कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘समुदायस्तरमा व्यापक संक्रमण देखिने सम्भावना छ’ [भिडियो]

स्वरूप आचार्य

नेपालमा १२० दिनको लकडाउन हटेसँगै पछिल्लो केही दिनयता फेरि संक्रमणको दर विस्तारै उकालो लाग्ने क्रममा छ । संक्रमणको दरसँगै मृत्यु हुनेको संख्या पनि बढेको छ । लकडाउनको अवधिमा भेटिएका संक्रमितमध्ये अधिकांश विदेशबाट फर्किएकाहरु थिए भने अहिले कहींकतै भ्रमण नै नगरेकाहरुमा पनि संक्रमण देखिन थालेको छ ।

‘समुदायस्तरमा व्यापक संक्रमण देखिने सम्भावना छ’ [भिडियो]

यसले नेपालमा संक्रमण समुदायस्तरमै पुगिसकेको हुनसक्ने आंकलन गर्न थालिएको छ । यस्तोमा नेपालको वास्तविक अवस्था के छ र यसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कसरी नियालिरहेको छ भनेर कान्तिपुरका लागि स्वरूप आचार्यले डब्लूएचओका नेपाल प्रतिनिधि डा. जस भ्यान्डलियरसँग गरेको कुराकानी :

कोभिड–१९ महामारीका सन्दर्भमा डब्लूएचओले नेपाललाई कसरी हेरिरहेको छ ?

नेपालमा संक्रमितको संख्या २० हजार पुगेको छ । त्यसमा पनि अधिकांश विदेशबाट आएकाहरू छन् । अझ भनौं, भारतबाट आएकाहरूमा संक्रमण बढी देखिएको छ । विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने, परीक्षण गर्ने र संक्रमण देखिए आइसोलेट गर्ने प्रक्रियालाई हामीले नजिकबाट नियालिरहेका छौं । नेपाल सरकारले यस्ता सबै व्यक्तिको तथ्यांक संकलन पनि गरिरहेको छ । तथ्यांक विश्लेषणमा हामीले पनि सहयोग गरिरहेका छौं ।

सरकारले गरिरहेको कन्ट्याक्ट ट्रेसिङ र संकलन गरिरहेको तथ्यांकमा डब्लूएचओ सन्तुष्ट छ ? काठमाडौंबाहिर त नाम मात्रको कन्ट्याक्ट ट्रेसिङ भइरहेको भन्ने सुनिन्छ ।

कन्ट्याक्ट ट्रेसिङमा धेरै सुधार गर्नुपर्ने देखिन्छ । कन्ट्याक्ट ट्रेसिङ सजिलो काम होइन । त्यसमा मिहिनेत पनि धेरै लाग्छ । धेरै जनशक्ति चाहिन्छ । त्यही स्थानका व्यक्ति भए बढी सहज हुन्छ । यो संक्रमितसँग कुरा गरेर धेरै सूचना कसरी लिने भन्ने पनि हो । तथ्यपरक सूचना प्राप्त गर्न विश्वासिलो वातावरण पनि हुनुपर्छ । भोलि संक्रमितको संख्या बढ्दै गए उनीहरू कहाँ र कसरी संक्रमित भए भनेर थाहा पाउन पनि कन्ट्याक्ट ट्रेसिङ निकै महत्त्वपूर्ण हुन्छ ।

यो महामारीविरुद्ध स्वास्थ्य मन्त्रालय तथा समग्रमा नेपाल सरकारले चालेका कदमप्रति डब्लूएचओ सन्तुष्ट छ त ?

महामारीले सबै देशका सरकारलाई चुनौती दिएको छ । धनी, गरिब सबै देश यसले सिर्जना गरेका अवस्थाका कारण समस्यामा छन् । कोरोना भाइरसबारे अझै धेरै कुरा पत्ता लागिनसकेकाले सबै सरकारलाई यसविरुद्ध कार्य गर्न अप्ठ्यारो परेको छ ।

नेपालमा धेरै निर्णय भएका छन् जुन मानिस बिर्सिन्छन् । नेपालले २ जनामा संक्रमण देखिनेबित्तिकै लकडाउन गर्ने निर्णय गर्‍यो । त्यसले धेरै हदसम्म यहाँ संक्रमण फैलन नदिन सहयोग पुर्‍यायो । अर्को कुरा बाहिरबाट आएका अधिकांश व्यक्तिलाई क्वारेन्टाइनमा राखेर परीक्षण गरियो । क्वारेन्टाइनको पूर्वाधारमाथि धेरै प्रश्न पनि उठे । तर, छोटो समयमा धेरै मानिस सीमाभित्र प्रवेश गरेपछि समस्या त हुने नै भयो । जे जस्तो भए पनि नेपालमा संक्रमणको दर कम हुनुमा त्यसको योगदान छ जस्तो हामीलाई लाग्छ । लकडाउन उपयोग गरेर सरकारले स्रोत साधन जुटाउन, पूर्वाधार विकास गर्न तथा तथ्यांक संकलनलाई सुधार गर्न पनि काम गरेको थियो । ६ महिनाअघि कोभिड–१९ को परीक्षणका लागि एउटा मात्रै प्रयोगशाला थियो, हाल २८ भन्दा बढी प्रयोगशालामा परीक्षण हुन थालेको छ । सुधार गर्नुपर्ने धेरै विषय छन् र त्यसको सम्भावना सधैं रहन्छ । एउटा गरिब मुलुकमा यस खालको समस्या देखिनु अपेक्षित पनि हो ।

