भक्तराज आचार्यसँग अन्तर्वार्ता : यहाँ ‘अ–सुर’ हरूको राज छ !- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तराज आचार्यसँग अन्तर्वार्ता : यहाँ ‘अ–सुर’ हरूको राज छ !

नारायणगोपाल र म असाध्यै मिल्थ्यौं । उनी अरूको प्रशंसा खासै गर्दैनथे । हाम्रा कमजोरीबारे छलफल हुन्थ्यो । खासमा उनी राम्रा गायक हुन् तर उनको एउटा ठूलो कमजोरी थियो– उच्चारणको । 
भूपेन्द्र खड्का

३० वर्षदेखि ललितपुर महालक्ष्मीस्थानस्थित घरभित्र एकोहोरो जीवन बिताउन बाध्य छन्, भजनशिरोमणि भक्तराज आचार्य । २०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि उनको जीवनमा ठूलो बज्रपात पर्‍यो । हातले हार्मोनियमका रिडहरू फिट्न सके पनि स्वर र सुर हरायो । आफूले गाएका करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीतलाई साक्षी राखेर उनको जीवन बेसुर बन्यो । सुरमा पकड भएका विशेष गायक भनेर प्रशंसा पाइरहेको उर्वर समयमै क्यान्सरले उनको जिब्रो काटिनु नेपाली संगीतका निम्ति एउटा सुर हराउनुजस्तै हो ।

२०७७ साल मंसिर १५ गते बिहान साढे ११ बजे उनको घर पुग्दा उनी पिंढीमा उठीउठी एक सुरले हातमा तातो पानी खन्याइरहेका थिए । अन्तर्वार्ता गर्छु भनेर १० वर्षदेखि गरिएका अनेक कोसिस आज यथार्थ बन्दै थियो । यसपालि भेट्दा भक्तराज आचार्य अलि हँसिला र स्वस्थ देखिए । नबुझिने कुरा उनका ज्येष्ठ सुपुत्र सत्यराजलाई भन्न लगाएर नसोध्नुपर्ने तर सोध्न मन लागेका कुरा उनलाई सोधेको छु । छेउमै छिन्, उनकी धर्मपत्नी सुशीला आचार्य ।

विसं २०२० मा नेपाल आई रेडियो नेपालमा स्वर परीक्षा पास गरेर किन डुवर्स फर्किनुभयो ?

भारतको डुवर्सबाट १ सय भारु लिएर नेपाल आएको थिएँ । विष्णुप्रसादको रचना र आफ्नै स्वर संगीतमा रेडियो नेपालमा स्वर परीक्षा पास गरें । रेडियोमा गीत रेकर्ड गर्न भने दिइएन । खिचापोखरीको ग्याट्सोको लजमा बस्दा–खाँदा पैसा सकियो अनि डुवर्स फर्किएँ ।

डुवर्समा तपाईं के गर्नुहुन्थ्यो ?

डुवर्सको दुम्सीपाडा चिया बगानमा काम गर्थें । म एक वर्षको हुँदा बुबा बितेपछि २००० सालमा धनकुटाबाट हाम्रो परिवार डुवर्स बसाइँसराइ गर्‍यो । गरिबीका कारण प्राइमरीभन्दा माथि पढ्न सकिनँ । ३ वर्ष प्राइभेट ट्युसन पढेर अंग्रेजी सिकें ।

संगीत कहाँ सिक्नुभयो त ?

म सानैदेखि गाउने, नाच्ने गर्थें, नाटकमा अभिनय पनि गर्थें । चिया बगानमा गीत गुनगुनाउँथें । दुम्सीपाडाबाट सामसिङ चिया बगानमा काम गर्न आएपछि संगीतको विशेष ज्ञान लिने मौका मिल्यो । चिया बगानका हेडक्लर्क डीबी घिसिङ संगीतका पारखी थिए, उनीसँग हार्मोनियम, तबला, गीतार थिए । त्यहीं अभ्यास गरें । उनीसँगै कर्डस्हरू सिकें । २–४ वटा रागहरू पनि सिकें । संगीतको मेरो गहिराइ र अभ्यास त्यहींबाट भयो । स्टाफ नोटेसनचाहिं दिव्य खालिङसँग सिकें ।

भिडियाे कुराकानी हेर्नुहाेस् :

तपाईं त २०३० सालमा मात्रै फेरि नेपाल आउनुभयो । १० वर्ष के गर्नुभयो ?

