‘महासंघको छवि सुधार्न वास्तविक उद्योगीलाई नेतृत्व’- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘महासंघको छवि सुधार्न वास्तविक उद्योगीलाई नेतृत्व’

कान्तिपुर संवाददाता

काठमाडौँ — यही मंसिर ११–१३ मा हुने नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनको वरिष्ठ उपाध्यक्ष पदमा हालका उपाध्यक्षद्वय चन्द्र ढकाल र किशोर प्रधानबीच प्रतिस्पर्धा हुँदै छ । वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने भएपछि ढकाल र प्रधान प्यानलसहित निजी क्षेत्रमा अहिले ध्रुवीकरण बढ्दै गइरहेको छ, साथै सहमतिको प्रयास पनि ।

चुनावी एजेन्डा, कोभिड–१९ ले थिलथिलो पारेको अर्थतन्त्र उकास्न निजी क्षेत्रको भूमिका, रोजगारी सिर्जना, महासंघको छवि सुधार र उनीमाथि लाग्ने गरेका आरोपमा केन्द्रित रहेर कान्तिपुरका कृष्ण आचार्य, राजु चौधरी विजय तिमल्सिनाले ढकालसँग गरेको कुराकानीको सम्पादित अंश :

महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराइसक्नुभएको छ । तपाईंका चुनावी एजेन्डा के–के छन् ?

मैले महासंघको केन्द्रीय सदस्यमा दुई पटकको कार्यकाल पूरा गरें । उपाध्यक्षमा एक पटक निर्विरोध निर्वाचित भएँ । महासंघको अभियानमा सक्रिय भएर लागेको करिब १० वर्ष भयो । साना तथा मझौला उद्योगमा ठूला लगानी गरेर रोजगारी सिर्जना गर्ने, प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने र नेपालमा आर्थिक समृद्धि ल्याउने एजेन्डा बनाई महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएको छु । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको नेतृत्व दिइरहँदा सरकार/नियमनकारी निकायसँग नीतिगत लबिइङ गरेर समग्र आर्थिक विकास, समृद्ध नेपालको विकास गर्न उद्योगी व्यवसायीको विकास हुने नीति आउनुपर्‍यो भन्ने लागेको छ । नीतिकै कारण उद्योग व्यवसाय स्वस्फूर्त रूपमा फस्टाउन सकेका छैनन् । विदेशी लगानी आकर्षित गर्न पहिलो सर्त आन्तरिक लगानीको वातावरण चाहिन्छ । लगानीकर्ताले श्रम, विद्युत्, पूर्वाधार अथवा उद्योगधन्दा बन्द गर्दा निकास निकाल्ने विषय पनि हेर्छन् । यस विषयमा हाम्रा नीतिगत कमजोरी धेरै छन् । त्यसकारण उद्योगमैत्री मुलुकका रूपमा अगाडि बढाउन सशक्त अवाज उठाउँदै नीतिगत लबिइङ नै मुख्य एजेन्डा हो । जिल्ला–नगरका उद्योगी व्यवसायी साथीहरूका पनि धेरै मुद्दा छन् । कतिपय अवस्थामा महासंघले समेट्न सकेको छैन । ती मुद्दामा काम गर्न मेरो उम्मेदवारी हो ।

महासंघमा १० वर्ष काम गरें भन्नुभयो । वर्तमान उपाध्यक्ष पनि हुनुहुन्छ । यी काम यसअघि नै गर्न केले रोक्यो ?

