संक्रमण रोक्ने हो भने काठमाडौंलाई तत्काल सिल गर्नुपर्छ : मेयर शाक्य- कुराकानी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमण रोक्ने हो भने काठमाडौंलाई तत्काल सिल गर्नुपर्छ : मेयर शाक्य

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा कोरोना संक्रमितमध्ये ६५ प्रतिशतभन्दा बढी काठमाडौं महानगरभित्र बसोबास गर्छन् । केही समयअघिसम्म काठमाडौं बाहिर र विदेशबाट फर्केकालाई संक्रमण देखिए पनि अहिले समुदायस्तरमा फैलिन थालेको अनुमान गरिएको छ ।

एकजना संक्रमित देखिँदा डिसइन्फेक्सन छर्कने र जनचेतनामा जोड दिएको काठमाडौं महानगरले संक्रमण फैलिँदा काम गर्न नसकेको आरोप छ । यसै विषयमा कान्तिपुरका मकर श्रेष्ठले महानगरपालिका मेयर एवं उपत्यका मेयर फोरमका संयोजक विद्यासुन्दर शाक्यसँग गरेको कुराकानी :

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ व्यवस्थापन गर्न काठमाडौं महानगरले के गरिरहेको छ ?

महानगरलाई मात्रै होइन उपत्यकालाई नै एउटा यूनिटको रुपमा हेरेका छौं । हामी उपत्यकाका १८ जना मेयरहरु एकै ठाउँमा छौं । कोरोना नियन्त्रण गर्न संयुक्तरुपमा प्रयास जारी छ । कतिपय निर्णय महानगरले मात्रै पनि गरेको हुन्छ । लकडाउनको बेला हामीले गरेको कामको प्रशंसा गर्दै सरकार र स्थानीय जनताले धन्यवाद दिएका छन् । हाम्रो प्रयासले विगतमा कोरोना संक्रमण फैलिन पाएन तर अहिले बढेको छ । काठमाडौं महानगरभित्र मात्रै ३ सयजना भन्दा बढी संक्रमित छन् । सिंगो उपत्यकामा संक्रमण बढ्दोछ । उपत्यका सिल गरौं भनेर हामीले पहिलादेखि भन्दै आइरहेका छौं । जोखिमको अवधिमा सिल गर्दा काठमाडौं बचाउन सकिन्छ भनेका थियौं । लकडाउन अवधिमा धेरै हदसम्म यो काम भयो । पूर्ण रुपमा भने भएन । उपत्यकाभित्र लकडाउन हुने तर बाहिरबाट आएको आयै भयो । यसको असर अहिले देखिएको हो ।

अब के गर्ने ?

संक्रमण रोक्ने हो भने उपत्यकालाई सिल गर्नुपर्छ । अत्यावश्यक कामका लागि आउने व्यक्तिलाई मात्रै प्रवेश दिनुपर्छ । सरकारले एउटा जिल्लाबाट अर्को जिल्लामा जान पाउँदैन भनेको छ । बाहिरका व्यक्ति काठमाडौं आउँदा मैले चिन्ता लिएजस्तै यहाँका मान्छे बाहिर जाँदा अरुले चिन्ता लिएको हुन्छ । त्यसैले एक ठाउँबाट अर्को ठाउँको आवतजावत बन्द गरौं । अहिले लकडाउन खुलेको छ । सरकारले लामो दूरीको सवारी चलाउन अनुमति दिएको छैन । अहिले स्थानीयलाई खासै संक्रमण देखिएको छैन । पेशा व्यवसाय गर्न काठमाडौं बाहिरबाट आउने बढी संक्रमित छन् । त्यसैले बाहिरबाट आएकालाई रोक्नु पर्छ । नत्र नियन्त्रण गर्न गाह्रो हुन्छ ।

कोरोना नियन्त्रण गर्न कस्तो निर्णय गर्नुहुन्छ ?

उपत्यका नगरपालिका फोरमले केही दिनमा संयुक्त निर्णय गर्दैछ । सीसीएमसी र स्वास्थ्य मन्त्रालयसँग पनि छलफल भइरहेको छ । शंकास्पद व्यक्तिलाई हामीले पीसीआर गर्न पठाएका छौं । भारतबाट रोजगारी गुमाएर लुकिछिपी काठमाडौं भित्रिएर घरघरमा तरकारी बेच्न जाने, फलफूल बेच्ने, ठेला चलाउने, कवाडी उठाउनेलाई नियन्त्रण गर्न सकेनौं भने झन् संक्रमण बढ्छ । उपत्यका मेयर फोरममा पनि यसलाई छलफलको विषय बनाउँछौं ।

आवश्यक निर्णय गर्न ढिलाई भएन ?

