१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘शुद्धीकरण गरी महासंघको छवि सुधार्नेछु’

काठमाडौँ — यही मंसिर ११–१३ मा हुने नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको वरिष्ठ उपाध्यक्ष पदमा हालका उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुँदै छ । वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने भएपछि ढकाल र प्रधान प्यानलसहित निजी क्षेत्रमा अहिले ध्रुवीकरणा बढ्दै गइरहेको छ, साथै सहमतिको प्रयास पनि ।

‘शुद्धीकरण गरी महासंघको छवि सुधार्नेछु’

चुनावी एजेन्डा, कोभिड–१९ ले थिलथिलो पारेको अर्थतन्त्र उकास्न निजी क्षेत्रको भूमिका, रोजगारी सिर्जना, महासंघको छवि सुधार र उनीहरूमाथि लाग्ने गरेका आरोपमा केन्द्रित रहेर कान्तिपुरका कृष्ण आचार्य, राजु चौधरी विजय तिमल्सिनाले प्रधानसँग गरेको कुराकानीको सम्पादित अंश :

महासंघको वरिष्ठ उपाध्यक्ष पदमा दोस्रो पटक उम्मेदवारी दर्ता गराउनुभएको छ । यस पटक तपाईंका चुनावी एजेन्डा के–के छन् ?

हाम्रो चुनावी एजेन्डा हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाजीको कार्यपत्र नै हो । उहाँ निर्वाचित भइसक्नुभएको छ, अब अध्यक्ष बन्दै हुनुहुन्छ । र, १० वर्षे रणनीति बनाउँदै हुनुहुन्छ । ऋणात्मक अवस्थामा जाने प्रक्षेपण गरिएको अर्थतन्त्रलाई दोहोरो अंकमा पुर्‍याउने उहाँको प्रयासलाई मैले निर्वाचित भएर कार्यान्वयन गर्ने हो । त्यो एजेन्डामार्फत अघि बढ्ने हो । कृषि क्षेत्र र महामारीका कारण प्रभावित पर्यटन क्षेत्रलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा उहाँ लागिरहनुभएको छ ।

अहिले कोरोनाको भ्याक्सिन बनेका समाचार आइरहेका छन् । भ्याक्सिन जब संसारभर आउँछ, त्यसले रोग प्रतिरक्षाको क्षमता बढाउँछ र अर्थतन्त्रका लागि बल पुर्‍याउन युवा र व्यवसायीलाई तयार बनाउँछ भन्ने उहाँको एजेन्डा छ । मेरो कार्यकाल तीन वर्षपछि सुरु हुन्छ । त्यतिबेला उहाँको कार्यकालमा बनाएको एजेन्डालाई हामीले अंगीकार गरेका हुन्छौं । सम्पूर्ण जिल्ला/नगर, वस्तुगत र एसोसिएट्सका साथीहरूबाट स्वीकृति गरेर उहाँले बनाएको १० वर्षे एजेन्डालाई आवश्यक संशोधन गर्ने योजना छ । उहाँकै पुस्ताले नेपालमा उद्योगहरूको स्थापना गरेको हो । त्यही पुस्ताले आज नेतृत्व गर्दै छ । १५–१६ हजार युवालाई रोजगारी दिएर बसेको संस्थाका रूपमा उहाँ स्थापित हुनुहुन्छ । उद्योग व्यवसायलाई बढाउने र करदातालाई बढाएर देशको अर्थतन्त्रलाई मजबुत बनाउने काम खोज्नुभएको छ, त्यसमा उहाँलाई पूर्णरूपमा सहयोग गरेर सफलतापूर्वक अघि बढाउँछौं ।

अघिल्लो पटक तपाई शेखर गोल्छासित चुनाव लड्नुभएको थियो । यस पटक उहाँलाई सफल बनाउने तपाईंको प्रमुख एजेन्डा देखिन्छ । कसरी यस्तो भयो ?

