कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

‘सचेत समूह संकटमा सक्रिय हुनुपर्छ’

गोकर्ण गौतम

काठमाडौँ — कोभिड–१९ को रोकथाम र उपचारमा सबल व्यवस्थापनको माग गर्दै आमरण अनशनमा बसेका ‘इनफ इज इनफ’ का अभियन्ता ई:ले २३ औं दिनमा आइतबार अनशन तोडेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग १३ बुँदे सहमति भएको छ ।

‘सचेत समूह संकटमा सक्रिय हुनुपर्छ’

संक्रमण पत्ता लगाउन पीसीआर परीक्षण विधि अवलम्बन गर्ने, नतिजा यथाशीघ्र उपलब्ध गराउने, कन्ट्याक्ट ट्रेसिङलाई व्यापक र प्रभावकारी बनाउने, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीलाई आवश्यकबमोजिम पीपीई तुरून्त उपलब्ध गराउने, कोभिड–१९ को व्यवस्थापन दौरान भएको खर्च विवरण यथाशीघ्र सार्वजनिक गर्ने र उपचार सामग्रीको खरिद प्रक्रिया पारदर्शी बनाउनेलगायत सम्झौता भएका छन् ।

यसअघि पनि १२ दिन अनशन बसेपछि असार २२ गते ई:, अर्का सत्याग्रही पुकार बम र सरकारबीच १२ बुँदे सम्झौता भएको थियो । सम्झौता कार्यान्वयन नभएपछि साउन ३ गते उनले पुन: सत्याग्रह सुरू गरेका थिए । मन्डिखाटारस्थित ह्याम्स अस्पताल उपचाररत ई:सँग गोकर्ण गौतमले गरेको कुराकानी :

अनशन तोड्नुभयो । सम्झौताप्रति सन्तुष्ट हुनुहुन्छ ?

दुई महिनाअघि बालुवाटारमा प्रदर्शन गरेर हाम्रो अभियान सुरु भएको थियो । मूल मुद्दाहरू कुनै न कुनै रूपमा सम्बोधन भएका छन् वा जवाफदेहिता पाइएको छ । अहिलेको सम्झौतालाई असार २२ को सम्झौताको कार्यान्वयनसँग जोडेर हेर्दा सकारात्मक मान्न सकिन्छ । तर यसमा ढिलाइ भयो ।

यही कुरा डेढ महिना अगाडि मात्र भएको भए पनि अर्थपूर्ण हुन्थ्यो । समुदायमा संक्रमण विस्तार हुँदै छ, नियन्त्रण गर्न सरकारलाई चुनौती छ । पहिलो केस वा लकडाउनदेखि तदरुकता र गम्भीरता देखाउनुपर्थ्यो । त्यसैले सेलिब्रेट गर्ने किसिमको सम्झौता होइन यो ।

सरकारले सम्झौता पूरा गर्छ भन्ने विश्वास छ ?

कोभिड–१९ व्यवस्थापन गर्दा सरकारलाई नै फाइदा छ, देशैभर संक्रमण फैलिएकाले गम्भीर बन्नैपर्ने स्थितिमा सरकार आइपुगेको जस्तो लाग्छ । पीसीआर परीक्षण बढाइएको छ, लकडाउन खुलेपछि अरू रणनीति पनि अवलम्बन गर्न थालेको देखिन्छ तर यतिले मात्र पुग्दैन । पहिलेको गल्ती दोहोर्‍याउनुभएन । पहिले लकडाउन गरियो, भिजन थिएन । ‘कन्ट्याक्ट ट्रेसिङ’ प्रभावकारी भएन । हामी आशावादी त हुनुपर्‍यो ।

अनशन बस्न केले प्रेरित गर्‍यो ?

हामी युवाहरूले हाम्रो ठाउँबाट सक्दो उत्कृष्ट पहल गर्ने हो, त्यसैका लागि सत्याग्रहमा गयौं । पहिलो सम्झौता पूरा नभएपछि फेरि सत्याग्रह जानुको विकल्प भएन । हामीले हाम्रो ठाउँबाट उत्कृष्ट प्रयास नगरी सरकारसँग के अपेक्षा राख्ने ? हामीले हाम्रो जीवन जोखिममा नराखी सरकारले हजारौंको जीवन बचाउँछ भन्ने विश्वास नभएपछि अनशन बसेको हो ।

‘कस्ट बेनिफिट एनालाइसिस’ गरेर सत्याग्रहमा बसेको हो । मलाई केही नभए पनि अभियानले दबाब दिइरहेको थियो, मलाई केही भएको भए थप दबाब सिर्जना गर्थ्यो । त्यसले नागरिकको जीवनरक्षामा सहयोग पुग्थ्यो । हामीलाई तलमाथि केही भए पनि त्यसले हजारौंलाई बचाउँछ भने भावना थियो ।

तपाईं र तपाईंहरूको अभियानलाई कसैले उक्साइरहेको आरोपमा सत्यता छ ?

सामन्ती व्यवस्था हट्यो तर समाजको संरचना, व्यवहार र आचरण सामन्ती किसिमकै छ । ठूलो मान्छे वा शक्तिशालीले भनेको जहिल्यै सही हुन्छ, प्रश्न गर्नुहुन्न भन्ने संरचना भत्किएको छैन । अहिले इन्टरनेटमा विश्वभरको अनुभव पढ्न मिल्छ, बुझ्न मिल्छ, त्यसकै आधारमा युवाहरू आफैं सचेत भएर अगाडि आउँदा दास मनोवृत्ति भएकाहरूलाई अचम्म लागेको हुन सक्छ । जो मान्छे बोल्दा कसैको कारण बोल्छ, नबोल्दा कसैका लागि बोल्दैन । उनीहरूलाई अन्तरमनबाट कसैले बोल्दा शंका लाग्नु स्वाभाविक हो ।

अब अभियानको उपादेयता के हुन्छ ?

