कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

‘त्यतिबेला हरेक पुरुष मुलुकी ऐन बोकेर हिँड्थे’

आमाले ‘तँ न्यायाधीश भएपछि खोजेर भए पनि न्याय ल्याएर दिनुपर्छ’ भन्नुहुन्थ्यो, त्यही वचन सम्झेर काम गरेँ ।
दीपक सापकोटा

नेपालकै पहिलो महिला न्यायाधीश हुन् सत्यभामा माथेमा (८४) । त्यति मात्रै होइन, संघर्षहरुको जिउँदोजाग्दो दस्ताबेज नै हुन्  । छोरीले पढ्नै नपाउने समयमा न्यायाधीश बन्न उनले गरेको दुःख हिजोआजका चेतनासम्पन्न महिलाका लागि समेत विशाल प्रेरणाको स्रोत हो ।

‘त्यतिबेला हरेक पुरुष मुलुकी ऐन बोकेर हिँड्थे’

काठमाडौंमा जन्मेहुर्केकी उनी न्यायसेवामा लागेपछि देशका विभिन्न जिल्ला पुगिन् । यसक्रममा महिलामाथि अन्यायका अनेक रुप र रंग देखिन् । २०२४ सालमै कानुनमा स्नातक सत्यभामा २५ वर्षअघि न्यायसेवाबाट निवृत्त भइन् । उनीबारे पूर्वप्रधानन्यायाधीश सुशीला कार्की भन्छिन्, ‘सत्यभामा निष्ठावान्, इमानदार र अनुभवी महिला हुनुहुन्छ । त्यो समयमा अन्य पुरूषले ओगटेको स्थानमा महिला पुग्नु चानचुने सफलता होइन ।’

सत्यभामाको परिचयको आयाम यतिमै सकिँदैन । नेपालभाषी कविता–संग्रह ककःचा (तीते करेला) र उपन्यास इलं ख्वाःगु जीवन (समयले घचेटेको जीवन) उनकै सिर्जना हुन् । यति बेला उनी पुराना कविता, पारिजातसँगको संगत र न्यायालयका दिन सम्झँदै छिन् । खुसीबुँस्थित निवासमा उनीसँग दीपक सापकोटाको संवाद :

यो वर्ष न्यायालयका लागि निकै सकसपूर्ण रह्यो, कि कसो ?

यो वर्ष न्यायालय सकसपूर्ण अवस्थाबाटै गुज्रियो । प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेर पुनःस्थापना गर्‍यो । अदालतले त्यही नै गर्नुपर्थ्यो । तपाईंको प्रश्नझैं पुनःस्थापनाको मामलामा प्रधानन्यायाधीशलाई सकसै पर्‍यो । प्रधानन्यायाधीश प्रधानमन्त्रीबाट प्रभावित नै थिए । तर, अन्ततः जनताको आवाजको जित भएको छ । खुसी छु ।

व्यक्तिगत जीवनमा चाहिँ कत्तिको खुसी हुनुहुन्छ ? बुढ्यौलीका दिन कसरी बित्दै छन् ?

केही दुःखकै घटना घटे पनि दुःखी भएर बस्ने बानी छैन । साधारण जीवन बिताउँछु, दुःखका घटना बिर्सने प्रयास गर्छु । त्यसैले जीवनसँग खुसी नै छु, गुनासो छैन । अचेल अखबार पढ्छु, कविता लेख्छु, टीभीमा समाचार हेर्छु, अल्छी लागे स्वेटर बुन्छु । नत्र दिनैभर बार्दलीमा बसेर सहर हेर्छु ।

बार्दलीबाट देखिने सहर उहिले र अहिले उस्तै छ ?

छैन । सहर घरैघरको बन्यो । यसले आफ्नो क्यारेक्टर गुमायो । यसको अनुहार फेरियो । बाल्यकालको मेरो सहर आँखैअघि कुरूप बन्यो ।

तस्बिरहरु : सन्जोग मानन्धर

यो सहरको कुन मौसम तपाईंलाई प्रिय लाग्छ ?

