‘त्यतिबेला हरेक पुरुष मुलुकी ऐन बोकेर हिँड्थे’- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘त्यतिबेला हरेक पुरुष मुलुकी ऐन बोकेर हिँड्थे’

आमाले ‘तँ न्यायाधीश भएपछि खोजेर भए पनि न्याय ल्याएर दिनुपर्छ’ भन्नुहुन्थ्यो, त्यही वचन सम्झेर काम गरेँ ।
दीपक सापकोटा

नेपालकै पहिलो महिला न्यायाधीश हुन् सत्यभामा माथेमा (८४) । त्यति मात्रै होइन, संघर्षहरुको जिउँदोजाग्दो दस्ताबेज नै हुन्  । छोरीले पढ्नै नपाउने समयमा न्यायाधीश बन्न उनले गरेको दुःख हिजोआजका चेतनासम्पन्न महिलाका लागि समेत विशाल प्रेरणाको स्रोत हो ।

काठमाडौंमा जन्मेहुर्केकी उनी न्यायसेवामा लागेपछि देशका विभिन्न जिल्ला पुगिन् । यसक्रममा महिलामाथि अन्यायका अनेक रुप र रंग देखिन् । २०२४ सालमै कानुनमा स्नातक सत्यभामा २५ वर्षअघि न्यायसेवाबाट निवृत्त भइन् । उनीबारे पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भन्छिन्, ‘सत्यभामा निष्ठावान्, इमानदार र अनुभवी महिला हुनुहुन्छ । त्यो समयमा अन्य पुरूषले ओगटेको स्थानमा महिला पुग्नु चानचुने सफलता होइन ।’

सत्यभामाको परिचयको आयाम यतिमै सकिँदैन । नेपालभाषी कविता–संग्रह ककःचा (तीते करेला) र उपन्यास इलं ख्वाःगु जीवन (समयले घचेटेको जीवन) उनकै सिर्जना हुन् । यति बेला उनी पुराना कविता, पारिजातसँगको संगत र न्यायालयका दिन सम्झँदै छिन् । खुसीबुँस्थित निवासमा उनीसँग दीपक सापकोटाको संवाद :

यो वर्ष न्यायालयका लागि निकै सकसपूर्ण रह्यो, कि कसो ?

यो वर्ष न्यायालय सकसपूर्ण अवस्थाबाटै गुज्रियो । प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेर पुनःस्थापना गर्‍यो । अदालतले त्यही नै गर्नुपर्थ्यो । तपाईंको प्रश्नझैं पुनःस्थापनाको मामलामा प्रधानन्यायाधीशलाई सकसै पर्‍यो । प्रधानन्यायाधीश प्रधानमन्त्रीबाट प्रभावित नै थिए । तर, अन्ततः जनताको आवाजको जित भएको छ । खुसी छु ।

व्यक्तिगत जीवनमा चाहिँ कत्तिको खुसी हुनुहुन्छ ? बुढ्यौलीका दिन कसरी बित्दै छन् ?

केही दुःखकै घटना घटे पनि दुःखी भएर बस्ने बानी छैन । साधारण जीवन बिताउँछु, दुःखका घटना बिर्सने प्रयास गर्छु । त्यसैले जीवनसँग खुसी नै छु, गुनासो छैन । अचेल अखबार पढ्छु, कविता लेख्छु, टीभीमा समाचार हेर्छु, अल्छी लागे स्वेटर बुन्छु । नत्र दिनैभर बार्दलीमा बसेर सहर हेर्छु ।

बार्दलीबाट देखिने सहर उहिले र अहिले उस्तै छ ?

छैन । सहर घरैघरको बन्यो । यसले आफ्नो क्यारेक्टर गुमायो । यसको अनुहार फेरियो । बाल्यकालको मेरो सहर आँखैअघि कुरूप बन्यो ।

तस्बिरहरु : सन्जोग मानन्धर

यो सहरको कुन मौसम तपाईंलाई प्रिय लाग्छ ?

ग्रीष्म मेरो प्रिय ऋतु हो । बर्खायामको हावाहुरी, चट्याङ मलाई अत्यासलाग्दो लाग्छ ।

कवि र उपन्यासकारहरू यस्तै अत्यासलाई सिर्जनामा उतार्न माहिर हुन्छन् नि, होइन ?

म पहिल्यैदेखि कविताप्रति आकर्षित छु । तर, कवितामा तुकबन्दी मनपर्दैन । कविता मेरो खास साथी हो । मनमा केही आँधीबेहरी आउँदा त्यसलाई कवितामा उतार्छु ।

तपाईंले पछिल्लोपटक पढेको सुन्दर कविता–संग्रह कुन हो ?

हिजोआज संग्रह नै पढिहालेको छैन । तर, पारिजातको ‘मानुषी’ कविता हिजै मात्र पढें । मलाई उनको कविता मनपर्छ किनभने ती कविता भावनाप्रधान हुन्छन् । भाषा मीठो हुन्छ । ऊबेलाका कथा उनका कविताका कच्चा पदार्थ हुन् ।

पारिजातसँग त तपाईंको लामै उठबस भयो क्यारे !

पारिजातसँग मेरो लामै उठबस भयो । एकपटक उनी असाध्यै निरास थिइन् । उनले आफ्नो फोटोमा केही लेखेर मलाई दिएकी थिइन् । उनले लेखेकी थिइन्, ‘म एकदमै निरास छु । जीवनबाट गलेकी छु ।’ पारिजात मलाई ‘हाकिम’ भन्थिन् । मेरो छोरा र सुकन्या वाइबाको छोरा दौंतरी थिए । छोरालाई एक दिन मैले पारिजातकै घरमा निकै हपारें । पारिजातले भनिन्– तँ मिल्ट्रीको शासन चलाउँछेस् ? बच्चालाई त्यसरी गाली गर्नुहुन्छ ? तँलाई हाकिम भएर अरूलाई अर्डर गर्ने मात्रै बानी छ कि कसो ? त्यसपछि म उनका लागि सधैंको ‘सत्य’ बाट ‘हाकिम’ भएँ ।

पारिजात र तपाईंका लागि यो सहरमा कुन कुना प्रिय थियो ?

पारिजात पद्मकन्या क्याम्पस पढ्थिन् । उनकी बहिनी सुकन्या र म नेसनल कलेजको नाइट क्लास पढ्थ्यौं । कक्षा नभएका बेला हामी तीनै जना टुँडिखेल घुम्न जान्थ्यौं । साँझको टुँडिखेल अद्भुत हुन्थ्यो । आँखा चिम्लेर हामी खरीको बोट छुन अघि बढ्थ्यौं । खुट्टाका पाइला बाङ्गा हुँदै जान्थे ।

खरीको बोट छुने प्रयास असफल हुन्थ्यो । हामी हाँस्थ्यौं, जिस्किन्थ्यौं । गीत गाउँथ्यौं । त्यसबेला टुँडिखेल निकै स्वच्छ, सफा र सानदार थियो । पर्खाल पनि लगाइएको थिएन । छेउको रत्नपार्क बनिसकेको थिएन । सुरक्षाका लागि सेना थिएन । अहिले त टुँडिखेल कुरूप बन्यो । हाम्रा ती प्रिय दिनको साक्षी खरीको बोट पनि काटियो । टुँडिखेल मात्र होइन, मेरो सहर पूरै फेरियो ।

यो सहरमा तपाईंले गुमाएको सबैभन्दा प्रिय कुरा के हो ?

मेरी आमा । आमालाई अन्तिम समयमा यो सहरबाट पोखरा लगें । आमा उतै बित्नुभयो । दाहसंस्कार आफैं गरें । सम्झनामा मेरो सहर काठमाडौं निकै सुन्दर र स्वच्छ थियो । अहिले सहरले त्यो स्वच्छता पनि गुमायो ।

आफू नहुर्कंदासम्म हरेकका लागि आफ्नी आमा विश्वविद्यालय नै हुन् । तपाईंको शिक्षामा चाहिँ आमाको भूमिका कस्तो रह्यो ?