शास्त्रीय संगीतको अभ्यास गरें । चिया बगानमा काम गरें । दु:खजिलो गरेर परिवार पालें । नेपाल आउने पैसा जम्मा गर्दै रहें ।

तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर

२०३० सालमा आयोजित देशव्यापी राष्ट्रिय गीत सम्मेलनमा कसरी गीत गाएर प्रथम हुनुभयो त ?

म २०३० साल चैत ५ गते काठमाडौं आएँ । सोही दिन कुमार बस्नेतलाई भेटें । उनले नातिकाजीलाई भनेर रेडियोमा गीत रेकर्ड गर्ने व्यवस्था मिलाइदिए । त्यसको भोलिपल्ट रेडियो नेपालमा नकुलकाजीको शब्द र आफ्नै संगीतमा ‘मलाई जीवन चाहिन्छ...’ बोलको गीत पहिलोपल्ट रेकर्ड गर्ने अवसर प्राप्त गरें । सबैले गीत राम्रो भएको प्रतिक्रिया दिए । त्यसपछि उत्साहित भएर प्रतियोगितामा गाउनका निम्ति नातिकाजी, शिवशंकरसँग मलाई गीत दिनुस् भनी अनुरोध गरें तर उनीहरूले मलाई पत्याएनन् । त्यसपछि अम्बर गुरुङलाई भेट्न प्रज्ञा प्रतिष्ठान गएँ । उनलाई मैले पहिलेदेखि नै चिनेको थिएँ । २०२४ सालमा वेस्ट बंगाल कल्चरको कार्यक्रम गर्ने क्रममा उनी डुवर्स पुगेका थिए । त्यतिबेला मैले हिन्दी र बंगला भाषामा गीत गाएको थिएँ । उनले मेरा गीतहरू सुनेर प्रशंसा गरेका थिए । त्यसैको भरमा म उनीसँग गीत माग्न गएँ । उनले विश्वास गरेर मलाई आफ्नो रचना र संगीत रहेको ‘होसियार यसबखत समयको मुखलाई चिन...’ बोलको गीत दिए । प्रतियोगितामा गाएँ र स्वरतर्फ प्रथम भएँ ।

तपाईं सो प्रतियोगितामा प्रथम हुँदा अम्बर गुरुङ, नारायणगोपाल र बच्चुकैलाश निर्णायक थिए । पछि तिनै निर्णायकहरूसँग तपाईंको प्रतिस्पर्धा र उठबस पनि भयो । साँच्चिकै दोस्ती–दुस्मनी के थियो ?

अम्बर गुरुङसँग त्यसपछि केही गीतमा मात्रै सहकार्य भयो । नारायणगोपाल र म असाध्यै मिल्थ्यौं । उनी अरूको प्रशंसा खासै गर्दैनथे । हाम्रा कमजोरीहरूबारे छलफल हुन्थ्यो । खासमा उनी राम्रा गायक हुन् तर उनको एउटा ठूलो कमजोरी थियो, उच्चारणको । एकपटक नातिकाजीको कोठामा उनलाई मैले उनको उच्चारणबारे भनेको थिएँ । गलत उच्चारणले फरक अर्थ लगाउँछ भन्दै मैले ईश्वरवल्लभको गीत ‘मेरो बेहोसी आज...’ को अन्तरा ‘यो ‘नसा’ जिन्दगीको या हो ‘नशा’ रक्सीको...’ मा उच्चारण एउटै छ । यी शब्दको अर्थ एउटा ‘रक्तनली’ हो भने अर्को ‘मात’ हो । त्यसैले यिनको उच्चारण फरक हुनुपर्छ भन्दा उनी मुसुमुसु हाँसिरहे, कुनै प्रतिक्रिया दिएनन् । नातिकाजी र शिवशंकर मुखामुख गरे । बच्चुकैलाश भने कम बोल्ने, घुलमिल कम हुने स्वभावका थिए । अहिले पनि घरभित्रै छन् क्यार !

