कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘साह्रै बुरुक्क बुरुक्क नगरौं’

कान्तिपुर संवाददाता

काठमाडौँ — २०३० देखि गीतसंगीतका बाटामा हिँडेका गायक जीवन शर्माका जनप्रिय गीत फेरि सडकमा बज्न थालेका छन् । कहिले क्रान्तिमा, कहिले आन्दोलनमा उनका गीत बजिरहने शृंखला नयाँ संविधान जारी भएपछि रोकिएको थियो, जसको फेरि क्रमभंग भएको छ ।

‘साह्रै बुरुक्क बुरुक्क नगरौं’

लामो समय रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रहेका शर्मा पछिल्लो राजनीतिक घटनाक्रमपछि भने अन्यमनस्कमा छन् । उनीसँगै हिँडेका कति साथी सत्तामा छन्, कति दोधारमै । अन्तर्वार्ताको सुरूमै ‘राजनीतिबारे धेरै कुरा नगरौं है’ भन्दै तर्किएका शर्मासँग बदलिँदो समय र राजनीतिको स्वरुपबारे जनकराज सापकोटाले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंका कतिपय सहयात्री अहिले सत्तामा छन् अनि तपाईंले गीतमार्फत गाइएका जनताका दुःख जहाँका त्यहीं छन् । यतिबेला गीत सान्दर्भिक भएकामा खुसी लाग्छ कि जनताको स्थिति जहाँको त्यहीं भएकामा दुःख लाग्छ ?

गीतसंगीतले समाजमा जुन परिकल्पना गरेको हुन्छ, त्यसमुताबिक सामाजिक जीवनमा परिवर्तन देखा पर्न नसक्नु राम्रो पक्ष होइन । व्यक्तिगत रूपमा मैले कुनै बाटो तय गरेको छैन तर गरिब/दुःखी, शोषितपीडित र निमुखा नेपाली जनताका पक्षमा सधैं आवाज उठाइरहनु मेरो जिन्दगीको लक्ष्य बनिसकेको छ । त्यसैले जबसम्म देशमा गरिबदुःखी, निर्धानिमुखा र शोषितपीडित पात्रहरू रहिरहन्छन्, त्यतिबेलासम्म मेरा गीतको सान्दर्भिकता रहिरहन्छ तर मैले भन्ने गरेको छु, मेरो गीतको सान्दर्भिकता अब समाप्त होओस् । मेरा गीत सुन्दाखेरि यी गीत गाउन अब आवश्यक छैन भनेर जनताले सम्झोस् । जब समाज सुखी र सम्पन्न हुन्छ, मानिसहरू समृद्ध बन्छन्, जब मान्छेका आँखाका आँसु पुछिन्छन्, त्यतिबेला यी गीतको सान्दर्भिकता सकिएला । त्यो छिट्टै होओस् भन्ने मेरो चाहना छ ।

तपाईंको गीत फेरि सडकमा बज्न थालिसकेको छ । यो देख्दा कस्तो लाग्छ ?

मसँगै यात्रा गरेकाहरू कोही प्रधानमन्त्री भए, कोही मन्त्री । कोही अहिले पनि मन्त्री छन् । कोही विभिन्न ओहोदामा हुनुहुन्छ । कतिपयले राम्रै काम पनि गर्नुभएको होला । कतिपयको काम चित्त नबुझ्दो पनि होला तर ती सबैको मूल्यांकन इतिहासले पछि गर्ला नै तर गीतसंगीत मेरो मुखबाट बाहिर निस्केर सार्वजनिक भएपछि त्यसले आफ्नो यात्रा तय गर्छ । ती गीत कहिले गरिबका झुप्रामा बज्छन् । कहिले महलमा पनि बज्दा रैछन् । मैले भन्ने गरेको छु, किसानले धान उत्पादन गर्छ, त्यो धान उसले लगेर बेच्छ । त्यो धानलाई चामल बनाएपछि त्यो कहाँ कहाँ पुग्छ र क–कसले खान्छ भनेर किसानले हिसाब गरेर साध्य नै हुँदैन । गीतसंगीत पनि त्यस्तै हो । मेरा गीत कहिले सडकमा बजेका हुन्छन्, कहिले महलमा । कहिले प्रधानमन्त्रीकहाँ, कहिले राष्ट्रपतिकहाँ । कहिले गीत विप्लवको आन्दोलनमा बज्छन् त कहिले प्रचण्डको जनयुद्धमा बजेका थिए । अहिले सडकमा पनि ती गीत छन् । यी गीत कहिलेकाहीं केपी ओलीले पनि भाषणमा गाउनुभएको छ । गीत कहाँ कहाँ पुग्छन् भनेर हिसाब गरेर साध्य पनि हुँदो रहेछन् तर जेसुकै होस्, यी गीतले अहिले पनि समाज र मानिसलाई तरंगित गरेकै छ ।

