२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

‘पार्टी एक स्टेप अगाडि बढ्यो’

कार्यविभाजन र कार्यशैली आजै हल भए भन्ने होइन : देवेन्द्र पौडेल
दुई धार व्यवस्थापनको अर्थमा बुझ्न सकिन्छ : प्रदीप ज्ञवाली
एक व्यक्ति एक पद सम्बोधन हुन सकेन : अष्टलक्ष्मी शाक्य
बिनु सुवेदी

काठमाडौँ — सत्तारुढ नेकपाको आन्तरिक विवाद लामो अन्तरविरोधपछि तत्कालका लागि विसर्जन भएको छ । नेताहरुबीचको तुष भने पूर्ण रुपमा मत्थर भएको छैन । तैपनि चरमचुलीमा पुगेको विवाद अब पार्टी नफुट्ने निश्चिततासहित सुरक्षित अवतरण भएको छ ।

‘पार्टी एक स्टेप अगाडि बढ्यो’

स्थायी कमिटी बैठकको निर्णय र पार्टीको अबको अवस्थाबारे सदस्यहरु अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवालीदेवेन्द्र पौडेलसँग बिनु सुवेदीले गरेको कुराकानी :

‘कार्यविभाजन र कार्यशैली आजै हल भए भन्ने होइन’

देवेन्द्र पौडेल

तपाईंहरूले साढे २ महिना पूरै छिनाझपटी गरेर बिताउनुभयो । अन्तिममा गत वर्ष मंसिर ४ कै सहमतिलाई पुनर्व्याख्या गरेर सहमति भयो भन्नुभयो नि ?

जेठ २ गते, मंसिर ४ गतेजस्ता छलफल विभिन्न चरणमा चलेका थिए । प्रतिवेदनमा प्रस्तुत भएका योजना कार्यान्वयन गरियो भने ती सबै परिस्थितिभन्दा अलिकति भिन्न ठाउँमा पार्टी महाधिवेशनको दिशामा जान खोजेको हामीले महसुस गरेका छौं । अध्यक्षद्वयले संस्थागत रूपमा नै पार्टी महाधिवेशनमा जान्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तपाईंहरू यसपालि पनि दुई अध्यक्षको अधिकार भागबन्डामै केन्द्रित हुनुभएको हो नि होइन ?

पुरानो निर्णय कार्यान्वयन नभएर एकअर्कामा अविश्वास पैदा हुँदाखेरि पार्टीमा गम्भीर स्थिति प्रकट भएको जगजाहेर छ । तर विस्तारै विश्वासको वातावरण, पार्टी एकतालाई अझ सुदृढ बनाउने वातावरण र केन्द्रीय समितिको बैठक हुँदै महाधिवेशनमा संस्थागत रूपमा नै पार्टीलाई लिएर जाने वातावरण बन्दै छ । नेकपाले दुई अध्यक्षको कार्यविभाजन गरेपछि अब पार्टी र सरकारले गति लिन्छ । पार्टीले गति लिने काम त केही दिनमै सुरु भइहाल्छ ।

विवाद केका लागि थियो भनेर न तपाईंहरूले प्रश्न उठाउनुभयो न अध्यक्षद्वयको प्रतिवेदनले जवाफ दियो । किन ?

अलिकति कार्यविभाजनको विषयमा थियो । कार्यविभाजन र कार्यशैलीको कुरा आजै हल भए भन्ने होइन । सबै कुरा हामी महाधिवेशनमा पुर्‍याउँछौं । विधि, पद्धति, प्रणाली र पार्टीलाई संस्थागत बनाउने कुरामा गम्भीर छलफल भएको थियो । त्यसबारे उठाइएका कुरालाई सच्याउने भनेर प्रतिवेदनमा भनिएको छ । निर्णय कार्यान्वयनको प्रतिबद्धता कमिटीमा प्रस्तुत हुनुलाई पार्टी एक स्टेप अगाडि बढेको हो भनेर बुझ्नुपर्छ ।

यस्ता प्रतिबद्धता त पहिले पनि भइरहेकै हुन्थे नि ?

अहिले पार्टीको स्थायी कमिटीमा निर्णय भएको छ र यो कार्यान्वयन गर्न ल्याइएको प्रस्ताव हो । यो हिजोजस्तो आशंकाको घेराबन्दीमा हुन्छ जस्तो मलाई लाग्दैन ।

तपाईंहरूले भनेझैं विधि पद्धति, नेताहरूको समान कार्यविभाजनजस्ता कुरालाई त प्रस्तावले सम्बोधन गरेन नि ?

