१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

‘बीपी टावरिङ पर्सनालिटी हुनुहुन्थ्यो, तर उहाँको देवत्वकरण राम्रो होइन’

बीपी निश्चय नै नेपालको टावरिङ पर्सनालिटी हुनुहुन्थ्यो, तर नेपालभित्र जुन किसिमको घटनाक्रम भयो, त्यो बीपीको प्रभावमा मात्रै चलिरहेको थिएन ।
किशोर नेपाल

बीपी कोइराला, कांग्रेस र समाजवादबारे समाजवादी चिन्तक प्रदीप गिरिसँग किशोर नेपालले गरेको वार्ता

‘बीपी टावरिङ पर्सनालिटी हुनुहुन्थ्यो, तर उहाँको देवत्वकरण राम्रो होइन’

जनताले नेपाली कांग्रेसलाई बीपी कोइरालाको पार्टी भनेर चिन्ने गरेका छन् । यो पार्टीमा अहिले सांगठनिक शक्ति, मूल्य–मान्यता र सञ्चालन पद्धतिका सम्बन्धमा चर्को विवाद छ । सन्दर्भमा, बीपीको सांगठनिक नेतृत्वको स्मरण कसरी गर्न चाहनुहुन्छ ?

नेपालमा बीपी कोइरालाको देवत्वकरण हुन थालेको छ । उहाँलाई महानायकको स्थानमा राख्न थालिएको छ । त्यसो त, उहाँको जीवनकालमा नै उहाँलाई महामानवको विभूषणले विभूषित गरिएको थियो । त्यसैले उहाँको प्रशंसा गर्दा कतै अतिशयोक्ति त हुँदैन भन्ने सन्दर्भ आउँछ । हामी त्यसप्रति सजग रहनुपर्छ । यसमा कुनै शंका छैन— बीपी बीसौं शताब्दीको सबैभन्दा अग्लो व्यक्तित्व, ‘टावरिङ पर्सनालिटी’ हुनुहुन्थ्यो । अग्लो यस अर्थमा कि, राजा महेन्द्रको व्यक्तित्वको उचाइ पनि कम थिएन । तर बीपी जनाभिमुख भएकाले र उहाँले अत्यन्त विपरीत परिस्थितिमा नेपालमा राजनीतिक संगठन जोगाउन सफलता प्राप्त गरेको हुनाले उहाँका धेरै गुणहरूलाई सम्झनुपर्छ । सबैभन्दा ठूलो कुरो त उहाँको व्यक्तित्व नै हो ।

संघर्षशील र कहिल्यै नझुक्ने व्यक्तित्व । उहाँले वैचारिक क्षेत्रमा सधैं हस्तक्षेप गर्नुभयो । आफ्नो गतिशील व्यक्तित्व र वैचारिक उर्वरताले उहाँको संगठन क्षमतालाई प्रभावित गर्‍यो । संगठन भनेको यसो दुई–चार जना मानिस जम्मा गर्ने मात्रै होइन । संगठनलाई तान्न सक्नुपर्छ विचारले, भावनाले ।बीपी कदाचित् पहिलो राजनेता हुनुहुन्थ्यो, जसले मेचीदेखि महाकालीसम्म घुमेर आफ्नो सन्देश जनताको घरदैलोमा पुर्‍याउनुभयो । उहाँको देखासिकी नै भनौं वा के भनौं, राजा महेन्द्रले पनि त्यो काम गरे । राजा महेन्द्रले त्यसको ठूलो प्रतिफल पाए । एक्लो बीपी नेपाली कांग्रेसको प्रमुख विचारक, भावप्रणेता र कल्पनाशील नेता हुनुहुन्थ्यो । त्यसैले उहाँ आज देवत्वकरणको ठाउँमा पुग्नुभएको छ । यस्तो देवत्वकरण, यद्यपि, राम्रोचाहिँ होइन ।

पार्टीभित्र अहिलेको गुटबन्दीलाई हेरेर नेपाली कांग्रेसप्रति जनताको आशा र भरोसा क्षीण हुन थालेको देखिन्छ । तपाईं आफ्नो पार्टीको यो अवस्थाको मूल्यांकन वा विश्लेषण कसरी गर्न चाहनुहुन्छ ?