ग्रीष्म मेरो प्रिय ऋतु हो । बर्खायामको हावाहुरी, चट्याङ मलाई अत्यासलाग्दो लाग्छ ।

कवि र उपन्यासकारहरू यस्तै अत्यासलाई सिर्जनामा उतार्न माहिर हुन्छन् नि, होइन ?

म पहिल्यैदेखि कविताप्रति आकर्षित छु । तर, कवितामा तुकबन्दी मनपर्दैन । कविता मेरो खास साथी हो । मनमा केही आँधीबेहरी आउँदा त्यसलाई कवितामा उतार्छु ।

तपाईंले पछिल्लोपटक पढेको सुन्दर कविता–संग्रह कुन हो ?

हिजोआज संग्रह नै पढिहालेको छैन । तर, पारिजातको ‘मानुषी’ कविता हिजै मात्र पढें । मलाई उनको कविता मनपर्छ किनभने ती कविता भावनाप्रधान हुन्छन् । भाषा मीठो हुन्छ । ऊबेलाका कथा उनका कविताका कच्चा पदार्थ हुन् ।

पारिजातसँग त तपाईंको लामै उठबस भयो क्यारे !

पारिजातसँग मेरो लामै उठबस भयो । एकपटक उनी असाध्यै निरास थिइन् । उनले आफ्नो फोटोमा केही लेखेर मलाई दिएकी थिइन् । उनले लेखेकी थिइन्, ‘म एकदमै निरास छु । जीवनबाट गलेकी छु ।’ पारिजात मलाई ‘हाकिम’ भन्थिन् । मेरो छोरा र सुकन्या वाइबाको छोरा दौंतरी थिए । छोरालाई एक दिन मैले पारिजातकै घरमा निकै हपारें । पारिजातले भनिन्– तँ मिल्ट्रीको शासन चलाउँछेस् ? बच्चालाई त्यसरी गाली गर्नुहुन्छ ? तँलाई हाकिम भएर अरूलाई अर्डर गर्ने मात्रै बानी छ कि कसो ? त्यसपछि म उनका लागि सधैंको ‘सत्य’ बाट ‘हाकिम’ भएँ ।

पारिजात र तपाईंका लागि यो सहरमा कुन कुना प्रिय थियो ?

पारिजात पद्मकन्या क्याम्पस पढ्थिन् । उनकी बहिनी सुकन्या र म नेसनल कलेजको नाइट क्लास पढ्थ्यौं । कक्षा नभएका बेला हामी तीनै जना टुँडिखेल घुम्न जान्थ्यौं । साँझको टुँडिखेल अद्भुत हुन्थ्यो । आँखा चिम्लेर हामी खरीको बोट छुन अघि बढ्थ्यौं । खुट्टाका पाइला बाङ्गा हुँदै जान्थे ।

खरीको बोट छुने प्रयास असफल हुन्थ्यो । हामी हाँस्थ्यौं, जिस्किन्थ्यौं । गीत गाउँथ्यौं । त्यसबेला टुँडिखेल निकै स्वच्छ, सफा र सानदार थियो । पर्खाल पनि लगाइएको थिएन । छेउको रत्नपार्क बनिसकेको थिएन । सुरक्षाका लागि सेना थिएन । अहिले त टुँडिखेल कुरूप बन्यो । हाम्रा ती प्रिय दिनको साक्षी खरीको बोट पनि काटियो । टुँडिखेल मात्र होइन, मेरो सहर पूरै फेरियो ।

यो सहरमा तपाईंले गुमाएको सबैभन्दा प्रिय कुरा के हो ?

मेरी आमा । आमालाई अन्तिम समयमा यो सहरबाट पोखरा लगें । आमा उतै बित्नुभयो । दाहसंस्कार आफैं गरें । सम्झनामा मेरो सहर काठमाडौं निकै सुन्दर र स्वच्छ थियो । अहिले सहरले त्यो स्वच्छता पनि गुमायो ।

आफू नहुर्कंदासम्म हरेकका लागि आफ्नी आमा विश्वविद्यालय नै हुन् । तपाईंको शिक्षामा चाहिँ आमाको भूमिका कस्तो रह्यो ?

