प्रमाण सडकमा देखाउने होइन, निष्पक्ष छानबिन गरेर देखाउन मेरो चुनौती छ : बाबुराम भट्टराई (अन्तर्वार्ता) 

कान्तिपुर संवाददाता

काठमाडौँ — पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेता बाबुराम भट्टराईले प्रधानमन्त्री (केपी शर्मा ओली) र दुई पूर्वप्रधानमन्त्री (पुष्पकमल दाहाल र शेरबहादुर देउवा) ले बुढीगण्डकी परियोजनामा ९ अर्ब भ्रष्टाचार गरेको अभिव्यक्ति दिएपछि यसले तरंग पैदा गरेको छ ।

प्रमाण सडकमा देखाउने होइन, निष्पक्ष छानबिन गरेर देखाउन मेरो चुनौती छ : बाबुराम भट्टराई (अन्तर्वार्ता) 

यद्यपि सत्तारुढ दल नेकपाका प्रवक्ता र प्रमुख प्रतिपक्षी कांग्रेस प्रवक्ताले भिन्दाभिन्दै विज्ञप्ति निकालेर आरोपलाई पुष्टि गर्न भट्टराईलाई चुनौती दिएका छन् । भट्टराईले पनि छानबिन माग गर्दै यसमा आफूले सहयोग गर्ने बताएका छन् । यसै विषयमा भट्टराईसँग कान्तिपुरकी बबिता शर्माले गरेको कुराकानी :

केही दिनअघि गृहजिल्ला गोरखा पुगेर प्रमुख दलका शीर्ष नेताले बुढीगण्डकी परियोजनामा ९ अर्ब भ्रष्टाचार गरेको भन्नुभयो । लोकप्रियता कमाउने मेसो होइन भने यही बेला यो मुद्दा कसरी उठ्यो ?

बाबुराम भट्टराईको जीवन हेर्नुहुन्छ भने उसले लोकप्रियता हैन सत्य र न्यायको निम्ति जीवन समर्पण गरेको छ । जहाँसम्म भ्रष्टाचारको मुद्दा छ, देश यति नराम्रोसँग दलदलमा फँस्दै गएको छ कि अर्बौंभन्दा बढीका भ्रष्टाचार काण्डहरु दर्जनौं छन् । यो विषयमा मैले संसद, संसदका समितिहरु, मिडियाबाट निरन्तर बोल्दै आएको छु । यो कुनै नौलो कुरा हैन । दूर्भाग्यवश, विगतमा मान्छेले सुन्दैनथे । अहिले सुन्न थालेका छन् । त्यसमा म खुसी छु । मैले आजीवन सुशासन, सदाचार, परिवर्तनको निम्ति आवाज उठाइराख्छु । यसमा कसैले अन्यथा नमान्दा हुन्छ । इतिहासले मलाई सही सावित गर्छ भन्नेमा म ढुक्क छु ।

तर, तपाईंको आरोपको दुवै दलले खण्डन गरेर प्रमाण देखाउन चुनौती दिएका छन् नि ?

प्रमाण सडकमा देखाउने होइन । यसको उच्चस्तरीय छानबिनको निम्ति अधिकार सम्पन्न जनलोकपालको व्यवस्था हुनुपर्छ भन्ने मेरो संविधानसभा बेलादेखिको मत छ । भ्रष्टाचारीविरुद्ध हामीले जेजस्ता संयन्त्र निर्माण गरेका छौं, ती अत्यन्त कमजोर छन् । तिनीहरुले कुनै पनि यस्तो छानबिन अगाडि बढाएका छैनन् । बरु उल्टो मेरो चुनौती के हो भने सत्तामा हुनेहरुले यसलाई स्वीकार गरेर छानविन गर्नुपर्‍यो नि त ! उहाँहरुलाई यो आरोप हो भन्ने लाग्छ भने सम्बन्धित निकायलाई अगाडि बढ्न प्रेरित गरेर, निर्देशित गरेर छानबिन गर्नुपर्‍यो नि त ।

आधारहीन आरोप लगाउनु भएको भन्दै नेकपा प्रवक्ताले त क्षमायाचना गर्नुपर्ने समेत माग गरे । अब के गर्नुहुन्छ ?

हा हा हा...। यो त मजाक भैगो । जस्केलाबाट छिरेर सत्तामा र्‍याल काड्नेहरुले क्षमायाचना गर्नुपर्ने हो कि सत्य र निष्ठाको निम्ति निरन्तर लाग्ने मान्छेले क्षमायाचना गर्ने हो ? नेपाली जनताले पटक–पटक फैसला गरेका छन् । फेरि पनि गर्नेछन् । त्यसमा म ढुक्क छु । यस्ता बेतुकका भनाइहरुको कुनै खण्डन/मण्डन गर्न आवश्यक ठान्दिनँ ।

सत्तारुढ दलले यस्ता आरोपको खण्डन गर्ने स्वाभाविक होला, विपक्षी एक कदम अगाडि बढेर भ्रष्टाचार भएको छैन भन्नुको भिन्दै राजनीतिक अर्थ हुन्छ कि ?