गरिब र निर्धाको गीत त सधैं लेखिँदै गाइँदै आइएको छ तर उनीहरूको अवस्था ?

गीतका पात्रको भौतिक अवस्था उस्तै–उस्तै छ तर मानसिक अवस्थामा परिवर्तन आएको छ । हिजो काम गरेर खानेहरूको मनोदशा के थियो ? मेरो कर्म नै यस्तै हो, मेरो जिन्दगी नै यस्तै हो । कसैका कारणले गर्दा मैले दुःख पाएको हैन । मेरो आफ्नै प्रारब्धले र कर्मले दुःख पाएको हो भन्ने थियो । यो दुःखबाट छुटकारा पाउने उपाय केही छैन भनेर निराश भएर मानिस आफूले पाएको दुःख सहन्थे । अहिले मानिस त्यस्तो छैन । सचेत छ । अरबमा गएको छ । बाटामा काम गरेको छ । ४५ देखि ५० डिग्री सहेको छ । अलिअलि पैसा घर पठाएको छ तर उसका मनमा के छ भने म अरब आउनुको कारण चाहिँ छ देशमा । मैले यहाँ किन दुःख पाएको छु, देशमा राम्रो व्यवस्था नहुँदा । मलाई विदेश आउन बाध्य पार्ने नीति र थितिलाई परिवर्तन गर्नुपर्छ भनेर ऊ मनभित्र एउटा चेतनाको आगो बालेर बसेको छ । अहिलेको शोषितपीडित पहिलेको तुलनामा धेरै सचेत छ । चेतना बोकेर काम गरेको छ । उनीहरूको मनोदशा फरक छ तर उनीहरूले पाउने दुःख यथावत् छन् । हिजो एउटा भरिया भारी बोक्थ्यो । अहिले त्यो भरिया गाउँमा नभएर अरब वा जापानमा भाँडा माझ्दै होला । अमेरिकामा मेसिनमा काम गर्दै होला । अरबमा पुल बनाउँदै होला । उसका दुःख उनै हुन् । भारी बोक्दा जति पसिना झार्नुपरेको थियो, अहिले पनि उति नै पसिना बगाउनुपरेको छ तर दुःखको प्रकृति परिवर्तन भएको छ र उसको मानसिक अवस्थामा पनि परिवर्तन आएको छ ।

तपाईंले भन्नुभयो, जनताको दुःख उस्तै छ तर चेतनामा परिवर्तन आएको छ अनि राजनीतिको ?

केही समय भयो मलाई राजनीतिका कुरा गर्न त्यति मन लाग्दैन । राजनीतिमा त्यत्ति सफा खेल देखिरहेको छैन । चाहे साना पार्टी हुन्, चाहे ठूला पार्टी । राजनीतिभित्र हेर्‍यो, सफा, सुन्दर खेल कहीं पनि देखिँदैन । मैले पटक–पटक भन्ने गरेको छु, बरु राजनीतिका भन्दा जीवनका कुरा गरौं । जगत्का कुरा गरौं । सुन्दर भविष्यका कुरा गरौं । संगीतका कुरा गरौं । राजनीतिको यो कोलाहलबाट छुट्टै कुनै टापुमा बसेर सुन्दर साहित्य र संगीतको कुरा गरौं । कति यो राजनीति–राजनीति भनेर जनतालाई अड्काइराख्ने जस्तो लाग्छ ।

तपाईंलाई यति धेरै विरक्त लागेपछि, तपाईंका गीत सुनेर राजनीतिमा आएकालाई झन् कस्तो होला ?

