्याराग्लाइडिङको उडान सुरु गरिन् ।

'मैले गर्छु होला भन्ने मलाई नै थाहा थिएन । हावा तालमा सिक्न गएँ । यहाँसम्म आइपुग्छु भन्ने सोचेको थिएन, 'त्रिशा भन्छिन्,'मेरो बुबाले त तालिम लिएर त्यतिकै छोड्छ होला भन्ने सोच्नु भएको थियो ।'

सोलो प्याराग्लाइडिङ सिकेपछि पाँच वर्ष उनी निरन्तर उडिन् । साथीहरुसँग सोलो उडान भर्दै टाढा-टाढा पुग्थिन् उनी । त्यतिबेला केबल रमाइलोका लागि उड्थिन् । एक्लै उड्नेहरुले पोखराको आकाश बुट्टेदार बनाउँथ्यो, त्यो माहोल निकै सम्झिन्छिन् । उनीसँग आकाशमा ६ घण्टासम्म सोलो उडान गरेको अनुभव छ । 'सोलो उड्ने पाइलटहरुसँगै ४० किलोमिटर परसम्म पुगेर आउँथ्यौं । हामी सराङकोट, लुम्ले,पञ्चासे पुग्दै ल्यान्डिङ पामेमै ल्यान्डिङ गर्न आइपुग्थ्यौं । टाढा-टाढा उड्दा एकदमै रमाइलो हुन्थ्यो ।'

सोलो उडानकै बीचमा उनी गर्भवती भइन् । ग्लाइडरको सहारामा स्वतन्त्र भएर उड्ने काम बन्द भयो । तर, त्रिशालाई उडानको बानी परिसकेको थियो । त्यसैले छोरी जन्मेको ६ महिनामै उनी फेरि आकाशमा फर्किन् । 'श्रीमान्‌ले बच्चा हेर्नुहुन्थ्यो । म उडेर आउँथे,' पुराना दिन सम्झिँदै उनी भन्छिन्,'हामी नेपालीलाई दालभात नखाँदा कस्तो हुन्छ । हो प्याराग्लाइडिङ मेरा लागि त्यस्तै भइसकेको थियो ।'

ट्याण्डम प्याराग्लाइडिङ

छोरी जन्मेको २ वर्षपछि उनले ट्याण्डम उड्ने निधो गरिन् । आफूसँगैका साथीहरुले ट्याण्डम सुरु गरिसकेको थियो । उनीहरुले ट्याण्डम उडाएको देख्दा उनलाई ईर्ष्या लाग्थ्यो । त्यसमाथि ट्याण्डम व्यवसायिक थियो । 'आफैं किन आत्मनिर्भर नबन्ने ? अरुसँग मागिरहनु त पर्दैन' भन्ने लाग्यो उनलाई ।

ट्याण्डम गर्नेबारे श्रीमान्‌सँग कुरा राखिन् । राजेशले नानी सानै रहेको भन्दै केही समय कुर्न भने । तर उनको जिद्दीको अगाडि राजेशको केही लागेन । उनले ट्याण्डम तालिम लिइन् र दोस्रो व्यक्तिलाई लिएर आकाशमा उड्न थालिन् । त्यसमा श्रीमान् बोम्जन र सासूको साथ पाइन् । 'सासू लेकसाइडको हुनुभयो । तँलाई गर्न मन लाग्छ भने गर् भनेर साथ दिनुहुन्थ्यो । कुनै रोकटोक गर्नुभएन,' उनी भन्छिन् ।

परिवारले साथ दिएकै कारण व्यवसायिक रुपले पाँच वर्षयता ट्याण्डम प्याराग्लाइडिङ गर्दै आएको उनी सुनाउँछिन् । 'श्रीमान्‌ले साथ नदिएको भए यहाँसम्म आउन सक्दिनथेँ । उहाँले गर्दा नै म यहाँसम्म आएको छु,' त्रिशाले भनिन् ।

