कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

‘जोखिमयुक्त हिमताल विस्फोटनको खतरा औंल्याएर पूर्वतयारी गर्नुपर्छ’

चार दशकयता नेपालमा रहेका हिमताल २५ प्रतिशत क्षेत्रफलले बढेको देखिन्छ
नेपालमा आधा हेक्टरभन्दा ठूलो क्षेत्रफल भएका हिमतालहरु झन्डै १५ सयभन्दा बढी छन् । तीमध्ये अघिल्लो वर्षको अध्ययन अनुसार २१ वटा हिमतालहरु उच्च जोखिमयुक्त देखिन्छन् ।
गोविन्द पोखरेल

काठमाडौँ — भारतको उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीका कारण रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जिउधनको क्षति पुर्‍याएको छ । बाढीका कारण सोमबार साँझसम्म २६ जनाको शव भेटिएको र १ सय ५० भन्दा बढी बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘जोखिमयुक्त हिमताल विस्फोटनको खतरा औंल्याएर पूर्वतयारी गर्नुपर्छ’

नेपालमा पनि हिमपहिरो र हिमनदी विस्फोटनका घटनाहरु हुने गरेका छन् । जलवायु परिवर्तनको उच्च १० जोखिम मुलुकभित्र पर्ने नेपालमा खतरामा रहेका धेरै हिमतालहरु छन् । हिमपहिरो र हिमताल विस्फोटन र त्यसले ल्याउन सक्ने असरबारे त्रिभुवन विश्विवद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका सह-प्राध्यापक एवं जलवायु विज्ञ डा. सुदीप ठकुरीसँग कान्तिपुरका लागि गोविन्द पोखेरलले गरेको कुराकानीः

केही दिनअघि भारतको उत्तराखण्डमा जनधनको क्षति हुने गरी भएको हिमताल विस्फोटन हो कि हिमपहिरो ?

भारतको नन्दादेवी पर्वत क्षेत्रमा त्यहाँको दोस्रो अग्लो पहाड नन्दादेवी (७१०८ मिटर) अवस्थित छ । जहाँ करिब २० किमि लम्बाइ भएको नन्दादेवीसहित अन्य ठूला हिमनदी छन् । अहिले आकस्मिक बाढी आउनुको कारण तत्काल यकिनका साथ भन्न नसकिए पनि नन्दादेवी हिमनदीमा गएको बरफ वा चट्टानी पहिरो कारण हुन सक्छन् । त्यस क्षेत्रमा हेर्दा ठूला तालहरु प्रत्यक्ष देखिँदैनन् । केही बरफहरु फुटेर हिमनदीभित्र जमेका पानीको ताल वा बरफ झरेर त्यसले नदीलाई छेकेपछि पानी जमेर विस्फोट हुँदाको नतिजा जस्तो पनि देखिन्छ । नेपालमा सेती नदीमा सन् २०१३ मा गएको बाढी जस्तैको प्रकृति त्यहाँ भएको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

भारतको ऋषिगंगा नदीको उद्गमस्थल नन्दादेवी हिमनदी हो । उत्तराखण्डमा भएको घटना धौलीगंगामा हो । यसको असर त्यही देखिएको छ । नन्दादेवीमा हिमपहिरो गए पनि त्यहाँको पानी थुनिएपछि आएको आकस्मिक बाढी 'फ्लास फ्लड' ऋषिगंगा हुँदै धौलीगंगामा देखियो । घटना हुनुअघि र पछिका भू–उपग्रहबाट लिएका तस्बिरहरुलाई हेर्दा भने ठूलो पहिरो खसेर हिमनदीभित्र रहेका तालहरुलाई असर पारेर एक्कासी बाढी आएको देखिन्छ ।

यो घटनाबाट नेपालले के सिक्ने ?

हिमताल वा हिमनदी विस्फोटनको घटना नेपालमा पनि हुने गरेको देखिन्छ । भारतमा हिमताल विस्फोटन हुँदा नेपाललाई त्यसको प्रत्यक्ष असर नदेखिएला तर हामीले त्यस घटनाबाट भने पाठ सिक्नुपर्छ । हिमनदी र हिमतालको अवस्थाले गर्दा यस्ता घटनाहरु नेपालमा दोहिरिन सक्ने सम्भावना प्रशस्त छन् । यसका लागि पूर्वतयारीका काम गर्नुपर्छ । तथ्यांक संकलनको काम गर्नुपर्ने देखिन्छ ।

कोशी जलाधार क्षेत्रमा गएको हिमपहिरो

तिब्बतका ताल विस्फोट भए नेपाललाई कत्तिको खतरा हुन्छ ?