म महासंघमा पहिलो पटक कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएर आएँ । दोस्रो पटक निर्वाचन नै भयो । सबैभन्दा बढी मत ल्याएर विजयी भई कार्यसमिति सदस्य भएँ । कार्यसमितिको सदस्यका रूपमा काम गर्दा ठूलो भूमिका हुँदैन । हाल उपाध्यक्ष पदमा सर्वसम्मत भएर आएको हुँ । त्यसपछि रोजगारदाता परिषद्को सभापतिको हैसियतले काम गरिरहेको छु । यो पदमा रहेर निजी क्षेत्रका लागि मैले धेरै काम गरिसकेको छु । रोजगारदाता परिषद्को सभापति भएपछि मजदुर र रोजगारदाताको सम्बन्धमा धेरै सुधार भएको छ । श्रम ऐन आयो, सामाजिक सुरक्षा कोष कार्यान्वयन भयो । धेरै विवाद नभई श्रमिकको न्यूनतम ज्याला निर्धारण भयो । प्रादेशिक संरचनाअनुसार महासंघका ७ वटै प्रदेशका कार्यालयमा पूर्वाधार विकास गर्नेदेखि अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँग मिलेर धेरै कार्यक्रम गरेको छु । जिल्ला–नगर उद्योग वाणिज्य संघका साथीहरूलाई सीप विकास, अवलोकनलगायत धेरै कुरामा काम गरेको छु । कोभिड–१९ पछिको परिस्थितिमा नेपाल सरकारले लकडाउनमा पनि शतप्रतिशत नै तलब दिने सर्कुलर गरेको थियो । त्यति हुँदाहुँदै ट्रेड युनियनका प्रतिनिधिहरूसँग कुरा गरेर लकडाउन अवधिको ५० प्रतिशत मात्रै तलब दिने सहमति गराएँ । मेरो पद र कार्यक्षेत्रअनुसारको भूमिका मैले पूरा गरेको छु ।

अहिलेको अवस्थामा निजी क्षेत्रको ध्यान अर्थतन्त्र चलायमान बनाउन, भइरहेको रोजगारी टिकाउन, नयाँ रोजगारी कसरी सिर्जना गर्ने, आर्थिक पुनरुत्थानका काम अघि बढाउनेतिर हुनुपर्ने हैन र ?

महासंघमा नयाँ कार्यसमिति आउनैपर्ने भएकाले चुनावलाई प्राथमिकता दिएको जस्तो देखिएको छ । निजी क्षेत्र अहिले निर्वाचनमा मात्रै लाग्यो, एजेन्डामा आवाज कम भयो भनेर चर्चा भइरहेको छ । तर, निजी क्षेत्रको विषयमा महासघका तर्फबाट लबिइङ भइराखेको छ । कतिपय काम पूरा नभएको हुन सक्छ । तर, विषयवस्तुमै केन्द्रित भएन भन्ने हैन । जहाँसम्म चुनावको कुरा छ, यो आगामी १३ गतेसम्मका लागि मात्रै हो । माघदेखि नै हामी कोभिड र चुनावकै हिसाबमा दौडिइराखेका छौं ।

तर, तपाईंहरू गुट/उपगुटको भेला गर्ने, संक्रमणको पर्वाह नगरी सभा गर्नमै व्यस्त हुनुभयो नि ?

हो, यस्तो आलोचनाबारे म जानकार छु । यहाँले भनेजस्तो गुट/उपगुट नहोस्, चुनावमा अस्वस्थ प्रतिस्पर्धा नहोस्, व्यावसायिकका एजेन्डा नहराऊन् भनेरै वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने व्यवस्था गरेका हौं । यसो गर्दा वरिष्ठ उपाध्यक्ष, वर्तमान अध्यक्ष स्वतन्त्र हुन्छन्, गुट/उपगुटमा लाग्दैनन् भन्ने चाहना थियो । तर महासंघको मर्मभन्दा फरक गतिविधि देखिएका छन् । वर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्षले एउटा व्यक्तिलाई लिएर हिँडेको देखियो । तर म चुनावबाटै होस् या सर्वसम्मतले वरिष्ठ उपाध्यक्ष भएपछि विधानको मर्मअनुसारकै वातावरण बनाउनमा प्रतिबद्धता व्यक्त गर्दछु ।

तपाईंले नै भनिसक्नुभयो– वर्तमान अध्यक्ष, हुनेवाला अध्यक्ष अर्को समूहमा छन् । धेरै पूर्वअध्यक्षहरू पनि तपाईंका साथमा छैनन् । यस्तो अवस्थामा तपाईंले निर्वाचनमा कसरी सफलता प्राप्त गर्नुहोला ?