ढिला कहिलेलाई भन्ने हो । हामीले गरेको निर्णय मानेको भए संक्रमण फैलिने थिएन । हाम्रो कुरा सरकारले सुन्यो तर, जनताले मान्दिएनन् । हामीले नाकामा कडाई गर्न माग गरेका थियौं, गृहले परिपत्र गर्‍यो । त्यही अनुसार काम पनि भयो । तर, अहिले लुकिछिपी आउने प्रवृति रह्यो । काठमाडौंमा जात्रा रोकेका छौं । मन्दिरमा पूजा रोकेका छौं । धर्मशाला रोकेका छौं । त, अनसन र नारा जुलुस रोकिएन । यो रोक्नु पर्छ । सत्याग्रह भएको ठाउँमा भीडभाड भइरहेको छ । त्यहाँ क्याटवाक भइरहेको हुन्छ ।

सत्याग्रह बस्नेले पीसीआर बढाउ भन्ने माग गरेका छन् के उनीहरुको माग गलत हो र ?

पीसीआर औषधि होइन । बुझेर वा नबुझेर पीसीआर बढाउनु पर्ने भनिरहेका छौं । खाना नपाएका मान्छे बिरामी भएका छन् । भएका स्रोत साधनले नभ्याउने गरी पीसीआर गर्न सकिदैन । पीसीआर परीक्षणले आजको अवस्थामात्रै जनाउँछ । औषधिको काम त गर्दैन । एकपटक कोही मान्छेको पीसीआर गरेर समुदायमा गएपछि फेरि संक्रमण नहोला भन्न सकिदैन । थानकोट नाकामा १० हजारको पीसीआर गराएको छ । खर्च कति होला ? हामी डिफेन्सिभ होइन कि अफेन्सिभ भएर जानुपर्छ । सत्याग्रह बसेर पीसीआर बढाउ चाहिँ भन्ने अनि मान्छे भेला गराउँदा रोग फैलिदैन ? पीसीआर गर्दा हाम्रै पैसा जाने हो । हेर्दा सरकारको खर्च भएजस्तो हुन्छ । सरकारको पैसा भनेको हाम्रै हो । त्यसैले दुरुपयोग गर्नुहुँदैन । पीसीआर बढाएरमात्रै हुँदैन । यो नै रोगको निदान होइन । एकजनाको पीसीआर गर्दा १० हजार खर्च हुन्छ रे । त्यसैले धेरै पीसीआर गराएर राज्यको खर्च नगरौं ।

महानगरले एकजना संक्रमित देखिँदा सडकमा डिस्इन्फेक्सन छर्किने देखि सावधानी अपनाउन जनचेतना जगाउने तदरुकता देखाएको थियो । अहिले देखिँदैन नि ?

अहिले पनि डिसइन्फेक्सन भइरहेको छ । मूख्य सहरमा सबै मेसिन चलाएका छौं । उबेला केही गाडी भाडामा लिएर पनि चलायौं । अहिले हामीसँग भएका गाडीबाट मात्रै गरिरहेका छौं । सबैभन्दा जोखिम भएको तरकारी र फलफूल बजारलाई केन्द्रित गरेर डिस्इन्फेक्सन गरिरहेका छौं ।

काठमाडौंमा आइसोलसनको अभाव छ । यो बेला संक्रमितको व्यवस्थापन कसरी गर्ने ?

देशभरी भेन्टिलेटरको संख्या न्यून छ । आइसोलेसनमा राख्न अस्तपालको क्षमता कम छ । भेन्टिलेटर र आइसालेसन बढाउने कि रोग नियन्त्रण गर्ने ? मेरो प्राथमिकता रोग नियन्त्रण गर्नेमा हुन्छ । आइसोलेसनको व्यवस्थापन गर्ने जिम्मा सरकारले लिएको छ । कोरोना संक्रमितको संख्या वृद्धि भइरहेकै छ । सरकारले गरेन भनेर गाली गर्नेमात्रै होइन राम्रो काम गराउन आफ्नो भूमिका र जिम्मेवारी पूरा गर्नुपर्छ । यसको लागि सरकारले ल्याएको मापदण्ड पालना गरौं । निर्णय कार्यान्वयन गर्ने हो भने संक्रमण नियन्त्रण गर्न सकिन्छ । आइसोलन व्यवस्थापन गर्न हामीसँग पर्याप्त जनशक्ति छैन । सरकारले ल्याएको कार्यक्रमको आर्थिक दायित्व महानगरले व्यहोर्न तयार छ भनेका छौं ।