खासमा जन्मनु नै व्यर्थ रै’छ । सफल भयो भने छिर्के हान्छन्, असफल भयो भने कसैले चिन्दैन । केही गर्छु भनेर पनि फाइदा छैन ।

आधुनिक गीत गायन प्रतियोगितामा किन भिड्नु भएन ?

होइन, म २०३२ सालको प्रतियोगितामा भिडेको थिएँ । सो प्रतियोगितामा तारादेवी ‘अप्रतियोगी’ को रूपमा सहभागी थिइन् । प्रतियोगिताको नतिजा घोषणा गर्ने क्रममा तत्कालीन सञ्चारमन्त्री जोगमेयर श्रेष्ठले उनलाई प्रथम घोषणा गरेका थिए । वास्तवमा त्यो एउटा जालझेल र ममाथिको अन्याय थियो । त्यसपछि प्रतियोगितामा भाग लिने मन नै भएन ।

कलाकारहरू मदिराका कारण बदनाम हुने गरेका छन् । नारायणगोपाल पनि यसमै जोडिन्छन् । तपाईंहरू त जिग्री, मदिराको लत कत्तिको लाग्यो ?

खासमा नारायणगोपाल, फत्तेमान र म सँगसँगै हुन्थ्यौं । सबैलाई थाहा छ, नारायणगोपालले ट्वाँट खान्थे, मात्नेगरी नै । फत्तेमान उनलाई बाइकमा बोकेर हिंड्थे । मैले एकपटक पुतलीसडकमा नारायणगोपालसँग मात्नेगरी ट्वाँट खाएको थिएँ । त्यो साँझ सँगै रहेका गीतकार रुद्रराज आचार्यले फत्तेमान र मलाई बाइक पछाडि राखेर घर छोड्दिएका थिए । म त्यस्तो धेरै खाने होइन, खाएको भए त रोग लागेर उहिल्यै मरिसक्थें नि !

त्यतिबेला नारायणगोपालका ‘गीतियात्रा’, ‘ब्लु नोट्स’ जस्ता एल्बमहरू निस्केका थिए । तपाईंचाहिं के गरिरहनुभएको थियो ?

मैले पनि एल्बमको तयारी गरेको थिएँ । एउटा भजनको एल्बम ‘समर्पण’ म्युजिक नेपालले २०४३ सालमा निकालेको थियो । २०४४ सालमा म्युजिक नेपालले गजल एल्बमका निम्ति अफर गरेको थियो । थोरै रोयल्टी दिने कुरा गरेपछि मैले त्यसलाई क्यान्सिल गरें । खुद्रा गीत गाउन र संगीत भर्नमै व्यस्त भएँ ।

नेपाली संगीत क्षेत्र र तपाईंको जीवनको कालो दिन २०४६ साल मंसिर १९ को घटनामा जाऊँ । खासमा त्यो दिनको घटना यो उमेरमा आएर नढाँटीकन बताइदिनुस् न !