धेरै पूर्वअध्यक्षहरूले अर्को पक्षलाई समर्थन गरिरहेको कुरा म मान्न तयार छैन । म उहाँहरूसँग सम्पर्कमा छु । एकदुईबाहेक सबै पूर्वअध्यक्षको सहयोग र शुभेच्छा रहेको छ । निर्वाचनमा सबैभन्दा महत्त्वपूर्ण हुन् । जिल्ला–नगर उद्योग वाणिज्य संघ, एसोसिएट, वस्तुगत, द्विराष्ट्रिय संघका मतदाता साथीहरूको माग हेर्नुभयो भने वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालकै नाम आउँछ । मेरो प्यानलका दुई साथीहरू त निर्विरोध निर्वाचित भइसक्नुभएको छ । सञ्चारमाध्यमहरू हेर्नुस्– जो निजी क्षेत्रकै प्रमुख स्टेक होल्डरहरू हुनुहुन्छ, उहाँहरूको समर्थन पनि मलाई नै छ । अहिलेसम्मको वातावरणअनुसार निर्विरोध नै निर्वाचित हुन्छु जस्तो लाग्छ । तथापि, यो कुरा १३ गते बेलुकासम्मका लागि मात्रै हो । शेखर गोल्छाजीको ठाउँमा म भइदिएको भए स्वतन्त्र भूमिका निर्वाह गर्थें । चुनावी माहोल हेर्दा किशोर र चन्द्रबीच भन्दा पनि शेखर र चन्द्रबीच निर्वाचन हुँदै छ जस्तो गरी प्रचार गरिएको छ । वास्तवमा शेखरजी प्रयोग हुनुभयो । मेरो प्रतिद्वन्द्वी समूहले शेखर गोल्छाको समूह भन्दै प्रचार गरिएको छ । तर पनि १३ गतेपछि मेरो अध्यक्ष शेखरजी नै हो । जुन पक्षबाट निर्वाचित भए पनि शेखरजीले गर्ने हरेक राम्रो काम निजी क्षेत्रको हो । मेरातर्फबाट कुनै गुटबन्दी हुनेछैन ।

तपाईंलाई विवादास्पद छविका पूर्वअध्यक्ष चण्डीराज ढकालको समर्थन छ । यसपालि महासंघको शुद्धीकरणमा तपाईं बाधक बन्नुभयो भन्ने आरोप छ नि ?

यो आरोप उहाँहरूले लगाउन सुहाउँदैन । पहिलाको निर्वाचनमा हेर्नुस्, चण्डीजी सबैको सहयोगमा जितेर आउनुभएको हो । शेखर गोल्छा, भवानी राणा, पशुपति मुरारकालाई हेर्नुस् न । उहाँहरूलाई जिताउन चण्डीजीको भूमिका अहिलेको भन्दा निकै बढी थियो । चण्डीजीले मलाई समर्थन गर्नुभएको छ । तुलना नै गरेर हेर्नुहुन्छ भने ७७ जिल्लामा मेरो व्यावसायिक नेटवर्क छ । मलाई साथ सहयोग नभएको क्षेत्र नै छैन । तर उहाँहरूले उल्टै महासंघमा शुद्धीकरण र सुदृढीकरणको कुरा गर्नुभएको छ । यो कुरा सुन्दा मलाई असजिलो लागिरहेको छ । अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोर प्रधान, म, उमेशलाल प्रधान ३ कार्यकालदेखि काम गरिरहेका छौं । हामीले अहिलेसम्म गलत मात्रै काम गरेका हौं त ? उहाँहरूलाई अहिलेसम्म काम गर्नलाई केले रोक्यो र शुद्धीकरण/सुदृढीकरणको कुरा गर्दै हिँड्नुभएको ? महासंघको सुधारमा म बाधक भन्ने कुरा चुनावी फन्डा हो । १२/१५ वर्षदेखि महासंघमा हामी सँगै रहेर काम गरिरहेका छौं । तर अहिले महासंघको शुद्धीकरण र सुदृढीकरण भन्ने नारालाई आमजनताले हास्यास्पद रूपमा लिइरहेका छन् ।

तपाईंको आफ्नो धारणाचाहिँ के हो ? महासंघको छवि सुधार गर्नुपर्ने आवश्यकता छैन ?