मलाई जीवनमा पढलेख गर्न सिकाउने पहिलो शिक्षक आमा नै हुनुहुन्थ्यो । म ओमबहाल, काठमाडौंमा जन्मिएँ । त्यतिबेला छोरीहरूलाई पढ्न गाह्रो थियो । ५ कक्षासम्म पढ्दा आमालाई म स्कुल जान्छु भन्ने थाहा थिएन । माइतीमा (माथेमा खलक, म माइतीकै नाम राख्छु) दिदीहरूलाई बाहुन राखेर नेपाली पढ्न सिकाइएको थियो । त्यहीबेला आमाले अंश पाउनुपर्ने कुरा आयो ।

आमाको शेषपछिको सम्पत्ति मेरो नाममा आयो । सम्पत्ति पाएपछि हामी बुबाको खलकभन्दा टाढा मामाघरमा आएर बस्यौं । त्यतिबेलासम्म पढ्न जानेको थिइनँ । नेपाली पढ्न भने आमाले नै सिकाउनुभएको हो । महिलालाई नेपालीचाहिँ पढाइन्थ्यो । सानैमा राहुल सांकृत्यायनको ‘जिन्दगीको बदलो’ भन्ने किताब पढ्ने मौका पाएकी थिएँ । किताबले मेरो विचार बदलिदियो पनि ।

२००४ सालतिरको कुरा हो– शान्ता श्रेष्ठ, सहाना, साधना प्रधानहरू प्लेकार्ड बोकेर जिन्दावाद भन्दै हाम्रो स्कुलमुनि आउनुभयो । हामीलाई त्यो हेर्नै दिइएन । किन कराए, केका लागि कराए, हामीलाई केही थाहा थिएन । यति पनि हेर्न नदिएको भनेर म र मेरो साथीले ‘आ यो स्कुल नपढ्ने’ भनेर छाड्यौं । एक दिन खेल्दैखेल्दै कन्या मन्दिर (न्ह्योखा) पुग्यौं । यसो हेर्‍यौं, कुनै कक्षा पाटीमा पढाइरहेको छ, कुनैलाई कोठामा । कृष्ण श्रेष्ठ भन्ने शिक्षक हुनुहुन्थ्यो । उहाँले तिमीहरू पनि पढ्ने हो भनेर सोध्नुभयो । त्यतिबेला भर्खरै महिलालाई पढाउन सुरु भएको थियो । हामीले पढ्ने भन्यौं । हामीसँग पैसा, कापीकलम केही थिएन । तैपनि भर्ना गरिदिनुभयो ।

छोरी मान्छेको उमेर नपुग्दै विवाह हुने समय थियो त्यो । यस्तोमा तपाईं कसरी पढिरहन पाउनुभयो ?

आफ्नै आमाबाट म एक्ली सन्तान हुँ । मेरा तीन जना आमा । आमाहरूका छोरी तीन जना र छोरा ६ जना । मेरी आमा छोरीहरूले पढून् भन्ने नै चाहनुहुन्थ्यो । तर, पढ्न केही न केही समस्या पर्ने । मेरो केटाकेटीदेखिको साथी शंकरमाया र म सँगसँगै पढेका हौं ।

५ कक्षामा छँदा मामाघरमा मामाले मैले पढेको भनेर सबै किताब च्यातिदिनुभयो । म रातभरि खुब रोएँ । ती किताब धेरै दुःखले पाएको थिएँ । पैसा थिएन । एसएलसी १६ सालमा प्राइभेट दिएँ । थर्ड डिभिजन आयो, हिसाबमा ३० मात्र ल्याएकी रहेछु ।

कलेजमा शुल्क कति लाग्थ्यो ?

आईए र बीए आर्टस् पढेकी हुँ । मासिक १० रुपैयाँ तिरेर बीए (स्नातक) पास गरें, ८ रुपैयाँमा आईए । कानुन पढ्दाचाहिँ १२ रुपैयाँ शुल्क थियो । दरबार स्कुलमा रात्रि कक्षामा कानुन पढेकी हुँ ।

कानुनतिर कसरी आकर्षित हुनुभयो ?