मलाई जीवनमा पढलेख गर्न सिकाउने पहिलो शिक्षक आमा नै हुनुहुन्थ्यो । म ओमबहाल, काठमाडौंमा जन्मिएँ । त्यतिबेला छोरीहरूलाई पढ्न गाह्रो थियो । ५ कक्षासम्म पढ्दा आमालाई म स्कुल जान्छु भन्ने थाहा थिएन । माइतीमा (माथेमा खलक, म माइतीकै नाम राख्छु) दिदीहरूलाई बाहुन राखेर नेपाली पढ्न सिकाइएको थियो । त्यहीबेला आमाले अंश पाउनुपर्ने कुरा आयो ।

आमाको शेषपछिको सम्पत्ति मेरो नाममा आयो । सम्पत्ति पाएपछि हामी बुबाको खलकभन्दा टाढा मामाघरमा आएर बस्यौं । त्यतिबेलासम्म पढ्न जानेको थिइनँ । नेपाली पढ्न भने आमाले नै सिकाउनुभएको हो । महिलालाई नेपालीचाहिँ पढाइन्थ्यो । सानैमा राहुल सांकृत्यायनको ‘जिन्दगीको बदलो’ भन्ने किताब पढ्ने मौका पाएकी थिएँ । किताबले मेरो विचार बदलिदियो पनि ।

२००४ सालतिरको कुरा हो– शान्ता श्रेष्ठ, सहाना, साधना प्रधानहरू प्लेकार्ड बोकेर जिन्दावाद भन्दै हाम्रो स्कुलमुनि आउनुभयो । हामीलाई त्यो हेर्नै दिइएन । किन कराए, केका लागि कराए, हामीलाई केही थाहा थिएन । यति पनि हेर्न नदिएको भनेर म र मेरो साथीले ‘आ यो स्कुल नपढ्ने’ भनेर छाड्यौं । एक दिन खेल्दैखेल्दै कन्या मन्दिर (न्ह्योखा) पुग्यौं । यसो हेर्‍यौं, कुनै कक्षा पाटीमा पढाइरहेको छ, कुनैलाई कोठामा । कृष्ण श्रेष्ठ भन्ने शिक्षक हुनुहुन्थ्यो । उहाँले तिमीहरू पनि पढ्ने हो भनेर सोध्नुभयो । त्यतिबेला भर्खरै महिलालाई पढाउन सुरु भएको थियो । हामीले पढ्ने भन्यौं । हामीसँग पैसा, कापीकलम केही थिएन । तैपनि भर्ना गरिदिनुभयो ।

छोरी मान्छेको उमेर नपुग्दै विवाह हुने समय थियो त्यो । यस्तोमा तपाईं कसरी पढिरहन पाउनुभयो ?

आफ्नै आमाबाट म एक्ली सन्तान हुँ । मेरा तीन जना आमा । आमाहरूका छोरी तीन जना र छोरा ६ जना । मेरी आमा छोरीहरूले पढून् भन्ने नै चाहनुहुन्थ्यो । तर, पढ्न केही न केही समस्या पर्ने । मेरो केटाकेटीदेखिको साथी शंकरमाया र म सँगसँगै पढेका हौं ।

५ कक्षामा छँदा मामाघरमा मामाले मैले पढेको भनेर सबै किताब च्यातिदिनुभयो । म रातभरि खुब रोएँ । ती किताब धेरै दुःखले पाएको थिएँ । पैसा थिएन । एसएलसी १६ सालमा प्राइभेट दिएँ । थर्ड डिभिजन आयो, हिसाबमा ३० मात्र ल्याएकी रहेछु ।

कलेजमा शुल्क कति लाग्थ्यो ?

आईए र बीए आर्टस् पढेकी हुँ । मासिक १० रुपैयाँ तिरेर बीए (स्नातक) पास गरें, ८ रुपैयाँमा आईए । कानुन पढ्दाचाहिँ १२ रुपैयाँ शुल्क थियो । दरबार स्कुलमा रात्रि कक्षामा कानुन पढेकी हुँ ।

कानुनतिर कसरी आकर्षित हुनुभयो ?

म सानैदेखि अदालतको बहस र पेसीमा जान बाध्य थिएँ । २००४ सालदेखि २४ सालसम्म २० वर्ष मुद्दा–मामिला खेप्नुपर्‍यो । आमाको अंश मैले पाउन धेरै संघर्ष गर्नुपर्‍यो । सौतेनी दाजुभाइ छोरीले अंश पाउँदैनन् भन्थे । अंश बाँडफाँड हुँदा ब्याइते र ल्याइते आमाका सन्तानबीच विभेद थियो । ल्याइतेले कम सम्पत्ति पाउने भए । बाबु–दाजुले हामी छोरा हुँदाहुँदै छोरीले आमाको अंश पाउनुहुन्न भनेर मलाई नदिन खोजेका थिए ।

त्यही ल्याइते र ब्याइतेको विभेदले नै तपाईंलाई कानुन पढ्न उक्सायो ?

हाम्रो खलकमा ‘धर्मपत्र’ भन्ने एउटा लिखित दस्ताबेज थियो । जसअनुसार छोरीबेटीले जग्गा–जमिनमा दाबी गर्न पाउँदैनथे, खास गरी मधेसको । त्यसैलाई देखाएर मलाई सम्पत्तिबाट वञ्चित गर्न खोजिएको थियो । हरिप्रसाद प्रधान शक्तिशाली प्रधानन्यायाधीश हुनुहुन्थ्यो । उहाँलाई बीपी कोइरालाले नेपाल ल्याउनुभएको थियो । उहाँकै आदेशमा मलाई दाइ–बुबापट्टिबाट पढाइ खर्च भनेर दुई सय रुपैयाँ दिनुपर्ने भयो । म कहिले त निवेदन नै नलेखी ठाडै उहाँको इजलासमा जान्थें ।

मुद्दा चल्दै जाँदा म कानुनतर्फ आकर्षित हुँदै गएँ । कानुन पढेपछि सबै कुरा जानिन्छ भन्ने मेरो बुझाइ थियो । त्यसैले बीए पास गरेपछि बीएल पढ्न गएँ । मुद्दा खेपेको २० वर्षपछि हाम्रो जित भयो । जग्गाको धानचामल आउँथ्यो, सबै मामाघरमा सकिन्थ्यो । धर्मपत्र घरायसी कागजात मात्रै हो भन्ने ठहरपछि मैले आमाको ‘अपुताली’ पाएकी थिएँ ।

२०२४ सालमा कानुनको पढाइ सकेँ । त्योभन्दा अगाडि पैसाको खाँचो भएकाले मदन मेमोरियलमा पढाएँ । भूगोल विषय पढाउथेँ । त्यहाँ पढाउन पारिजातले लगेकी थिइन् ।

महिलालाई जागिर खान कति सहज थियो ?

२०२४ सालमा कानुन मन्त्रालयमा जागिर थाल्दा म गजेट सम्पादन गर्नेमा परेकी थिएँ । जागिरका लागि लिइएको अन्तर्वार्तामा मलाई ‘तपार्इंलाई बाहिर पठाउनुपरे तपाईंको परिवारले दिएन भने के गर्नुहुन्छ ?’ भनेर सोधिएको थियो ।

‘सर्भिसमा आएपछि कर्तव्य पूरा गर्नैपर्छ, जता पठाए पनि तयार छु’ भनेकी थिएँ । त्यतिबेला मन्त्रालयमा इन्दिरा राणा र म मात्र महिला अधिकृत थियौं । दुवैले लोकसेवा पास गर्‍यौं । मन्त्रालयमा ५–६ महिना बसेपछि सर्वोच्च अदालतको फाँटमा सरुवा भएँ । त्यसपछि बेन्च असिस्टेन्ट भएँ ।

कानुनका महिला कर्मचारीलाई कसरी हेरिन्थ्यो ?

म ठाडै बोल्ने भएर होला, त्यति भेदभाव गरिएन । एकपटक जापानबाट पढाउने कोटा आएको थियो । म बिदामा थिएँ । मलाई तुरुन्त आउनू भनेर रजिस्ट्रार सुरेन्द्रप्रसाद सिंहले बोलाए । मैले एउटा फर्म भरेर पठाएँ । मन्त्रालयले इन्दिरालाई पठायो । उनको माथिसम्म पहुँच थियो । तर, जापानबाट मलाई पनि बोलाइयो । दुवै जापान गयौं । यसरी कामको मामिलामा विभेद त थियो नै ।

महिलासँग सरोकार राख्ने कस्ता मुद्दा आउँथे ?