चाहे राजनीति होस् वा व्यवसाय वा घर नै किन नहोस्, राम्रोलाई राम्रो भन्ने बानी गर्नुपर्छ । यसो गर्न सकिएन भने देशको समग्र विकास हुन सक्दैन । विपक्षीले राम्रो कुरा गर्‍यो भने पनि राम्रो भन्ने हिम्मत राख्नुपर्‍यो । अरूले भनेको सबै झूट र आफूले भनेको सबै साँचो भन्ने कमजोरी हामीमा छ । त्यो दृष्टिकोणले अर्थतन्त्रको विकास हुँदैन । अर्थतन्त्रको विकास गर्न राम्रोलाई राम्रो भन्न सिक्नुपर्‍यो, नराम्रोलाई सम्बोधन गर्न सक्नुपर्छ । हामी उद्योगी व्यवसायीहरू कुनै कुरा मनमा राखेर हिँड्दैनौं । उहाँसँग म चुनाव लडें र हारें । २८ वर्षदेखि महासंघलाई सहयोग गरेको छु । पशुपति मुरारकाको पालामा म उपाध्यक्ष थिएँ र भवानी राणाको पालामा एक वर्ष खाली हुँदा मलाई बोलाएर अगाडि लैजाने प्रतिबद्धता जनाउनुभयो । अध्यक्षसम्म पुर्‍याउँछु भन्ने प्रतिबद्धताका कारण मैले एक वर्षपछि त्यो कुर्सी सम्हालें । पशुपति मुरारकाको कार्यकाल चार वर्ष र यो कार्यकालमा शेखर गोल्छाजीले मलाई अध्ययन गर्नुभयो । उहाँले निष्ठावान् छ, यसको स्वार्थ छैन, यो समग्र नेपाली उद्योगी व्यवसायीको लागि अगाडि बढ्छ भन्ने ठानेर मलाई आफ्नो टिममा अगाडि बढाउन चाहनु भएको हो । उहाँले समग्र उद्योगी व्यवसायीको एजेन्डा समावेश गर्नुभएको छ । मंसिर १४ गतेदेखि त्यो एजेन्डा कार्यान्वयनका लागि हामी कार्यरत रहन्छौं । देशको अर्थतन्त्रलाई तीनदेखि ६ वर्षमा दोहोरो अंकको वृद्धिदरमा पुर्‍याउने हाम्रो लक्ष्य रहेको छ ।

तपाईले अघिल्लो पटक वरिष्ठ उपाध्यक्ष पदमा पराजय भोग्नुभयो । फेरि जिल्ला/नगरको उपाध्यक्षमा चुनाव जित्नुभयो । अहिले वरिष्ठ उपाध्यक्षमा लड्दै हुनुहुन्छ । महासंघमा त्यस्तो के छ, पटकपटक हारिरहे पनि चुनाव लड्नुपर्ने ?

कुनै वर्ष तपाईं एउटा कक्षामा अनुत्तीर्ण हुनुभयो भने पढ्दै नपढ्ने त ? जुन कक्षामा म २८ वर्ष पढें, त्यसमा पूर्ण रूपमा उत्तीर्ण भएर मैले आफूलाई प्रमाणित गर्नुछ । मेरो लक्ष्य भनेको नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्नु हो । त्यो लक्ष्य पूरा गर्न म दोस्रो पटक पनि लडें । म एक विद्यार्थी हुँ, एकचोटि असफल भएपछि सफलताको लागि फेरि जाँच दिँदै छु ।

कोभिड–१९ को महामारी छ । तपाईहरू गुट–उपगुटमा लाग्ने, भेला गर्ने, सभा गर्ने काममा व्यस्त हुनुहुन्छ । अहिलेको अवस्थामा तपाईहरू पनि गम्भीर देखिनु भएन है ?

केही व्यक्तिको स्वार्थका कारण राजनीतिक वातावरण सिर्जना भएको साथीहरूले महसुस गर्नुभएको छ । त्यस्तो अब नहोस् । नेपाल सरकारपछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघ हो । यो संस्थामा कुनै पनि गुट, उपगुट र राजनीति हुनु हुँदैन । अहिलेको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघको आम मानिसमा इमेज गिर्‍यो भन्ने सवाल छ । त्यसलाई कायम राख्न र इमेज बढाउन नै शुद्धीकरण र सुदृढीकरणको आवश्यकता भएको हो । विगतका केही कार्यकालमा महासंघले राम्रो काम गर्न सकेन भन्ने छ, त्यसलाई दूर गर्नका लागि हामीले यो एजेन्डा बोकेका हौं । हामीले यस्तो रोडम्याप तयार पार्छौं कि आउने तीन वर्षमा कुनै गुट र उपगुट हुँदैन । गुट र उपगुट भनेको पानीको थोपाजस्तो छ, चुनावको भोलिपल्टदेखि सबै एक भएर जान्छ ।

निर्वाचनको समयमा जहिल्यै मुद्दा बन्ने एउटा विषय हो– निजी क्षेत्र अर्थात् महासंघको छवि सुधार गर्ने । सुधारका योजना के–के छन् ?

