३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अहिलेसम्म पार्टीहरूमा निर्दलीय स्वभाव नै छ : सूर्यप्रसाद श्रेष्ठ

'निर्वाचन आयोगलाई राजनैतिक दलले कार्यकर्ता भर्ना गर्ने थलो जस्तो सम्झन थाले ।'

काठमाडौँ — मन्त्रिपरिषद्को सिफारिसमा पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली राजनीति ध्रुविकृत भएको छ । सरकारको कदम सही र गलत भन्नेहरु दुई भागमा बाँडिएका छन् । सत्तारुढ नेकपा आफै विभाजित भएको छ ।

अहिलेसम्म पार्टीहरूमा निर्दलीय स्वभाव नै छ : सूर्यप्रसाद श्रेष्ठ

सरकारले प्रतिनिधिसभाको विघटन गरी नयाँ निर्वाचनको मिति समेत घोषणा गरेको छ । साथै निर्वाचन आयोगले पूर्व तयारीको कामहरु थालिसकेको छ । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठसँग अहिलेको समसामयिक विषयमा गरेको कुराकानी :

अहिलेको राजनैतिक अवस्थालाई कसरी हेरिरहनुभएको छ ?

अहिले कोरोनाले मुलुक आक्रान्त छ । यसले समाजमा ठूलै संकट ल्याएको छ । यसको आर्थिक सामाजिक असर गहिरिँदै गएको छ । योसँगै राजनैतिक दलहरुले अर्को राजनैतिक संकट निम्त्याएका छन् । राजनैतिक संक्रमण फैलिएको छ । यस्तो संक्रमण थप्ने नेतृत्व बुद्धिमानी नेतृत्व होइन ।

समस्या समाधानको उपाय हुँदाहुँदै राजनैतिक दलले देशलाई संकटमा धकेलेका छन् । बहुलवादी व्यवस्थामा राजनैतिक दलको भूमिका महत्वपूर्ण हुन्छ । हाम्रोमा त सत्तारुढ दल र विपक्षी दल दुवैले काम गर्न सकेनन् । दलभित्रको अन्तरकलहले यो संकट आएको हो । जनताले जसलाई विश्वासको मत दिएका थिए उसैले धोका दिए जस्तो भएको छ । व्यक्तिगत स्वार्थ र पदलोलुपताले नेपाल कम्युनिस्ट पार्टीलाई नै ग्रस्त बनाएको अवस्था छ ।

त्यसो भए समस्या नीतिमा भन्दा पनि नियतमा देखियो होइन ?

कम्युनिस्ट पार्टीको नीतिको कुरा त के छ र, कोही निर्वाचनमा भाग लिएर यहाँसम्म आए, कोही युद्ध लडे । यद्यपि जनताले दुवै शक्ति एकत्रित हुँदा र स्थायी सरकारको निर्माण होस् भनेर विश्वास गरे, मत दिए । जनताले एकीकृत कम्युनिस्ट पार्टीलाई सत्ताको भार दिएका हुन् । यो सामान्य कुरा थिएन । कम्युनिष्ट पार्टी जनताको मतबाट चुनिएर आएको थियो । यो ठूलो उपलब्धि थियो ।

अहिलेको झगडाले दुई संवैधानिक निकाय विवादमा तानिएको छ यसमा तपाईंको टिप्पणी के छ ?

प्रतिनिधिसभा विघटनको विषय अदालतमा विचाराधीन छ । धेरै टिप्पणी गर्नु उपयुक्त हुँदैन । विषय जटिल पनि छ । प्रतिनिधिसभा विघटन ठीक र बेठीक भन्ने दुई मत छ । पार्टी फुटेर आएको भए अर्कै विषय हुन्थ्यो । पार्टी फुटेको छैन । दलको विषयमा निर्वाचन आयोगले टुङ्गो लगाउनुपर्छ । प्रतिनिधिसभा विघटनको विषय सर्वोच्चले हेर्छ । प्रधानमन्त्रीको कुरा सुन्दा आफूलाई काम गर्न नै नदिएको अनि प्रतिनिधिसभा विघटन गर्नुपरेको भन्ने छ । यी सबै विषय अन्तरघुलित छ ।

त्यसो भए यो लडाइँ कानुनी हो कि राजनैतिक ? यसले निर्वाचन आयोग चेपुवामा पर्छ कि ?

निर्वाचन आयोग पनि संवैधानिक आयोग हो संविधानले तोकिदिएको स्पष्ट क्षेत्राधिकार छ । आयोगका पदाधिकारी सरकारले नियुक्त गरे पनि काम कानुनअनुसार नै गर्नुपर्छ । हाम्रो विश्वास पनि छ । लामो समय सार्वजनिक सेवामा काम गरेका अनुभवले खारिएका व्यक्तिहरुले राजनैतिक चेपुवामा परेर निर्णय गर्छन् भन्नु गलत हुन्छ । आफैले व्यक्त गरेर देखाए भने अलग कुरा तर आयो भित्र बसेर निर्णय प्रक्रियामा नै राजनैतिक दलको प्रभाव पर्ने कुरा हुँदैन ।

तर अहिले सडकमा, भेला, प्रदर्शनमार्फत अदालत, आयोगलाई धम्क्याएको देखिन्छ नि होइन ?