मैले आजसम्म केही ढाँटेकै छैन । खासमा भएको यस्तो हो– गीतकार कञ्चन पुडासैनीले गोपाल योञ्जनलाई आफ्नो गीतमा संगीत गराएर क्यासेटमा डमी भरी मलाई दिएका थिए । मैले त्यसको रेकर्डिङका लागि अभ्यास पनि गरेको थिएँ । सो गीत सुनाउन त्यस दिन दिउँसो १ बजे काठमाडौंको चक्रपथ, धुम्बाराहीमा कञ्चन पुडासैनी र म गोपाल योञ्जनको घर पुगेका थियौं । गोपाल योञ्जनको बैठक कोठा माथिल्लो तलामा थियो । हामीले दिउँसो १ बजेदेखि बेलुकी सवा ८ बजेसम्म उनलाई भेटेर सो गीत सुनाउन कुरिरह्यौं । हामी आएका छौं भनेर सूचना दिने मान्छेले ‘एकछिन, एकछिन’ भन्दै दिनभर कुराए । मैले कञ्चनलाई ‘जाऔं’ भन्दा उनले ‘एकछिन कुरौं न’ भन्दाभन्दै रात पर्‍यो । भोक–प्यासले लोथ परेका बेला सवा ८ बजे गोपाल योञ्जनले माथि बोलाए । मैले हार्मोनियम बजाएर २–४ चोटि गीत सुनाउँदा १ घण्टाजस्तो बितिसकेको थियो । त्यसपछि हामी घर जान बिदा भयौं । हामीलाई बाइकमा छोडिदिन गोपाल योञ्जनले पूर्ण नेपालीलाई अह्राए । त्यसपछि हामी तेब्बर लोडमा पूर्णको बाइक चढ्यौं । म बीचमा बसें, कञ्चन पछाडि बसे र कञ्चनलाई छोड्न धुम्बाराहीबाट जोरपाटीस्थित उनको घर पुग्यौं । उनलाई छोडेर फर्कंदै गर्दा बौद्धस्थित छिरिङ रेस्टुरेन्टको अगाडि ल्याएर पूर्णले बाइक रोक्यो ।

मंसिरको जाडो छ, अलिकति ट्वाँट खाएर जाऊँ न दाइ भन्यो । मैले यति ढिला भइसक्यो, घर निकै टाढा छ, यो ठाउँ पनि डेन्जर छ, त्यसो नगरौं, जाऊँ भनें । तर, उसले जबर्जस्ती गर्‍यो र भन्यो– त्यसोभए तपाईं हिंडेर जानुस्, नखाईकन म तपाईंलाई पुर्‍याउन सक्दिनँ ! त्यसपछि मैले त्यसोभए म यहीं बस्दै गर्छु, तिमी छिटोछिटो खाएर आऊ भनें । ऊ भित्र पस्यो । म जाडोमा लुगलुग काम्दै त्यहीं उभिइरहें । बस चढेर घर जाऊँजस्तो पनि लाग्यो । तर, साझा बस ९ बजे नै बन्द भइसकेको थियो । त्यहाँबाट हिंडेर ललितपुरको महालक्ष्मीस्थान आउन सम्भव पनि थिएन ।

म बाध्य भएर उसलाई कुरिरहेको थिएँ । करिब २०–२५ मिनेटमा ३ जना मानिस ढुनमुनिंदै मेरोछेउ आए र मलाई भने, ‘ओए, हामीले खाएको पैसा तिर्, नत्र भेट्लास् ।’ मैले मसँग पैसा पनि छैन, अनि मैले तपाईंहरूले खाएको किन तिर्ने ? मात्र भनेको थिएँ, उनीहरूले रक्सीका बोतलले मेरो टाउकोमा हिर्काए । म बेहोस भएँ । अलिअलि थाहा छ, २ जना भागे । होटलको साहु छिरिङ म मरें कि भनेर मलाई हेर्दै थियो । छेउको पुलिस चौकीबाट पुलिस आएर साहुलाई पक्रियो । भोलिपल्ट होस खुल्दा म वीर अस्पतालको बेडमा थिएँ । भएछ के भने रक्सी खाएर पूर्ण नेपालीले पैसा तिर्ने बेलामा बौद्धका त्यतिबेलाका नामुद गुन्डाहरू सूर्यमान श्रेष्ठ र सूर्य मानन्धरले आफूहरूले खाएको बिल पनि तिरिदिन पूर्णलाई धम्क्याएछन् । पूर्णले मेरो बिल त त्यो बाहिर बसेको मान्छेले तिरिदिएको हो, उसैलाई भन्नु नि भनेछ र उनीहरू मसँग पैसा माग्न आएका रहेछन् ।

त्यसपछि घटनाले कुन रूप लियो ? तिनीहरूलाई कारबाही भयो त ?