त्यही त । साथीहरू उकुसमुकुसमा छन् । सबै साथीले सोचेजस्तो भएन, भनेजस्तो भएन । जनयुद्ध गरियो, त्यो पनि भएन । त्यसभन्दा अघि पञ्चायती व्यवस्थाविरुद्ध संघर्ष गरियो, त्यतिबेला पनि सोचेजस्तो भएन । यो पार्टीलाई जिताइयो, त्यसले पनि गरेन । अर्को पार्टीलाई जिताइयो, त्यसले पनि गरेन । फेरि गणतन्त्र ल्याइयो, त्यसपछि पनि भएन । फेरि दुई तिहाइ ल्याइयो, त्यसपछि पनि भएन । अब के ल्याएर हुने हो ? मानिस अन्योलमा छन् ।

यो सबै सम्झेर बडो वैराग्य नै लाग्छ कि क्या हो ?

वैराग्य त लाग्दैन । म बडो आशावादी मान्छे हो । नेपाली जनताप्रति मेरो ठूलो भरोसा छ ।

के कुरामा भरोसा छ ?

फेरि पनि नेपाली जनता सचेत हुँदै गएका छन् । चेतनशील हुँदै गएका छन् । जनताको त्यो चेतनाले देशलाई फेरि एउटा निकासतिर लैजान्छ तर त्यो चेतना अझै संगठित भएर सही दिशामा जान चाहिँ पर्छ तर कहिले जान्छ भन्न चाहिँ सकिन्न । त्यसैले हामी निराश हुने कुरै छैन । हामी कलाकार नै निराश भयौं भने विराग उत्पन्न भयो भने त जनता झन् धेरै निराश हुन्छन् । जनता निराश भए भने देश बर्बाद हुन्छ ।

क्रान्तिका, जनआन्दोलनका र विभिन्न सामाजिक आन्दोलनका कार्यदिशा गलत थिए कि यिनका अगुवा गलत थिए ? हामी कहाँ चुक्यौं भन्ने लाग्छ ?

अब यहाँ एउटा पक्षले मात्रै काम गरेजस्तो लाग्दैन । देशलाई अगाडि बढाउने कुरामा जुन अलमल छ, यो एउटा मात्रै पक्षले गर्दा भएको छैन । यहाँभित्र धेरै निर्धारक तत्त्वले काम गरेको देख्छु । देशभित्रका, देशबाहिरका, समाजका विभिन्न तह र तप्काका, विभिन्न स्वार्थी समूहका, धेरै तिरबाट के–के जम्मा भएको छ । धेरै भ्यागुता एकै ठाममा जम्मा भएपछि फड्केर जाने खोज्ने भ्यागुता पनि एक इन्च चल्न सक्दैन रे । एउटा भ्यागुताको खुट्टा अर्कोमा जेलिएको छ । अर्कोको खुट्टा अर्कोमा । खुट्टै खुट्टामा जेलिँदा जेलिँदै कुनै पनि भ्यागुता अगाडि बढ्न सक्दैन रे । नेपाली समाज त्यस्तै भएको छ । चार तिरबाट जेलिएर केही गर्दा पनि अगाडि बढ्न नसक्ने अवस्थामा पुगेको हो कि । अहिले हामी समीक्षाको चौतारीमा बसेर विचार गर्नुपर्ने जस्तो देखिन्छ ।

तपाईंको एउटा गीत छ, ‘समयसँग सम्झौता होइन, संघर्ष गर संघर्ष... ।’ अहिले पनि हामी समयसँग सम्झौता हैन, संघर्ष नै गर्ने चौतारीमा आएर बसेका हौं त ?

संघर्ष त जिन्दगीको अटुट काम हो जस्तो लाग्छ । कठिनाइहरू आउँछन्, अप्ठ्याराहरू आउँछन्, कठिनाइहरू पैदा हुन्छन्, त्यतिबेला निराश हुने होइन, त्यतिबेला प्रतिकूल परिस्थितिसँग जुधेर अगाडि बढ्ने हो भनेर मैले धेरै अघि गीत गाएको थिएँ । यो गीत सुनेर आत्महत्या गर्न लागेका कैयौं मान्छे पनि फर्केर आए भन्ने सुनेको छु मैले । अब भएन । निराश हुने होइन । आशावादी हुने हो । आशा र उमंगका लहर मनभित्र उरालिराख्नुपर्छ । तिनै आशाले नेपाली जनता अगाडि बढिराखेका हुन्छन् । हामी कलाकारको एउटा कर्तव्य के पनि हो भने मानिसलाई अधोगतितिर होइन, उचाइतिर उठाउने प्रयास गर्नुपर्छ । समाजलाई पनि, जनतालाई पनि, व्यक्तिलाई पनि । (उनले गीत गुनगुनाए...)