नेपालमा लकडाउन सुरु भएका बेला छिमेकी देश भारतमा पनि त्यति धेरै संक्रमण देखिएको थिएन । अहिले त्यहाँको अवस्था भयावह छ । यस्तोमा भारतबाट आउनेलाई क्वारेन्टाइन गर्नु झनै महत्त्वपूर्ण देखिन्छ । के क्वारेन्टाइन केन्द्रहरूको अवस्थामा सुधार गरिएको छ त ?

बाहिरबाट नेपालको सीमाभित्र प्रवेश गर्नेहरू क्वारेन्टाइनमा बस्नुपर्ने नीति नेपाल सरकारले बनाएको छ । केही महिनाअघि ठूलो संख्यामा नेपाली एकैपटक फिर्ता आएपछि समस्या भएको थियो । सरकारलाई क्वारेन्टाइन केन्द्रहरूमा मानिस राख्नै समस्या भएको सत्य हो । सुरुका दिनमा स्थिति यति भयावह बन्यो कि क्वारेन्टाइनमा रहेका मानिसले धेरै सास्ती बेहोर्नुपरेको देखियो । तर, समय बित्दै जाँदा क्वारेन्टाइन केन्द्रहरूको अवस्थामा पनि सुधार भए जस्तो लाग्छ । त्यसमा सुधार गर्न सरकारले पनि खर्च गरेको छ र आउने मान्छे पनि घटेकाले पहिलाभन्दा केही व्यवस्थित भएको जस्तो देखिन्छ । भोलिका दिनमा सीमा पूर्ण रूपमा खुला हुँदा फेरि समस्या आउन सक्छ । किनभने भारतमा संक्रमितहरूको संख्या धेरै बढेको छ । भारतसँग सीमा जोडिएका नेपाली क्षेत्रमा त्यसको दबाब पक्कै देखिन्छ ।

विज्ञहरूका अनुसार हामीकहाँ परीक्षणको दायरा साँघुरो छ, त्यसैले पनि यहाँ संक्रमितको संख्या कम देखिएको हो । तपाईंलाई के लाग्छ ?

नेपालको अवस्था अलि विशेष प्रकारकै छ । यहाँ भेटिएका अधिकांश संक्रमित लक्षणरहित छन् । यो अवस्थामा कसलाई परीक्षण गर्ने र कसलाई नगर्ने भन्ने द्विविधा देखिनु स्वाभाविक हो । सबैको परीक्षण गर्न कहीँ पनि सम्भव हुँदैन । सरकार संक्रमणको सम्भावित जोखिम भएकाहरूको मात्रै परीक्षणमा केन्द्रित हुनु ठीकै हो । नेपालमा विदेशबाट आएकाहरूको परीक्षण गर्नलाई प्राथमिकता दिइयो । परीक्षण गरेर संक्रमित पाइएका मध्ये ९० प्रतिशत त बाहिरबाट आएकाहरू नै छन् । त्यसमा केही गलत भयो जस्तो लाग्दैन ।

  • संक्रमण नियन्त्रण गर्नका लागि व्यक्तिगत सुरक्षाका उपायको पालना नगर्ने हो भने पुनः लकडाउन गर्नुपर्ने अवस्था आउनसक्छ ।
  • संक्रमितहरुको संख्या बढ्दै गएमा उनीहरु कहाँ र कसरी संक्रमित भए भनेर थाह पाउन पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ निकै महत्वपूर्ण हुन्छ ।
  • आजको दिनमा परीक्षणको दायरा सन्तोषजनक नै मान्नुपर्छ ।
  • परीक्षणको गुणस्तरसँग हामी सन्तुष्ट छौं ।
  • लकडाउन खुलेसँगै मानिसहरु कोभिड महामारीपूर्वकै अवस्थामा आफ्नो दैनिक कार्य बिनाकुनै सावधानी गरिरहेका छन् ।
  • नेपालमा अहिले देखिएको २० हजार संक्रमितले यहाँको सम्पूर्ण जनसंख्याको प्रतिनिधित्व गर्दैन ।