रेस्टुरेन्टको साहु छिरिङ र गुन्डाका बाउहरूलाई पुलिसले पक्रियो । गुन्डाहरू र पूर्ण नेपाली फरार भए । मेरो सम्पूर्ण उपचार खर्च गुन्डाका बाउहरू र छिरिङ रेस्टुरेन्टको साहुले बेहोरे ।

त्यत्ति कुरा थाहा हुँदा पनि तपाईं किन कानुनी प्रक्रियामा जान सक्नुभएन त ?

कानुनी प्रक्रियामा गयौं तर उनीहरूलाई तोकिएको म्यादभित्र पुलिसले भेट्टाउन सकेन । अर्कोतिर मेरो टाउकोमा १ सय टाँका लगाएर उपचार गरेकाले म निकै शिथिल थिएँ । छोराहरू सानै थिए । श्रीमतीले के गर्नु, क–कसको स्याहार गर्नु ? बाँच्नपट्टि लागियो । आफूले नगरेको गल्तीको सजाय भोग्नु पर्दैन भन्ने मलाई लाग्यो । तर, त्यस्तो भएन ।

म महाअभागी मान्छे हुँ । र, पनि मेरो पहिलो गीत रेकर्ड हुनुलाई म मेरो जीवनकै सबैभन्दा सुन्दर पल मान्छु । यदि गाउन नपाएर डुवर्स फर्किनुपरेको भए सायद मलाई कसैले चिन्दैनथे । र, म कहानीविहीन मान्छे हुन्थें ।

त्यसपछि त निको भएर तपाईंले गीत पनि गाउनुभो होइन ?

हो, आरआर क्याम्पसले आयोजना गरेको स्वागत कार्यक्रममा २०४९ सालमा ३ वटा गीत गाएँ पनि– ‘मुटु जलिरहेछ...’, ‘सागर छ गहभित्र...’ र ‘जति चोट दिन्छौ...’ । त्यसपछि जिब्रोमा खटिरा देखापरे । डाक्टरलाई देखाउँदा क्यान्सरको शंका गरे । त्यो चोटको असर जिब्रोमा पर्‍यो ।

भक्तराज आचार्य, देशको एक नामुद गायकको जिब्रो काटिंदा कस्तो भो ?

अहिले म बाबुलाई नै प्रश्न गर्छु, आफ्नै जिब्रो भएन भने कस्तो होला ? पीडालाई शब्दमा भन्न सक्दिनँ । म निर्दोषले ठूलो सजाय पाएँ । खासमा त्यही दिनमा मेरो सक्रिय जीवनमा पूर्णविराम लागेको हो । सर्वनाश भयो भनेर मर्न मन लाग्यो । एम्स (अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज) मा जिब्रो काटिएपछि छतबाट हाम फालेर आत्महत्या गर्न खोजें पनि । सुशीलाले बचाइन् (श्रीमतीतिर हेर्दै) । छोराहरू साना थिए । उनीहरूको माया लागेर आयो । खासमा मेरो यो जीवनभन्दा मृत्यु राम्रो हो तर पनि म बाँचिरहेको छु । जर्मनीमा प्लास्टिक सर्जरी गरेर जिब्रो राख्ने भनेर गएँ । तर, शरीरकै मासु काटेर जिब्रो जोडियो । त्यो खिइँदै गयो । अँ, इ: मेरो जिब्रो छ त (आँ गरेर जिब्रो देखाउँदै) ? त्यतिबेला प्लास्टिक सर्जरी भनेको प्लास्टिकको जिब्रो जोड्ने हो भन्ने मलाई लागेको थियो । आफ्नै शरीरको मासु काटेर जोड्ने भन्ने थाहा पाएको भए म जर्मनी जाने नै थिइनँ ।

३० वर्षदेखि घरमै हुनुहुन्छ । गीत–संगीत कस्ता र कत्तिको सुन्नुहुन्छ ?