समयसँग सम्झौता होइन, संघर्ष गर संघर्ष

आउँछन् हजार चुनौती, स्वीकार गर सहर्ष

सुख र दुःखको द्वन्द्वले जीवनको बाटो खन्दछ

हजारौं चोट सहेर पत्थर त्यो मूर्ति बन्दछ ...

हजारौं चोट सहेर एउटा पत्थर मूर्ति बन्ने हो । समाज पनि त्यस्तै हो । जसले सबभन्दा बढी संघर्ष गरेको हुन्छ, जसले सबभन्दा बढी यातना सहेर पनि आशावादी भएर अगाडि बढेको हुन्छ, त्यो नै सफल हुँदै जान्छ ।

हिजो एउटै नारामा गीत गाउने, एउटै गीतमा कोरस भर्ने आज कोही सत्तामा, कोही सडकमा छन् । एउटाले अर्कोलाई प्रतिगामी करार गर्दै छन् । यी धेरै त तपाईंले चिनेकै मान्छे होइनन् र ?

त्यही साथी आज एउटा कित्तामा छ । भोलि अर्को कित्तामा पुगिसकेको हुन्छ । अब कसलाई गाली गर्ने ? कसलाई प्रशंसा गर्ने ? त्यो कित्तामा गएर पनि रातारात आज ऊ बेठीक, भोलि ठीक त भएको हुँदैन । एकैरातमा एउटा कित्तामा छ । भोलि बिहान अर्को कित्तामा छ । ती साथीहरूको पनि मनस्थिति देख्छु, कता गएर के हुने हो ? दोधारमा छन् । कुन कित्तामा जाँदा कहाँ पुगिन्छ, दोधारमा छन् साथीहरू । समग्र नेपाली समाज नै अन्यमनस्कमा छ । त्यही भएर मैले साथीहरूलाई भनेँ, गम्भीरतापूर्वक विचार गर । उत्ताउलो पाराले हामी केही पनि नगरौं । जब देशमा समस्या देखा पर्छन्, त्यतिबेला आत्तिने होइन, आवेगमा होइन, विवेकले काम गर्नुपर्छ । विवेकपूर्वक पाइला चालौं । हिजोका सँगसँगैका साथीहरूलाई यति साह्रो गाली गर्नुपर्ने अवस्थामा पुगिसकेको म देख्दिनँ । जुनसुकै कित्तामा पुगे पनि किन नहोस् ।

गाली पनि अड्कलेर गर भन्न खोज्नुभएको ?

गाली गर्नु त ठीक छ । आलोचना आउँछन्, विचारहरू व्यक्त गर्ने कुरा हुन्छन् तर साह्रै सुन्न नसक्ने गाली त किन गर्नुपर्‍यो र । आलोचनाको पनि, बहसको पनि एउटा स्तर र संस्कार हुन्छ । राजनीतिक संस्कृति हुन्छ । त्यहीअनुसार चलौं न । अहिले यो खिचातानीमा मलाई त त्यति समावेश हुन मन छैन । गम्भीर प्रकारको सैद्धान्तिक खिचातानी त म देख्दिनँ । त्यस्तै त्यस्तै कुरामा खिचातानी परेको छ । त्यसैले साह्रै बुरुक्क बुरुक्क नगरौं कि जस्तो लाग्छ ।

तपाईंलाई पनि हाम्रो समूहमा आइज, यता बोल् भनेर हैरान खेलाइराछन् कि क्या हो ?

त्यस्तो अवस्था त छैन । म स्वतन्त्र मान्छे हुँ । म भित्र उकुसमुकुस पाल्दिनँ । मभित्रका उकुसमुकुस बाहिर निकाल्ने माध्मय गीतसंगीत हो । उकुसमुकुस भयो भने एउटा गीत लेख्छु तर धेरैजसो साथीमा उकुसमुकुस देख्छु ।

सर्वहाराको राजनीति गर्छु भन्दाभन्दै सत्तामा पुग्ने र पुगेपछि त्यही वर्गविरोधी देखिने राजनीतिको चरित्रलाई कसरी हेर्नुहुन्छ ?

