कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

‘शेरबहादुरजी र ओलीजीबीच निकटता छ’

‘संविधानलाई ट्य्राकमा ल्याउन प्रतिनिधिसभा पुनःस्थापना हुनैपर्छ । ओलीले आफू हार्ने चुनाव किन गराउँछन्  ?’

काठमाडौँ — प्रतिनिधिसभा विघटनपछि नेकपा दुई समूहमा स्पष्ट विभाजित भइसकेको छ । नेपाली कांग्रेस पनि तरंगित भएको छ । सभापति शेरबहादुर देउवा विघटनविरूद्धको आन्दोलनलाई चुनाव तयारीको साधनका रुपमा प्रयोग गर्न चाहिरहेका छन् । 

‘शेरबहादुरजी र ओलीजीबीच निकटता छ’

संस्थापनइतर समूह भने प्रतिनिधिसभा पुनःस्थापनामा जोड दिइरहेको छ । यसै सन्दर्भमा कान्तिपुरका कुलचन्द्र न्यौपानेले कांग्रेस महामन्त्री शशांक कोइरालासँग गरेको कुराकानी :

प्रतिनिधिसभा पुनःस्थापना कि निर्वाचन भन्नेमा मतान्तर देखिरहेका बेला तपाईंको सार्वजनिक अभिव्यक्ति पनि प्रस्ट छैन नि । तपाईंको धारणाचाहिँ के हो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक बाटोबाट प्रतिनिधिसभा विघटन गरिदिएपछि संविधान अहिले ‘आउट अफ ट्र्याक’ छ । पहिला संविधानलाई ‘ट्र्याक’ मा ल्याउनुपर्छ । त्यो भनेको प्रतिनिधिसभा पुनःस्थापना नै हो । मेरो भनाइ पनि संविधानको रक्षाका लागि प्रतिनिधिसभा पुनःस्थापनामै पार्टी जानुपर्छ भन्ने हो ।

सभापति शेरबहादुर देउवासँग तपाईंले यसबीचमा दुईपटक भेट्नुभयो । उहाँसँग भेट्नुअघि एउटा, भेटेपछि अर्कै धारणा आउने गरेको पनि भनिन्छ नि ?

त्यस्तो होइन । पछिल्लोपटक शेरबहादुरजीले पार्टीको अधिवेशन र प्रदेश सरकारविरुद्ध आएका अविश्वास प्रस्तावका विषयमा छलफल गर्न बोलाउनुभएको थियो । अहिले प्रदेश १ र वाग्मतीमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । यस विषयमा कसलाई सहयोग गर्ने भन्नेबारेमा छलफल भएको थियो ।

नेकपाको कुन पक्षसँग गठबन्धन गर्ने कुरा भइरहेको छ त ?

अहिले छलफलमै छौं । मेरो धारणा प्रदेश १ मा नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षलाई दिऊँ, वाग्मतीमा हामीले मुख्यमन्त्री लिनुपर्छ भन्ने छ । सभापतिजीलाई पनि यही कुरा भनेको छु । उहाँले अरू साथीहरूसँग पनि छलफल गर्छु भन्नुभएको छ ।

प्रदेश सरकार निर्माणमा कांग्रेसको गठबन्धन दाहाल–नेपाल समूहसँग हुन लागेको हो ?

तल्लो तहमा प्रधानमन्त्री केपी ओलीको समूहकै वर्चस्व छ । हाम्रो मुख्य प्रतिस्पर्धा पनि ओली समूहसँगै हुने देखिन्छ । त्यसैले दाहाल–नेपाल समूहसँग मिलेर जाँदा राम्रो हुन्छ भन्ने मेरो धारणा हो । सभापतिजीले यस विषयमा अरू साथीसँग पनि छलफल गरेर निर्णय गरौंला भन्नुभएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले ओली समूहसँगै गठबन्धन गर्नुपर्छ भन्नेमा जोड दिनुभएको चर्चा साँचो हो ?

त्यस्तै देखिन्छ । शेरबहादुरजीले सिफारिस गरेका व्यक्तिलाई ओलीजीले संवैधानिक आयोगमा ल्याइदिनुभयो । शेरबहादुरजी र ओलीजीमा पहिलादेखि नै सफ्टनेस देखिन्छ । उहाँकी सासू (प्रतिभा राणा) लाई राजदूतबाट अहिलेसम्म हटाइएको छैन । जबकि सँगै राजदूत भएका डा. चोपलाल भुसाललाई हटाइदिए । यसले पनि उहाँहरूबीचको निकटता छ भन्ने देखाउँछ ।

प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थितिबिना अध्यादेश जारी गरेर बसेको संवैधानिक परिषद्को बैठकले गरेका सिफारिसलाई कांग्रेसले स्वीकार गरेको हो ?

शेरबहादुरजीले भनेका मान्छे सिफारिसमा परेकाले पनि पार्टी नेतृत्व यसमा चुप बसेको छ ।

तपाईंहरू पनि बोल्नुभएको छैन नि ?

सभापतिजीले बोल्नुहुन्न । हामीले के बोल्ने ?

यो त प्रणालीलाई भत्काउने काम भएन र ?

उहाँले केही बोल्नुभएको छैन । व्यक्तिगत रूपमा उहाँका मान्छे परेको भएर पनि नबोल्नुभएको होला । यसले प्रणालीलाई कमजोर बनाउँछ । अब हामी बोल्नुपर्छ ।

प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा बोल्दै नबोल्नुहोस् भनेर सभापतिजीले तपाईंलाई फकाउनुभएको चर्चा छ नि ?