दलको कुरै हैन यो । व्यक्ति र प्रवृत्तिका कुराहरु हुन् । भ्रष्टाचार भनेको रोग हो, क्यान्सर हो । जो कसैलाई पनि लाग्न सक्छ । त्यसैले त्यसको निवारण गर्न सबै लाग्नुपर्छ । मैले प्रश्न उठाएको पार्टी वा व्यक्तिप्रति हैन । रोगप्रति हो । जुन संरचनागत ढंगले नै राज्यसत्ताको दोहन गर्ने, आसेपासे पोस्ने र देशलाई लुट्ने प्रवृत्ति बढ्दै गयो त्यसले संस्थागत आकार लिँदैछ । त्यसलाई बेलैमा रोकौं र त्यसको निवारणका निम्ति उपयुक्त व्यवस्था गरौं भन्ने मेरो आग्रह छ । पार्टीप्रति यो लक्षित हैन, कुनै भ्रम नरहोस् ।

तपाईंले आफूसँग भएको प्रमाण कहिले र कहाँ बुझाउनुहुन्छ वा सार्वजनिक गर्नुहुन्छ ?

मैले माग गरेको छु नि त यसको उच्चस्तरीय छानबिन होस् भनेर । बुढीगण्डकी, एनसेल, यति, ओम्नी, सेन्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा व्यापक रुपमा भ्रष्टाचार भएको भनेर आमजनताले उठाउँदै आएका मुद्दा छन् । यिनलाई हल गर्न अधिकार सम्पन्न जनलोकपालको व्यवस्था गरियोस् । त्यहाँ मैले पूर्णरुपमा सहयोग गर्छु । अन्यथा ठहरेमा म दण्डित हुन तयार छु । यो मैले पटक–पटक भनेको छु ।

अख्तियार छ, संसदको लेखा समिति छ । फेरि किन चाहियो जनलोकपाल भन्ने कुराहरु पनि छन् नि ?

ठीकै छ, भएका संरचनाबाट छानबिन गराए भयो नि त त्यसो भए । उहाँहरुले गर्नुहुन्छ ? पाएको प्रमाणमा त केही गर्न सक्नु हुन्न ! संस्थामा राम्रा मान्छेहरु पनि हुनुहुन्छ/पर्नुहुन्छ । तर, यो संस्था यति कमजोर बनाइएको छ कि त्यसले कुनै पनि ठूला भ्रष्टाचारको छानबिन गरेर कारबाही गर्ने हैसियतै राख्न सक्दैन । त्यसलाई अझ स्वतन्त्र, निष्पक्ष र अधिकार सम्पन्न बनाइयोस् भन्ने आग्रह हो ।

तपाईंले भनेजस्ता घोटालाहरुमा किन छानबिन भइरहेको छैन जस्तो लाग्छ त ?

राज्य प्रणाली यस्तो धेरै विकृत भएको हाम्रो निर्वाचन प्रक्रियादेखि नै हो । भ्रष्टाचार चुनावबाटै सुरु हुन्छ । करोडौं खर्च गरेर चुनाव जित्ने, त्यसका निम्ति कमिसनखोरहरु, तस्करहरुबाट चन्दा लिने र सत्तामा पुगेर तिनीहरुलाई गुन लगाउने दुष्चक्र बनेर गयो । त्यसले गर्दा नै भ्रष्टाचारको बिगबिगी बढ्यो । त्यसको अन्त्य गर्न हाम्रो निर्वाचन प्रणालीलाई सुधार गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने बलियो अङ्गको निर्माण गर्ने र राज्य, समाजमा सुशासन, सदाचारको प्रवर्द्धन गर्ने । त्यो अभियान अगाडि बढोस् । अन्यथा देश समृद्धिको दिशामा जान धेरै कठिन छ ।

अख्तियारलाई राजनीतिक हस्तेक्षपबाट मुक्त गरेर बलियो बनाउन सकिँदैन ?