म सानैदेखि अदालतको बहस र पेसीमा जान बाध्य थिएँ । २००४ सालदेखि २४ सालसम्म २० वर्ष मुद्दा–मामिला खेप्नुपर्‍यो । आमाको अंश मैले पाउन धेरै संघर्ष गर्नुपर्‍यो । सौतेनी दाजुभाइ छोरीले अंश पाउँदैनन् भन्थे । अंश बाँडफाँड हुँदा ब्याइते र ल्याइते आमाका सन्तानबीच विभेद थियो । ल्याइतेले कम सम्पत्ति पाउने भए । बाबु–दाजुले हामी छोरा हुँदाहुँदै छोरीले आमाको अंश पाउनुहुन्न भनेर मलाई नदिन खोजेका थिए ।

त्यही ल्याइते र ब्याइतेको विभेदले नै तपाईंलाई कानुन पढ्न उक्सायो ?

हाम्रो खलकमा ‘धर्मपत्र’ भन्ने एउटा लिखित दस्ताबेज थियो । जसअनुसार छोरीबेटीले जग्गा–जमिनमा दाबी गर्न पाउँदैनथे, खास गरी मधेसको । त्यसैलाई देखाएर मलाई सम्पत्तिबाट वञ्चित गर्न खोजिएको थियो । हरिप्रसाद प्रधान शक्तिशाली प्रधानन्यायाधीश हुनुहुन्थ्यो । उहाँलाई बीपी कोइरालाले नेपाल ल्याउनुभएको थियो । उहाँकै आदेशमा मलाई दाइ–बुबापट्टिबाट पढाइ खर्च भनेर दुई सय रुपैयाँ दिनुपर्ने भयो । म कहिले त निवेदन नै नलेखी ठाडै उहाँको इजलासमा जान्थें ।

मुद्दा चल्दै जाँदा म कानुनतर्फ आकर्षित हुँदै गएँ । कानुन पढेपछि सबै कुरा जानिन्छ भन्ने मेरो बुझाइ थियो । त्यसैले बीए पास गरेपछि बीएल पढ्न गएँ । मुद्दा खेपेको २० वर्षपछि हाम्रो जित भयो । जग्गाको धानचामल आउँथ्यो, सबै मामाघरमा सकिन्थ्यो । धर्मपत्र घरायसी कागजात मात्रै हो भन्ने ठहरपछि मैले आमाको ‘अपुताली’ पाएकी थिएँ ।

२०२४ सालमा कानुनको पढाइ सकेँ । त्योभन्दा अगाडि पैसाको खाँचो भएकाले मदन मेमोरियलमा पढाएँ । भूगोल विषय पढाउथेँ । त्यहाँ पढाउन पारिजातले लगेकी थिइन् ।

महिलालाई जागिर खान कति सहज थियो ?

२०२४ सालमा कानुन मन्त्रालयमा जागिर थाल्दा म गजेट सम्पादन गर्नेमा परेकी थिएँ । जागिरका लागि लिइएको अन्तर्वार्तामा मलाई ‘तपार्इंलाई बाहिर पठाउनुपरे तपाईंको परिवारले दिएन भने के गर्नुहुन्छ ?’ भनेर सोधिएको थियो ।

‘सर्भिसमा आएपछि कर्तव्य पूरा गर्नैपर्छ, जता पठाए पनि तयार छु’ भनेकी थिएँ । त्यतिबेला मन्त्रालयमा इन्दिरा राणा र म मात्र महिला अधिकृत थियौं । दुवैले लोकसेवा पास गर्‍यौं । मन्त्रालयमा ५–६ महिना बसेपछि सर्वोच्च अदालतको फाँटमा सरुवा भएँ । त्यसपछि बेन्च असिस्टेन्ट भएँ ।

कानुनका महिला कर्मचारीलाई कसरी हेरिन्थ्यो ?