महिलासँग मात्र सम्बन्धित मुद्दा खास आउँदैनथे । अंश, घरजग्गाका मुद्दा बढी हुन्थे । मुद्दा आए पनि महिला अगाडि देखिँदैनथे । एकपटक मानाचामलको एउटा मुद्दा १० वर्षसम्म चल्यो । मैले ती महिलालाई सजिलो होस् भनेर प्रधानन्यायाधीशलाई समात न भनिहालेछु ।

प्रधानन्यायाधीश दिनहुँ पशुपति जानुहुन्थ्यो । एक दिन ती महिला पनि पशुपतिमा गइछन् । लामो छाताको बिँडले प्रधानन्यायाधीशलाई पछाडिबाट समातेर तानिछन् । दिउँसो प्रधानन्यायाधीशले मलाई एक महिलाले पछाडिबाट छाताको अंकुशले तानी भनेर सुनाउनुभयो । त्यही मौकामा मैले भनेँ, ‘१० वर्षसम्म मुद्दा लम्ब्याएपछि बिचराले के गरोस् त ?’ त्यसपछि उहाँले अब म भोलि पेसी चढाउँछु भन्नुभयो । मुद्दा छिन्न करै लाग्यो । आखिर उनले मानाचामल पाइन् ।

वकिलहरू कस्ता हुन्थे ?

वकिलहरू पैसामुखी नै हुन्थे । उनीहरूले जानेरै होच्याउने काम गरेको थाहा छैन । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी भने महिलाहरूको विषयमा संवेदनशील हुनुहुन्थ्यो । मेरो मुद्दामा पनि उहाँले नै बहस गर्नुभएको थियो । एक पैसा नलिई गरिबहरूको मुद्दा हेरिदिनुहुन्थ्यो ।

न्यायाधीश भएर विभिन्न जिल्ला जानुभयो । कस्तो अनुभव रह्यो ?

पहिलोपटक न्यायाधीश भएपछि भक्तपुर जिल्ला अदालत कहाँ हो भनेर सोध्दै पुगेँ । न्यायाधीश पहिलोपटक आउँदा गाग्रीमा फूल र अबिर राखेर स्वागत गर्ने चलन थियो । त्यहाँ नेवारीमा ‘यस्तो मान्छे पनि न्यायाधीश ?’ भनेको सुनेँ । नसुनेझैं गरेर भित्र गएँ । त्यहाँ म दोस्रो न्यायाधीशमा परेँ । सिनियर न्यायाधीशले सुरुमै अलि जटिल खालको चोरी मुद्दा छिन्न दिनुभयो ।

त्यहाँ बस्ने डिठ्ठालाई पुरानो फाइल ल्याउन लगाएर अघिल्ला मुद्दा कसरी फैसला भएको रहेछ हेरेँ र निर्णय गरेँ । त्यसपछि मात्र उहाँले मलाई नरम व्यवहार गर्नुभयो । त्यहाँ एक जना पियन र म मात्र महिला कर्मचारी थियौं । त्यहाँबाट म सर्वोच्चमा सेक्सन अफिसरमै फर्कें । यहाँपछि एक महिना ललितपुर बसेँ । काठमाडौं जिल्लामा पनि न्यायाधीश भएर आएँ । त्यसपछि म बारामा न्यायाधीश भएर गएँ ।

बारामा कस्ता खाले मुद्दा आउँथे ?

बारा र आसपासमा डकैती मुद्दा बढी आउँथ्यो । बारामा एउटी विधवा वृद्धाविरुद्ध अदालतमा मुद्दा पर्‍यो । तिनका छोरा थिएनन् । एउटी छोरी थिइन्, तिनै छोरीको छोरा (नाति) ले वृद्धाको स्याहार गर्थे । श्रीमान्बाट उनले अंशमा पाएको २० बिघा जग्गा देवरका छोराहरूले कब्जा गरे । वृद्धाले एक बिघा जमिन नातिलाई दान दिइन् । जग्गाको कागजमा ‘कहीँ दिन नमिल्ने, बेचबिखन गर्न नपाउने’ लेखिएको रहेछ । दानकै विषयमा देवरका छोराहरूले मुद्दा हाले । विधवालाई अन्याय भएको मलाई लाग्यो ।

मैले कसरी न्याय दिन सकिएला भनेर केही दिनसम्म मुद्दासँग सम्बन्धित कागजपत्रहरू ध्यान दिएर पढें । मैले त्यसमा एउटै कुरा खोजेकी थिएँ– दान दिन नमिल्ने लेखिएको छ कि छैन । रहेनछ । त्यसैमा टेकेर दान दिएको सदर भनी ती वृद्धालाई मुद्दा जिताएँ ।

सर्वोच्चले पनि मेरै फैसला सदर गर्‍यो । मलाई आमाले ‘कसैलाई अन्याय नगर है नानी’ भनिरहनुहुन्थ्यो । ‘तँ न्यायाधीश भएपछि खोजेर भए पनि न्याय ल्याएर दिनुपर्छ’ भन्नुहुन्थ्यो । त्यही वचन सम्झेर काम गरिरहेँ ।

आफूले फैसला गरेकामध्ये सधैं स्मृतिमा आइरहने कुनै मुद्दा छन् ?

एक ठाउँमा बाबु बितेकी एउटी छोरी थिई । सम्पत्ति उनकी सौतेनी आमाका नाममा थियो । आमा छोरीलाई सम्पत्ति नदिई भागिछ । त्यो मुद्दामा मैले अविवाहित छोरीलाई अंश दिनुपर्छ भनेर फैसला गरेँ । मुद्दा सर्वोच्चसम्म पुगेछ । सर्वोच्चले पनि मेरो फैसला सदर गर्‍यो । अर्को, पोखरामा स्कुलबाट आउँदा एक जना किशोरीलाई एक केटाले जबरजस्ती सिन्दुर हालेर यो मेरो श्रीमती हो भनेछ । मैले त्यस केटालाई भनेँ, ‘तिमीले सिन्दुर हालेको हो ?’ उसले ‘हो’ भन्यो । मैले भनेँ, ‘मन मिले पो हुन्छ । कसैलाई सिन्दुर हाल्दैमा श्रीमती हुन्छ ?’

पोखरामा रजिस्ट्रार भएर गएकी थिएँ । त्यहाँ क्षेत्रीय अदालत गठन गर्न मलाई खटाइएको थियो । त्यहाँ भएको अनिमियता रोक्न खोज्दा क्षेत्रीय न्यायाधीशसँगै टसल पर्‍यो । आमा बिरामी हुनुहुन्थ्यो । म आमासँगै बस्नुपर्छ भन्दा पनि मलाई बिदा दिइएन । त्यसैले म सर्वोच्चमा आफ्नै पद (उपसचिव) भएर फर्कें । तर, पुनः मलाई पोखराकै जिल्ला अदालतको न्यायाधीश बनाइयो । आमालाई पनि साथै लगें । त्यसक्रममा क्षेत्रीय अदालत र प्रधानन्यायाधीशसँगै मतभेद भयो । ‘हामीभन्दा जान्ने हुने ?’ भनिन्थ्यो । न्याय दिने सवालमा महिलालाई सकेको जति गरेँ ।

तपाईंको समयमा न्याय लिन आउने महिला कस्ता हुन्थे ?

एकदमै अन्यायमा परेका हुन्थे । जुम्लामा तीन वर्ष न्यायाधीश हुँदाको कुरा हो, त्यहाँ जारी तिर्ने (केटी जोसँग गयो उसले पहिलेको लोग्नेलाई पैसा तिर्नुपर्ने) चलन रहेछ । त्यहाँ बहुविवाह सामान्य थियो । एक जना महिला अर्कैसँग गइछिन् । उनको लोग्ने सुन यति तोला, चाँदी यति तोला, लुगा यति महँगो भन्दै जारी दाबी गरेर आए । म त छक्कै परेँ किनकि जारी मुद्दा मैले देखेको थिइनँ ।

मैले प्रश्नैप्रश्न सोधेँ । सुनको बिल छ भनेर सोधेँ, कागज छ भनेर सोधेँ । उनले बिल छैन भने । मैले सोधें, ‘के त्यो केटीलाई बाबुआमाले नांगै पठाए त ?’ उनले जवाफ दिन सकेनन् । बिल देखाउन सकेनन् । एकै प्रश्नले मुद्दा छिनियो । बाहिर गएर उनले मलाई निकै गाली गरेछन् !

जुम्लामै एक महिला १२ ठाउँमा पोइला गइछिन् । अन्तिममा एउटाले ५० रुपैयाँ जारी माग्यो । त्यसको अर्थ ती महिलाको शरीरको मूल्य ५० रुपैयाँ मात्र भन्न खोजिएको हो नि ! मैले सोधें, ‘महिलाको शरीरको मूल्य ५० रुपैयाँ ?’ यो त हुनै सक्दैन भनेर तत्काल मुद्दा अन्त्य गरिदिएँ ।

पोखरामा ज्यान मुद्दाको फैसला गर्दा आफ्नो पक्षमा भएन भने जे पनि गर्छौं भनेर बाटोमा घेरा हाल्न थालेछन् । के गर्न सक्छन् भनेर म बाहिर एक्लै गएँ । उनीहरूलाई अञ्चलमा जानूस्, माथि जानूस् भनेर सम्झाएँ । तपाईंहरूले भन्दैमा म भाग्छु त भनेर अडिग रहें ।

मुद्दा लड्न आउने महिलाको आर्थिक अवस्था कस्तो हुन्थ्यो ?