हो, नेपाली कांग्रेसमा अहिले थुप्रै कमजोरी देखिएका छन् । प्रतिनिधिसभाका लागि भएको गत आमनिर्वाचनमा मुस्किलले २५ सिटमा सीमित हुनुबाट नै हाम्रो पार्टीको कमजोरी थाहा भइहाल्छ । यसका स्पष्टीकरण धेरै होलान् : यथा, एमाले र माओवादी मिले; निर्वाचनमा मधेसवादी दलहरूसँग एकता हुन सकेन । भन्नका लागि जे भने पनि भयो । तर सत्य यही हो कि कांग्रेसको नराम्रोसँग हार भयो । कुनै पनि स्पष्टीकरणले निर्वाचनमा कांग्रेस नराम्ररी हारेको कुराको खण्डन गर्न सक्दैन । कांग्रेसलाई कांग्रेसले हरायो भन्ने आवाज बडो जोडदार छ । कांग्रेसलाई कांग्रेसले हरायो । गोविन्दराज जोशी र पुष्करनाथ ओझालाई बलिको बोका बनाए नेताद्वयले । उनीहरूले यसैमा चित्त बुझाएका छन् । कुरा त्यति सजिलो छैन । कुनै पनि राजनीतिक पार्टीको निर्माण एउटा खास सामाजिक प्रक्रियाबाट हुन्छ ।

नेपालले कुनै पनि हालतमा पश्चिमी देशको जस्तो उत्पादनको प्रणाली स्वीकार गर्न सक्दैन । यो कुराको संकेत बीपीमा छ, उहाँको आखिरी वर्षमा ।

समाजभित्र सत्ता संघर्ष हुन्छ । हामीले पार्टी बनायौं; कम्युनिस्टहरूसँग संघर्ष भयो, राजासँग संघर्ष भयो । त्यही प्रक्रियाबाट पार्टीभित्र पनि संघर्ष हुन्छ । पार्टीभित्र पनि सत्ता चाहियो नि त, साधन र सम्पदा चाहियो । नेपाली कांग्रेसको संसदीय दलको नेता हुनु भनेको उसले मनोनीत गरेका कतिपय मान्छेले साधनस्रोत र सुविधा पाउनु हो । मुख्य सचेतकले गाडी पाउँछ, सुविधासम्पन्न कार्यालय पाउँछ । उसले दुई–चार जना कर्मचारी नियुक्ति गर्न पनि पाउँछ । अन्य कतिपय पदमा भागबन्डा पाइन्छ । पार्टीका विभिन्न मानिसका बीच मैले वा मेरा पक्षकाले कुन पद पाउने भन्ने कुरा भइरहन्छ । पार्टीमा गुट हुनु नयाँ कुरा हुँदै होइन । संसारमा कुनै पनि राजनीतिक पार्टीमा गुट नभएको कल्पना नै हुँदैन, चाहे बेलायतको, अमेरिकाको अथवा भारतकै पार्टीको कुरा गर्नुहोस् । नेपाली कांग्रेस पार्टीको स्थापनाकालदेखि आजसम्मको इतिहास हेर्नुहोस्, बीपी कोइराला स्वयं आफ्नो राजनीतिक जीवनमा अनेकौं गुट बनाउँदै, गुट तोड्दै, गुट फोड्दै अगाडि बढ्नुभएको ऐतिहासिक यथार्थ छ । त्यसैले गुट भएर मात्र पार्टी हारेको होइन । मुख्य कुरो यो बुझ्नुपर्छ ।

गुट नभनेर तपाईंले यसलाई गिरोह भन्ने गर्नुभएको छ । कांग्रेस पार्टीमा अहिले गिरोह नै हावी भएको हो त ?

हो । यो बुनियादी प्रश्न हो । राजनीतिक पार्टीलाई माया गर्ने प्रत्येक व्यक्तिले र पार्टीको भविष्यका बारेमा चिन्तित प्रत्येक कार्यकर्ताले सोच्नुपर्ने कुरो हो । गुट भनेको के हो र गिरोह भनेको के हो ? यो बडो महत्त्वपूर्ण कुरा छ । पहिले हामी गुटको सकारात्मक पक्षमा जाऔं । राजनीतिक पार्टीमा संघर्षका समयमा र सत्ताका समयमा एकनासले गुट चल्दैनन् । संघर्षका समयमा जोडदार गुट बन्छ । राजा महेन्द्रले पुस १ गते, २०१७ सालमा जसरी काण्ड गराए, त्यसको सामना कसरी गर्ने भन्ने कुरा सुरु भयो । सूर्यप्रसाद उपाध्यायले, बिलकुलै प्रारम्भमै, जेल गएर पनि साध्य छैन, हिन्दुस्तान गएर पनि साध्य छैन भन्नुभएको थियो । सूर्यबाबुलाई तपाईंले पनि चिन्नुहुन्थ्यो र मैले पनि चिन्थें ।