नेपालका अरुण, भोटेकोसी, तामाकोसी, कर्णाली लगायतका धेरै नदीहरुको स्रोत तिब्बतमा रहेका हिमनदी र हिमतालहरु हुन् । त्यसैले तिब्बतमा हुने कुनै पनि हिमनदी तथा हिमतालका गतिविधिहरुले नेपाली क्षेत्र प्रभावित हुन सक्छन् । जस्तै, सन् २०१७ मा तिब्बतमा हिमताल विस्फोटन हुँदा नेपालको भोटेकोसीमा ठूलो बाढी आउँदा नेपालतर्फका हाइड्रोपावर, पुल लगायतका भौतिक संरचना तथा बस्तीहरुमा क्षति भएको थियो । नेपालमा भन्दा जोखिमपूर्ण हिमनदीहरु तिब्बतमा धेरै छन् । हालैको अध्ययनहरुले पनि त्यही देखाउँछ ।

नेपालमा आधा हेक्टरभन्दा ठूलो क्षेत्रफल भएका हिमतालहरु झन्डै १५ सयभन्दा बढी छन् । तीमध्ये अघिल्लो वर्षको अध्ययनअनुसार २१ वटा हिमतालहरु उच्च जोखिमयुक्त देखिन्छन् । त्यस्तै तिब्बतीयन क्षेत्रमा पनि झन्डै २ हजार ताल छन् । जसको प्रत्यक्ष असर नेपालीमा भू-भागमा पनि पर्छ । विगतमा दिनहरुमा पनि हिमताल विस्फोटनका घटना नेपालमा देखिसकिएको छ ।

सन् १९२२ देखि नेपालमा अहिलेसम्म ६० भन्दा बढी हिमपहिरोको तथ्यांक हामीले संकलन गरेका छौं । ती घटनाहरुमा ३७२ जनाको ज्यान गएको देखिन्छ । सबैभन्दा बढी हिमपहिरो खुम्बु क्षेत्रमा गएको देखिन्छ । मानवीय हिसाबले हेर्दा सगरमाथा क्षेत्रमा सन् २०१४ मा गएको हिमपहिरो ठूलो हो । त्यसबेला ५९ जनाको ज्यान गएको थियो । त्यस्तै सगरमाथा क्षेत्रमा सन् १९९५ मा ४८ जनाले ज्यान गुमाएका थिए ।

यो समस्याबाट नेपाललाई मात्रै असर पर्छ कि भारतलाई पनि ?

यो एउटा मात्रै देशको समस्याभन्दा पनि हिमालय क्षेत्रमा भएका राष्ट्रहरुबीचको प्रमुख समस्याको रुपमा लिइनुपर्छ । यहाँ रहेका देशहरुले आपसमा मिलेर रणनीति बनाउनुपर्ने जरुरी देखिन्छ । यस्ता समस्याहरुको संयुक्तमा अध्ययनमा जोड दिनुपर्छ । जस्तै, तिब्बतीयन क्षेत्रमा ताल फुट्दा त्यसको असर नेपालमा मात्रै नभई नेपालसँग सीमा जोडिएका भारतका क्षेत्रमा पनि पर्छ । संयुक्त रुपमा अध्ययन, सूचनाको आदानप्रदान र न्यूनिकरणका उपायहरु अपनाउनुपर्ने हुन्छ । जस्तै, तिब्बतमा ताल फुट्न लागेको छ तर त्यसको सूचना नेपालमा भएन भने त्यसको क्षति भयावह हुन्छ ।

के गर्नुपर्छ नेपालले ?