गर्छ किन नगर्नु ? दुई अध्यक्ष मुख्य भएकाले उहाँहरूको कार्यविभाजन मुख्य रहने भयो । अरूको पनि आवश्यकताका आधारमा कार्यविभाजन हेरफेर हुन्छ नि ! कमिटीका संरचनामा हेरफेर गरेर कार्यान्वयन गर्छौं ।

अब मन्त्रिपरिषद् पुनर्गठनको बाटो पनि खुलेको हो ?

प्रतिवेदनमै त्यो कुरा उल्लेख भएकाले एकपछि अर्को कार्यान्वयन गर्ने अध्यक्षहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यो कार्यान्वयनमा जान्छ ।

‘दुई धार व्यवस्थापनको अर्थमा बुझ्न सकिन्छ’

प्रदीप ज्ञवाली

लामो रस्साकसीपछि पार्टी विवाद समाधान गर्नुभएको छ । के कुराले सहमति गरायो ?

पार्टी केही महिना एकदमै गम्भीर संकटबाट गुज्रियो तर नेतृत्वको सुझबुझ, दोस्रो तहका नेताहरूको अग्रसरता, आम कार्यकर्ता र जनताको चाहनाले यो स्थितिलाई सकारात्मक दिशामा फर्काएको छ । टुंग्याउनुपर्ने केही वैचारिक सैद्धान्तिक विषय पनि छन् । सबैभन्दा ठूलो कुरा पार्टीको भावनात्मक सम्बन्धमा पैदा भएको एक खालको दूरीलाई मेटाएर देश र जनताले दिएका दायित्व पूरा गर्न अब हामी केन्द्रित हुनुपर्नेछ ।

विवादको समाधान मंसिर ४ मा फर्किएर रोकिएको छ । पुरानै सहमतिमा पुग्नु थियो भने यो यत्रो समय दन्तबजान जरुरी थियो ?

यो बहसका बेला पार्टी र सरकारका अन्तरसम्बन्ध, हामीले अगाडि सारेका विकासको दर्शन र दिशालगायतका केही प्रश्नमा पार्टीभित्र अझ गम्भीर बहसको आवश्यकता देखिएको छ । साथीहरूको बुझाइमा एकरूपता ल्याउन धेरै काम गर्न बाँकी छ । तर हामी जुन परिस्थितिमा थियौं, त्यतिबेला यो ढंगले बहस आउनु र बहस असाध्यै तिक्ततापूर्ण रूपमा विकसित हुनु कुनै पनि अर्थमा उचित थिएन । त्यसले पार्टी र नेताहरूको प्रतिष्ठालाई क्षति गरेको छ । त्यो क्षतिपूर्तिका लागि पनि हामीले जनता र कार्यकर्ताको भाँचिएको मन फेरि जगाउने र घाउमा मलम लगाउने गरी काम गर्न जरुरी छ ।

अध्यक्ष दुई जनाको मात्रै कार्यविभाजन भएपछि सबै ठीकठाक हुँदो रैछ भन्ने सन्देश पनि तपाईंहरूले दिनुभयो हैन ?

कार्यविभाजनलाई समग्रमा पुनरावलोकन गरेर आवश्यक कुरा मिलाउने भनिएकै छ । कहिले नमिलेका कार्यविभाजनको सन्दर्भमा अरू कमरेडहरूको पनि सामान्य हेरफेर हुन सक्छ । त्यसो भएर दुई अध्यक्षबीच मात्रै समस्या थियो र त्यो मिल्नेबित्तिकै सबै समाधान भयो भन्ने अर्थमा बुझ्नु हुँदैन । तर नेकपाले महाधिवेशन अगाडिका लागि जुन संक्रमणकालीन व्यवस्था गरेको छ, त्यो व्यवस्थामा दुई अध्यक्षबीचको सम्बन्धले निर्णयको अर्थ राख्छ । त्यसैले दुई जनाले प्रतिनिधित्व गर्ने दुई धारको व्यवस्थापनको अर्थमा यसलाई बुझ्न सकिन्छ ।

अर्को एउटा धार पनि छँदै छ, बैठकमा माधवकुमार नेपालसहित अधिकांशले विधि, पद्धति र कार्यविभाजनको कुरा उठाउनुभएको छ, उहाँहरूको कुरालाई नजरअन्दाज गरेजस्तो देखियो नि ?