सुवर्णजीले हिन्दुस्तान गएर सशस्त्र क्रान्ति गर्न खोज्नुभो । बीपी जेलमै हुनुहुन्थ्यो । सुवर्णजी बाहिर बसेर देशभित्र संघर्ष कसरी गर्ने भनेर बोधप्रसाद उपाध्याय, महेन्द्रनारायण निधिजस्ता नेताले हिन्दुस्तानमा नबसौं, बरु देशभित्रै गएर जेल बसौं भने । नेपाली कांग्रेसको पटना अधिवेशनमा सामेल भएर महेन्द्रनारायण निधिले आफ्नो मतभेद राख्नुभयो । उहाँ नेपाल आएर जेल पर्नुभयो । कुनै समयमा, एउटा बिलकुलै अर्कै खालको परिस्थितिमा, यही नेपालमा, एक जना अमेरिकी कूटनीतिज्ञ जेम्स मोरियार्टीले भनेका थिए— घर जलिरहेको छ, भत्किरहेको छ, ढल्दै गरेको छ; घरका मालिकहरू आफूले मास्टर बेडरुम पाउनुपर्छ भनेर कराइरहेका छन् । यिनीहरू कोठाका लागि झगडा गर्दै छन् । मोरियार्टीले त्यति बेलाको नेपालको अवस्थाका बारेमा यस्तो टिप्पणी गरेका थिए । अहिले कांग्रेस पार्टीका बारेमा यो सटीक टिप्पणी ठहरिनेछ । कांग्रेसको भवितव्य नहेरी आफ्नो कोठाको रक्षा गर्न खोज्नेलाई गुट होइन, गिरोह भनिन्छ । त्यही गिरोहले आज पार्टी चलाएको छ ।

भनेपछि, आज देखिएका सबै नेताहरू गिरोहपतिहरू हुन् त ?

करिब–करिब सबै । देखिएका नेताहरूमध्ये केही अपवाद होलान् । मुख्यतः हाम्रा प्रमुख नेताहरूको यहाँ नाम लिनु उचित हुँदैन । त्यो शिष्टाचार पनि होइन । उनीहरू गुटपतिभन्दा पनि गिरोहपति छन् । यो भन्दा म आफैं लज्जित छु ।

बीपी कोइरालाको आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण, लोहियाजस्ता नेताहरूसँग संगत थियो । जवाहरलाल नेहरूजस्ता नेतासम्म पहुँच थियो । फेरि, कुन अभिप्रेरणाले उहाँले नेपाल फर्किएर राजनीति गर्न थाल्नुभयो ?

यो तपाईंले बडो सही प्रश्न उठाउनुभयो । अहिले नेपाल र भारतका बीचमा जस्तो मनस्थिति छ, मानौं कि, भारत र हाम्राबीचमा अभेद्य पर्खाल लागिसकेको छ जस्तो । त्यस्तो पर्खाल नै त लागेको छैन नि ! काव्यात्मक अभिव्यक्तिमा यसको अनुवाद गर्ने हो भने सीमा विवादको नाममा दुई देशबीचको जमिनको धाँजा नै फाटेको आभास दिइएको छ । एउटा जमाना यस्तो पनि थियो, भारतका कविहरूले नेपाली विद्यार्थीलाई सम्बोधन गरेर लेख्थे, ‘सीमा के नाम में अगर जमीन फट गई है, आओ अपने नसे उधेड के उसे सी देना है ।’ त्यस्तो प्रेमपूर्ण वातावरण थियो ।

नेपालको समाजले संघर्ष गरेको छ । संघर्षको जगलाई कसैले देख्दैन, गजुरलाई मात्र देख्छन् सबैले।

त्यति बेला बीपी कोइराला धेरैजसो पटनामा बस्नुहुन्थ्यो । घर विराटनगरमा थियो । बाल्यकालमा पढाइ–लेखाइ बनारसमा भएको थियो । बनारसभन्दा पहिले भागलपुरको टेडीमा हुनुहुन्थ्यो । उहाँले ‘आफ्नो कथा’ मा बाल्यकालीन जीवनको वर्णन गर्नुभएको छ । ‘नरेन्द्रदाइ’ उपन्यासको कथा सत्य घटनामा आधारित छ । कथाकारले कुनै घटनाका बारेमा लेख्दा कल्पना त थप्छ नै । नरेन्द्रदाइ गाउँको एउटी सेविकासँग प्रेम गरेर हिँडेका थिए । त्यो सत्य घटनालाई उहाँले कथाको रूप दिनुभएको छ । बनारसको जन्म, टेडीमा बितेको बाल्यकाल, बनारसको पढाइ, दार्जिलिङ र पटनामा वकालत, पटनामा प्रवास र पटनामै जेल ।