विस्फोटन कतिखेर हुन्छ भन्ने यकिनका साथ भन्न सकिँदैन । तथापि अध्ययनहरु हेर्दा पहिचान भएका वा हुन बाँकी जोखिमयुक्त हिमताल विस्फोटनको खतरा औंल्याएर पूर्व तयारीका कामहरु गर्न सक्नुपर्छ । पहिलो जलवायुको अध्ययन, दोस्रो हिमतालको अनुगमन र तेस्रो पूर्वसूचना प्रणाली हो । चौथोमा तटीय क्षेत्रहरुमा पूर्वतयारी हो ।

तल्लो वरण हिमताल ।

हिमताल विस्फोटन भनेको प्राकृतिक रुपमा पनि हुने कुरा हुन् । रोकथाम भनेर ठ्याक्कै विधिहरु प्रयोग गर्न गाह्रै छ । तर त्यसबाट बच्ने उपाय र प्रभावहरु कम गर्न सकिन्छ । जोखिमयुक्त हिमतालहरुको पहिचान गर्ने, संरचनाहरु हटाउने वा पानीको मात्रा घटाउन सकिन्छ । रोकथामभन्दा पनि क्षति कम गर्ने उपायहरु हामीले निकाल्नुपर्ने हुन्छ ।

जलवायु परिवर्तनले यसलाई कतिको असर गरिरहेको छ ?

जलवायु परिवर्तनको असरले हिमताल र हिमनदी बन्ने र फैलने प्रक्रियालाई असर गरिरहेको हुन्छ । हामीले गत वर्ष गरिएको अनुसन्धानले सन् १९७६ देखि २०१५ सम्म नेपालको औसत तापक्रम ० दशमलव ०४ डिग्री सेल्सियसले बढेको देखिन्छ । यसले के देखाउँछ भने तापक्रम बढ्दै जाँदा हिमनदी पग्लन सक्ने र नयाँ हिमताल बढ्ने सम्भावना बढी हुन्छ । तालहरुको क्षेत्रफल बढ्दै जाँदा फुट्ने जोखिम पनि बढ्छ । जलवायु परिवर्तनको जोखिमको हिसाबले नेपाल विश्वको १० मुलुकभित्र पर्छ ।

खुम्बु क्षेत्रमै हिमपहिरो र हिमताल विस्फोटनका घटनाहरु किन भइरहन्छन् ?

मुख्यतः हिमतालहरुको संख्या र फैलावटको हिसाबले सबैभन्दा बढी छन् । जुन त्यहाँको भौगर्भिक अवस्थाका कारणले गर्दा हो । किनभने त्यहाँ धेरै हिमनदीहरु र हिमताल बन्नका लागि हिमताल बन्नका लागि उपयुक्त भगौर्भिक बनावट रहेको छ । नेपालको पश्चिम भागमाभन्दा पूर्वी भागमा उच्च हिमाली क्षेत्रहरु हुनुका साथै हिमनदीहरुको संख्या र फैलावट पनि बढी छ । सोही कारण त्यहाँ बढी विस्फोटन हुन्छन् ।

हिमताल र हिमनदीको प्रस्ट अर्थ के हो ?

हिमनदी भन्नाले समान्यतः बगिरहेको बरफको ढिक्कालाई जनाइन्छ । बाहिरबाट हेर्दा स्थिर देखिए पनि हिमनदी विस्तारै बगिरहेको हुन्छ जुन केही वर्षको अन्तरालमा थाह पाउन सकिन्छ । हिमताल भनेको हिमनदीका बरफ तथा हिउँ पग्लिएर बनेको पोखरी वा ताल हो ।

हिमनदी र ताल कसरी बन्छन् ?

उच्च हिमाली क्षेत्रमा पानीको सट्टा हिउँ पर्छ । अत्यन्त चिसो क्षेत्रमा हिउँ आफैंमा लामो समयसम्म थुप्रिएर जाँदा त्यो जम्छ र बरफ बन्छ । पृथ्वीको गरुत्वाकर्षणले बरफ भिरालो क्षेत्रतिर बग्छ । त्यसरी बगेर जाने बरफको थुप्रोलाई हिमनदी भनिन्छ । एक हिसाबले भन्दा हिमनदी बन्ने र पग्लिएर जाने नियमित पक्रिया हो । भौगर्भिक अवस्थालाई हेर्दा यिनीहरु एक वर्गकिलोमिटरभन्दा सानादेखि लिएर सयौं वर्गकिलोमिटरसम्म हुन्छन् । नेपालमा सबैभन्दा ठूलो हिमनदी खुम्बु क्षेत्रमा रहेको नोक्जुम्बा हो जसको क्षेत्रफल करिब ९८ वर्ग किलोमिटर छ ।