अख्तियारको जुन संरचना अहिले संविधानमा छ, त्यसको कार्यक्षेत्र नै अत्यन्त कमजोर छ । दलीय भागबन्डाको आधारमा पूर्व प्रशासक/कर्मचारीहरुलाई नियुक्ति गर्ने प्रवृत्ति छ । त्यसरी गएकाले सत्तामा भएका, जसले आफूलाई नियुक्ति दियो त्यसलाई कारबाही गर्ने हैसियत राख्दैन । त्यस हिसाबले पनि एउटा स्वतन्त्र, निष्पक्ष र अधिकारसम्पन्न जनलोकपाल जो यो राज्यसत्ता संचालन गर्ने कार्यकारी अङ्गहरुभन्दा माथि होस्, त्यस्तो अधिकार सम्पन्न निकायले मात्रै छानविन गरेर कारबाही गर्न सक्छ । त्यसैले जनलोकपालको व्यवस्था विभिन्न देशमा गरिन्छ । नेपालमा पनि त्यस्तो होस् ।

लेखा समिति छ, यसबाहेक संसदीय समिति बनाएर यी ठूला मुद्दामा छानबिन गर्ने विकल्प पनि हुन सक्छ कि ?

संसदीय समितिका छानबिनहरु कसरी थन्किएर बसेका छन्, तपाईहरुले देख्नु भएको छैन र ? त्यो कुरा दोहोर्‍याएर खास के अर्थ रहन्छ ? ल त्यहींबाट गरेर हुन्छ भने उहाँहरुले गरे भयो त । छानबिन गर्नुस्, भ्रष्टाचारलाई रोक्नुस्, भ्रष्टाचारीलाई कारबाही गर्नुस् । यो पो आग्रह हो । तर, अहिलेसम्म भएका निकायले सकेनन् । त्योभन्दा बलियो निकाय चाहियो भनेकै त्यही भएर हो । भएकाहरुले गर्न सक्नुहुन्छ भने गर्नुपर्‍यो । तर, यत्रा काण्ड हुँदा अहिलेसम्म केसैले पनि गर्न सकेका छैनन् । प्रश्न त्यहाँ हो ।

तपाईंमाथि पनि मातातीर्थको जमिन बाँडेको भन्ने आरोप छ नि ?

त्यसबारे पनि छानबिन गरेर कारबाही गरे भयो । मैले नगर भन्या छु र ? यस्तो अधिकार सम्पन्न होस्, जसले प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरुलाई समेत छानबिन गरेर कारबाही गरोस् । सबै पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गरौं भनेर मैले संसदमै बोलेको छु । र, त्यो बाबुराम भट्टराईदेखि लिएर सबैमा लागू हुन्छ ।

अर्को प्रसंग, तपाईं अरुमाथि प्रश्न उठाउनुहुन्छ । अनि आफैंचाहिँ यस्तो कोरोनाको बेला त्यति धेरै मान्छे जम्मा पारेर कार्यक्रम किन गर्नुभएको छ ? अहिले नै प्रवेश नगराई नहुने के थियो ?

सुरक्षा सर्तकता, मापदण्ड पालना गर्ने प्रमुख कुरा हो । त्यसको पालना गरिएन भने भन्नु पर्‍यो । म जहाँ पनि गएको छु, पूरै मापदण्ड पालना गरेर नै कार्यक्रम गरिएको छ । त्यसको उल्लङ्घन गर्ने मेरो कुनै मनसाय छैन । हामी सबैले कोरोनाविरुद्ध सचेतना अपनाउनु पर्छ । मापदण्ड पालना गर्नुपर्छ । त्यसमा म सर्तक छु ।

प्रशासनले नगर्नु भनेको कार्यक्रम बिना अनुमति गर्नुभयो भनेर सिडिओले भन्नुभएको छ । यस्तो गर्न मिल्छ ?

गलत कुरा । अनुमति लिएर नै कार्यक्रम गरिएको छ । प्रदेशका मुख्यमन्त्री नै त्यहाँ उपस्थित हुनुहुन्थ्यो । अनुमति नलिई कसरी हुनुहुन्थ्यो र !

कात्तिक ३ र ४ गते जसपाको बैठक बस्दैछ, के छन् एजेन्डा ?

एउटा त हाम्रो समायोजनको प्रक्रिया बाँकी छ । मुख्य त हामी त्यसमै केन्द्रीत हुन्छौं । केन्द्र, प्रदेश र स्थानीय तहसम्मको समायोजनको कार्यतालिका बनाएर अगाडि बढ्छौं । केन्द्रीयस्तरको समायोजनको काम पनि मोटोमोटी सम्पन्न गर्छौं । त्यसपछि पार्टीलाई सुदृढ गर्दै महाधिवेशनको तयारीतिर हामी लाग्छौं ।

अब पार्टीमा तपाईंको वरीयता पनि टुंगो लाग्छ ?

हामी सत्तामुखी राजनीति गर्ने होइन, परिवर्तनमुखी राजनीति गर्ने वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने अभियानमा हामी छौं । अरु पार्टीभित्र पद र वरीयताको किचलो छ, त्यो हाम्रो पार्टीमा हुन सक्दैन । म व्यक्तिगत रुपमा त्यसमा कहिलै सामेल पनि हुन्न

प्रकाशित : आश्विन २९, २०७७ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?