त्यति बेला बीपी भारतमा बिलकुलै समादृत र स्वीकृत हुनुहुन्थ्यो । तपाईंलाई सोचेर बडो आश्चर्य लाग्ला, गणेशमानजीले मेरो काका रुद्रप्रसाद गिरिलाई लेखेको एउटा पत्रमा लेख्नुभएको छ— गिरिजी, यो डिल्लीरमण रेग्मीले बीपीलाई धेरै दुःख दियो भने, उहाँलाई भारतका ठूलठूला नेताहरूले राजदूत बन्न भनिरहेका छन्, उहाँ राजदूत बनेर लन्डन गइदिन बेर छैन । त्यसैले बीपीलाई हामीले फकाई–फुल्याई हाम्रो नेता बनाइराख्नुपर्छ । यो प्रसंग ग्रीष्मबहादुर देवकोटाको ‘नेपालको राजनीतिक दर्पण’ मा छ ।

त्यति बेला भारत र नेपालका बीचमा कता लाग्ने भन्ने ‘इस्यु’ नै थिएन । बीपी बिहारमा पनि स्वीकृत हुनुहुन्थ्यो र भारतमा पनि । बिहारको सोसलिस्ट कांग्रेस पार्टीमा आफूले केही दिन काम गरेको कुरा उहाँले यत्रतत्र लेख्नुभएको छ । आज नेपाल र भारत सम्बन्धलाई विशाल वितण्डा बनाइएको छ । त्यति बेला यस्तो कसैले सोच्नै सक्दैनथे ।

बीपी ३० अक्टोबर १९६८ का दिन सुन्दरीजल कारागारबाट, राजा महेन्द्रको निगाहमा, रिहा हुनुभयो । त्यस बेला प्रधानमन्त्री भएका सूर्यबहादुर थापाले आफ्नो डायरीमा लेखेका छन् : राजा महेन्द्र धरमरमा थिए बीपीका बारेमा । कहिले छोड्ने, कहिले नछोड्ने । सूर्यप्रसादले बीपीको जिम्मा लिएपछि बीपीलाई छाडेको भन्ने किटेर लेखेका छन् सूर्यबहादुरले । बीपीको आत्मकथामा यसको वास्तविक प्रस्तुति छैन । बीपी छुटेर भारत पुग्नुभएपछि दुई–तीन महिना यताउता जानुभयो । सुवर्णजीसँग लगातार सम्पर्कमा हुनुहुन्थ्यो । सुवर्णजी राजा महेन्द्रप्रति बिलकुलै विश्वस्त हुनुहुन्नथ्यो । सुवर्णजी राजासँग विश्वस्त नभएर पनि के गर्ने ? भारतले उथलपुथल गर्न दिँदैन भन्ने कुरा उहाँले गणेशमानजीलाई पनि भन्नुभएको थियो । भारतले २०१८ सालको विद्रोहमा बल्लबल्ल २६ थान राइफल दिएको थियो । त्यो पनि कत्रो प्रयासपछि ।

बीपी हिन्दुस्तानमा बस्दा निकै अप्ठ्यारो अवस्थामा हुनुहुन्थ्यो । खासगरीकन सुवर्णशमशेरसँग सम्बन्ध सिद्धिएपछि उहाँ झन् अप्ठ्यारो अवस्थामा पर्नुभयो । त्यही बेला पुग्नुभयो गिरिजाप्रसाद कोइराला र सरोज कोइराला । यसमा अध्ययन भएको छैन । गणेशमानजीको थुप्रो टिप्पणी छ । स्वयं बीपीका बयान छन् । ‘आत्मवृत्तान्त’ छ । धेरै टाढा जानैपर्दैन । यहाँसम्म कि, बंगलादेशको परिघटना पनि बीपीको ‘आत्मवृत्तान्त’ मा छ । कुनै पनि एउटा परिश्रमी र विवेकशील अध्येताले बीपीको ‘आत्मवृत्तान्त’ दोहोर्‍याएर पढ्यो भने, गणेशमानजीका टिप्पणी र अन्तर्वार्ता पढ्यो, सामान्य अध्ययन गर्‍यो भने र टिम्बुरबोटे काण्डका बारेमा पढ्यो भने बीपीको अवस्था कस्तो खतरनाक र अप्ठ्यारो थियो, थाहा हुन्छ । आफ्ना कतिपय मान्यतालाई स्थापित गराउनुपर्ने, पार्टीभित्र र पार्टीबाहिर आफ्नो व्यक्तित्वलाई पुनःस्थापित गराउनुपर्ने, पार्टी पुनःस्थापित गराउनुपर्ने; त्यो पनि अत्यन्त प्रतिकूल परिस्थितिमा !