बाहिरबाट हेर्दा त संक्रमित पत्ता लगाउने देखि व्यवस्थापन गर्नेसम्मको सबै काम संघले गरेको देखिन्छ । जनताले त हाम्रो मेयरले केही गरेनन् भनेर खोज्नु पर्ने अवस्था छ । तपाईले महानगरबासीको लागि चाहिँ के गर्नु भयो ?

कोरोना संक्रमण नियन्त्रण गर्न सबैभन्दा १० करोडको कोष काठमाडौं महानगरले बनाएको हो । त्यसबेला काहीे पनि भोकै बस्नु पर्दैन भनेका थियौं । लकडाउनमा कसैले भोकै बस्नु परेन । काठमाडौं महानगरले संघ र प्रदेशसँग बजेट मागेको छैन । हामी आफैं गरिरहेका छौं । सुरुको दिनमा जनचेतना जगाउने काम गर्‍यौं । मास्क र स्यानिटाइजर प्रयोग गर्न सिकायौं । ठाउँ ठाउँमा पानी ट्याङकीको व्यवस्था गर्‍यौं । डिस्इन्फेक्सन छयाप्छ्याप्ती बनायौं । घरघरमा राहत बाड्यौं । कुनै घर पनि छुटाएनौं । सरकारसँग हात फैल्याएनौं । प्रदेश र संघले निर्णय गर्दा हाम्रो सहभागिता छ । काठमाडौंलाई बचाउन संघ र प्रदेशका मन्त्रीलाई भेटेका छौं । सीसीएमसीको बैठकमा सहभागि भएका छौं । काठमाडौंमा दैनिक आवतजावत हुन्छ । त्यसको लगत हामीले राख्न सक्दैनौं । बाहिर मान्छे आउँदा मैले चाहेर पनि सकिदैन । संघीय सरकारलाई गुहार्नु पर्ने हुन्छ । अझ काठमाडौं छिर्ने नाका मेरो क्षेत्र होइन । नागढुङ्गामा अर्कै मेयर छन् भक्तपुरको नाकामा अर्कै मयर । विभिन्न जिल्लाबाट गाडीमा ल्याएर नाकामा छाड्दिने अनि त्यहाँको मेयरलाई गाली गरेर केही हुँदैन । जिल्लाबाट रोक्नु पर्छ । बाहिरबाट आउने मान्छेलाई हामीले रोक्न सक्दैनौं । संघीय सरकारकै भर पर्नु पर्ने हुन्छ । संक्रमित अवस्थामा जो जहाँ छन् त्यहीं बसेर सहयोग गरिदिनुस् । गृह प्रशासन हाम्रो मातहतमा छैन । यो कुरा नबुझ्दा मेयरले केही गरेन भन्ने बुझाई भएको हो । सबैसँग सहकार्य र समन्वय गरेर चलाउनु पर्ने हुन्छ ।

केन्द्रले गरेको काम चित्त बुझेको छ ?

संघले कोरोना नियन्त्रण गर्न जे निर्णय गरिरहेको छ, हामीले कार्यान्वयन गरिरहेका छौं । त्यो निर्णय हामीले मान्नु पर्ने हुन्छ । संघीय सरकारले निर्णय गरे पनि कार्यान्वयन हामीले गर्ने हो । संघले गर्ने निर्णय देशैभरी हुन्छ । मैले गरेको निर्णय मेरो महानगर क्षेत्रभित्र मात्रै हुन्छ ।

महानगरबासीलाई साह्रो–गाह्रो हुँदा समाधान गरिदिने अभिभावक तपाई हो तर, प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पो तपाईको क्षेत्रमा के गर्ने ? के नगर्ने निर्णय गरिरहेको छ । यो हस्तक्षेप हो कि तपाईले गर्न नसक्नु भएको ?

