कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

निगम महाप्रबन्धक नियुक्त पौडेल भन्छन्, 'म एउटा कार्यकर्तासँगै प्रोफेसनल पनि हुँ'

कान्तिपुर संवाददाता

काठमाडौँ — ४ वर्षका लागि नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा नियुक्त भएका डिमप्रसाद पौडेल (प्रकाश)ले सोमबार पदभार ग्रहण गरेका छन् । निगममा आयोजित कार्यक्रममा उनलाई सञ्चालक समितिका अध्यक्ष तथा पूर्वपर्यटन सचिव सुशिल घिमिरेले स्वागत गरेका थिए । बिहीबारको मन्त्रिपरिषद् बैठकले निगमका कार्यकारी अध्यक्ष घिमिरेको भूमिका कटौती गर्दै उनको नेतृत्वको सञ्चालक समितिका सदस्य पौडेललाई कार्यकारी अधिकार दिँदै महाप्रबन्धक पदमा नियुक्त गरेको थियो । 

निगम महाप्रबन्धक नियुक्त पौडेल भन्छन्, 'म एउटा कार्यकर्तासँगै प्रोफेसनल पनि हुँ'

बेलायतबाट चार्टड एकाउन्टेन्ट (एसीसीए) अध्ययन गरेका पौडेल निगमको बोर्ड सदस्यमा मनोनित हुनुअघि चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक तथा ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत भई काम गरेका व्यवस्थापक हुन् ।

पोखराको बतास समूहको अटो कम्पनी इस्टर्न एजेन्सीज प्रालिका प्रमुख कार्यकारी अधिृकत भई काम गरेका पौडेल पर्यटनमन्त्री योगेश भट्टराई प्रसार विभाग प्रमुख हुँदा सदस्य थिए । विद्यार्थी राजनीतिक पृष्ठभूमिबाट आएका उनी २०५३ सालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका तत्कालीन नवलपरासी जिल्ला अध्यक्ष थिए । माओवादी–एमाले एकतापछि पौडलले पार्टीको उद्योग व्यवसायी महासंघ सचिवालय सदस्यका रुपमा काम गरिरहेका थिए । दिव्या हर्वासिटिकलका अध्यक्ष पनि हुन् । निगममा पदभार गरेलगत्तै महाप्रबन्धक पौडेलसँग कान्तिपुरका लागि सुरज कुँवरले गरेको कुराकानीः

करिब ४६ अर्ब ऋण, त्यसमाथि कोरोनाको महामारीले पर्यटन क्षेत्र ध्वस्त भएका बेला तपाईं नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुख भएर किन आउनु भयो ?

ऋण छ भनेर राष्ट्रिय ध्वजाबहाकलाई त्यतिकै बेवारिसे बनाउन मिल्दैन । कसै न कसैले यो संस्थाका लागि सहास, आँट गर्नुपर्ने थियो । मैले आँटे । निगमको ऋणमात्रै छैन । धेरै काम गर्नुपर्ने छ । म केही गर्न सक्छु भनेर आएको हुँ ।

पदभार ग्रहण गर्ने दिनमै तपाईंले धर्ना कसेर भएपनि जहाज थप्छु भन्नु भयो । तपाईंका प्राथमिकता के-के हुन् ?

हामीले साउनदेखि ५ वटा चिनियाँ जहाज ग्राउन्डेड गर्ने निर्णय लिएपछि निगमको आन्तरिक उडानमा झन् अत्यन्तै कमजोर उपस्थिति भएको छ । आन्तरिक उडानमा दुईटामात्रै जहाज बाँकी छन् । जहाँका जनता कुनै पनि यातायातको पूर्वाधारसँग जोडिएका छैनन्, त्यहाँ राज्यको उपस्थिति पुर्‍याउनुपर्ने छ । अर्थात् निगमले ती पहाडी तथा दुर्गम क्षेत्रलाई प्राथमिकता दिने छ । त्यसैले अर्थ मन्त्रालय, नेपाल सरकारसँग अनुरोध गरेर जसरी पनि जहाज थप्ने छौं । हामी त्यसका लागि लाग्छौं ।

कसरी जहाज थप्ने ?

निगमको सञ्चालक समितिले दुई महिनाअघि आन्तरिक उडानका लागि जहाज थप्‍न एउटा कार्यदल बनाएको थियो । त्यसको प्रतिवेदन केही दिनमै आउँदैछ । त्यो प्रतिवेदनका आधारमा हामी जहाज थप्छौं । त्यही प्रतिवेदन अनुसर नेपाल सरकारसँग जहाज थप्न अनुरोध गर्छौ ।

पछिल्लोपटक संस्थान हाँक्न, कुलमान घिसिङजस्तो कार्यकारी प्रमुख हुनुपर्छ भन्ने आवाज आमरुपमा सुनिन्छ । के तपाईंले घिसिङले भन्दा राम्रो व्यवस्थापन गरेर निगमलाई माथि उठाउन सक्नु हुनेछ ?

मसँग थुप्रै योजना छन् । मैले करिब एक वर्षयता निगमलाई नजिकबाट अध्ययन गरे । सुधार कार्यदलमा काम गरे । चार महिनायता निगमको सञ्चालक समितिमा सदस्यका रुपमा रहेर काम गरे । निगमका थुप्रै विषयमा गहन अध्ययन गरेको छु । समस्या पहिचान भइसकेका छन् । अब योजनाबद्ध लाग्ने छु । निगम भित्रका विभागसँग गहन छलफल तथा अन्तरक्रिया गर्ने छु । उनीहरुले के गर्न सकेका छैनन् तीनलाई योजनामा ढालेर कार्यान्वयनमा लैजान्छु ।

पूर्व पर्यटन सचिवहरु, निगमका पूर्व कार्यकारी प्रमुख, सञ्चालक समिति सदस्यहरुले तपाईंलाई उड्डयन क्षेत्रको ज्ञान छैन, काम गर्न सजिलो हुने छैन भनिरहेका छन् नि ?