बीपीको जीवनको एकदम ठूलो घटना ओखलढुंगा काण्ड हो । ओखलढुंगा काण्ड भयो डिसेम्बर १९७५ मा । त्यही समयमा राजा वीरेन्द्रको राज्याभिषेक भयो । युरोप, अमेरिका, भारत, पाकिस्तानका ठूला नेताहरू आए राज्याभिषेकमा सरिक हुन । कसैले हाम्रो देशका बारेमा कुरा उठायो ? हाम्रा इतिहासकारहरू यस्ता कुरामा ध्यान दिँदैनन् । विश्लेषणका लागि तथ्य त चाहियो नि !

भारत सरकारले बीपीको मान्यताका आधारमा नीति बनाएको देखिँदैन । यथार्थ बुझ्नुपर्‍यो नि हामीले । उल्टै भारत सरकारले नीति बनायो, ‘अब बीपी यहाँ बस्नु उचित छैन । यिनी जयप्रकाशतिर ढल्केका छन् । यिनलाई नेपाल नै पठाउनुपर्छ ।’ भारतका तत्कालीन राजदूत महाराजकृष्ण रसगोत्राको आत्मकथालाई आधार बनाएर मैले कान्तिपुरमा लामो लेख लेखेको छु— बीपीको प्रत्यागमनको अर्को कथा । उहाँका ती आठ वर्ष, भन्नुहुन्छ भने, एक प्रकारले, राजनीतिक दृष्टिकोणले व्यर्थजस्ता भएका थिए । उहाँ नेपाल फर्किंदा आठ वर्ष बितिसकेको थियो । उहाँ आउँदा हलचल भएको थियो । त्यसमा कुनै शंका छैन । तर त्यो हलचल र हिन्दुस्तानमा बस्दाखेरिका उहाँका गतिविधिलाई बुझ्दा राम्रो स्थिति थिएन । यहाँ मुख्य कुरो पञ्चायत व्यवस्थाको अन्तरविरोध नै थियो । यो हाम्रो इतिहाससँग जोडिएको छ ।

मैले यो प्रश्न किन सोधेको हुँ भने बीपी बनारसमा बस्दा यहाँबाट मान्छेहरू उहाँलाई भेट्न जान्थे । नेपालमा आन्दोलन भयो भने कि महमुरगन्ज कि सारनाथ नै पुग्थे । त्यहाँ पुगेर सल्लाह लिन्थे, आशीर्वाद लिन्थे, अनि आउँथे । तपाईं बनारसमै बस्नुभयो । ती सबै नेताहरू यहाँ आउँथे र आन्दोलन पनि अघि बढ्थ्यो, हैन ?

बीपी कोइराला त्यहाँ बसेर तपाईंलाई के भन्नुभयो अथवा शेरबहादुर (देउवा) लाई के भन्नुभयो अथवा मलाई के भन्नुभयो, त्यसले कुनै अर्थ राख्दैन । त्यहाँ सुवर्णशमशेरजीले नेपाली कांग्रेसको कार्यालय चलाउनुभएको थियो, जहाँ अच्युतराज थिए, काशीनाथ थिए, परशुनारायण थिए । तपाईं ती दस्तावेजहरू पढ्नुहोस् । परशुनारायणले लगातार चिठीपत्र लेखिराख्नुहुन्थ्यो सुवर्णजीलाई । विधिवत् रूपमा पार्टी चलिराखेको थियो । पछि काशीनाथ, बखानसिंहहरूले छोडे । तपाईं पत्रकारिता गरी नै राख्नुभएको थियो । जेल जानैपर्ने स्थिति थियो । तपाईं प्रजातन्त्र चाहनुहुन्थ्यो । अकाट्य रूपमा चाहनुहुन्थ्यो । आफ्नो जीवन हत्केलामा लिएर हिँड्नुभएको थियो । तर बीपीको त्यो आह्वानले मात्रै तपाईंको राजनीति चलेको थिएन । यहाँ एउटा बडो जागृत समूह प्रजातन्त्रका लागि लडिरहेको थियो । रामराजा सिंहले चुनाव लडेर तहल्का मच्चाउनुभयो । उहाँ बीपीको आशीर्वादले लड्नुभएको थिएन । मैले के भन्न खोजेको हुँ भने, बीपी निश्चय नै नेपालको सर्वाधिक अग्लो व्यक्तित्व (टावरिङ पर्सनालिटी) हुनुहुन्थ्यो; तर नेपालभित्र जुन किसिमको घटनाक्रम थियो, त्यो बीपीको प्रभावमा मात्रै चलिरहेको थिएन ।