कतिपय निर्णय क्याबिनेटले गर्छ । पछिल्लो समय कोरोना सम्बन्धी निर्णय क्याबिनेटभन्दा पनि सीसीएमसीले गरिरहेको छ । जिल्लामा डीसीएमसीले निर्णय गर्छ । जुन बैठकमा हामी पनि सहभागि हुन्छौं । उहाँहरुले गरेको निर्णय मैले नमान्ने होइन । ऊ को हो र भन्ने होइन । डीसीएमसीले गरेको निर्णय सबैले मान्नु पर्ने हुन्छ । जसले जे निर्णय गरे पनि सिंगो काठमाडौं बचाउन गर्ने हो । राम्रो निर्णय जसले गरे पनि कार्यान्वयन गर्न सघाउनु पर्छ । मैले गरेको निर्णय पनि गृह प्रशासनले कार्यान्वयन गर्नुपर्छ । गृह प्रशासनले गरेको पनि हामीले कार्यान्वयन गर्नु पर्ने हुन्छ ।

संघीय सरकारले अब उपत्यकाको कोरोना नियन्त्रण गर्न के गर्नुपर्छ ?

काठमाडौंमा संक्रमण फैलिन नदिन सिल गर्न ढिलाई हुँदैन । यो हामीले गर्न सक्दैनौं । अहिले तरकारी, एम्बुलेन्सको गाडीमा पनि बाहिरबाट आएको सुनिन्छ । यो रोकिनुपर्छ ।

बाहिरबाट आएका व्यक्तिलाई काठमाडौं महानगरले बनाएको क्वारेन्टाइनमा राख्न सकिदैन ?

कति जनालाई क्वारेन्टाइनमा राख्ने ? दैनिक लाखौं व्यक्ति आउँछन कसरी व्यवस्थित गर्न सकिन्छ ? काठमाडौंमा खुला ठाउँ छैन । क्वारेन्टाइन बनाउने ठाउँ कहाँ छ ? हरेक वडामा क्वारेन्टाइन बनाउने होइन । टाढा खुला ठाउँमा बनाउने र खर्च हामी मिलेर गरौं भन्ने मेरो मान्यता हो । कसले के गर्‍यो गरेन भन्दा पनि सुरक्षित हुन अपनाउनु पर्ने सतर्कता र मापदण्ड पालना गरौं ।

कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङ गर्ने काम स्थानीय तहको हो । तर, यसमा काठमाडौं महानगरले आफ्नो जिम्मेवारी पूरा गरेको छैन भन्ने आरोप छ नि ?

कन्ट्याक ट्रेसिङ गर्ने दायित्व हाम्रो हो । गरिरहेका छौं । हजारौंको कन्ट्याक ट्रेसिङ गरिरहेका छौं । कन्ट्याक्ट ट्रेसिङ गाह्रो होइन तर यो समाधान होइन । महाबौद्धमा ५ जना पोजेटिभ देखिएपछि उपचारको लागि पठायौं । ३ सय २ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्‍यौं । पीसीआर गरायौं । तर, प्रभावकारी भएन । कोही मान्छेको कन्ट्याक्टमा पुगेको सात दिनपछि पीसीआर गर्दा मात्रै प्रभावकारी हुन्छ ।

यसरी संक्रमितको संख्या हवात्तै बढ्नुको कारण के होला ?

लकडाउनको बेला उपत्यका शान्त नै थियो । संक्रमित देखिएको थिएन । लकाउन खुलेपछि भारत र विभिन्न जिल्लाबाट आएपछि संक्रमित भएको हो ।

संक्रमित बढेपछि वडास्तरबाट बजार पसल बन्द गराउने निर्णय गरिरहेको छ । अब के जहाँ संक्रमित देखियो त्यो वडाले बन्द गर्ने नीति हो ?

हिजो उही व्यापारीले पसल खोल्न दिएन भनेर आन्दोलन गरे । अहिले त्यही व्यापारीले बन्द गरिदिनु पर्‍यो भनिरहेका छन् । एक ठाउँमा बन्द गरेर सिल गरेर केही हुँदैन । गर्ने हो भने काठमाडौं उपत्यका सिल गर्नुपर्छ । महानगरभित्रै कोरोना संक्रमण फैलिएको छ । वडा कार्यालय बन्द गरेर समाधान हुँदैन । सील गर्ने भनेको क्षणिकमात्रै हो । कन्ट्याक्ट ट्रेसिङको लागि मात्रै हो । काठमाडौं बन्द गरेर ललितपुर बन्द समाधान होइन । क्षणिक मात्रै हो । नाका नै बन्द गर्नुपर्छ ।