यस्तो टिप्पणीमा बोलेर प्रमाणित होइन काम गरेर प्रमाणित गर्ने हो । उहाँहरु पूर्व हुनुहुन्छ । म पूर्व हुन बाँकी नै छु । नेपाल सरकारले मलाई विश्वास गरेर अवसर दिएको छ । यो चार वर्षमा म निगमसँग जोडिएर अवकाश पाएहरुलाई 'ल है अरु क्षेत्रकाले पनि गर्न सक्दा रहेछन्' भनेर प्रमाणित गरेर देखाउने छु ।

सरकारले कार्यकारी अध्यक्षलाई अध्यक्षमात्रै तोकेर तपाईं बोर्ड सदस्यलाई महाप्रबन्धकमा नियुक्त गरेपछि फेरि केहीले सञ्चालक समितिका अध्यक्ष र महाप्रबन्धकबीच शक्ति संघर्ष हुने भयो भन्दैछन् नि ?

जसले यो विषयमा टिकाटिप्पणी गरिरहेका छन् तिनले मन्त्रिपरिषदको निर्णय नहेरी टिप्पणी गरे । सरकारले प्रष्ट रुपमा हामी दुईको कार्यक्षेत्रबारे व्याख्या गरिदिएको छ । पूर्व कार्यकारी अध्यक्ष सुशिल घिमिरेलाई अध्यक्षमात्रै रहने गरी र सम्पूर्ण कार्यकारी अधिकार नयाँ महाप्रबन्धकमा रहने निर्णय भएको छ । सरकारको यो निर्णयको प्रतिलिपी उहाँ र मलाई उपलब्ध गराइएको छ । उहाँ, म र पर्यटन मन्त्री योगेश भट्टराईबीचको सल्लाहअनुसारै निर्णय भएकाले कसैलाई पनि भम्रमा नपर्न आग्रह गर्छु ।

निगमको पुँजी संरचना मिलेकै छैन । ऋण लगानी अर्बमा, पुँजी करोडमा कसरी मिलाउनु हुन्छ ?

निगममा सेयर पुँजी पुगेको छैन । ऋण पुँजीले संस्था चलिरहेको छ । हामीले एक वर्षअघि अध्ययन गरेर प्रतिवेदनमै यो विषय नेपाल सरकारले सच्याउनै पर्ने भनेका थियौं । फेरि यस विषयलाई सरकारलाई भन्ने छौं । सरकार कन्भिन्स नहुने भन्ने कुरै छैन । सरकारले यो विषयलाई सकारात्मक रुपमा लिएको छ । हामीले दिएको सुझाव अनुसार निगमको संस्थागत पुन:संरचना छिटै हुन्छ ।

तपाईंको प्रतिवेदनले निगम सुधार्न राजनीतिक नियुक्ति हुनुहुँदैन भनेको छ । तर, प्रतिवेदन लेख्ने संयोजक अध्यक्षमा, तपाईं महाप्रबन्धमा नियुक्त हुनु भयो नि ?

हामीले निगममा राजिनीतिक नियुक्त हुनुहुँदैन भनेकै हो । तर, निगमलाई पहिले कम्पनी मोडलमा लैजाने र राजनीतिक नियुक्ति हुनु हुँदैन भनेर उल्लेख गरेका छौं । निगमलाई पहिले कम्पनीमा लैजान पहिले सक्षम बनाउनु पर्छ । त्यसमा राजनीतिक नियुक्तिबाट होइन खुला प्रतिस्पर्धाबाट नेतृत्व आउनुपर्छ भनेका छौं ।

तपाईंको नियुक्तिलाई लिएर सरकारबाहिर रहेका शक्तिहरुले कार्यकर्ता भर्ती गरेको टिप्पणी गरे नि !

यो टिप्पणीमा दुईटा विषय भए । पहिलो आमरुपमा भनिएको हो वा मेराबारे भनिएको हो ? यसलाई अलग–अलग गरेर हेर्नुपर्छ । मैले अरुको विषयमा जवाफ दिन आवश्यक ठानिनँ । तर मेराबारेमा भनिएको हो भने, केही प्रष्ट पार्छु । मैले झन्डै २० वर्ष ठूला ठूला बहुराष्ट्रिय कम्पनीहरु सञ्चालन गरेर निगममा आएको हुँ । ती संस्थाहरुमा पनि नेतृत्व तहमै मैले १५ वर्ष बिताएको छु । म एउटा कार्यकर्तासँगै प्रोफेसनल पनि हुँ । मैले योग्यता र क्षमताले विभिन्न संस्था हाँकेको छु ।

अन्त्यमा तपाईंले भन्नैपर्ने केही छन् ?

जनमानसमा नेपाल एयरलायन्स डुबेको संस्था हो । यो उभो लाग्दैन । यहाँ भ्रष्टचार मात्रै भइरहन्छ । अनियमितता हुने संस्था हो भन्ने छाप छ । तर, त्यो धारणा विलकुल गलत हो । यस्तो गलत धारणा बनाइएको हो । सञ्चारमाध्यममा पनि निगमबारे एकतर्फी समाचार मात्रै आउँछन् । सत्य तथ्य बुझ्ने प्रयास अत्यन्तै कम भएको देखिन्छ । तर यो संस्था बचाउन सकिन्छ । यो संस्थामा गर्न सकिन्छ । म गरेर देखाउँछु ।

प्रकाशित : आश्विन २६, २०७७ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?