राजा महेन्द्र गद्दीमा आए । बीपीलाई विस्थापित गरे । नेपालको आधुनिकीकरण सुरु भएको थियो बीपीको पालामा । सडक बन्दै थियो । विद्यालय बन्दै थियो । भूमिसुधार हुँदै थियो । सबै कुरा बीपीकै पालामा सुरु भइसकेको थियो । प्रजातन्त्रको पक्षमा नेपालमा एउटा नयाँ वर्गको उदय भएको थियो । मनुष्य–मनुष्यबीचको सम्बन्ध बदलिइरहेको थियो । यसले गर्दा प्रजातन्त्रको पक्षमा बीपीको नीति झन् बलियो भएको थियो । यो बुझ्नु महत्त्वपूर्ण छ । प्रजातन्त्रको त्यो पक्षले रामराजा सिंहलाई चुनाव लडाएर जिताइदिन्थ्यो । रामराजाको विजय सानो कुरो थिएन । नानीमैयालाई चुनाव जिताइदिन्थ्यो । पञ्चायती व्यवस्थाप्रति वितृष्णा पैदा भइरहेको थियो । वितृष्णाका पिता को थिए ? स्वयं राजा महेन्द्र । स्वयं राजा वीरेन्द्र । त्यस बेला आधुनिकीकरण भइरहेको थियो । स्कुल खुलिरहेको थियो, कारखाना सञ्चालन भइरहेको थियो । सञ्चार क्रान्ति भइरहेको थियो ।

किशुनजी सुन्दरीजलबाट छुट्नुभयो । उहाँ हिन्दुस्तान नगएर छिँडीमा बस्नुभयो । त्यस्तो अवस्थामा किशुनजीले कसरी आफूलाई नियन्त्रण गर्नुभयो ? किशुनजीले दुःख पाएको, परशुनारायण चौधरी लगायतले दुःख पाएको, विभिन्न मान्छेले दुःख पाएको, वीरबहादुरदेखि लिएर बद्रीराम भण्डारीसम्मले दुःख पाएको बिर्सन सकिन्छ ? यी सबैका प्रतीकका रूपमा रहेका छन् आज बीपी कोइराला, किशुनजी, गणेशमानजी । नेपालको समाजले संघर्ष गरेको छ । संघर्षको जगलाई कसैले देख्दैन । गजुरलाई मात्र देख्छन् सबैले । बीपी अथवा सुवर्ण अथवा गणेशमान अथवा किशुनजीको इतिहासलाई हेर्ने, त्यो हाम्रो व्यक्तिवादी नजरिया हो ।

त्यसो भए, कांग्रेसमा बीपी कोइरालाको हस्तक्षेपकारी भूमिका अब समाप्त हुँदै गएको हो ?

पटक्कै होइन । अचम्मको विडम्बना हुन्छ इतिहासको । कार्ल मार्क्सको देहान्त हुँदा औंलामा गन्न सकिने दस वा बाह्र जना मान्छेले मात्र थाहा पाए— मार्क्स भन्ने एक जना ठूला मान्छे मरे । चिहानमा तेह्र जना जम्मा थिए भन्ने रेकर्ड छ । भोलिपल्ट अखबारमा एउटा सानो खबर छापियो : कार्ल मार्क्सको अन्त्येष्टिमा बाह्र/तेह्र जना जम्मा भएका थिए । जिसस मर्दा त्यस्तै थियो । उनका साथीहरूको भागाभाग थियो । अन्तमा उनको लास निकाल्दाखेरि त दुई जना महिला मात्रै थिए । उनको सबभन्दा नजिकको साथी पनि भाग्यो । भागेको मात्रै होइन, अलि टाढा पुगेपछि एक जनाले उसलाई ‘तँ जिससकहाँबाट आएको होस् ?’ भनेर सोध्दा ‘ओहो, हैन–हैन’ भनेर उम्कियो पनि । यो कथा आउँछ, बाइबलमा । त्यसपछि समय बित्दै गयो । जिसस झन्झन् महत्त्वपूर्ण हुँदै गए । कार्ल मार्क्स पनि झन्झन् महत्त्वपूर्ण हुँदै गए । बीपी एउटा त्यस्तो मनुष्य हुनुहुन्थ्यो, जसले आफ्नो समयमा धेरै काम गर्ने मौका पाउनुभएन । किन पाउनुभएन ? आफ्नो मान्यताले पाउनुभएन वा तत्कालीन परिस्थितिले पाउनुभएन । अब जति समय बित्दै जान्छ, नेपाली समाजमा होइन कि विश्वमा बीपीको महत्त्व बढ्दै जान्छ, यसमा बिलकुल ढुक्क छु म ।

उहाँको महत्त्व बढ्नुपर्ने कारणचाहिँ के होला ?