महासंघको जुन छवि थियो, त्यो सर्वसाधारणमा र सरकारसँग अवश्य पनि कम भएकै हो । यसमा हामी सबै भागीदार छौं । विगतमा महासंघ एउटै मात्र छाता संगठन थियो । पछि नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स पनि आयो । उहाँहरूले पनि निजी क्षेत्रकै लागि काम गरिरहनुभएको छ । विभिन्न कारण महासंघप्रति हेर्ने दृष्टिकोण फरक परिरहेको छ । त्यसकारण म आइसकेपछि महासंघको नेतृत्वप्रतिको हेराइमा केही न केही परिवर्तन गर्नेछु । हाम्रो समूह समावेशी हुनुका साथै उद्योग व्यवसायको मर्म बुझेका व्यक्तिहरू हुनुहुन्छ । हामीले भौगोलिक र व्यावसायिक हिसाबले समावेशी समूह बनाएका छौं । सरकारले प्रदान गर्ने महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरेका दुई जना छौं । यो समूहले महासंघको छवि सुधार्ने छ ।

धेरै क्षेत्रमा तपाईंको लगानी छ । आफ्नै व्यापार व्यवसायको सुरक्षातिर लाग्नुपर्ने भएकाले निजी क्षेत्रका मुद्दा प्रभावकारी ढंगले उठान गर्न सक्नुहुन्न भन्ने आरोप छ ।

कुनै व्यक्ति व्यवसायी हुँदैन अथवा उसको व्यवसाय नै छैन भने उसलाई त्यो ठाउँमा लगियो भने के हुन्छ भन्ने विचार गर्नुपर्छ । महासंघमा नेतृत्व गर्ने व्यक्तिले खुद्र्रा पसलदेखि सबै क्षेत्रका पीडा तथा समस्याबारे थाहा पाउनुपर्छ । ती समस्या सम्बन्धित निकाय, नियमनकारी निकाय वा नेपाल सरकारसामु प्रस्तुत गर्नुपर्छ । त्यो वास्तविक उद्योगी व्यवसायी नै नेतृत्वमा पुग्नुपर्छ । मानौं कुनै एउटा डाक्टरलाई घरको नक्सा कोर्न दियो भने के हुन्छ ? यसको मतलब वास्तविक व्यवसायीले नीतिगत लबिइङ गर्न सक्छ । सम्बन्धित ठाउँमा आफ्ना कुरा राख्न सक्छ । त्यतिबेला मात्रै निजी क्षेत्रको विकास हुन्छ, छवि सुधार हुन्छ । म आम मतदातालाई भन्न चाहन्छु– महासंघमा नेतृत्व लिइसकेपछि म पुनः स–सानो संस्थामा गएर नेतृत्व लिनेछैन । मेरो आफ्नै व्यवसायका लागि मात्रै हैन समग्र निजी क्षेत्रकै अभियानमा मात्र काम गर्नेछु । नेतृत्व लिइसकेपछि मेरा व्यक्तिगत र मेरा व्यावसायिक चाहनाअनुसारका काम हुने छैनन् ।

तपाईं त बैंकर पनि हुनुहुन्छ । उद्योग व्यवसायका लागि ठूलो समस्या बैंकको ब्याजदर हो । अब तपाईं ब्याजदर घटाउनेतर्फ लबिइङ गर्ने कि बढाउनेतर्फ ?

महासंघले सबै एकल अंकको ब्याज लिने भनिरहेको छ । यो कुरामा हामीले नै लबिइङ गरिरहेका छौं । ब्याज बढी भएकै कारण उद्योग व्यवसाय फस्टाउन सकेन भन्ने कुरा मैले महसुस गरेको छु । म बैंकको एउटा प्रमोटर मात्रै हो । त्यसबाट आउने लाभांशभन्दा उद्योगलाई लिने ब्याजदर कम भयो भने बढी फाइदा हुन्छ । त्यसले मैले ब्याजदर बढाउनेमा प्राथमिकता दिइनँ । हाम्रा साथीहरूले चुनावी फन्डाका लागि यो विषय उठाएका हुन् । त्यसैले मेरो पहिलो प्राथमिकता ब्याजदर घट्नैपर्छ भन्ने हुन्छ । तथापि, बैंक पनि नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतकै सदस्य संस्था हुन् । उहाँहरू पनि डुब्नु हुँदैन भन्ने मेरो उद्देश्य अवश्य हुनेछ ।


निर्वाचनमा सहमतिको सम्भावना कति छ ?