अहिलेसम्मको मेरो खुसी के हो भने मैले सर्वहाराको गीत गाउँदै सर्वहाराकै जिन्दगी बिताइरहेको छु । मेरो खुसी त्यहींनेर छ । जसको गीत गाएँ, त्यही वर्गमा परिणत भएँ । योभन्दा ठूलो सौभाग्य अरू केही होइन । यो अवस्थाबाट विचलित हुन नपरोस् । म धनाढ्य भएर गरिबको गीत गाउँदै हिँडेको भए मेरो मनस्थिति र मेरो व्यवहारमा विरोधाभास हुन्थ्यो । गीत गाउँछु सर्वहाराको तर बस्छु महलमा भएको भए त्यतिबेला मेरो मनले मलाई के भन्थ्यो होला । अहिले त मेरो आनन्दमय जिन्दगी छ । मैले जुन पात्रको गीत गाएँ, म त्यही पात्रकै हाराहारीमा आएँ ।

जुन मान्छेका लागि राजनीति गर्ने हो, नेता पनि त्यही मान्छेजस्तै बन्नुपर्छ भन्न खोज्नुभएको ?

मार्क्स हेर्नुस्, लेनिन हेर्नुस्, माओत्सेतुङ हेर्नुस्, महात्मा गान्धी हेर्नुस्, नेपालका कृष्णप्रसाद भट्टराईसम्मलाई हेर्नुस् । सादा जिन्दगी बिताएर पनि त हुने रहेछ नि । उहाँहरूलाई त हाइफाई चाहिएन । सादा जिन्दगी थियो । सरलतामा महान्ता हुन्छ भन्ने कुरा हाम्रा नेताले किन नबुझेको ?

अहिले सत्तामा भएका नेताहरू पनि त केही दशकअघिसम्म साधारण नै थिए होइन ? के भयो जादुको छडी र उनीहरू बदलिए ?

सत्तालाई बसमा पार्न सक्नुपर्थ्यो । सत्ताले बसमा पारिदियो । सत्तालाई बसमा राख्न सकेको भए सारा जनता खुसी हुन्थे । नेताहरू साधारण हुन्थे । सत्ताले बसमा पारिदियो नेताहरू सुखी भए, जनता दुःखी । असाधारणतामा महान्ता देख्नु नै गम्भीर त्रुटि हो ।

त्रुटिको पोखरीमा सबै जना पालैपालो चोबलिए ?

सबैलाई को–को भन्ने । धेरै चाहिँ चोबलिए ।

तपाईंले २०४३ तिर गाएको गीत छ ‘सिमली छायामा बसी भरिया लामो सास फेरेको...।’ ती भरिया अहिले पनि सिमली छायामै छन् कि अब के हुन्छ भनेर राजनीतिलाई हेरिराछन् ?

भरियाहरू सिमली छायामै छन् तर सिमली छायाको प्रकृति फरक छ । त्यो सिमली छाया कोही अरबका एसी बनेका

छन् । केही शंकरदेव क्याम्पसअघि बस्ने नाम्ले भरियाको घर बनेको छ । सिमली छायाको प्रकृति बेग्लाबेग्लै छ तर सिमली छायामा बस्नेहरूको सुस्केरा उस्तै छ । (यति भनेर उनले गीत गुनगुनाए ...)

सिमली छायामा बसी

भरिया लामो सास फेरेको

उमेर भइसक्यो असी झन् ठूला दुःखले घेरेको

छोराछोरी पाले ताले यै भारीको भरमा

जीवनभरि कहिल्यै पनि सुध्रिएन कर्म

वैशाखको धूपमा पनि सुख पाइनँ मैले

साउनको बाढी पैरो भन्न पाइनँ मैले

निमुखो यो सर्वहारा, सातुको कोसेली फुकायो

भिजेको जीउको सारा

डाँडामा पसिना सुकायो

सिमली छायामा बसी भरिया लामो सास फेरेको ...

प्रकाशित : फाल्गुन ९, २०७७ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?