हो, यो सबैभन्दा ठूलो कुरा हो । समाजवादको एउटै परम्परा छैन । समाजवादको एउटा परम्परा युरोपबाट सुरु भयो । बेलायत, जर्मनी र फ्रान्सबाट । उनीहरूले के देखे भने बेलायत, जर्मनी र फ्रान्स तीनवटै अत्यन्त उच्च कोटिको औद्योगिक उचाइमा पुगेका देश थिए । उच्च औद्योगिक उचाइमा पुगेको नाताले ती देशले भन्ने— ल ल गरिबले धेरै दुःख पाए, यिनीहरूलाई राहतको उपाय गरिदिनुपर्‍यो । मार्क्सले भने– होइन, यसरी कसरी हुन्छ ? राहत बाँडेर साध्य लाग्छ कहीँ ? वर्गसंघर्ष हुनुपर्छ । मजदुर वर्गको हातमा सारा सत्ता आउनुपर्छ र उसैको तानाशाही हुनुपर्छ । कार्ल मार्क्सको हृदयमा मजदुर वर्गप्रति सहानुभूति र ऐक्यबद्धता थियो । त्यो समाजवाद यहाँ लागू हुँदैन, एसियामा । नेपालमा लागू हुँदैन । भारतमा पनि लागू हुँदैन । किनभने हामीकहाँ उत्पादकत्व नै छैन; तपाईं बाँच्न चाहने नर्वे, स्विडेन, स्विट्जरल्यान्ड, सिंगापुरमा जस्तै । त्यसका लागि साधन कति छ तपाईंसँग ? स्रोत कति छ तपाईंसँग ? अनि ठूलठूला धनराशि लगानी हुने ठूलठूला एयरपोर्ट बनाएर, बोइङ किनेर कमिसन खाने ? ठूलठूला हाइड्रो–इलेक्ट्रिक प्रोजेक्ट ल्याएर करोडौं कुम्ल्याउने ? कटुसत्य छ कि छैन यो ? अनि कोरोनाका सामान किन्दा पनि भ्रष्टाचार गर्ने, नोट छाप्दा पनि कमिसन खाने ?

आज नेपालको समाजवाद केमा आधारित हुन्छ ? आजको नेपालको समाजवाद गान्धीले सिकाएको जीवनमूल्य, जयप्रकाश नारायणले देखाएको बाटो र लोहियाको सैद्धान्तिक प्रस्तुतिमा आधारित हुन्छ । त्यो भनेको के हो ? बीपी प्रकारान्तरले भन्नुहुन्थ्यो : राजाले मलाई सोधे, तिमीले के चाहेको हो ? बीपीले भन्नुभएको थियो : पन्ध्र वर्षमा मेरोजस्तै जीवनस्तरमा प्रत्येक नेपालीलाई पुर्‍याउन सकूँ । राजा महेन्द्रले के भनेका छन् आफ्नो भाषणमा ? उनले भनेका छन् : अरूले सय वर्षमा गरेको काम हामीले दसै वर्षमा गर्नुपरेको छ । यो हो राजा महेन्द्रको भनाइ । ती ‘अरू’ भनेका को हुन् ? जर्मनी, फ्रान्स, स्विट्जरल्यान्ड आदि । सौभाग्यवश, बीपीले आफ्नो जीवनको आखिरी वर्षमा अरूले सय वर्ष लगाएर हिँडेको बाटोमा हिँड्ने विचार गर्नुभएको छैन । बीचमा उहाँलाई पनि त्यो भ्रम थियो ।

बीपीले एउटा यस्तो समाजको सपना देख्नुभएको छ, जसलाई समाज मात्र भनेर सीमित दायरामा बाँध्न सकिँदैन । त्यो एउटा सभ्यताकै स्वरूपमा हो, नयाँ सभ्यता । जुन सभ्यता मितव्ययिता, सादगी, समानतामा आधारित छ । जुन सभ्यतामा सबैलाई आरामले सवारीको साधन त प्राप्त होस्, तर सबैले क्याडलक गाडी र इम्पाला वा बीएमडब्लू वा मर्सिडिज राख्नुपर्छ भन्ने छैन । त्यसैले हामी सबैले यो मान्दामान्दै पनि कि ठीक छ, तपाईंको साथीले गाडी किन्यो, घोडा किन्यो, साततले घर बनायो भन्दा मन चर्किन्छ । नेपाल यस्तो गरिब देश छ । मैले भौतिक पदार्थहरू ज्यादा प्रयोग गर्नु हुँदैन भन्ने कुरा सबैको मनमा उठ्नुपर्छ । किशुनजीमा त्यो सादगी थियो, गणेशमानजीमा त्यो सादगी थियो । आज जो भोगविलासमा आकण्ठ डुबेर घूस खाँदा पनि लाख र करोड हैन, अर्बौं खाने सपना देख्छन्, यो बीपीको परिकल्पनाभन्दा विपरीतको कुरा हो ।