म ठाडै बोल्ने भएर होला, त्यति भेदभाव गरिएन । एकपटक जापानबाट पढाउने कोटा आएको थियो । म बिदामा थिएँ । मलाई तुरुन्त आउनू भनेर रजिस्ट्रार सुरेन्द्रप्रसाद सिंहले बोलाए । मैले एउटा फर्म भरेर पठाएँ । मन्त्रालयले इन्दिरालाई पठायो । उनको माथिसम्म पहुँच थियो । तर, जापानबाट मलाई पनि बोलाइयो । दुवै जापान गयौं । यसरी कामको मामिलामा विभेद त थियो नै ।

महिलासँग सरोकार राख्ने कस्ता मुद्दा आउँथे ?

महिलासँग मात्र सम्बन्धित मुद्दा खास आउँदैनथे । अंश, घरजग्गाका मुद्दा बढी हुन्थे । मुद्दा आए पनि महिला अगाडि देखिँदैनथे । एकपटक मानाचामलको एउटा मुद्दा १० वर्षसम्म चल्यो । मैले ती महिलालाई सजिलो होस् भनेर प्रधानन्यायाधीशलाई समात न भनिहालेछु ।

प्रधानन्यायाधीश दिनहुँ पशुपति जानुहुन्थ्यो । एक दिन ती महिला पनि पशुपतिमा गइछन् । लामो छाताको बिँडले प्रधानन्यायाधीशलाई पछाडिबाट समातेर तानिछन् । दिउँसो प्रधानन्यायाधीशले मलाई एक महिलाले पछाडिबाट छाताको अंकुशले तानी भनेर सुनाउनुभयो । त्यही मौकामा मैले भनेँ, ‘१० वर्षसम्म मुद्दा लम्ब्याएपछि बिचराले के गरोस् त ?’ त्यसपछि उहाँले अब म भोलि पेसी चढाउँछु भन्नुभयो । मुद्दा छिन्न करै लाग्यो । आखिर उनले मानाचामल पाइन् ।

वकिलहरू कस्ता हुन्थे ?

वकिलहरू पैसामुखी नै हुन्थे । उनीहरूले जानेरै होच्याउने काम गरेको थाहा छैन । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी भने महिलाहरूको विषयमा संवेदनशील हुनुहुन्थ्यो । मेरो मुद्दामा पनि उहाँले नै बहस गर्नुभएको थियो । एक पैसा नलिई गरिबहरूको मुद्दा हेरिदिनुहुन्थ्यो ।

न्यायाधीश भएर विभिन्न जिल्ला जानुभयो । कस्तो अनुभव रह्यो ?

पहिलोपटक न्यायाधीश भएपछि भक्तपुर जिल्ला अदालत कहाँ हो भनेर सोध्दै पुगेँ । न्यायाधीश पहिलोपटक आउँदा गाग्रीमा फूल र अबिर राखेर स्वागत गर्ने चलन थियो । त्यहाँ नेवारीमा ‘यस्तो मान्छे पनि न्यायाधीश ?’ भनेको सुनेँ । नसुनेझैं गरेर भित्र गएँ । त्यहाँ म दोस्रो न्यायाधीशमा परेँ । सिनियर न्यायाधीशले सुरुमै अलि जटिल खालको चोरी मुद्दा छिन्न दिनुभयो ।

त्यहाँ बस्ने डिठ्ठालाई पुरानो फाइल ल्याउन लगाएर अघिल्ला मुद्दा कसरी फैसला भएको रहेछ हेरेँ र निर्णय गरेँ । त्यसपछि मात्र उहाँले मलाई नरम व्यवहार गर्नुभयो । त्यहाँ एक जना पियन र म मात्र महिला कर्मचारी थियौं । त्यहाँबाट म सर्वोच्चमा सेक्सन अफिसरमै फर्कें । यहाँपछि एक महिना ललितपुर बसेँ । काठमाडौं जिल्लामा पनि न्यायाधीश भएर आएँ । त्यसपछि म बारामा न्यायाधीश भएर गएँ ।

बारामा कस्ता खाले मुद्दा आउँथे ?