उनीहरूको अवस्था दयनीय हुन्थ्यो । मुद्दा नै लड्न आउँदा पनि वकिल राख्न सक्ने हैसियत थिएन । सबैभन्दा दयनीय अवस्था जुम्लामा देखें । खानाको नाममा पिरो खुर्सानी र रोटीमात्र हो । त्यतिबेला जुम्लाका प्रत्येक पुरुष मुलुकी ऐन बोकेर हिँड्थे । आफू जान्ने हुने अनि त महिलालाई हेप्न पाइहाले ।

त्यस समय वकालत गर्ने महिलाचाहिँ थिए कि थिएनन् ?

सुशीला सिंह ‘सिलु’ एक जना थिइन् ।

न्यायमा महिलाको पहुँच पहिले र अहिले कस्तो छ ?

पहिला पनि महिला न्याय खोज्न जान्थे तर आर्थिक अवस्था कमजोर हुन्थ्यो । उनीहरू आफ्नो मुद्दामा सधैं धाउन सक्दैनथे । फेरि, न्याय दिन खोजे जताबाट पनि सकिन्छ, नदिन खोजे अड्को थापेर पनि फसाउन सक्थे । बलात्कार, कुटपिटको मुद्दा आउँदैनथे । हामी छँदासम्म त्यस्तो मुद्दा थिएन । मेरो त्यति लामो करिअरमा बलात्कार मुद्दा कहिल्यै छिन्नु परेन । सम्बन्धविच्छेदका मुद्दा पनि निकै कम आउँथे ।

अहिले बलात्कार, हिंसा र सम्बन्धविच्छेदका लाखौं मुद्दा छन् । अहिलेका महिला धेरै जागेका छन् । शिक्षाको पहुँच पुगेको छ । अधिकारका कुरा गर्न सक्ने भएका छन् । पहिले जति नै अन्याय भए पनि सहेरै बस्थे महिलाहरू ।

प्रकाशित : फाल्गुन २२, २०७७ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्

लायकुको अन्तिम पर्खाल ! 

दरबार होस् या ढुंगेधारा– त्यस्ता भौतिकी आफ्नो समयका ध्वनि र रङसहित अस्तित्वमा रहन्छन् । खण्डहर नै भए पनि यस्ता अवशेषलाई इतिहासको कसीमा घोटेर हेर्दा तत्कालीन समाजको मोटामोटी स्वरूप नियाल्न सकिन्छ । बनेपा र त्यसवरपरका सामाजिक, सांस्कृतिक र ऐतिहासिक अध्ययन गर्ने एउटा गतिलो आधार हुन सक्छ– लायकु दरबार ।
दीपक सापकोटा

काठमाडौँ — ‘अरनिकोले बनेपाको लायकुमा बनाएको नौतले दरबारकै नमुनामा चीनमा पनि एउटा दरबार बनाएका थिए ।’ किंवदन्ती बनेको बनेपाको लायकु, दन्त्यकथाजस्तै बनेका अरनिको ! अनि तिनै अरनिकोले लायकुको नमुनामा चीनमा पनि दरबार बनाएको मिथक–कथा !

म राति निदाउनुअघि जब सिरानीमा टाउको अड्याएर आँखा चिम्लन्थेँ, मेरो कल्पनामा जुँघाको रेखी बस्न थालेको १७ वर्षे कलाकार अरनिको र उसको पछिपछि लागेर हिमालपारिको विस्तीर्ण पठारमा हिँडिरहेका ७९ जना कालीगढहरूको लर्को देखा पर्न थाल्थ्यो । सपनामा पनि ती कलाकारलाई म बेइजिङको विश्वप्रसिद्ध श्वेतप्यागोडा बनाउन आफ्ना कुशल हात चलाइरहेको देख्थेँ । त्यो श्वेतप्यागोडा बनेपाको लायकु दरबारको नमुनामा बनेको थियो कि यो अप्रमाणित किंवदन्ती मात्र हो, त्यो भने अहिलेसम्म पनि अनिर्णीत नै छ ।

म एक महिनादेखि काभ्रेको व्यापारिक केन्द्र र पुरानो बजार बनेपाको आफ्नो घरमा बसेर लकडाउनको फुर्सदिलो समय कटाउने प्रयत्न गरिरहेको छु । र, यो लामो घरबन्दीले मलाई बनेपाकै लामो इतिहासमा घोत्लिन प्रेरित गरिरहेको छ । लायकु दरबारको कथामा वर्णन गरिएका अरनिको हजुरआमाले सुनाएका दन्त्यकथाका राजकुमारजस्तै हुन्थे । स्कुलमा मैले पढ्ने एउटा पुस्तकको ‘राष्ट्रिय विभूति’ शीर्षकको परिच्छेदमा अरनिकोमाथि लेखिएको थियो । स्कुल पढ्दा शिक्षकले अनौपचारिक कक्षामा ‘अनुश्रुतिअनुसार’ भन्दै सुनाएको लायकु दरबारको कथा पनि मेरो स्मृतिको भण्डारबाट बाहिर निस्केको छ र त्यसले मलाई सदियौं पहिलेको विशाल फलकमा पुर्‍याएर छोडिदिएको छ ।

सरले सुनाउनुभएको थियो, ‘हाम्रा कलाकार अरनिकोले चीनमा गएर बनेपाको नौतले दरबारकै नमुनामा त्यहाँ पनि एउटा भव्य दरबार बनाएका थिए ।’ (यहाँ स्मरणीय के छ भने नेपालभाषामा लायकु शब्दको अर्थ दरबार हो तर बनेपाको लायकुलाई नेपालभाषा र नेपाली दुवै नाम एकैसाथ राखेर सम्बोधन गर्ने चलन छ अर्थात् लायकु दरबार) ।

लायकु दरबारको विषयमा धेरै खोजबिन भएको छैन, लेखिएको पनि त्यति धेरै छैन । बनेपा क्षेत्रकै दुई विद्वान् केदारनाथ प्रधान र ज्ञानकाजी मानन्धरले आ–आफ्ना किताबमा लायकुका विषयमा केही खोजबिन भने गरेका छन् ।

इतिहासकार ज्ञानकाजी मानन्धरको किताब ‘बनेपा सातगाउँ’ मा यसरी अर्थ्याइएको छ, ‘लायकु भनेको राजकुल अथवा लालकुल हो । लालकुलबाट लायकु शब्दको व्युत्पत्ति भएको हो । लायकु शब्द मल्लशासनको मध्यकालदेखि चल्दै आएको पाइन्छ (पृष्ठ ६२) ।’

इतिहासकार महेशराज पन्तका अनुसार, संस्कृतको ‘राजकुल’ बाट अपभ्रंश भएर लायकु शब्द निर्माण भयो । राजकुलको अर्थ ‘राजाको दरबार’ हुन्छ ।

आज बनेपाली इतिहासकार प्राध्यापक केदारनाथ प्रधानका ‘नवीन दृष्टिमा नेपालको प्राचीन इतिहास’ (२०५४) र ‘बनेपाको ऐतिहासिक रूपरेखा’ (२०५६) पुस्तकले मेरो लकडाउन–बेलालाई प्राचीन कलाकर्मी र वास्तुकलाको परिवेशमा लगिदिए । संस्कृति–अध्येता सत्यमोहन जोशीको ‘कलाकार अरनिको’ (२०४४) शीर्षकको पुस्तकले अरनिकोले चीनमा बनाएको दरबारबारे भन्छ, बनेपाको लायकु दरबारमाथि स्पष्ट पार्दैन । तर, प्राध्यापक प्रधानले आफ्नो किताब ‘बनेपाको ऐतिहासिक रूपरेखा’ मा बनेपा र अरनिकोसम्बन्धी त्यो सन्दर्भलाई ‘अनुश्रुति’ भनी लेखेका छन् । उनी लेख्छन्, ‘यहाँ सुनिने एउटा अनुश्रुतिअनुसार अरनिकोले बनेपाको नौतले दरबारको नमुना चीनमा बनाएका थिए । तर, यहाँको दरबारको नमुना बनाइएको हो वा होइन भन्नेबारे थाहा पाइएको छैन (पृष्ठ ६३) ।’ तर, ज्ञानकाजी मानन्धर भन्छन्, ‘मैले यस्तो अनुश्रुति सुनेको छैन । यो श्रुतिलाई पुष्टि गर्ने प्रमाण पनि छैन ।’