प्रकाशित : श्रावण २५, २०७७ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्

गोंगबु घटना : हत्यारा खोज्न एसपीको नेतृत्वमा ५ टोली परिचालन

कान्तिपुर संवाददाता

काठमाडौँ — एक पुरुषको विभत्स रुपमा हत्या गरी गोंगबु/टोखा क्षेत्रमा फ्याँकेर भागेका हत्याराको खोजी गर्न महानगरीय अपराध महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा ५ वटा टोली परिचालन गरिएको छ ।

कार्कीको नेतृत्वमा महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगञ्जबाट हत्यारा खोज्न ५ टोलीलाई तैनाथ गरिएको हो । महाशाखा प्रमुख एसएसपी दिपक थापाले हत्यारा पत्ता लगाउन सुरक्षा संयन्त्रलाई परिचालन गरिएको बताए । शनिबार राती खुँडा प्रहार गरी एक पुरुषको हत्या गरेर टोखा नगरपालिका–१०, नवज्योती मार्गमा फ्याकिएको स्थानमा शव भेटिएको थियो ।

आइतबार बिहानै पार्किङ गरी राखेका ट्याक्सी र मारुती भ्यानको बीचमा सुटकेस फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरीले सुटकेस खोलेर हेर्दा टाउको र घुँडामुनी दुवै खुट्टा काटिएको अवस्थामा एकजना पुरुषको शव फेला पर्‍यो । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोली थप अनुसन्धानमा जुटे । प्रहरीको डग स्कुलबाट कुकुर पनि ल्याइयो । टाउको र खुट्टा बिनाको मृत शरीर भएकाले अनुसन्धानमा अलमलिएको प्रहरीलाई सहयोग गर्न डग स्कुलबाट ‘ब्लन्ट हन्ट’ कुकुर झिकाइएको थियो । ब्ल्नट हन्ट केही वर्ष अघिमात्रै प्रहरीले किनेको कुकुर हो ।

अनुसन्धानमा खटिएको टोली कुकुर अघि लगाएर बेपत्ता बनाइएको टाउको र खुट्टा अनि फरार व्यक्तिको खोजीमा जुटे । केहीबेरमै व्लन्टले सुटकेस भेटिएको ठाउँबाट करिब ३ सय मिटरपर स्वर्गद्धारी मार्गमा प्लास्टिकको झोलामा बेरिएको अवस्थामा टाउको र दुइटै खुट्टा फेला पार्‍यो ।

एसएसपी दिपक थापाका अनुसार टाउको हुलिया हेर्दा मंगोलियन समुदायका अन्दाजी ४४/४५ वर्षका पुरुषको शव भेटिएको हो । टाउको भेटिएको स्थानबाट कुकुर अघि बढ्यो । एसएसपी थापाका अनुसार १ किमीभन्दा पर चौबाटो रहेको सिद्देश्वर मन्दिरसम्म पछ्याएको थियो । तर, त्यहाँबाट कुकुर अघि नबढेका कारण हत्या गर्ने मानिस गाडी चढेर भागेको हुनसक्ने थापाले बताए । प्लास्टिक र सुटकेसमा भेटिएको ती पुरुषको क्षतविक्षत अवस्थाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

पोष्टमार्टममा संलग्न चिकित्सकको भनाई उदृत गर्दै एसएसपी थापाले शनिबार राति हत्या गरेर शव फ्याँकिएको बताए । ‘हत्या शनिबार राति भएको चिकित्सकहरुले उल्लेख गर्नु भएको छ, हाम्रो अनुसन्धानमा पनि ६ घण्टा अघि मारेर फ्याँकिएको हुनसक्ने देखिन्छ,’ थापाले भने, ‘अपराधीले छोडेका केही संकेतहरु फेला पारिसकेका छौं, छिट्टै हत्यारा पत्ता लगाइन्छ ।’

एसएसपी थापाले हत्याका पछाडि लेनदेन, खानपिन विवाद, झैझगडा, रिसइवीलगायत कारण पनि हुनसक्ने बताए । उनले कसैका आफन्त हराइरहेको र सम्पर्कबिहीन भएको भए प्रहरीमा खबर गर्न पनि अपील गरे । हत्याको घटना सबैले जानकारी पाउँदा पनि आफन्त सम्पर्कमा नआउनुले झनै रहस्यमय बनाइदिएको पनि बताए ।

प्रकाशित : श्रावण २५, २०७७ १९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×