अलिअलि सुन्छु । हिन्दी, उर्दू गीत–गजल बढी सुन्छु । नेपाली पनि सुन्छु । छोराहरू सत्य–स्वरूपले आफ्ना गीतहरू सुनाए भने राम्रो/नराम्रो भन्दिन्छु । उनीहरूलाई गाइड गरिरहेको हुन्छु । एउटा मात्रै गीत राम्रो भएर प्रगति हुँदैन । मैले दुइटा गीतमा संगीत पनि गरें, ‘आचार्य’ चलचित्रका ‘आगोको राप जीवन...’ र ‘पर्ख, पर्ख...’ मा ।

नेपाली संगीतको अवस्था कस्तो पाउनुहुन्छ ?

सुर, शब्द र संगीतको थोरै ज्ञान भएकाहरूको हालिमुहाली छजस्तो लाग्छ । जस्तो पनि गीत, जस्तो पनि संगीत र जस्तो पनि गायकी हुँदैन । खासमा संगीतमा ‘असुर’ (बेसुरा) हरूको राज छ ।

गीतको पनि साहित्यिक मूल्य हुन्छ । त्यो कस्तो हुनुपर्छ ?

खासमा साहित्यको चेत भएको कविको गीत निकै शक्तिशाली हुन्छ । तुक्का जोड्दैमा गीत बन्दैन । अहिलेभन्दा पहिलाको लेखाइ राम्रो थियो ।

समकालीन कवि, लेखकहरूको संगत र उनीहरूका सृजना गाइएनन् भने त्यो समयको सृजना जीवन्त हुँदैन । तपाईंले आफ्ना समकालीन कविहरूका गीत किन कम गाउनुभयो ?

नगाएको होइन, गाएको छु । ईश्वरवल्लभ, क्षेत्रप्रताप अधिकारी, दिनेश अधिकारीहरूका गीतमा संगीत गरेर गाएको छु । बढी संगत गरेर होला, ईश्वरवल्लभ साँच्चिकै कवि थिए । त्यतिबेलाका कवि, लेखकले गीत त दिन्थे तर राम्रो छैन भन्यो भने अपजस आउने । बरु त्यसको साटो नयाँ प्रतिभाका राम्रा गीत छानेर गाएँ । नयाँ गीतकारहरूको मन नदुखोस् भनेर उनीहरूको गीत गाएँ ।

तपाईंले त ‘चौतारीमा राजा भेटियो...’ भन्ने राजाको गुनगान गाएको गीत पनि गाउनुभयो । तपाईं आजसम्म पनि खरो, कडा स्वभावको क्रान्तिकारी जस्तो हुनुहुन्छ । त्यो गीत राजावादी भएर गाउनुभएको कि के हो ?

वादी–सादी केही होइन म । त्यसरी गाएको होइन । फत्तेमान राजभण्डारी मेरो जिग्री साथी । ऊसँग मैले मेरो संगीतमा ‘सुन राम्रो, चाँदी राम्रो...’ गीत युगल गाएको थिएँ । त्यसैको पैंचो तिर्न उसले संगीत गरेको क्षेत्रप्रताप अधिकारीको गीत ऊसँगै युगल गाएको हुँ ।

पञ्चायतकालमा भक्तराज आचार्य बन्न निकै मिहिनेत गर्नुभयो है !

राधाप्रसाद घिमिरे सञ्चारमन्त्री भएर आएपछि २०३१ सालदेखि रेडियो नेपालमा मासिक २ सय रुपैयाँमा ९ वर्ष ज्यालादारीमा काम गरें । रागवेन्द्रप्रताप शाह सञ्चारमन्त्री भएपछि उनकै तोकआदेशमा सुब्बा बनाइदिए । त्यसको ६ महिनामा अधिकृत भएँ । सुब्बा भएपछि मलाई रेडियो नेपालका शत्रुहरूले जागिरबाट निकाल्न विशेष प्रहरीमा उजुरी पनि दिएका थिए । यो मान्छे भारतीय हो, यसको नागरिकता छैन, यो एजेन्ट हो भनिएको रै’छ उजुरी पत्रमा । त्यतिबेला राममणि रिसाल रेडियो नेपालका सहायक निर्देशक थिए । उनका गीत, भजन मैले गाएको पनि थिएँ । मेरा मिल्ने साथी पनि थिए । उनले विशेष प्रहरी प्रमुखलाई भेटेर ममाथि लगाइएको आरोप मिथ्या भएको बताएपछि मेरो जागिर बच्यो । अधिकृत भएको साढे ११ वर्षपछि राजीनामा दिन लगाइयो । अहिले मासिक ३४ हजार पेन्सन आउँछ । बाँच्नका निम्ति मैले गरेको त्यो संघर्ष भयानक थियो ।

संघर्ष, सफलता, जीवन के रै’छ ?