महासंघको छविको सवालमा हाम्रै संस्थाका संस्थापक सदस्यहरूले अर्को संस्था खडा गरेका छन् । महासंघले व्यवसायीको समस्या सम्बोधन गर्न सकेन भन्ने हेतुले साथीहरू हामीसँग विचलित भए । व्यक्तिवादी रूपमा महासंघ हाबी भयो । हामीले समयमै मुद्दालाई सम्बोधन गर्न सकेनौं । हामीमा केही कमीकमजोरी छन् भने त्यसलाई आत्मसात् गर्छौं र दूर गरेर महासंघलाई सशक्त, सबल र सक्षम बनाएर अघि बढ्छौं । यो संगठनसँग धेरै उद्योगी व्यवसायीले आशा राखेका छन् । रुष्ट भएका साथीहरूलाई हामीले आफ्नो घरमा फर्काउने प्रयास गर्छौं । कमन एजेन्डा बनाएर सरकारसँग बहस गर्छौं । चाहे त्यो नेपाल उद्योग परिसंघ (सीएनआई) होस् या नेपाल चेम्बर अफ कमर्स ।

खासमा अहिले निजी क्षेत्र अर्थतन्त्र कसरी चलायमान बनाउने, भइरहेको रोजगारी कसरी टिकाउने, नयाँ रोजगारीका अवसरहरू कसरी सिर्जना गर्ने ? आर्थिक पुनरुत्थानका काममा कसरी लाग्ने बेला हैन र ?

कृषि क्षेत्रलाई व्यवसायीकरण गर्न हामीले सुझाव दिएपछि सरकारले बजेटमा भूमि बैंक र सम्झौता खेतीको अवधारणा ल्याएको हो । अब एकता बढाउँदै हामीले चक्लाबन्दी गराएर उद्योगी व्यवसायीलाई त्यसमा केन्द्रित गर्न सक्छौं । कृषिमा खर्बौंको आयात भइरहेको छ, त्यसलाई यहीँ उत्पादन र प्रयोग गरौं । यसो भयो भने चारदेखि पाँच लाख रोजगारी सिर्जना हुन्छ । चार महिनाभित्र त्यसको नतिजा लिन सकिन्छ । हामीले दीर्घकालीन र अल्पकालीन रणनीति बनाएका छौं । अहिले तत्काल अर्थतन्त्रलाई चलायमान बनाउन कृषि क्षेत्र र वन पैदावारलाई ध्यान दिनुपर्छ । कृषिमा तेल निकाल्नुपर्‍यो भने त्यसका उद्योग खुल्छन् । धान उत्पादन भयो भने धानका उद्योग खुल्छन् । कृषिमा हामीले चाँडै नतिजा दिन सक्छौं ।

रोजगारी मात्रै होइन प्रशस्त आम्दानीको स्रोत हामीले निकाल्नुपर्नेछ । हामी यो मूल्य मान्यतालाई स्थापित गरेरै छाड्छौं । हामीसँग कुनै स्वार्थ छैन । हामी देशभरका उद्योगी व्यवसायीको हितका लागि काम गर्छौं ।

तपाईंको टिम अहिले पनि महासंघमै छ । कोभिड–१९ को महामारीमा तपाईंहरूले के गर्नुभयो ? अहिले काम गर्नलाई केले छेक्यो ?

अहिले हामी महासंघमा छौं तर नेतृत्व भवानी राणाले गरिरहनुभएको छ । हामीले कोभिडको बेलामा पनि प्रशस्त काम गरेका छौं । जिल्ला–जिल्लाको सञ्जालमार्फत कोभिड अस्पताल निर्माणदेखि क्वारेन्टाइनको व्यवस्था गरेर नेपाल सरकारलाई सहयोग गरेका छौं । ठूलो रकम कोभिड कोषमा जम्मा गर्‍यौं । सेवा भावनाले कोभिड भएका व्यक्तिलाई मानवीय सहयोग गरेका छौं । सरकारलाई ठोस सुझाव पनि दिएका छौं । सरकारलाई निजी क्षेत्रसँग मिलेर काम गरौं भन्यौं तर उहाँहरूले त्यतिबेला दूरदर्शिता नदेखाएका कारण केही समस्या पर्‍यो । हामी अलिकति पछि परेको जस्तो देखियो ।

आर्थिक दौडमा हामी पछाडि पर्‍यौं । बजेटपछि मौद्रिक नीतिमार्फत पुनरुत्थान गर्ने कुरामा हामीले काम गर्‍यौं । जसमा शेखर गोल्छाजी आफैं संलग्न हुनुभयो । नीतिमार्फत हामीले रिफाइनान्सिङको कामलाई अगाडि ल्याउने कोसिस गर्‍यौं । हाम्रो चैत महिनामै निर्वाचन थियो । हामी सबै निर्वाचनमा जान तयार थियौं । अनायासै कोभिड आयो । निर्वाचनमा तयार भएकाहरू यो दौडमा दौडिन सकेनौं । तर हामीले आफ्नो जिल्ला नगर र महासंघको तर्फबाट सरकारलाई सहयोग गरेका छौं । तर सरकारले हामीलाई राम्रो प्याकेज दिन सकेको छैन । त्यसको लागि निर्वाचनपछि हाम्रो टिमले काम गर्छ ।

तपाई पदका लागि मात्रै दौडिइरहनुहुन्छ, तपाईंका उद्योग, व्यापार व्यवसाय केही पनि छैन भन्ने आरोप छ नि ?