सहमतिको सम्भावना अन्तिमसम्म रहन्छ नै । निर्विरोध हुन्छु भन्ने लागेको छ । हुन सकेन भने स्वस्थ हिसाबले प्रतिस्पर्धा गर्नेछु ।

किशोर प्रधानले त तपाईं जुनियर हुनुहुन्छ, धैर्य गर्दा रामो हुन्छ, एक पटकलाई छाडिदिए हुने भन्ने प्रस्ताव राख्नुभएको छ नि ?

उमेरमा धेरै हुँदैमा राम्रो काम गर्छ भन्ने कुरामा म विश्वास गर्दिनँ । अमेरिकाका राष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टन र डोनाल्ड ट्रम्पलाई हेरौं न । कुन उमेरको व्यक्तिको कार्यकाल सफल भयो ?

पूर्वअध्यक्षहरूले उम्मेदवारी फिर्ता लिनेलाई विशिष्ट सदस्य वा मानार्थ उपाध्यक्षको प्रस्ताव गरिसक्नुभएको रहेछ होइन ?

मलाई जानकारी छैन । यो प्रस्ताव मान्य हुँदैन । मतदाता, जिल्ला–नगर उद्योग वाणिज्य सघ, वस्तुगत संघ, एसोसिएटलगायत सबै क्षेत्रका साथीको माग चन्द्र ढकाल नै भन्ने छ । यो हिसाबले पनि उहाँहरूले त्यो मलाई प्रस्ताव गर्नुहुन्छ जस्तो लाग्दैन । सहमति गरेर किशोर दाइलाई त्यो पदमा राखेर चुनाव नलडाउने हुन सक्छ । उहाँ मेरो आदरणीय हो । उहाँप्रति सम्मान छ । नयाँ युवा टिम लिएर निजी क्षेत्र हाँक्न भिजन लिएर हिँडेका छौं । उहाँले हामीलाई सहयोग गर्नुहुन्छ जस्तो लाग्छ ।

प्रकाशित : मंसिर ७, २०७७ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्

‘अथातो ब्रह्म जिज्ञासा’

एक्काइसौं शताब्दीको कुनै पनि समाजवादले नागरिक स्वतन्त्रतालाई नवनिर्माणको अनिवार्य सर्तका रूपमा राख्नुपर्नेछ । तर अर्को कुरा हेक्का राख्नै पर्छ– यो अनिवार्य सर्त हो, पर्याप्त सर्त होइन ।
प्रदीप गिरि

ठ्याक्कै ५२ वर्ष भएछ । जुँगाको रेखी पनि नबसेका एक किशोरले मलाई प्रश्न गरेका थिए– त्यसो भए समाजवाद भनेको के हो त ? ती किशोरको नामसमेत किशोर नै थियो । उनले आफैंले ‘झुत्रे’ उपनाम रोजेका थिए । अब उनी झुत्रे रहेनन् । ‘नेपाल’ को उपाधि छ । झुत्रे हुँदा उनले राखेको प्रश्न भने नेपाल भैसक्दा पनि अनुत्तरित छ । हामी दुवै त्यस दिन भद्रगोल जेलमा सँगै टहलिँदै थियौं ।