खासमा जन्मनु नै व्यर्थ छ । केही फाइदा छैन । सफल भयो भने छिर्के हान्छन्, असफल भयो भने कसैले चिन्दैन । केही गर्छु भनेर पनि फाइदा छैन ।

जीवनको सुन्दर पल र स्मरणीय दिन कुन हो तपाईंको ?

म महाअभागी मान्छे हुँ । र, पनि मेरो पहिलो गीत रेकर्ड हुनुलाई नै मेरो जीवनको सबैभन्दा सुन्दर पल र यात्राको सुरुआत मान्छु । यदि गाउन नपाएर डुवर्स फर्किनुपरेको भए मलाई कसैले चिन्दैनथे । म कहानीविहीन मान्छे हुन्थें । भारतीय, पाकिस्तानी गजल गायक मेहेदी हसन, गुलाम अली, सौकत अलीले मेरो गायकीको प्रशंसा गरेर आशीर्वाद दिए । ती दिनलाई म स्मरणीय दिन मान्छु ।

देशको राजनीतिक अवस्था कस्तो लाग्छ ? राजनीतिप्रति यहाँको धारणा के छ ?

मलाई घृणा छ । भ्रष्टाचार छ । आफ्नो पेट भरेर जनतालाई भोकै राख्ने काम नेताहरूबाट भएको छ । भाषण दिने मात्रै हाम्रा लागि हो । यी प्युसाहरूभन्दा त राजा नै ठीक थिए, कम से कम आफ्ना लागि मात्रै नभएर जनताका लागि केही गरेका पनि थिए । अघि नै भनें नि मैले– संगीतमा जस्तै राजनीतिमा पनि असुरहरूकै राज छ ।

(शनिबार प्रकाशित हुने कान्तिपुरको प्रिन्ट संस्करण ‘शनिबार विशेष’बाट ।)

प्रकाशित : मंसिर १९, २०७७ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसले मंसिर २९ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

कुलचन्द्र न्यौपाने

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले मंसिर २९ गते सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि बुधबार तनहुँमा भएको अभद्र व्यवहार र गिरफ्तारीको विरोध जनाउँदै कांग्रेसको शुक्रबार बसेको पदाधिकारी, पूर्वपदाधिकारीसहितको अनौपचारिक बैठकले सरकारको अलोकतान्त्रिक कदम, भ्रष्ट्राचार, अनियमितता र कोरोना नियन्त्रण तथा रोकथामको दिशामा देखाएको गैरजिम्मेवारी लगायतका मुद्दा उठाउँदै विरोध प्रदर्शन गर्ने निर्णय लिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बैठकले तत्काल संसद् अधिवेशन बोलाउन सरकारसँग माग गरेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले बताए ।

नेता अर्जुननरसिंह केसीले सरकारले एकपछि अर्को विरोधी विचारधारलाई निषेध र निस्तेज गर्ने काम गर्दै एकदलीय कम्युनिष्ट शासन सत्ता संचालन गर्न खोजेकाले कांग्रेस विरोधमा जान बाध्य भएको बताए । ‘मंसिर २९ गते सांकेतिक रुपमा देशव्यापी विरोध प्रदर्शन हुन्छ’, उनले भने,‘त्यसपछि सरकारका विरुद्ध अरु कडा कदमका कार्यक्रममा पनि जान सकिन्छ ।’

बैठकमा पार्टीको महाधिवेशनको तयारी, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले उठाएका १६ बुँदे मागका विषयमा समेत छलफल भएको थियो ।

प्रकाशित : मंसिर १९, २०७७ १८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×