बोल्ने सबैले कार्यदलको मिहिनेतलाई प्रशंसा गर्नुभएको छ । अध्यक्षहरूको पहललाई प्रशंसा गर्नुभएको छ । प्रतिवेदनलाई समर्थन गर्नुभएको छ । त्यसमा उहाँहरूका केही पूरक भनाइ छन् । विधि र पद्धति संस्थागत गर्ने कुरा उहाँहरूको छ । पार्टी र सरकारको अन्तरसंघर्षबारे बुझाइमा थप स्पष्टता ल्याउन जरुरी छ । संवैधानिक प्रबन्धभित्र रहेर बहुदलीय प्रतिस्पर्धा भएको हाम्रो जस्तो मुलुकमा पार्टी र सरकारको बीचमा निर्णय र कार्यान्वयनको ठोस परिभाषा के हो भन्नेबारेमा हामीले अलि सिर्जनात्मक तरिकाले छलफल गर्नुपर्नेछ र यस्ता केही प्रश्न उहाँहरूले उठाउनुभएको छ । तर त्यसलाई प्रतिवेदनप्रति कसैको असहमति, असन्तुष्टि भन्ने अर्थमा लिनु हुँदैन । दुई अध्यक्षको कार्यविभाजन गरिरहँदा अरू नेताको भूमिकालाई अवमूल्यन गरिएको छैन ।

पार्टीको मार्गनिर्देशनमा सरकार चल्ने भन्ने प्रस्ताव पारित गर्नुभएको छ । यो भनेको के हो ?

यो सरकार पार्टीकै मार्गदर्शनमै चलेको छ । पार्टीको मार्गदर्शन भनेको पार्टीको विधान र राजनीतिक प्रतिवेदनले तय गरेको दिशा हो । दोस्रो, पार्टीले जनताका बीचमा लगेको आफ्नो चुनावी घोषणापत्र हो । तेस्रो, पार्टीका विभिन्न कमिटीबाट भएका संस्थागत निर्णयहरू हुन् । हामीले व्यक्तिका सुझाव या इच्छालाई पार्टीको निर्णय भनेर बुझ्नु हुँदैन । हामीले संविधानको सर्वोच्चता, विधिको शासन र शक्ति पृथकीकरणको सिद्धान्तलाई आफ्नो महत्त्वपूर्ण मान्यताका रूपमा स्थापित गरेका छौं । हाम्रा आफ्नै अनुभवका आधारमा पार्टीले के के विषयमा निर्णय गर्छ, पार्टीले गरेका निर्णयहरू सरकारले कुन विधिबाट कार्यान्वयन गर्छ भनेर परिभाषित गर्नुपर्नेछ । अहिले पनि सरकार पार्टी निर्णयभन्दा बाहिर गयो, पार्टीले सरकार चलाउन पाएन भन्ने छैन ।

स्थायी कमिटीले नै निर्णय गरिसकेपछि प्रतिनिधिसभाको यो कार्यकालभरि अब सरकार फेरबदलको बहस हुँदैन होला । तर नागरिकस्तरमा र तपाईंहरूकै मतदाताको नजरमा पनि सरकार त लोकप्रिय छैन नि ?

जनताको अपेक्षा असाध्यै ठूलो छ । हाम्रा साधन स्रोतका सीमा छन् । हाम्रो कार्यक्षमताको पनि सीमा छ । विकास निर्माण र सामाजिक रूपान्तरणका विषयमा हामी काम गर्दै छौं । कतिपय कुरामा जनताबाट प्राप्त भएका सुझावलाई गम्भीरतापूर्वक लिएका छौं । यो सरकार एकदमै अलोकप्रिय छ, सरकारले जनताको अपेक्षाअनुसार कामै गर्न सकेन भन्ने कुरा त हामीले सरकार बनेको भोलिपल्टदेखि सुन्दै आएका हौं । गत वर्ष उपनिर्वाचनलाई कांग्रेसलगायत कतिपय दलले सरकारको लोकप्रियता मापन गर्ने जनमतसंग्रह पनि भन्नुभाथ्यो । त्यसको परिणाम देखेकै छौं । अरू विभिन्न संघ–संगठनमार्फत पनि लोकप्रियताको स्थिति मापन भई नै रहेको छ ।

मुलुकको अग्रगति चाहने र सरकारले राम्रो काम गरिदिओस् भनेर रचनात्मक ढंगले आउने आलोचना हाम्रा लागि मार्गदर्शन हुन्, तिनीहरूलाई हामी विनम्रतापूर्वक स्वीकार गर्छौं । अर्को एउटा प्रवृत्ति छ, जसले मुलुकमा सकारात्मक कुरा लेख्नै हुँदैन, चर्चै गर्न चाहँदैन । अब सरकारले गरेका राम्रा काम जनताको बीचमा जालान् । सरकारले कुनै एउटा निर्णय गर्छ र त्यसलाई पार्टीले अपनत्व लिँदैन र त्यसको पक्षमा कोही पनि बोल्दैन भने नकारात्मक कुरा नगए के जान्छ त ?