अरनिको (विसं १३००–१३६३, अरनिकोको जन्ममिति किताबहरूमा फरक–फरक लेखिएको छ । यो मिति सत्यमोहन जोशीको किताब ‘कलाकार अरनिको’ अनुसार लेखिएको हो) ले चीनमा पुगेर बनाएका चिनियाँ सम्राट् ‘कुब्ला खाँ’ को पोर्ट्रेटलगायत अरू थुप्रै कलाकृतिका बारेमा विस्तृत वर्णन भेटिन्छ । तर, अरनिकोले बनेपाको प्राचीन ‘९ तल्ले लायकु दरबार’ को दुरुस्त नमुनाका रूपमा चीनमा कुनै संरचना बनाएका थिए भन्ने जुन जनश्रुति हाम्रो समाजमा युगौँदेखि चल्दै आएको छ, यसलाई ‘ओरल हिस्ट्री’ अन्तर्गत अब अभिलेखित गर्नु आवश्यक देखिन्छ ।

इतिहासकार प्रधानको निचोडसँग लायकु दरबारमाथिको मेरो कल्पना केही हदसम्म मिल्छ । प्रधानले लेखेका छन्, ‘लायकु दरबारको बीच भागमा हात्ती बाँध्ने मौलो, पश्चिमतिर स्नान गर्ने पोखरी, पश्चिम–दक्षिण कोणमा दुमाजुदेवीको मन्दिर, दक्षिणमा तल बगैंचा र पोखरी, माथि आवास, पूर्वी भागमा देवी–देवता रहने पूजाखण्ड, पूर्वी–दक्षिण कोणमा नृत्यघर र उत्तरमा प्रशासनिक खण्ड थिए । विसं २००७ मा प्रजातन्त्रको उदयपछि खेलकुद मैदान बनाउँदा दुमाजु मन्दिर र मौलो पुरिएका थिए ।’

प्रधानजस्तै लायकु दरबारमाथि ज्ञानकाजी मानन्धर लेख्छन्, ‘सुरक्षाका लागि ठूलो ढुंगाको पर्खालले घेरेर आठ दिशामा आठ पोखरी, आठ प्रवेशद्वार, आठ पाटी र आठ गणेशको स्थापना गरेर कलिगत वर्ष ४१९७ मा राजा आनन्ददेवले निर्माण गरेको बनेपाको पश्चिमी ढोका पर्ने पर्खालभित्र लायकु दरबारको क्षेत्र छ । पहिले यहाँ सातवटा चोक थिए भन्ने बनेपाका बूढापाकाहरूको भनाइ छ (बनेपा सातगाउँ पृष्ठ ६३) ।’

अरनिकोसँग जोडिएको त्यो जनश्रुति मात्रै थियो कि इतिहासको यथार्थ–कथाकै पुनर्लेखन ? तर, श्रुतिअनुसार नै किन नहोस्, बनेपाको लायकु दरबारसँग अरनिकोको केही सम्बन्ध देखिन्छ ।

ज्ञानकाजी मानन्धरले बनेपाको लायकु दरबार ‘कलिगत वर्ष ४१९७ मा राजा आनन्ददेवले निर्माण गरेको’ लेखेका छन् । यस कलिगत संवत्लाई विक्रम संवत्मा परिवर्तन गर्दा त्यो विसं ११५३ हुन्छ (इतिहासकार महेशराज पन्तको सहयोगमा परिर्वतन गरिएको । पन्तका अनुसार, कलिगत संवत् र विक्रम संवत्मा ३०४४ वर्षको फरक हुन्छ ।) अरनिको र राजा आनन्ददेवको समय एउटै हो त ? आनन्ददेव (विसं १२०३–१२२४ शासनकाल) अरनिको (विसं १३००–१३६३) भन्दा झन्डै १०० वर्षअघि राजा भएका हुन् । (पछिल्ला कालका वंशावलीका आधारमा दिइएको आनन्ददेवको शासन–समय तात्कालिक प्रमाणद्वारा पुष्टि हुँदैन ।)

यस हिसाबले ‘आनन्ददेवले निर्माण गरेको’ बनेपाको लायकु अरनिकोले हेर्न पाएको हुन सक्ने सम्भावनाचाहिँ छ । तर, त्यसैको नमुनामा अरनिकोले चीनमा चैत्य बनाए कि बनाएनन् भन्ने कुरा यकिनका साथ भन्न सकिन्न । जे होस् श्रुतिपरम्पराका कथामा ऐतिहासिक आधार हुनसक्छ । यो थप अनुसन्धानको विषय हो ।

अरनिको जन्मिँदा काठमान्डु उपत्यकामा अभय मल्ल (वि.सं. १२७३–१३१२ शासनकाल) राजा थिए । अरनिको चीन जाँदा भने उपत्यकामा भीमदेव (विसं १३१५–१३२७ शासनकाल) राजा थिए । इतिहासअनुसार, ‘चीनको साक्या गुम्बाका संघनायक पाहसपाले चिनियाँ सम्राट् कुब्ला खाँको आदेशअनुसार नेपालबाट नाम चलेका, विभिन्न सीपमा पोख्त वास्तुविद् र शिल्पकार चीन पठाइदिनू भन्ने निमन्त्रणा विसं १३१७ मा नेपालमा पठाए । त्यसपछि अरनिकोको मातहतमा ७९ जनाको टोली चीनतर्फ गयो (जोशी, पृष्ठ ७) ।’ विसं १३३१ मा चीनमा अरनिको मुख्य हाकिम भएर काम गरिरहँदा अनन्त मल्ल (१३३१–१३६४ शासनकाल) काठमान्डु उपत्यकाका राजा थिए । इतिहासकार पन्तका अनुसार, त्यस बेला काठमान्डु उपत्यकामा देव र मल्ल थरका राजाहरूले पालैपालो राज्य सञ्चालन गर्थे । देव (लिच्छवि राजाकै सन्तान) हरूको रैथाने घर बनेपा थियो, मल्लहरूको रैथाने घर भक्तपुर थियो । मल्ल र देवबीच पालैपालो राजा हुने नियम बनाइएको थियो । (यहाँ उल्लेख भएका ऐतिहासिक तथ्य र तिथि–मितिका विषयमा विद्वान् महेशराज पन्तको सहयोग लिइएको छ ।)

०००

स्कुल पढ्दाताका लायकुबारे शिक्षकले सुनाएका कुरा र लेखकद्वय प्रधान तथा मानन्धरले आ–आफ्ना पुस्तकमा गरेका लायकु–वर्णनले केही अभिभूत र केही अन्योलग्रस्त भएको म अहिलेसम्म सोही स्थितिमा छु । अहिले विद्यार्थीहरू ‘हु’ गर्दै कराते सिकिरहने, अनेक सांस्कृतिक, राजनीतिक कार्यक्रम भइरहने त्यो आँगनमा पहिले कस्तो दरबार थियो त ? मेरो कल्पनामा टेलिभिजनको श्यामश्वेत सिसाभित्र देखाइने गरेका हिन्दी टेलिशृंखला ‘महाभारत’ र ‘चन्द्रकान्ता’ का लागि बनाइएका दरबारहरूको चित्र आउँथ्यो । मेरो कल्पनाको क्यानभासमा मैले टेलिभिजनमा देखेको चित्रजस्तै थियो लायकु दरबार ।

करिब १० किलोमिटर पर पर्ने कुशादेवीबाट परिवारै बसाइँ सरेर आएको मसँग बनेपा सहरसँग जोडिएका अनगिन्ती सम्झना छन् । यहाँ चल्ने मोटर, चर्को स्वरमा कराउँदै बेतोड दौडिने आरएक्स बाइक देखेर सुरुसुरुमा त आत्तिएँ पनि । झमझम पानी परेको, चर्को घाम लागेको, कुहिरो लागेका दिनका सम्झना मस्तिष्कमा ओहोरदोहोर गरिरहन्छन् बेलाबेला । मोटरको चर्को स्वर यहाँ पहिले सुनिन्नथ्यो पक्कै, आरएक्स मोटरबाइक पनि यहाँ सधैँ दौडिँदैनन् । घाम र कुहिरो त युगौंदेखि छ । समयका अनेक रूपलाई लायकु दरबारको यस मैदानले साक्षात्कार गरेको छ । मलाई भने लायकु दरबारको इतिहासमा पस्नुअघि त्यही दरबार परिसरमा कुनै बेला सञ्चालित एउटा पुस्तकालयको याद टड्कारोसँग आउँछ ।