विश्व अहिले कोरोनाको मारमा छ । विश्व पुँजीवादको प्रधान सेनापति रहेको संयुक्त राज्य अमेरिकामा बाइडन राष्ट्रपति पदमा निर्वाचित भएका छन् । आफूलाई समाजवादी भन्नेहरूले पनि उनलाई समर्थन गरे । तर समाजवाद के हो भन्ने कुरो अहिले पनि जसको तस छ । समाजवादको परिभाषाको हकमा, न्वारनका दिनदेखि यो संज्ञा विवादको विषय भएको छ । विगत शताब्दीहरूमा यस विषयमा अनगिन्ती ग्रन्थहरू लेखिए । प्रत्येक ग्रन्थले झन् अन्योल थप्यो । ग्रन्थहरूको ओइरो लागेर यस्तै अन्योल भएका बेला एक जना आत्मवान् पण्डितले ढुक्क भनेका थिए– ‘अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्... ।’ यसै शैलीमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समाजवादको पूर्वाधारका रूपमा ‘आत्मवत् सर्वभूतेषु यः पश्यति स पण्डितः’ को भावना र दृष्टिको प्रतिपादन गर्नुभएको छ । उहाँले बिलकुलै ठीक गर्नुभएको छ । कात्तिक २१ गते कान्तिपुर दैनिकमा प्रकाशित ‘समाजवादको सान्दर्भिक मीमांसा’ शीर्षक आलेखमा उहाँले थप लेख्नुभएको छ, ‘आर्थिक नीतिका हिसाबले समृद्धि दरको पछि लाग्नुभन्दा रोजगारीप्रधान अर्थनीति अँगाली आफ्नो श्रमशक्ति आफ्नै मुलुकमा फर्काउने, हाम्रा युवावर्ग बिदेसिन नपर्ने, आफ्ना अपार सम्भावनाका आधारमा यहीँ काम–माम पाउन सक्ने नीति र कार्यक्रम अघि बढाउनुपर्‍यो । त्यसका लागि गाउँमुखी अर्थनीति, जनमुखी र श्रमको सम्मान गर्ने संस्कृति समाजवादका लागि आवश्यक छ ।’

पौडेलजीको लेखमा योबाहेक अरू कुरा पनि छन् । यस्तै विषयमा विगत महिनामा पौडेलजीका अरू लेख पनि आएका छन् । ती सबै लेखले समाजवादको विमर्शलाई गहिराइ प्रदान गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलको लेख छापिएकै दिन कात्तिक २१ गतेको कान्तिपुर दैनिकमा नवचिन्तक उज्ज्वल प्रसाईले मनज्ञ सन्दर्भ र प्रसंग गुथेर कतिपय प्रस्ताव राख्नुभएको छ । कोरोना प्रसंगको बाध्यता सम्झेर उहाँ लेख्नुहुन्छ, ‘जागिर नखोसिए पनि विगत सात महिनादेखि तलब नआएका निजी विद्यालय र कलेजका शिक्षकले खुइय्य गर्दै भन्न थाले, ‘अलिकति खेती बचाएर राखेको भए यस्तो बिजोग त बेहोर्नुपर्ने थिएन !’ निर्वाह धानिदिएको खेतीलाई पछौटेपनको द्योतक बनाउनुभन्दा स्वावलम्बन, उद्यम र जीवनको आलम्ब बनाउने कोसिस हुनुपर्थ्यो । खेती मात्रमा केन्द्रित जीवन कष्टकर छ भन्ने अनुभवलाई खेतीबाट भाग्ने र कतारको श्रमबजारमा सस्ता श्रमिक हुन पुग्ने उपक्रममा टुंग्याउनु हुने थिएन । भन्न सजिलो, काम गरेर परिणाम देखाउन अप्ठ्यारो छ । भएका प्रयत्नबारे पढेर, बुझेर हौसला प्राप्त गर्न सकिन्छ, आफ्नै सृजनात्मक गोरेटो खन्न सकिन्छ ।’

लेखकद्वयले एकअर्काका कृति अवश्य पढ्नुभयो होला । दुवै लेख एक हदसम्म एकअर्काका पूरक छन् । यताका महिनामा काठमाडौंका अभिजनका माझ समाजवाद बुद्धिविलासको गहन विषय भएको छ । केही दिनअघि कान्तिपुरमा पूर्वअर्थसचिव शंकरप्रसाद अधिकारीले ‘पुँजीवाद कि शास्त्रीय समाजवाद’ शीर्षकमा एक्काइसौं शताब्दीको समाजवाद कस्तो हुन्छ भनी उत्कट जिज्ञासा व्यक्त गर्नुभएको थियो । नेपालको संविधान, २०७२ ले समाजवादलाई आफ्नो लक्ष्य राखेको छ । कस्तो बहस, विवाद र विडम्बनाका बीच त्यो प्रस्तावना लेखिएको थियो, त्यसलाई अहिले छाडिदिऔं । तर त्यसले एउटा राम्रो काम गर्‍यो । चिन्तनको इतिहासमा पाखण्डले उत्प्रेरकको काम गर्छ भन्ने कुरो एकपटक फेरि सिद्ध भयो ।