यो सरासर गलत हो । त्यो बेलादेखि म उद्योग चलाएर बसेको छु, जुन बेला मेरा प्रतिद्वन्द्वी साथी जन्मनु पनि भएको थिएन होला । मैले २०३५ सालदेखि उद्योग चलाएको हुँ । आज पनि मसँग पाँच वटा स्थापित उद्योग छन् । आज पनि तीनदेखि साढे चार सय व्यक्तिलाई रोजगारी दिएर बसेको छु । म सन्तुष्ट पनि छु । जसका कारण अगाडि बढिरहेको छु । पदको लोभ उहाँलाई छैन ? पदको लोभ सबैलाई छ । लोभ नहुने हो भने मानिस अगाडि बढ्दैन । पदको लोभ होइन, लक्ष्यको हो । मानिसको जीवनमा लक्ष्यको लोभ नहुने हो भने त्यो मानिस कहिल्यै अगाडि बढ्दैन । लक्ष्य प्राप्तिका लागि कर्मठ इमानदार भएर हौसला बुलन्द राख्नुपर्छ, त्यसले तपाईंलाई शिखरमा पुर्‍याउँछ ।

यसपालि सहमति हुने सम्भावना कत्तिको देख्नुहुन्छ ?

एउटा हातले रोटी पाक्दैन । रोटी पकाउन दुवै हात बढ्नुपर्ने अवस्था छ । एउटा हात मैले बढाइसकेको छु । अर्को हात उहाँले बढाउनुपर्छ । अनि मात्रै रोटीको आकार आउँछ । हाम्रा अभिभावकहरूले प्रयास गर्दै हुनुहुन्छ । अन्तिम समयमा जे पनि हुन सक्छ ।

पूर्वअध्यक्षहरूले उम्मेदवारी फिर्ता लिनेलाई विशिष्ट सदस्य वा मानार्थ उपाध्यक्षको प्रस्ताव गरिसक्नुभएको रहेछ । यसमा छलफल हुँदै हो ?

उहाँहरूले राखेको प्रस्ताव होइन यो । यो पत्रकारहरू आफैंले राखेको प्रस्ताव हो ।

तपाईंलाई बोलाएर रविभक्त श्रेष्ठले भनिसक्नुभएको छ भन्ने कुरा बाहिर आइसक्यो नि ?

त्यो प्रस्तावका बारेमा मलाई भन्नुभएको छैन । मैले त्यो कुरा पत्रिकामा देखें । मैले सोध्दा उहाँले यस्तो कुरा मैले भनेको छैन भन्नुभएको छ । तपाईंले भनेजस्तो सबै जना बसेर सहमतिको सम्भावना हुन सक्छ । कस्ताकस्ता युद्ध त समझदारीमा समाप्त हुन्छ भने यो युद्ध पनि होइन । त्यसकारण नेतृत्वमा बस्ने मानिसले ंसंस्थाको मर्यादा उच्च बनाउने हेतुले गर्ने निर्णय सबैलाई सर्वमान्य हुनुपर्छ । संस्थाको मर्यादा उच्च बनाउने गरी हुने निर्णय म मान्न तयार छु भन्ने कुरा पूर्वअध्यक्षहरूलाई भनिसकें । एक जनाले मात्रै योगदान गरेर हुन्न । परिवर्तनका लागि महासंघका व्यवसायीहरू आतुर छन् । किशोर प्रधानलाई शेखर गोल्छापछि नेतृत्व दिलाउन उहाँहरू दृढ संकल्पमा हुनुहुन्छ ।

अन्त्यमा, आफ्नो प्रतिद्वन्द्वीलाई केही भन्न चाहनुहुन्छ ?

उहाँ पनि एकदमै योग्य उम्मेदवार हुनुहुन्छ । हामी पक्ष र विपक्षमा कुरा गरे पनि उहाँ मेरो भाइजस्तो मान्छे हो । सधैं सम्पर्कमा बसेर हामीले धेरै काम पनि गर्‍यौं । म उहाँलाई अलिकति धैर्य राख्नुस्, छिटो हिँड्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ भन्न चाहन्छु । यो कार्यकाल तपाईं सहयोगीको भूमिकामा बस्नुस् । अर्को कार्यकालमा तपाईंलाई नेतृत्वमा पुर्‍याउने प्रयास गरौंला ।

प्रकाशित : मंसिर ७, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?