अहिले उनी ट्याण्डम उड्दै गर्दा सकेसम्म प्यासेन्जरकै खुसी खोज्छिन् । आकाशमै कोही बिरामी पर्‌यो भने आफ्नो पहिलो फ्लाइट सम्झिन्छिन् । आकाशमा उड्दै प्यासेन्जरले 'म पनि उडेँ' भन्दै खुसी हुँदा त्रिशा झनै उत्साहित बन्छिन् । दिनमा चार जनासम्म प्यासेन्जरलाई उडाउने त्रिशा अहिले पनि उत्तिकै सक्रिय छिन् । कोरोना महामारीले गर्दा अहिले पर्यटक कम छन् । तर, अहिले पनि आन्तरिक पर्यटकलाई लिएर उडिरहन्छिन् । आकाशमा उड्नु सजिलो छैन । तर त्यो बेला आफ्नो आँटले नै यो साहसिक खेलमा आफू जोडिएको त्रिशाको भनाइ छ ।

'केही भइहाल्यो भने भन्ने डर त भइहाल्छ । तर पनि त्यो बेला आँटेर गर्नु नै ठूलो कुरा थियो,' उनले भनिन् ।

प्रतिस्पर्धामा सधैं अगाडि

३ वर्षअगाडि इन्डोनेसियामा भएको एसियन गेम्समा महिला प्याराग्लाइडिङ पाइलटको रुपमा प्रतिस्पर्धामा उनी पुगेकी थिइन् । नेपालका लागि केही पदक जित्न नसके पनि त्यहाँबाट धेरै कुरा सिक्न पाएको उनी बताउँछिन् । त्यसो त नेपालमै हुने विभिन्न प्रतियोगितामा उनले कहिल्यै हार्नु परेन ।

२ वर्षअगाडि पोखरामा त्रिशाले स्वर्ण पदक प्राप्त गरिन् । ८ जना महिलालाई पछि पार्दै उनले प्रतिस्पर्धा जितेकी थिइन् । महिला मात्र होइन पुरुषहरुसँगको 'क्रस कन्ट्री' प्रतियोगितामा पाँच पटक विजेता भएको सुनाउँछिन् त्रिशा । 'प्रतिस्पर्धा जित्दा त महिलाले पनि गर्न सक्छन् सबै कुरा भन्ने अनुभव हुन्छ । यो साहसिक क्षेत्रमा अहिले महिलाहरुको आकर्षण बढेको छ,'उनले सुनाइन्,'मैले गर्न सक्छु भने अरु महिलाले पनि उडाउन सक्छ जस्तो लाग्छ ।'

प्याराग्लाइडिङ साहसिक पेसा त हो नै, त्यससँगै जोखिमपूर्ण पनि छ । सोलो उड्न थाल्दाको एउटा दुर्घटना उनको मानसपटलमा ताजै छ । फागुनको महिना हावा बेस्सरी चलेको थियो । त्यो बेला उनले आफ्नो वजनभन्दा १० किलो बढी ग्लाइडर लिएर उडेकी थिइन् । उड्दै गर्दा हावाले धकेलिएर उनी एउटा रुखमा ल्याण्डिङ गर्न पुगेकी थिइन् । रुखमा तीन सकेण्ड जति अड्किइन् । त्यसपछि गाउँका भाइहरु बोलाएर रुख काटेर ग्लाइडर निकालिन् । 'त्यो मेरो पहिलो दुर्घटनाको अनुभव थियो,' ३२ वर्षीया त्रिशाले सुनाइन् ।

काठमाडौंमा हुर्केकी त्रिशा अहिले पोखराकी लिडिङ प्याराग्लाइडर हुन् । बिहेपछि परिवारकै साथ पाएर आकाशमा उडिरहेकी त्रिशा महिला सशक्तीकरणको एक उदाहरण हुन् ।

प्रकाशित : फाल्गुन २४, २०७७ १७:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×