शेरबहादुरजीको धारणा निर्वाचनमा जानुपर्छ भन्ने नै थियो । मैले निर्वाचनभन्दा महत्त्वपूर्ण त संविधान बचाउने हो नि भनें । संविधानलाई बचाउन प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ भन्ने ‘आर्गुमेन्ट’ मैले राखें । उहाँले हुन्छ अरूसँग पनि छलफल गरौंला भन्नुभयो ।

सार्वजनिक रूपमा निर्वाचनको विरोधमा नजानु पनि भन्नुभएको हो ?

अँ, त्यसरी नै भन्नुभयो । मैले निर्वाचनको विरोध कहाँ गरेको छु र ? पहिला संविधानलाई ‘ट्र्याक’ मा ल्याउन पुनःस्थापना हुनुपर्छ, त्यसपछि निर्वाचनमा जानैपर्छ भनेको हो । वैशाखमा निर्वाचन नहुने अवस्थामा पार्टीको महाधिवेशन प्राथमिकतामा पर्नुपर्छ भनेको छु ।

पछिल्लोपटक तपाईं र सभापतिजीबीच सहकार्यको विषय पनि चर्चामा छ नि ?

उहाँले सहकार्यको केही पनि प्रस्ताव मसँग राख्नुभएको छैन । उहाँ आफैं सभापति लड्न तयारी गरिरहनुभएको पाएको छु । म पनि सभापतिको तयारीमै छु । सहयोग गर्ने कुरा उहाँले पहिला नै गर्नुभएको थियो । अहिले खास केही त्यस्तो कुरा भएको छैन ।

केन्द्रीय कार्यसमिति बैठक लम्बिँदै जानुको कारणचाहिँ के हो ?

बैठकमा एजेन्डा के बनाउने भन्नेबारेमा छलफल भइरहेको छ । महाधिवेशनको प्रक्रिया अघि बढाउने विषयमा कतिपय विवाद छन् । तिनलाई मिलाउन छलफल भइरहेको छ । बैठक बोलाएर खालि भाषण गर्ने कुरा मात्रै भएन । केही ठोस निर्णय पनि गर्नुपर्‍यो । त्यसका लागि आन्तरिक छलफल गरेर बैठक बस्ने भनिएको छ । फेरि वरिष्ठ नेता रामचन्द्र पौडेलजी विराटनगर जाने कुरा गर्नुभएको छ । उहाँ फर्केपछि बैठक बस्नुपर्ने भएकाले पनि हो ।

केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटनको विषयमा थप केही निर्णय लिन्छ ?

लिनुपर्छ । प्रतिनिधिसभा विघटन असंवैधानिक, अलोकतान्त्रिक भनेर हामी विरोध प्रदर्शनमै गइसकेका छौं । कांग्रेसको धारणा के हो भन्नेमा अब कसैमा अन्योल नहुनुपर्ने हो । कोर्टलाई पनि ।

निर्वाचनको पक्षमा पार्टी सभापति निरन्तर लागिरहनुभएको छ । तपाईंले आगामी वैशाखमै निर्वाचन हुने सम्भावना कत्तिको देख्नुभएको छ ?

वैशाखमै चुनाव हुन्छ भन्ने मलाई लाग्दैन । ओलीले आफू हार्ने चुनाव किन गराउँछन् ? वैशाखमा चुनाव हुन नसक्ने अर्को कारण नेकपा औपचारिक रूपमा फुट्नका लागि पनि समय लाग्ने देखिन्छ ।

निर्वाचन आयोगले अहिलेसम्म चुनाव चिह्नको विषयमा निर्णय दिएको छैन । जुन बेला आयोगले निर्णय दिन्छ, नपाउने पक्ष फेरि अदालत जाने सम्भावना छ । अदालतमा गयो भने अर्को दुई महिना निर्णय गर्न लाग्छ । अनि कसरी वैशाखमा निर्वाचन हुन्छ । त्यसैले मैले पार्टीको महाधिवेशनलाई प्राथमिकता दिनुपर्छ भनेर भन्दै आएको छु ।

तपाईंसँगको भेटमा सभापतिजी निर्वाचन हुनेमा कतिको ढुक्क देखिनुहुन्थ्यो ?

शेरबहादुरजीले बारम्बार चुनाव हुन्छ भन्नुहुन्छ । उहाँलाई विश्वास छ तर मलाई विश्वास छैन । २०६४ मा गिरिजाप्रसाद कोइरालाले पार्टी हार्छ भन्ने जान्दाजान्दै पनि चुनाव गराउनुभएको थियो । ओलीमा त्यस्तो खालको सोचाइ देखिन्न ।

कांग्रेसले जिल्ला, संघीय, प्रदेश निर्वाचन क्षेत्र हुँदै पालिका र वडास्तरमा विरोधका कार्यक्रम लगेको छ । यो कार्यक्रमको स्वरूप हेर्दा त निर्वाचनको तयारीमा अघि बढेको जस्तै देखियो नि ?

एक किसिमले त्यो तयारी त हो । अहिले नभए पनि निकट समयमा निर्वाचन त हुन्छ नै । जनतामा जानका लागि पार्टीहरूलाई एक किसिमको दबाब पनि हो ।

प्रकाशित : माघ ८, २०७७ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?