०००

कुहिरो लागेको दशकअघिको कुनै दिन होला, म लायकु दरबारअघिल्तिर भएर एउटा अन्तर्वार्ताका लागि गइरहेको थिएँ (दक्षुटोलस्थित गोपालदास वादे श्रेष्ठ, नेपाली कांग्रेस पार्टीका पुराना नेताको घरतिर) । लायकु दरबारभित्रको पश्चिम दक्षुढोका (नाला जाने मूल बाटोतिर) मा एउटा जीर्ण इमारत (पक्की घर) उभिइरहेको थियो । त्यो घरको माकुराको जालोमा लपेटिएको बन्द घडी भित्तामै टाँस्सिएको थियो । र, आफ्नै धुनमा मग्न परेवाले चुच्चोमा च्यापिल्याएका परालका लामा–छोटा टुक्रा बन्द घडीमाथि थुपारिरहेका थिए । त्यो दृश्यले मलाई समयको नदीमा तैरिरहेको आफ्नै विगततिर पुर्‍याउँछ ।

लायकु दरबारको ढोकैमा एउटा मान्छे उभिएको थियो । त्यसको नजिक पुग्दा सडकमै समय बिताउने मान्छेको शरीरबाट आउने कडा गन्ध महसुस भयो । दरबार अघिल्तिरको सानो पसलमा भर्खरै उसले एउटा याक चुरोट किनेको थियो । त्यो मान्छेले एकदम मैलो, टाँकले धर्म छोडिसकेको सेतो सर्ट (सर्ट यति मैलो थियो कि त्यो रङ सेतो होला भन्ने अनुमान मात्र हो) र थोत्रो प्यान्ट लगाएको थियो । गोडामा फाटेको चप्पल थियो । मैला औंलाले मुलायम तरिकाले उसले ‘याक’ च्यापेको थियो । धेरै दिनदेखि ननिदाएजस्ता आँखाले उसले मलाई हेर्‍यो, चिन्ने प्रयास पो गर्‍यो कि ? उसको र मेरो त्यो पहिलो र अप्रिय भेट भएको समयदेखि अहिलेसम्म मेरो जीउडालमा यति धेरै परिवर्तन आएको थियो, उसले मलाई चिन्न नसक्ने कुरामा म ढुक्क थिएँ । तर, त्यस अनुहारसँग वर्षौं पहिलेको जुन नराम्रो याद मेरो मानसमा गुजुल्टिएर रहेको छ, त्यसलाई भने म बिर्सिन सक्दैनथेँ ।

०००

लायकु दरबारको त्यही भग्न घरमा त्यस क्षेत्रकै अग्रणी शिक्षक तथा बनेपाका मेयर रामभक्त कोख श्रेष्ठको पहलमा खोलिएको एउटा सानो पुस्तकालय थियो । मैले जीवनमा पहिलोपटक देखेको पुस्तकालय त्यही हो । विक्रमको २०५० सालतिर खुलेको त्यस पुस्तकालयको नाम थियो– बनेपा पुस्तकालय ।

म पहिलोपटक २०५३ सालमा गएको त्यो पुस्तकालय थियो– बडो अव्यवस्थित र फोहोर पनि । नमिलाई राखिएका किताब भुइँभरि छरिएका, च्यात्तिएका किताबका पाना, नैनसुतमा पोको पारिएका पत्रपत्रिकाजस्ता लाग्ने कागज किताब राखिने र्‍याकमाथि थुपारिएका थिए ।

बनेपा पुरानो बजारका ‘यसो किताब हेरौं न त’ भनेर वा ‘पढौं न’ भनेर वा ‘घुमौं न’ भनेर वा ‘कसले के गर्छ वा पढ्छ’ चियो गर्ने भनेर साना–पाका सबै उमेरका मानिसहरू त्यहाँ आइपुग्दथे । स्कुल छुट्टीपछि वा शनिबार म पनि पुस्तकालय पुग्थेँ, कहिले साथीसँग त कहिले एक्लै । मैले त्यही पुस्तकालयमा भुइँमा फालिएको, पाना च्यातिएको थोत्रो अवस्थामा पहिलोपटक देखेको हुँ– महाकवि देवकोटाको ‘मुनामदन’ र माधव घिमिरको ‘गौरी’ । साथै त्यहीँ पहिलोपटक पढेको हुँ ‘हेन्सल एन्ड ग्रेटल’ को चित्रकथा । हेन्सल र ग्रेटलको कथा मलाई कति धेरै रोचक लागेको थियो भने म त्यसकै यादमा त्यहाँ बारम्बार जान थालेको थिएँ । त्यस दिन पनि म भाइ शैलेन्द्रसँग पुस्तकालय पुगेको थिएँ ।

हान्स क्रिस्चियन एन्डरसनको कुनै परिकथाको पानामा निमग्न भएर अल्झिरहेको थिएँ, कसैको निकै कडा मुड्की मेरो कलिलो टाउकोमा बज्रियो । टाउकोमा टुटुल्को उठ्ने गरी हानिएको त्यस ‘खौं’ ले मलाई पूरै रन्थन्याएर छोडिदिएको थियो । म डरले अत्तालिएको थिएँ र हातको परिकथा भुइँमै हुत्याएर म त्यस मानिसको टाङमुनिबाट भाग्न खोजिरहेको थिएँ तर म भाग्न सकेको थिइँन । उसले मलाई उचालेको थियो, गालामा थप्पड हानेको थियो र भुइँमा पछारिदिएको थियो । म डाँको छोडेर रुन थालेपछि ऊ एक शब्द पनि नबोली पुस्तकालयबाट बाहिरिएको थियो । शारीरिक र मानसिक पीडाले थङ्थिलो भएको म पनि एक छिनपछि संज्ञाशून्यझैँ त्यहाँबाट निस्किएको थिएँ । अनाहकमा पिटाइ खाएको मैले आइन्दा त्यस पुस्तकालयमा कहिल्यै नजाने निर्णय गरेको थिएँ ।

०००

वर्षौंपछि कुहिरोको बाक्लो पर्दाबाट चिहाउन खोजिरहेको बनेपा पुस्तकालयभन्दा बाहिरपट्टि मैला औंलाले ‘याक’ चुरोट च्यापेर उभिएको त्यस मानिसलाई अचानक देख्दा म एकपटक त झसंग भएँ । तर, तुरुन्तै म सहज भएँ र उसलाई ध्यानपूर्वक हेरेँ ।

त्यो मानिससँग मलाई सोध्न मन थियो– त्यो दिन तपाईंले मेरो टाउकोमा खौं किन हान्नुभएको थियो ? त्यस दिन आफूले जोडले खौं हानेको त्यो केटोलाई के उसले सम्झेला ?

मचाहिँ अहिले पनि त्यो अधबैंसे मानिसलाई आफ्ना मसिना औँलामा धुँवाइरहेको चुरोट मुलायम तरिकाले च्यापिरहेको देख्छु बेलाबेला । उसको खौं याद आएपछि शरीरमा पीडाजस्तो केही हुन्छ ।

मलाई मेरो बाल्यकालभरि त्रस्त बनाएको उसको अनुहार अहिले भने एकदम नै मामुली, कताकता टीठलाग्दो लाग्न थाल्यो । कुनै बेला मान्छेको टाउको खोजीखोजी खौं हान्न सक्ने बलियो मानिस अहिले कमजोर र निरीह बनेको छ । समय रहेछ बलियो । समय बलियो रहेछ पनि कसरी भन्नु र ? समय त एक कल्पित मापन मात्रै हो । बरु आयु हुँदो रहेछ समयको भनौं— मान्छे जन्मन्छ, तारुण्यमा बयली खेल्छ र प्रायः मक्किएको बूढो हाँगाबाट खस्छ । समय वा मानिस जन्मन्छन्, सामर्थ्यको त्रिकालमा विभाजित भएर अन्तिममा मर्छन् । कुनै बेलाको बलियो, सुन्दर र बडो रवाफका साथ उभिएको लायकु दरबार पनि त अहिलेको त्यो निरीह खौं–मानिसजस्तै अति दुःखी र निरीह छ । हिजो नजन्मेका मोटरका आवाज, बाइकको दौड आज मस्त जवानीमा छन्, ती पनि कुनै दिन मर्छन् । अनायासै नै मेरो ओठमा सायद बाङ्गो मुस्कानको एउटा धर्सो कोरियो ।