हामीकहाँ कुनै व्यक्ति वा अभियान उदायो भने त्यसले सबै समस्या समाधान गर्नुपर्छ, राजनीतिक दल नै बन्नुपर्छ, अझ भगवान् नै बनिदियोस् भन्ने आकांक्षा राखिन्छ, यो विल्कुलै गलत हो । नागरिक दैनिक जीवनमा अभ्यस्त हुने हो । तर आवश्यक पर्दा अगाडि आएर बोल्ने हो । हरेक विषयमा बोल्न थालियो भने नेता वा राजनीतिक अभियन्ता जस्तो भइहाल्यो । यो महामारी हाम्रो पुस्ताको सबैभन्दा ठूलो मुद्दा हो, यसमा बोल्नु नागरिक दायित्व हो । हाम्र्रा अभियानमा विद्यार्थी छन्, उनीहरू सधैं आन्दोलन गर्ने होइन, पढ्नुपर्‍यो । व्यापारी वा कलाकार छन्, उनीहरूले आ–आफ्नो काम गर्नुपर्छ । यस्तो सचेत समूह संकटमा संक्रिय हुनुपर्छ, सधैं होइन ।

तपाईंमै राजनीतिक स्वार्थ छ भन्छन्, भन्नेलाई के भन्नुहुन्छ ?

यो खुला अभियान थियो, सत्याग्रह पनि खुला थियो । विभिन्न पृष्ठभूमिका मान्छे आउने नै भए, समाज अराजनीतिक हुन सक्दैन । सबैको आस्था र विश्वास हुन्छ । तर, यही अभियानलाई लिएर मेरो कुनै राजनीतिक स्वार्थ छैन । मेरो स्वार्थ भनेको दाजुभाइ–दिदीबहिनी, टोल र देशको जीवनरक्षा हो ।

तपाईंलाई अनशनमा भेटेर विपक्षी पार्टीहरूले फाइदा उठाउन खोजे भन्ने पनि सुनियो । के लाग्छ ?

मेरो राजनीतिक पृष्ठभूमि नभए पनि मैले कहिल्यै कसैलाई निषेध गरिनँ । हरेक व्यक्तिको उपस्थितिलाई सकारात्मक रूपमा लिएको छु । स्वास्थ्य, आर्थिक, सामाजिक र मानसिक हिसाबले कोरोना हाम्रो पुस्ताको गम्भीर विषय हो तर राजनीतिक दल, सामाजिक संस्था, नागरिकहरू नै लामो समयसम्म उदासीन देखिए । अहिले उनीहरूले हाम्रो अभियानको वरपर रहेर आफ्नो आवाज उठाउँदा के समस्या भयो ? नागरिकको जीवनमरणको विषयमा सबै पक्षका मान्छेले बोल्नु स्वागतयोग्य कुरा हो ।

आफ्नो अनुहार वा अनशन भजाएर अरूले फाइदा लेलान् भन्नेतिर तपाईं कत्तिको सचेत हुनुहुन्छ ?

इगो ठूलो भयो भने यस्तो कुरामा ध्यान जान्छ होला । आफ्नो व्यक्तित्व र अनुहार आफूलाई भव्य लाग्छ होला । तर मेरा लागि एजेन्डा निश्चित थियो– जनस्वास्थ्य, मानवीय र जवाफदेही दृष्टिकोणबाट कोभिड–१९ को सबल व्यवस्थापन चाहियो । यो एजेन्डामा टेकेर जसले जे गरे पनि मैले आपत्ति मानिनँ ।

मेरो नाम प्रयोग गरेरै सही, मुद्दा अगाडि बढ्छ भन्ने किन टाउको दुखाउनु ? म मेरो व्यक्तित्व बनाउन होइन, मुद्दाका लागि सत्याग्रहमा बसेको हो ।

पछिल्लो समय अभियानमा युवाकै सक्रियता घटेको देखियो नि ?

पहिले हामीमाथि सुकिलामुकिला युवामात्र आए, १६ देखि २४ मुनिका मात्र छन् भन्ने आरोप लाग्यो । बिस्तारै त्यसको दायरा बढ्यो । ४०–४५ वर्षका मान्छे पनि आउन थाले, त्यसपछि युवा कम देखिए भन्न थालियो । अब नराम्रो त जुन कोणबाट पनि भन्न सकियो । तर, मेरो चाहना यस्तो कुराले मुद्दा छायामा नपरोस् भन्नेमा हुन्थ्यो ।

दुई पटकको सत्याग्रहबाट व्यक्ति ईःले के पायो ?

अनुभवको आफ्नै महत्त्व हुन्छ, विभिन्न किसिमका मान्छे चिन्न पाइयो, कसको क्षमता कति रहेछ, को कस्तो रहेछ, बुझ्ने माहोल बन्यो । केही हदसम्म युवाहरू अगाडि आएर बोल्न सक्ने भए । एकपटक सडकमा आएर अभिव्यक्ति राखेपछि अर्को पटक सहज हुन्छ । त्यस्तो किसिमको ‘क्याटलिस्ट’को भूमिका खेल्न पाइयो भन्ने लाग्छ । यसमा खुसी छु ।

हाम्रो अभियानको परिणामहरू चार–पाँच वर्षपछि बढी देखिन्छ, आगामी निर्वाचनमा देखिएला । धेरै युवालाई शान्तिपूर्ण र सिर्जनशील रूपले पनि आन्दोलन गर्न सकिन्छ, सत्याग्रह पनि प्रभावकारी हुन्छ भन्ने विश्वास दिलाएको छ ।

प्रकाशित : श्रावण २६, २०७७ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?