बारा र आसपासमा डकैती मुद्दा बढी आउँथ्यो । बारामा एउटी विधवा वृद्धाविरुद्ध अदालतमा मुद्दा पर्‍यो । तिनका छोरा थिएनन् । एउटी छोरी थिइन्, तिनै छोरीको छोरा (नाति) ले वृद्धाको स्याहार गर्थे । श्रीमान्बाट उनले अंशमा पाएको २० बिघा जग्गा देवरका छोराहरूले कब्जा गरे । वृद्धाले एक बिघा जमिन नातिलाई दान दिइन् । जग्गाको कागजमा ‘कहीँ दिन नमिल्ने, बेचबिखन गर्न नपाउने’ लेखिएको रहेछ । दानकै विषयमा देवरका छोराहरूले मुद्दा हाले । विधवालाई अन्याय भएको मलाई लाग्यो ।

मैले कसरी न्याय दिन सकिएला भनेर केही दिनसम्म मुद्दासँग सम्बन्धित कागजपत्रहरू ध्यान दिएर पढें । मैले त्यसमा एउटै कुरा खोजेकी थिएँ– दान दिन नमिल्ने लेखिएको छ कि छैन । रहेनछ । त्यसैमा टेकेर दान दिएको सदर भनी ती वृद्धालाई मुद्दा जिताएँ ।

सर्वोच्चले पनि मेरै फैसला सदर गर्‍यो । मलाई आमाले ‘कसैलाई अन्याय नगर है नानी’ भनिरहनुहुन्थ्यो । ‘तँ न्यायाधीश भएपछि खोजेर भए पनि न्याय ल्याएर दिनुपर्छ’ भन्नुहुन्थ्यो । त्यही वचन सम्झेर काम गरिरहेँ ।

आफूले फैसला गरेकामध्ये सधैं स्मृतिमा आइरहने कुनै मुद्दा छन् ?

एक ठाउँमा बाबु बितेकी एउटी छोरी थिई । सम्पत्ति उनकी सौतेनी आमाका नाममा थियो । आमा छोरीलाई सम्पत्ति नदिई भागिछ । त्यो मुद्दामा मैले अविवाहित छोरीलाई अंश दिनुपर्छ भनेर फैसला गरेँ । मुद्दा सर्वोच्चसम्म पुगेछ । सर्वोच्चले पनि मेरो फैसला सदर गर्‍यो । अर्को, पोखरामा स्कुलबाट आउँदा एक जना किशोरीलाई एक केटाले जबरजस्ती सिन्दुर हालेर यो मेरो श्रीमती हो भनेछ । मैले त्यस केटालाई भनेँ, ‘तिमीले सिन्दुर हालेको हो ?’ उसले ‘हो’ भन्यो । मैले भनेँ, ‘मन मिले पो हुन्छ । कसैलाई सिन्दुर हाल्दैमा श्रीमती हुन्छ ?’

पोखरामा रजिस्ट्रार भएर गएकी थिएँ । त्यहाँ क्षेत्रीय अदालत गठन गर्न मलाई खटाइएको थियो । त्यहाँ भएको अनिमियता रोक्न खोज्दा क्षेत्रीय न्यायाधीशसँगै टसल पर्‍यो । आमा बिरामी हुनुहुन्थ्यो । म आमासँगै बस्नुपर्छ भन्दा पनि मलाई बिदा दिइएन । त्यसैले म सर्वोच्चमा आफ्नै पद (उपसचिव) भएर फर्कें । तर, पुनः मलाई पोखराकै जिल्ला अदालतको न्यायाधीश बनाइयो । आमालाई पनि साथै लगें । त्यसक्रममा क्षेत्रीय अदालत र प्रधानन्यायाधीशसँगै मतभेद भयो । ‘हामीभन्दा जान्ने हुने ?’ भनिन्थ्यो । न्याय दिने सवालमा महिलालाई सकेको जति गरेँ ।

तपाईंको समयमा न्याय लिन आउने महिला कस्ता हुन्थे ?