०००

देशभरि लकडाउनको स्थिति कस्तो छ ? भारतसँग जोडिएका सीमा–नाकाहरूमा रोकिएका नेपाली नागरिकहरूले किन दुःख पाइरहेका छन् ? संसारभरि संक्रमितहरूको कुल संख्या कति भयो ? सरकार सम्भावित संकटसँग जुध्न सक्षम छ ? टेलिभिजन च्यानलहरूले यस्तै–यस्तै विषयमा समाचार र विचार सम्प्रेषण गरिरहेका छन् । सामाजिक सञ्जालहरूमा कोरोनाविद्हरूको ‘बिगबिगी’ चलिरहेकै छ । म भने अनुहारमा मास्क र हातमा स्यानिटाइजर लगाएर उही पुरानो प्रिय पुस्तकालयतिर जान भनी निस्किएँ । लायकु पुग्दा थाहा भयो, पहिले पुस्तकालय भएको त्यो भवनमा अहिले व्यायामशाला खुलेको रहेछ । अब त्यहाँ पुस्तक, पत्रपत्रिकाको सट्टा गठिलो ज्यान बनाउने सरजाम थुपारिएका थिए ।

०००

साँघुरिँदै गएको बनेपामा साना केटाकेटी खेल्ने, अधबैंसे र उमेर पाकेका मानिसले योग–ध्यान गर्ने अलि चाक्लो, फराकिलो जमिन कहीँ देख्न पाइन्छ भने त्यो लायकु दरबारको परिसरमा हो । बनेपा प्राधिकरण चोकैनेर यसको ठूलै कम्पाउन्ड छ । त्यो घेराभित्रको पुरानो लामो भवनमा क्योकुसिन कराते–डो, योग केन्द्रजस्ता केही संस्था छन् । कुनै बेला त्यहाँ घरेलु शिल्पकला कारखाना हुने गर्थ्यो, जहाँ महिला बुनकरहरूले कपडा बुनिरहेको देख्न सकिन्थ्यो । अहिले त्यो कपडा कारखाना पनि बन्द भइसकेको छ ।

अचेल लायकु दरबार पनि त कहाँ छ र ? दरबारको चिह्नस्वरूप पुरानो इँटाको गारोको अवशेष छ । दरबारको चौघेराभित्रको चौरको छतको रूपमा फलामको ठूलै ट्रस बनेको छ । सरकारी स्कुलको ४ तले भवन पनि यही कम्पाउन्डभित्र छ । लायकुको यो कम्पाउन्डभित्र घाँस उम्रिएको, लेउ लागेको पुरानो संरचना छ दरबारको, इतिहास बोकेर बाँचिरहेको । त्यस संरचनाको बनोट, विन्यासले भनिरहेका छन्– यही हो मध्यकालको बनेपामा शासन गर्ने राजा रण मल्ल र उनका अग्रज अनि पछिल्लो पुस्ताको दरबार । ‘लिच्छविकाल, पूर्व मध्यकाल, उत्तर मध्यकाल, राणाकाल, सात सालको प्रजातन्त्र, पञ्चायत, छयालीस सालको प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र सबै देखे–भोगेको छ, लायकु दरबारको यो भग्नावशेषले’, बनेपाकै लेखक मोहन दुवाल भन्छन् ।

०००

बनेपामा पाइएका शिवदेव र अंशुवर्माको (अहिले संवत् फुटिसकेको) अभिलेखले यो क्षेत्र लिच्छविहरूको शासन–सीमाकै सहर थियो भन्ने बुझिन्छ । ‘बनेपा सहरको बीचमा सानो देवमन्दिरसँगै यस कुराको अभिलेख कुँदिएको ढुंगा छ । बनेपाको यस बस्तीको चाँगुनारायणसँग कुनै सम्बन्ध रहेको देखिन्छ (लिच्छविकालका अभिलेख, धनवज्र वज्राचार्य, पृष्ठ २४०) ।’

इतिहासकार प्रधानले लेखेका छन्, ‘भक्तपुरका राजा यक्ष मल्ल (विसं १४८५–१५३८ शासनकाल) को मृत्युपछि विसं १५३९ मा काठमान्डुजस्तै बनेपा पनि स्वतन्त्र राज्य बन्यो । र, यक्ष मल्लका साहिँला छोरा रण मल्ल स्वतन्त्र बनेपाका प्रथम राजा बने । रण मल्लको मृत्युपछि भक्तपुरका शासक सुवर्ण मल्लले बनेपालाई भक्तपुर राज्यमा गाभे । भक्तपुरका शासक रणजित मल्लको समयमा पनि बनेपाको महत्त्व उच्च थियो । गोरखाका राजा पृथ्वीनारायण शाहले काठमान्डु उपत्यका जितिसकेपछि आफ्ना मीतबा भक्तपुरका राजा रणजित मल्ललाई बनेपाको ‘जागिर’ खाएर बस्न अनुरोध गरेका थिए । तर, रणजितको स्वाभिमानले त्यो अनुरोध स्वीकार गर्न दिएन । उनी पृथ्वीनारायणसँग अनुमति लिई काशीवास गर्न गए ।’

‘काठमान्डु उपत्यका तलाउका रूपमा छँदा बनेपा एक सानो राज्यका रूपमा थियो । बौद्ध आख्यानको थ्यासफूमा बनेपालाई धर्मपुर भनी उल्लेख गरिएको छ । धर्मपुरका राजा धनी थिए । राजा बस्ने भएकाले यहाँ राजदरबार अवश्य थियो । जयभीमदेव आदि प्राचीन मल्लकालका एकथरी राजवंशको मूल घर बनेपा थियो । उक्त राजवंश नेपालको इतिहासमा भ्वन्त अर्थात् बनेपाली भनी प्रसिद्ध थियो । लायकु दरबार मल्ल राजाहरूको ऐतिहासिक थलो हो (बनेपा सातगाउँ, मानन्धर, पृष्ठ ६१) ।’

इतिहास केलाउँदा बनेपामा जति शासक आए, तिनीहरूले लायकु दरबारबाटै शासन गरेका थिए भन्ने स्पष्ट हुन्छ । ‘भोंत’, ‘भोन्त’, ‘भ्वन्त’, ‘भोतदेश’, ‘बनियापुरी’, ‘बीलयापुरी’, ‘बनिकापुर’, ‘बन्दिकापुर’, ‘बणिकापुर’, ‘बणिकापुर महानगर’, ‘बनेपुर’, ‘बनिपा, ‘पनिपा’, ‘बनेपाग्राम’, ‘बनेपा’, ‘भुजुङ’ आदि अनेकौं नामले यस नगरलाई सम्बोधन गरिँदै आएको छ । आधुनिक कालमा नेपालमा आएका अंग्रेज सैनिक मिसनका कर्कपेट्रिकले बनेपुर, बनिपा वा पनिका भनी अशुद्ध उच्चारण गरेका थिए (प्रधान, पृष्ठ ४१) । जसरी उच्चारण गरिए पनि माथि उल्लिखित सबै शब्दले बनेपालाई नै जनाउँछन् ।

‘नेवारी भाषामा ‘बने’ शब्दले ‘व्यापार’ र ‘पा’ शब्दले ‘देश’ वा ‘बस्ती’ भन्ने बुझाउँछ । काठमान्डु उपत्यकाबाहिरका साँगा, नाला, धुलिखेल, चौकोट, खड्पु र पनौतीजस्ता सहरको बीचमा पूर्वी भेगको व्यापार–केन्द्र हुनाले यस सहरको नाम बनेपा रह्यो (स्थाननामकोश, कृष्णप्रकाश श्रेष्ठ, पृष्ठ २६४) ।’ कलिगत वर्ष ४१९७ मा राजा आनन्ददेवले काभ्रे जिल्लामा छरिएर रहेका स–साना ७ सहर (बनेपा, पनौती, नाला, धुलिखेल, खड्पु, चौकोट र साँगा) मिसाएर एउटै राज्य बनाएका थिए भनी ‘बनेपा सातगाउँ’ किताबमा उल्लेख छ (ज्ञानकाजी मानन्धर, पृष्ठ १) ।

लायकु दरबारबाट बनेपाको मध्यकाल चियाउन खोज्दा हाम्रासामु ‘भोन्तश्री’ आइपुग्छन् । गोपालराज वंशावलीमा ‘भोन्तश्री’ भनी उल्लेख गरिएको छ । ‘भो देश’ नामको प्रयोग सर्वप्रथम वि.सं. १८३६ मा भएको पाइएको छ । मध्यकालमा देखिएको ‘वणिकापुरी’ नामको उल्लेख विसं १४९१ को बनेपा दक्षुटोलको ढुंगेधाराको सूर्यमूर्ति अभिलेखमा छ (प्रधान, पृष्ठ ४३) ।