नेपालको परिपेक्षमा हेर्दा विभिन्न किसिमका हिमताल छन् । कुनै हिमनदीको सतहमा हुन्छन् भने कुनै छेवैमा अथवा हिमनदीभन्दा केही टाढा छुट्टिएर रहेका हुन्छन् । तर पनि हिमनदी वा हिउँ पग्लिएर पानीको प्रवाह चाहिँ भइरहेको हुन्छ ।

तल्लो वरुण हिमताल ।

त्यसबाहेक पनि प्रत्यक्ष रुपमा नदेखिने तालहरु हिमनदीको सतहमुनि रहेका हुन्छन् । सामान्यतः कुनै एउटा भौगर्भिक सतहमा पानी जमेर हिमनदी वा हिउँ पग्लिएर जमेको पानीमा हिमताल बन्छ । सुरुमा सानो हुन सक्छ विस्तारै हिमनदी वा बरफहरु पग्लदै जाँदा क्षेत्रफल पनि बढ्दै जान्छ । कुनै हिउँ पग्लिएर बनिरहेको हुन्छ भने कुनैमा बरफ पनि पग्लिएको हुन्छ । हिमनदीमा रहेका तालहरुको क्षेत्रफल चाहीँ छिटो बढ्छ । पानीले छिटो बरफ पगाल्ने भएकाले क्षेत्रफल पनि सोही अनुरुप बढेको हुन्छ ।

नेपालको सन्दर्भमा हिमनदीमा रहका हिमतालहरुको संख्या र आकार बढिरहेको देखिन्छ । विगत चार दशकको समयलाई हेर्ने हो भने नेपालभित्र रहेका हिमताल २५ प्रतिशत क्षेत्रफलले बढेको देखिन्छ भने नयाँनयाँ हिमतालहरु बन्ने प्रक्रिया पनि देखिन्छ । नेपालमा हिमतालमा त्यस्ता केही हिमतालहरु पनि छन् जुन आश्चर्यजनक तरिकाले छिटो बढेका देखिन्छन् । जस्तै इम्जा, च्छो रोल्पा, ठूल्लागी, तल्लो वरुण हुन् । यी तालहरु सबै हिमनदीसँग जोडिएका छन् । त्यही भएर छिटो क्षेत्रफल बढिरहेको छ । तीनको क्षेत्रफल औसतमा २ सय प्रतिशतभन्दा बढीले बढेको देखिन्छ ।

हिमताल विस्फोटन र हिमपहिरोबीचको भिन्‍नता ?

सामान्यतः हिमताल विस्फोटन भन्नाले तालमा भएको पानी तालको बाँध फुटेर वा बाँध नाघेर आकस्मात रुपमा बाहिर जाने भन्ने बुझिन्छ । जसलाई हामी ग्लयासियल लेक आउटब्रस्ट (जीएलओएफ) पनि भनिन्छ । यसका कारणहरु विभिन्न छन् । जस्तै ताल बढ्दै जाँदा धेरै पानीको मात्रा हुँदा चापका कारण विस्फोटन हुन सक्छ भने तालको वरिपरि रहेका भिरालो क्षेत्रहरुमा पहिरो जाने वा चट्टान खस्दा वा बरफहरु झर्दा पनि फुट्न सक्छ ।

हिमपहिरोलाई हिउँको एभालान्च पनि भनिन्छ । अर्थात् हिउँको ठूलो परिमाण झरेर जाने पहिरो हो । ठूलो मात्रामा हिउँ खस्नु चाहिँ हिउँको एभालान्च हो । यसमा बरफ र चट्टानहरु सँगै जान सक्छन् । हाम्रो हिमाली क्षेत्रमा विभिन्न कारणले जस्तै चट्टान, भूकम्प अत्याधिक पर्ने भएकाले पनि गइरहेको हुन्छ जसको यकिन तथ्यांक भने छैन ।

प्रकाशित : माघ २७, २०७७ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?