५२ वर्षअघिको किशोर झुत्रेको प्रश्नले नवजीवन प्राप्त गरेको छ । समाजवादी चिन्तनको इतिहासमा कार्ल मार्क्सको उदय एक गुणात्मक फड्को थियो । लेनिनले त्यसबाट प्रेरणा लिए । अक्टोबर १९१७ मा रुसमा सोभियत क्रान्ति फलित भयो, विश्व हल्लियो । लगभग ७२ वर्षको जटिल प्रयोगपछि १९८९ मा सोभियत युनियन विघटित भयो । यस विघटनको ऐतिहासिक मूल्यांकन अझै हुन सकेको छैन । विघटनको भोलिपल्ट नै विश्व पुँजीवादले आफ्नो अन्तिम विजयको घोषणा गर्‍यो । निजीकरण, बजारीकरण र भूमण्डलीकरण विश्वको निर्विकल्प धर्म भयो । नेकपाको समाजवाद पनि यसबाट उम्कन सकेको छैन । अझ भनौं, उम्कन खोजेकै छैन । नेपाली कांग्रेसको आधिकारिक धारणाले पनि विश्व पुँजीवादको लक्ष्मणरेखा नाघ्न सकेको छैन ।

सोभियत युनियनको पतन एउटा राज्य वा साम्राज्यवादको पराजय थियो । विश्वमा रहेका सबै थरीका समाजवादी त्यसबाट हतप्रभ र हताश हुने कुरा थिएन । प्रजातान्त्रिक समाजवादको उज्यालोमा संगठित र सञ्चालित सोसल डेमोक्र्याटिक पार्टीहरूले हीनताबोध राख्ने काम थिएन । उनीहरूले बेलैमा भनेका थिए– नागरिक स्वतन्त्रता र प्रजातन्त्रको अभावमा समाजवादको निर्माण हुनै सक्दैन ।

सोभियत युनियन आफ्नै अन्तर्विरोधले ढलेको थियो । स्वतन्त्रताको अनुपस्थितिमा ढलेको थियो ।तर प्रजातन्त्रवादीहरू त्यसै तर्सिए । किन तर्सिए, त्यो अध्ययनको विषय छँदै छ । बडो सुन्दरताका साथ पौडेलजीले कुनै पनि किसिमको समाजवादको निर्माणका निमित्त एक अनिवार्य सर्तको प्रस्तुति गर्नुभएको छ । अर्थगाम्भीर्यका हिसाबले गागरमा सागर भरिएझैं पौडेलजी भन्नुहुन्छ, ‘चौराणां चन्द्रमा रिपुः ।’

नागरिक स्वतन्त्रताको अभावमा समाजवादको कल्पना गर्न सकिँदैन । उदारवादी लोकतन्त्र पनि टिक्दैन । न त पुरानो वा नौलो जनवाद नै टिक्छ । सुशासन हुने छैन । भ्रष्टाचार, दुराचार, बलात्कार, चोरी, डकैतीको बिगबिगी हुनेछ । अनि तथाकथित समाजवादी व्यवस्था स्वतः धराशायी हुन्छ ।तदनुरूप एक्काइसौं शताब्दीको कुनै पनि समाजवादले नागरिक स्वतन्त्रतालाई नवनिर्माणको अनिवार्य सर्तका रूपमा राख्नुपर्नेछ । तर अर्को कुरा हेक्का राख्नैपर्छ– यो अनिवार्य सर्त हो, पर्याप्त सर्त होइन ।