प्रधान लेख्छन्, ‘भोन्तश्री राजकुलको मूलघर नै बनेपा भएकाले यता उनीहरूको दरबार थियो ।’ उनका अनुसार, धेरै पुरानो दरबार हो– लायकु, जहाँ भोन्तश्री राजकुलको निवास थियो र यहाँबाटै प्रशासनिक कार्य हुन्थ्यो । यो दरबारलाई वसन्तपुर दरबार पनि भनिन्थ्यो । ‘लायकु दरबार पूर्वमा दक्षुटोल पुलबाटोको कलधारादेखि दक्षिणको बाटो, पश्चिममा दक्षु ढोका, उत्तरमा बजारको मूल बाटो र दक्षिणमा कोलाँ टोलको मूलबाटोसम्म विस्तारित थियो (प्रधान, पृष्ठ ६२) ।’

आफ्नो पुस्तक ‘बनेपाको ऐतिहासिक रूपरेखा’ तयार गर्ने सिलसिलामा प्राध्यापक प्रधानले २०३४ सालमा अन्तर्वार्ता गरेका बनेपाका ८५–९३ वर्षका बूढापाकाहरू (गणेशदास प्रधान, विकुलाल कर्माचार्य र मोहनलालखिङ मानन्धर) ले उनलाई नौतल्ले त्यो लायकु दरबारको एक तलाको अवशेष आफैंले देखेको र तीन तल्लासम्मको अवशेषबारे देख्नेहरूबाट सुनेको बताएका थिए । अन्तर्वार्ताको यो प्रसंगबारे उनले किताबमा पनि उल्लेख गरेका छन् ।

०००

हाल पुरानो दरबारको झल्को दिने कलात्मक महादेव, गणेश र कलशको बुट्टा भएको ढोकाबाट भित्र प्रवेश गरेपछि पूर्वपट्टि देखिन्छ– सेतो रङले पोतिएको लायकु राजमञ्च । दक्षिण–पूर्वी कोणमा २०१८ सालमा निर्माण भएको शिक्षा सदन माध्यमिक विद्यालयको भवन छ । दक्षिणपट्टि छ– लायकु योग केन्द्र र नेपाल जुडोको कार्यालय । पुरानो दरबारका गारो र इँटाको भग्नावशेष भने अहिले पनि देख्न पाइन्छ ।

‘मैले देख्दा एक तलाको लायकु दरबार ढल्ला–ढल्लाझैं गरी उभिएको थियो । ०२२ सालतिर त्यही दरबार प्रांगणमा थियो– पुलिस चौकी । घरेलु शिल्पकलाको कारखाना पनि दरबारभित्रै थियो । पछि शिल्पकला बिक्री भण्डारले यही प्रांगणमा नयाँ भवन बनाएर काम गर्न थाल्यो,’ मोहन दुवाल सम्झन्छन् । लायकु दरबार ९० सालको भुइँचालोबाट भत्केको अनुमान दुवालको छ । अहिले दरबारको अवशेषको रूपमा मजबुत पुरानो गारो यथावत् छ, शिक्षा सदन स्कुललाई घेरेर बसेको । ‘शिक्षा सदन माविको भवनसँगै पहिले नै घरेलु शिल्पकला बिक्री भण्डारले दक्षिणपट्टि नयाँ भवन बनाएर दरबारको चारैतिर किल्लाहरू बनाइएको थियो र उत्तरमा पूर्ण किल्ला (क्वाथः) थियो (प्रधान, पृष्ठ ६३) ।’

पुराना कांग्रेस नेता गोपालदास वादे श्रेष्ठको मस्तिष्कमा पनि मोहन दुवालले देखेजस्तै दरबारको अस्तित्व छ, एक तलाको जीर्ण लायकु दरबार । ‘पछि संरक्षण नभएर त्यो त्यत्तिकै ढल्यो,’ गोपालदास भन्छन् ।

०००

मेरो सहरले आफ्नो अनुहार फेरेको छ । प्रधानले किताबमा उल्लेख गरेको बनेपा स्वधाटोलको ‘मयजु फः दरबार’ र वकुटोलको ‘पुतली दरबार’ अहिले मिथका रूपमा मात्रै बाँकी छन् । स्वधाटोलमा अझै खेत खन्दा पुराना भवनका ठूला जग देखिन्छन् भन्ने किस्सा बाँकी नै छ । पूर्वमा पोखरी, पश्चिममा ढलँ छेँ, उत्तरमा काँथुगणेशको पोखरी र दक्षिणमा मूल बाटोसम्म पुतली दरबार विस्तारित थियो भन्छन् यहाँका बूढापाकाहरू । दरबारका पुराना केही अवशेष अझै पाइन्छ पनि भन्छन् ।

इतिहास, इमारत र स्थापत्य अब मिथक र किस्सामै बाँच्ने भए । पुराना पुस्तकालय, बाजे–बराजुका पसिनाले निर्मित नागबुट्टे ढुंगेधारा, पाटी, सहर र दरबारका आख्यान अब बनेपाका बूढा मानिसका मस्तिष्कका पत्रे चट्टान र पुराना पुस्तकालयका धूलो टाँस्सिएका किताबमा कतै जीवित छन् ।

०००

एउटा सहरको यति लामो र गतिलो इतिहास बोकेको लायकु दरबारको संरक्षण पक्कै हुनुपर्ने थियो । ‘संरक्षण हुनुहुँदैन’ भन्ने मत सायदै कसैको होला । तर, संरक्षण गर्ने कसले ? मोहन दुवाल भन्छन्, ‘मैले धेरैपटक नगरपालिकाको मेयरसँग भनेँ, यही टोलको नेता मन्त्री भएका छन्, यसै मौकामा संरक्षणको लागि पहल गरौं न भनेँ, तर मेरो कुरा कसैले पनि सुनेनन् ।’ यही प्रांगणमा राखिएको ढ्वाङमा खसेको भोटले दुई नेता यहाँबाट मन्त्री भए । तर, उनीहरूलाई जागिर खाँदै फुर्सद भएन (सायद उनीहरू जागिर खानै वा जागिरका नाममा अरू केही ‘खान’ पो चुनाव लडेका थिए कि !) प्रधानले चर्चा गरेको बनेपाको प्राचीन लायकु दरबारको संरक्षण, संवर्द्धन र त्यसबारे अध्ययन गर्नका लागि मात्र होइन, दुवालले गरेको आग्रहमाथि सुनुवाइ गर्नुपर्ने कुराको खाँचो पनि आजका नेताहरूले देखेका छैनन् ।

लकडाउनको मेसो नहुँदो त म स्वयं पनि लायकु दरबारबारे यसरी घोत्लिँदैनथें कि ? दरबार र पुरानो समयको झल्को दिने सेता स्तम्भसहितको देवीदेउताको बुट्टा कुँदिएको ढोकाबाट लायकुको घेराभित्र चियाउँदा देखिन्छन्– लकडाउनकै बिदामा बसेका केटाकेटीहरू मस्त खेलिरहेका छन् । अनि, त्यहीँ छ– मानिसहरूको एउटा लामो लाइन । यो मानव–पंक्ति बनेपा नगरपालिकाको ८ नम्बर वडा समितिले दिने केही किलो राहत–चामलको लाइनमा उभिइरहेका श्रमिकहरूले बनेको छ । लायकु परिसरको वडा–कार्यालय भवनमा मानिसहरू भित्तामा टाँसिएको राहत लिस्टमा आफ्नो नाम खोजिरहेका छन् । जसको नाम भेटिन्छ उसको ओठमा एक पित्को मुस्कान नजानिँदो किसिमले देखापरेझैँ हुन्छ ।

कडा घाममा सुकेको लायकुभित्र छन्– केही रूख, चुपचाप ठडिएका, ती पनि घामले सुकेर हैरान छन् । जस्तो दरबारका पुरानो इँटाले बनेका प्राचीन समयको चिह्नसहितका गारोहरू शताब्दीऔंदेखि घामले सुकेर दिक्क छन् । लकडाउनमा राहतको लाइनमा बसिरहेका मानिस पनि दिक्क छन्, उद्धारकै प्रतीक्षामा बसेको लायकु दरबारजस्तै । उद्धार गर, उद्धार गर भन्ने आवाजभित्र समेत फगत एउटा उपदेशबाहेक केही छैन । सबै राम्रा काम अरूबाटै होऊन् भनेर पर्खिरहनेको शब्दकोशमा कि उपदेश छ, कि त गाली मात्र शेष छ ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करणबाट ।)

प्रकाशित : भाद्र १२, २०७७ १९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×