‘प्रचण्ड-नेपालको सहकार्य हुने, ओली-रायमाझीको किन नहुने ?’
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षको भेलामा पूर्वमाओवादी पृष्ठभूमिका नेता टोपबहादुर रायमाझी सहभागी भए । सहभागी मात्र भएनन्, मुख्य नेताका रुपमा प्रस्तुत भए । आखिर किन गए ओली पक्षको भेलामा ? उनीसँग कान्तिपुरले गरेको कुराकानी :
तपाईं अचानक प्रधानमन्त्री ओलीको क्याम्पमा पुग्नुभएछ नि ?
हामीले पार्टी एकता गरेर महत्त्वपूर्ण काम गर्यौं । दुई तिहाइको बहुमत ल्यायौं । यो ठूलो उपलब्धिमा टेकेर हामी अघि जानुपर्थ्यो । एकले अर्कालाई हिलो छ्याप्ने र सरकारलाई काम गर्न नदिने व्यवधान भए । नेताको पदमा मात्रै ध्यान गयो । यतातिर ध्यान दिन हुँदैन भनेर मलगायत थुप्रै स्थायी समितिका साथीहरू लाग्यौं । विगतमा विभाजनको डिलमा गइसकेको पार्टीलाई बचाएर चार महिना लग्यौं । अन्ततः साथीहरू मान्नुभएन । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लिएर जानुभयो । आफ्नै पार्टीका सरकारविरुद्ध लागिसकेपछि अर्को विकल्प भएन ।
जब अविश्वासको प्रस्ताव अघि बढ्यो, त्यसपछि सरकारसामु अर्को विकल्प थिएन । आफ्नै पार्टीको प्रधानमन्त्रीलाई हटाउने भइसकेपछि नेकपाको सरकार बन्ने अवस्था हुँदैनथ्यो । पार्टीमा विभाजन भइसकेपछि अर्कै सरकार बन्थ्यो । सरकार धराशायी, खारेज गर्ने भइसकेपछि सायद प्रधानमन्त्रीले ताजा जनादेश जानुको विकल्प भएन । संसद् भंग गर्ने निर्णय गर्नुभयो । पार्टीमा विभाजन नहुनुपर्थ्यो । विभाजन भइसकेपछि एकातिर लाग्नुपर्ने अवस्था आयो । हामीले एकमतले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनायौं, अध्यक्ष बनायौं । सबैले मानेको उहाँ संस्थापन हो । प्रचण्डले आफ्नो अध्यक्ष ओलीलाई छाडेर माधव नेपाललाई अध्यक्ष बनाएपछि सही लागेन । नैतिकताले दिएन । प्रचण्डले नेपाललाई अध्यक्ष बनाएर जानुहुन्छ भने टोपबहादुर रायमाझीले सबैले बनाएको अध्यक्ष र प्रधानमन्त्रीलाई नमान्ने के भयो र ?
प्रधानमन्त्री ओली अल्पमतमा परेपछि पार्टीभित्र संघर्ष नगरेर संसद् विघटन गर्न हुँदैनथ्यो, हैन र ?
कुरा अल्पमतको होइन । प्रधानमन्त्रीविरुद्ध बिनाकारण अविश्वासको प्रस्ताव ल्याएपछि के हुन्छ ? उहाँहरूको हैसियत कहाँ छ ? प्रधानमन्त्रीले पार्टी फुटाउन लागेको भन्ने बिल्कुल गलत कुरा हो । अरूले पनि माओवादी, एमाले दर्ता गरेका छन् । कसैले पार्टी दर्ता गरायो भने आरोप लगाउन मिल्छ ? यसमा ओलीलाई आरोप लगाउन मिल्छ ? नेपाल कम्युनिस्ट पार्टी मानेका छौं, योभन्दा तलमाथि हुँदैन । ओलीले पहिलो अध्यक्ष भएको नाताले कसैलाई कारबाही पनि गर्नुभएको छैन । उहाँले पहिलो अध्यक्षको हैसियतले बैठक बोलाउनुभएको हो । प्रचण्ड, नेपालहरू बैठकमा नआएको हो । बैठकमा आएर बहस गरेको भए हुन्थ्यो ।
ओलीको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्य थप्दैमा वैधानिकता पाउँछ र ?
केपी शर्मा ओली पहिलो अध्यक्ष हुनुहुन्छ, उहाँले बैठक बोलाउनुभयो । बकाइदा सूचना भएको छ । प्रचण्डले छुट्टै बैठक गरे के अर्थ छ ? ओलीलाई कारबाही गरेर, नेपाललाई अध्यक्ष बनाउन मिल्छ ? केपीजीले पार्टीको बैठक बोलाउनुभएको हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अब कोसँग छ ?
नेकपाको संस्थापन पक्षको केपी ओली अध्यक्ष हो । उहाँसँग माइन्युट सबै छ । महासचिव विष्णु पौडेलले राख्नुभएको छ । आगामी कार्यदिशा जनताको जनवाद हो । योभन्दा तलमाथि जान कहाँ मिल्छ ?
तपाईंले मागेको पद, मन्त्री नपाएकाले ओलीसमक्ष पुगेको आरोप छ नि ?
म पटक–पटक मन्त्री भएको मान्छे हो । केही समयअघि केपीजीले पनि मलाई मन्त्री हुन प्रस्ताव गर्नुभएको थियो । मैले मन्त्री भइसकेको मान्छे नहोऔं भने । मैले अरू साथीलाई अवसर दिऔं भनें । मन्त्री हुने लोभ छैन भनेको मान्छु ।
तपाईंको अब पूर्वमाओवादीसँगै पूरै साइनो तोडियो हैन ?
पूर्वमाओवादी अब कहाँ छ ? कोही विप्लव भए, कोही बाबुराम भए, वैद्य, किराती भए । कोही केपी, माधवसँग छन् । माधव, झलनाथ खनाल पूर्वमाओवादी हो र ? उनीहरू प्रचण्डसँग गए । हामी र ओली एकै ठाउँमा छौं । एउटै पार्टी भए मिक्सअप हुन्छ नि । प्रचण्ड, नेपाल, खनालको सहकार्य हुने, टोपबहादुर, लेखराज भट्टले ओलीसँग सहकार्य गर्न किन नहुने ? प्रचण्डले आफैंले सहकार्य गरेर केपीजीलाई अध्यक्ष बनाएको होइन र ? प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाएको हो नि ।
तपाईं दुवै पक्षको सैद्धान्तिक धरातलमा संघर्ष भएको व्यक्ति हो र ?
ओलीजीलाई सबैले प्रधानमन्त्री र अध्यक्ष बनाएको हो । कसैलाई प्रधानमन्त्री र अध्यक्ष चाहियो भनेर पार्टी फुटाउन त पाइएन न नि ? मैले पाइनँ भनेर पार्टी फुटाउन कहाँ पाइन्छ र ?
संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले पार्टी फुटाउने बाटो खोलेको आरोप छ नि ?
पार्टीमा अविश्वासको प्रस्ताव नगएको भए के हुन्थ्यो ? जुन संसद्ले उहाँ (ओली) लाई प्रधानमन्त्री बनायो, त्यो विघटन गर्ने रहर हुन्छ ?
यो पनि पढ्नुहोस्
ओली र दाहाललाई पार्टी फुटाउने अधिकार छैन : रायमाझी [अन्तर्वार्ता]
प्रकाशित : पुस ८, २०७७ ०९:०७