एकदमै अन्यायमा परेका हुन्थे । जुम्लामा तीन वर्ष न्यायाधीश हुँदाको कुरा हो, त्यहाँ जारी तिर्ने (केटी जोसँग गयो उसले पहिलेको लोग्नेलाई पैसा तिर्नुपर्ने) चलन रहेछ । त्यहाँ बहुविवाह सामान्य थियो । एक जना महिला अर्कैसँग गइछिन् । उनको लोग्ने सुन यति तोला, चाँदी यति तोला, लुगा यति महँगो भन्दै जारी दाबी गरेर आए । म त छक्कै परेँ किनकि जारी मुद्दा मैले देखेको थिइनँ ।

मैले प्रश्नैप्रश्न सोधेँ । सुनको बिल छ भनेर सोधेँ, कागज छ भनेर सोधेँ । उनले बिल छैन भने । मैले सोधें, ‘के त्यो केटीलाई बाबुआमाले नांगै पठाए त ?’ उनले जवाफ दिन सकेनन् । बिल देखाउन सकेनन् । एकै प्रश्नले मुद्दा छिनियो । बाहिर गएर उनले मलाई निकै गाली गरेछन् !

जुम्लामै एक महिला १२ ठाउँमा पोइला गइछिन् । अन्तिममा एउटाले ५० रुपैयाँ जारी माग्यो । त्यसको अर्थ ती महिलाको शरीरको मूल्य ५० रुपैयाँ मात्र भन्न खोजिएको हो नि ! मैले सोधें, ‘महिलाको शरीरको मूल्य ५० रुपैयाँ ?’ यो त हुनै सक्दैन भनेर तत्काल मुद्दा अन्त्य गरिदिएँ ।

पोखरामा ज्यान मुद्दाको फैसला गर्दा आफ्नो पक्षमा भएन भने जे पनि गर्छौं भनेर बाटोमा घेरा हाल्न थालेछन् । के गर्न सक्छन् भनेर म बाहिर एक्लै गएँ । उनीहरूलाई अञ्चलमा जानूस्, माथि जानूस् भनेर सम्झाएँ । तपाईंहरूले भन्दैमा म भाग्छु त भनेर अडिग रहें ।

मुद्दा लड्न आउने महिलाको आर्थिक अवस्था कस्तो हुन्थ्यो ?

उनीहरूको अवस्था दयनीय हुन्थ्यो । मुद्दा नै लड्न आउँदा पनि वकिल राख्न सक्ने हैसियत थिएन । सबैभन्दा दयनीय अवस्था जुम्लामा देखें । खानाको नाममा पिरो खुर्सानी र रोटीमात्र हो । त्यतिबेला जुम्लाका प्रत्येक पुरुष मुलुकी ऐन बोकेर हिँड्थे । आफू जान्ने हुने अनि त महिलालाई हेप्न पाइहाले ।

त्यस समय वकालत गर्ने महिलाचाहिँ थिए कि थिएनन् ?

सुशीला सिंह ‘सिलु’ एक जना थिइन् ।

न्यायमा महिलाको पहुँच पहिले र अहिले कस्तो छ ?

पहिला पनि महिला न्याय खोज्न जान्थे तर आर्थिक अवस्था कमजोर हुन्थ्यो । उनीहरू आफ्नो मुद्दामा सधैं धाउन सक्दैनथे । फेरि, न्याय दिन खोजे जताबाट पनि सकिन्छ, नदिन खोजे अड्को थापेर पनि फसाउन सक्थे । बलात्कार, कुटपिटको मुद्दा आउँदैनथे । हामी छँदासम्म त्यस्तो मुद्दा थिएन । मेरो त्यति लामो करिअरमा बलात्कार मुद्दा कहिल्यै छिन्नु परेन । सम्बन्धविच्छेदका मुद्दा पनि निकै कम आउँथे ।

अहिले बलात्कार, हिंसा र सम्बन्धविच्छेदका लाखौं मुद्दा छन् । अहिलेका महिला धेरै जागेका छन् । शिक्षाको पहुँच पुगेको छ । अधिकारका कुरा गर्न सक्ने भएका छन् । पहिले जति नै अन्याय भए पनि सहेरै बस्थे महिलाहरू ।

प्रकाशित : फाल्गुन २२, २०७७ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?