यस्ता धम्की खबरदारी धेरै आउछन् । यसको पछाडि लाग्नु हुँदैन । आफ्नो कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । निर्वाचन आयोगको निर्णयपछि पनि अदालत जाने ढोका खुला हुन्छ । चित्त नबुझे जान सकिन्छ । धम्कीले केही फरक पर्दैन । यस्तो अवस्थामा राजनैतिक दलले आफै निर्णायक भए जसरी भन्नु हुँदैन ।

त्यसो भए निर्वाचन आयोगले सर्वोच्च अदालतको निर्णय कुर्नुपर्ने हैन र ?

यो प्रश्न धेरैको मनमा छ । मलाई पनि धेरैले सोध्ने गरेका छन् । नेपाल सरकारले दिएको निर्णयमा समयको सीमितता छ । मिति तोकिएको छ । ६ महिनाभित्र निर्वाचन गराउनै पर्ने अवस्था छ । यो अवस्थामा निर्वाचन आयोग निर्णयको बन्दी जस्तै छ । ६ महिन भित्र निर्वाचन हुने नहुने अलग कुरा भयो तर तयारीको सबै काम आयोगले गर्नुपर्छ ।

२०४७ सालको निर्वाचन मैले नै गराएको हो । समय लगभग ६ महिना थियो । निर्वाचन आयोगले आफ्नो प्रक्रियागत र आन्तरिक तयारी गरिरहेकै हुन्छ । जुनसुकै बेला निर्वाचन हुन सक्छ भनेर तयारी गरेकै हुन्छ । अहिले आयोगलाई दल दर्ताको विषय भने पेचिलो बन्ने दखिन्छ ।

अहिले सडकमा भएको गतिविधिले आयोगलाई कतिको प्रभाव पार्छ ?

सडकमा के हुन्छ, आयोगले सडकलाई किन हेर्ने । आयोगले ऐन नियम कानुन हेर्ने हो । तर सडकमा उत्रिएका राजनैतिक दल संयमित हुनुपर्छ । कानुनभित्र रहेर प्रस्तुत हुनुपर्छ । नेतृत्वमा जवाफदेहिता हुनुपर्छ । भोलि आफै सरकार चलाउने ठाउँमा पुग्दा यस्तो समस्या आउछ भनेर विचार गर्नुपर्छ । राजनैतिक दलको नेतृत्व धेरै नै जवाफदेही बन्नुपर्ने छ । यो समयको माग हो,जनताको माग पनि हो ।

केही दिनअघि आन्दोलनको नेतृत्व गरिरहेका पूर्वप्रधानमन्त्रीहरु निर्वाचन आयोग नै पुगेर प्रक्रिया रोक्न आग्रह गरे, यसलाई कसरी हेर्नुभएको छ ?

आयोगले आफ्नो काम रोक्न सक्दैन । किन रोक्ने ? आयोगको धेरै काम प्रक्रियागत हुन्छ । प्रक्रिया नै रोक् भन्नु गलत हो । यसरी भन्न मिल्दैन । यस्तो हस्तक्षेपकारी काम गर्नुहुन्न । यस्ता निकायलाई राजनैतिक दलले कार्यकर्ता भर्ना गर्ने थलो जस्तो सम्झन थाले । यस्तो हुनु हुँदैन ।

अब यसको निकाश कसरी निस्कन्छ ?

यस्ता झगडाको निरुपणको एउटा माध्यम प्रजातन्त्रमा मतदान नै हो । यो असामयिक भयो । यो संवैधानिक छ कि छैन भन्ने विषय जटिल छ । अर्को राजनैतिक दलको सञ्चालन विधि खराब भयो । सबै राजनैतिक दलमा यस्तै छ । यो परम्परा जस्तै भएको छ संसद् विघटन गर्ने । पहिले त संविधानमा लेखिएको थियो अहिले त स्पष्ट छैन ।

संविधानले सरकारलाई बाँधेको हुन्छ, निरंकुश हुन दिँदैन । दलको संगठन बन्ने प्रक्रिया नै प्रजातान्त्रिक छैन भन्ने मलाई लाग्छ । साथै राजनैतिक दलभित्र शक्ति हस्तान्तरण गर्ने, नयाँ पुस्तालाई स्थान दिने कुरा गौण भयो । यसले लोकतन्त्रको विकाशमा बाधा पुगेको छ । यसैको कारण राजनैतिक संस्कारको विकास हुन सकेन ।

मुलुक लोकतन्त्रमा गयो तर दलहरु अझै लोकतान्त्रिक हुन सकेनन् भनेर बुझ्दा हुन्छ ?

हो त, अहिलेसम्म पार्टीहरुमा निर्दलीय स्वभाव नै छ । एकल पार्टी जस्तो, पञ्चायती व्यवस्था जस्तो । यो झगडाको बीउ पनि यस्तै कुराले भएको हो । गुटबन्दीको झगडा पञ्चायतमा पनि थियो । ठीक यस्तै प्रकृतिको झगडा अहिले राजनैतिक दलभित्र छ ।

प्रकाशित : माघ ६, २०७७ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?