हामी अहिले प्राकृतिक संसाधनको दोहन गर्दै छौं । हामी अन्धाधुन्द जंगल फाँड्दै छौं । बीपीले भन्नुभयो, एयरपोर्टको के काम नेपालमा ? हेर्नुस् त, अहिले निजगढ एयरपोर्ट रे ! यसमा कांग्रेस पनि लागेको छ । अहिले यो निजगढको कुरा हाम्रो शेरबहादुरलाई भन्नुभयो भने उहाँले उल्टै भन्नुहोला— ए, ओलीहरूले निजगढ बनाउँदै छन्, म त्योभन्दा ठूला अरू दुईवटा बनाइदिन्छु । रामचन्द्रलाई सोध्नुभयो भने उहाँले म त पाँचवटा बनाइदिन्छु भन्नुहोला । यो प्रवृत्ति छ कि छैन, भन्नुस् ? हामी बुझ्दै नबुझीकन गलत दिशामा गइराखेका छौं ।

नेपालले कुनै पनि हालतमा पश्चिमी देशको जस्तो उत्पादनको प्रणाली स्वीकार गर्न सक्दैन । यो कुराको संकेत बीपीमा छ, उहाँको आखिरी वर्षमा । यो बीपीको सर्वाधिक दीर्घकालीन र चिरञ्जीवी योगदान हो समाजका लागि । समाजवाद भनेको नयाँ आर्थिक प्रणाली होइन । समाजवाद भनेको नयाँ किसिमबाट बाँच्ने तरिका हो । कसरी बाँच्ने त ? बीपीसँग उत्तर छ भन्दिनँ म । हामी हेरौं न । न गान्धीको चर्खा काम लाग्छ, न बीपीको गाई । तर, यहाँ डिजल र कोइलाको खानी खोजेर हुन्छ ? हिसाब गर्नुस् त । को छ यहाँ अर्थशास्त्री ? बाबुराम (भट्टराई) सँग कुरा गर्ने कि रामशरण (महत) सँग ? के सोचेका छन् उनीहरूले नेपालका बारेमा ? नेपालमा वृद्धिदर बढाएर कामै छैन । नेपालमा सबै एक दिन सम्पन्न हुन्छन्, अनि बाँडौंला समृद्धि भन्ने कामै छैन । हामीले एउटा वैकल्पिक जीवन प्रणालीको प्रादुर्भाव, आत्मसात् र अभ्यास गर्नुपरेको छ । अहिले चितवनको दूधमा ठूलठूला कुरा नगरीकन पाउडर बनाए हुन्छ नि, त्यस्ता उद्योग खोलेर भए पनि ! हामीले त्यस दूधको सदुपयोग, सही उपयोग र अपरिहार्य उपभोगको बाटोमा जानुपरेको छ; त्यसरी दूध पोखिएको हेर्न विवश हुनु हुँदैन ।

बीपी कोइरालाको यो वैकल्पिक चिन्तनलाई ल्याएर अहिलेको कांग्रेससँग जोड्न सम्भव छ ?

छैन, छैन । यसको कुनै सम्बन्ध नै छैन, कांग्रेससित । कांग्रेसमा वा कांग्रेससँग यसको सम्बन्ध छैन । कांग्रेसलाई त तैपनि, अलिकति हल्का, मिर्मिरे सपना देखेको सम्झना होला । माओवादीसँग त झन् छैन । दुइटै एउटै बाटोमा जाँदै छन् । अनेकपटक मैले भनेको छु, यो बाटोमा नहिँड्नुस् । यसैपल्ट पनि मैले संसद्मा सबैले सुन्ने गरी भनेको होइन ? सहर बनाउने होइन हजुर, गाउँ बनाउने । मैले अर्थमन्त्रीलाई भनेको होइन ? यी अर्थमन्त्रीलाई मात्र भनेको छैन त, यसअघिका अर्थमन्त्री स्वनामधन्य रामशरण महतलाई पनि भनेको छु, बाबुराम भट्टराईलाई पनि भनेको छु । सहर होइन, सुविधासम्पन्न गाउँ बनाऔं भनेको छु । ‘प्रोभाइडिङ अर्बन एमिनिटिज टु भिलेज’ भनेको छु । यो मैले मात्र भनेको होइन, बीपीले पनि यही कुरो हाम्राबीच भनेर जानुभएको छ ।

*
सच्याइएको-
'डिसेम्बर १९७५ मा ओखलढुंगा काण्ड भयो' हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ ।


प्रकाशित : भाद्र २४, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?