एमसीसी सम्झौता परिमार्जनसहित पारित गर्ने भनिएको छ । के परिमार्जन भन्ने टुंगो लागेको छैन । तपाईं एमसीसी कार्यदलमै पनि हुनुहुन्थ्यो । अब एमसीसी सम्झौताको भविष्य के हो ?

केही विषयमा प्रस्ट पार्नुपर्नेछ । यो–यो विषय प्रस्ट पार्ने भनेर पार्टीले निर्णय गर्ला । त्यसपछि हामी अमेरिकी सरकारसँग बसेर कुराकानी गर्छौं ।

‘एक व्यक्ति एक पद सम्बोधन हुन सकेन’

अष्टलक्ष्मी शाक्य

पार्टीभित्रको साढे २ महिनाको लडाइँ विधिवत् रूपमा विसर्जन भएको छ, तपाईंले कसरी लिनुभएको छ ?

सकारात्मक रूपबाटै लिएकी छु । कार्यदलले पनि मिहिनेत गरेको छ । अध्यक्षद्वयको प्रस्ताव पनि परिमार्जनसहित आएको छ । कसैलाई पनि पार्टी फुटोस्, कमजोर होस् भन्ने लागेको थिएन तर अन्तरविरोध चरममा पुगिसकेको थियो । अब सहज वातावरणमा गयो ।

अध्यक्षद्वयले ल्याएको प्रस्तावबाट तपाईंहरू सन्तुष्ट हुनुहुन्छ ?

उहाँहरूले सल्लाह गरेरै प्रस्ताव ल्याएका छौं भन्नुभयो तर केही सच्याउनुपर्ने पक्ष पनि थिए किनभने दुई अध्यक्ष नै पार्टीको सर्वेसर्वा होइनन् । उहाँहरूको कार्यविभाजन एउटाले सत्ता र अर्काले पार्टी चलाउने गरी अंशबन्डा गरेझैं भयो । हामीले एक व्यक्ति एक जिम्मेवारी हुनुपर्छ भनेका थियौं, त्यो विषयमा सम्बोधन हुन सकेको छैन । उहाँहरू पनि विधि र विधानबाट चल्नुपर्छ भनेर हामीले कुरा उठाएका छौं । यसमा अझै छलफल गर्दै जानेछौं ।

त्यो त कार्यदलले बुझाएको प्रस्तावमै छुटेको थियो नि, फेरि कार्यदलमा तपाईंहरूको समूहका प्रतिनिधि पनि हुनुहुन्थ्यो ।

कार्यदल बनाउने प्रक्रिया पनि गलत थियो । दुई अध्यक्ष बसेर कार्यदल बनाउनुभयो, सचिवालयले अनुमोदन गर्‍यो । खासमा अध्यक्षले प्रस्ताव ल्याएर निर्णय गर्नुपर्ने थियो । दोस्रो कुरा, पार्टीमा गुटबन्दीको मूल स्रोत नै अध्यक्षद्वय हो, भनेर स्वीकार गर्नुपर्‍यो । सरकारको कामबारे राम्रोसँग समीक्षा गर्ने जस्ता कुरामा प्रस्ताव अपूरो छ ।

पार्टीले अपनत्व नलिएकाले सरकारका राम्रा कामको प्रचार हुन सकेन भन्ने अर्को पक्षको दाबी छ नि ?

सरकार लोकप्रिय छ/छैन भन्ने कुरा तपाईं/हामीले भन्ने हैन, जनताले हेर्ने हो । सरकारले गल्ती गर्ने पार्टीका नेताहरूले काँध थापिरहने त कहाँ हुन्छ ?

अब तपाईंहरूले भनेका कुरा कसरी उठाउनुहुन्छ ?

नेकपा विधि र विधानबाट चल्नुपर्छ । सरकार र पार्टीको संयोजन हुनुपर्छ । यसका लागि आधार र मापदण्ड बनाएर जानुपर्छ भन्ने कुरा प्रस्तावमा पनि आंशिक रूपमा आएको छ । कार्यकारी अध्यक्षले अब कसरी निर्णय गर्नुहुन्छ, हामी हेर्छौं । काम भएन भने कार्यकर्तामाझ जाने हो ।

सम्बन्धित समाचार

प्रकाशित : भाद्र २७, २०७७ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?