नागरिक स्वतन्त्रताका दुइटा आयाम छन् । पहिलो, कुनै संविधानको धारामा लेख्दैमा नागरिक स्वतन्त्रता बहाल हुँदैन । विगत वर्षहरूमा मुलुकविशेषको संविधानमा लेखिएका अधिकारहरू केकस्ता प्रकारले अपव्याख्या र दुरुपयोग गरिएका छन्, त्यो विश्वलाई थाहा छ । कम से कम अभिजनलाई थाहा छ । अभिजनको जानकारी जनजनमा पुर्‍याउनु सुशासनको पहिलो सर्त हो । दोस्रो, नागरिक स्वतन्त्रता फगत अनिवार्य सर्त हो, पर्याप्त सर्त होइन । राज्यको स्वरूप, संविधानले खडा गरेका विभिन्न स्वायत्त संस्थाहरूको दायित्वबोध, विभिन्न राजकीय एकाइको संरचना र रीत पुगेको कानुनको शासनको मर्मका बारेमा नागरिकहरू सदैव जागरुक रहनुपर्छ । राज्यका विभिन्न एकाइले आजका मितिमा अमेरिकामा ट्रम्पलाई सघाए भने के होला ? लोकतन्त्र र समाजवादका निमित्त यो एक गहन प्रश्न छ ।

उज्ज्वलजीले आफ्ना कुरा अगाडि सार्दा फिलिपिन्स र जापानको एउटा ठोस उदाहरण दिनुभएको छ । उज्ज्वलजीले आफ्नो प्रस्तावको पक्षमा शास्त्रको उल्लेख गर्नुभएको छ, शास्त्रार्थ गर्नुभएको छैन । तर उहाँका उदाहरणका केही निहितार्थ छन् । उत्पादनको स्वरूप र सारका विषयमा गरेको कुराले आजसम्म विश्वमा प्रचलित रहेको समाजवादका विषयमा उहाँले नवप्रस्तावना राख्नुभएको छ । औद्योगीकरण समाजवादको पूर्वसर्त होइन । अघिअघि दुनियाँका मार्क्सवादीहरू भन्थे– विपुल उत्पादन नभई यथोचित वितरण हुन सक्दैन । तर एक्काइसौं शताब्दीमा यो गलत मात्र होइन, खतरनाक पनि छ । पर्यावरण र कोरोनाको संयुक्त चुनौतीले हाम्रो आत्मघाती जीवनशैलीसँग साक्षात्कार गरेको छ । पर्यावरणको विनाश विशेषज्ञको विषय मात्र रहेको छैन, यो हाम्रो घरघरमा पुगेको छ । आजसम्म प्रचलित र सम्माननीय रहेका यावत् विचारधारा शंकाको घेरामा परेका छन् । एक्काइसौं शताब्दीको समाजवादले विगत पाँच वर्षको विकासक्रमलाई पुनरावलोकन नगरी भएको छैन । शास्त्रहरू रहने नै छन् । कसैले चिताउँदैमा शास्त्रहरू निमिट्यान्न हुँदैनन् । तर समाजवाद र मानववादको पक्ष र विपक्षमा हुनसम्म शास्त्रार्थ भैसकेको छ । कोरोना कहरले हामीलाई शास्त्रको सीमा र सामर्थ्य बताएको छ, विज्ञानको औकात देखाएको छ । सन्त्रस्त मानवताले आज अन्य कुराको भन्दा पनि ठोस जीवनमूल्यको चाहना गरेको छ । हामीलाई एकपटक फेरि सम्झाएको छ– ‘गुह्यं ब्रह्म तदिदं ब्रवीमि, न मानुषात् श्रेष्ठतरं हि किंचित् ।’ युधिष्ठिर प्रश्नकर्ता थिए । उत्तर दिने भीष्म थिए । भीष्म भन्छन्– यो ब्रह्म भन्ने कुरो जानेर साध्य भएन । मानिसलाई जान र मान, त्योभन्दा गतिलो अर्थोक छैन । शास्त्रका हिसाबले जाने हो भने, ५२ वर्षअघिको किशोरको जिज्ञासा अझै अनुत्तरित छ । यस्तो उत्तर बाहिरबाट वा कुनै शास्त्रबाट पाइँदैन । र फेरि, यस्ता उत्तरभन्दा सधैं उठिरहने प्रश्न महत्त्वपूर्ण हुन्छन् ।

प्रकाशित : मंसिर ७, २०७७ ०९:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×