भोलिका दिनमा केन्द्रित भएर सरकारले परीक्षणको नयाँ मापदण्ड सार्वजनिक गरिसकेको छ । जसमा सामान्य लक्षण देखिए पनि परीक्षण गरिने भनिएको छ । परीक्षणको दायरालाई पनि फराकिलो बनाइएको छ । फ्रन्टलाइनमा बसेर काम गर्नेहरूको परीक्षणमा पनि जोड दिइएको छ । के हालसम्म गरिएको परीक्षणको संख्या ठीक छ त भन्ने प्रश्नका लागि अहिलेसम्म भएका परीक्षण र संक्रमित देखिएको दरलाई आधार मानेर विश्लेषण गर्नुपर्ने हुन्छ । नेपालमा त्यसको दर ४–५ प्रतिशत हाराहारी छ । जुन दर डब्लूएचओले राम्रो मानेको दरसँग मेल खान्छ । त्यसैले अहिले परीक्षणको दायरा सन्तोषजनक नै मान्नुपर्छ । संक्रमणको अवस्थालाई हेरेर यसलाई बढाउँदै लैजानुपर्ने हुन सक्छ ।

के डब्लूएचओले नेपालमा भइरहेको परीक्षणको गुणस्तर तथा परीक्षणका लागि प्रयोग भइरहेका सामग्रीको गुणस्तर पनि अनुगमन गरिरहेको छ ?

हामी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग निकै नजिकमा रहेर काम गरिरहेका छौं । परीक्षणको गुणस्तरलाई मापन गर्ने दुई वटा माध्यम छन् । एउटा आन्तरिक हो, जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नै सबै प्रयोगशालामा भइरहेको परीक्षणको अनुगमन गर्छ । अर्को भनेको बाह्य हो, त्यसमा हामी बाहिरका प्रयोगशालाबाट नमुना ल्याएर यहाँ परीक्षण गर्छौं र त्यसको नतिजा कस्तो छ भनेर हेर्छौं ।

त्यसको मतलब परीक्षणको गुणस्तरबाट तपाईं सन्तुष्ट हुनुहुन्छ ?

हो, आजको दिनसम्म हामी सन्तुष्ट छौं ।

अहिले नेपालमा समुदायस्तरमा नै संक्रमण फैलिसक्यो भन्ने चर्चा हुन थालेको छ । यसमा डब्लूएचओको धारणा के छ ? नेपालमा संक्रमणको अवस्था के हो ?

अहिले केही संक्रमित त्यस्ता पनि देखिएका छन् जसको कुनै भ्रमणको इतिहास छैन । उनीहरूले भ्रमण गरेका छैनन् भने संक्रमण कसरी भयो भन्ने प्रश्न उठ्छ । उनीहरूलाई त्यो समुदायबाटै सरेको हो कि भन्ने आशंका उब्जिन्छ । समुदायस्तरको संक्रमण हो या होइन भन्ने हुँदैन । यसमा सानो स्तरमा, ठूलो स्तरमा र धेरै ठूलो स्तरमा भन्ने हुन्छ । नेपालमा भने अहिले त्यो निकै सानो स्तरमा (केही स्थानीय क्षेत्रमा) मात्रै रहेको देखिन्छ । जस्तै कि कुनै गाउँमा ४/५ जनामा मात्रै सीमित भएको वा दुई/तीन वटा परिवारसम्ममा फैलिएको पाइन्छ । धेरै ठूलो क्षेत्रमा फैलिएको अहिले देखिएको छैन । एउटै ठाउँको धेरै गाउँ, टोल वा समुदायमा फैलिएको छैन । भविष्यमा भने त्यस्तो हुन सक्छ ।

अहिले स्थानीयस्तरमा देखिएको संक्रमण फैलिएर समुदायलाई नै संक्रमित बनाउने सम्भावना देख्छौं । त्यो म किन भनिरहेको छु भने मानिसले संक्रमणबाट जोगिन अपनाउनुपर्ने उपायलाई गम्भीरतापूर्वक पालना गरेको देखिँदैन । मानिसहरू कोभिड महामारीपूर्वकै अवस्थामा आफ्नो दैनिक कार्य सावधानीबेगर गरिरहेका छन् । जमघट भइरहेको छ । रेस्टुरेन्टमा जम्मा भएर गफ गरिरहेका हुन्छन् । पसल वा बाटोमा पनि सामाजिक दूरी कायम भएको देखिँदैन । मास्कको प्रयोग पनि गरेका छैनन् । यस्तो व्यवहार गरेर हामीले समुदायस्तरको संक्रमणलाई आफैं आमन्त्रण गरिरहेका छौं ।

त्यसको मतलब हामी समुदायस्तरको संक्रमणतर्फ अग्रसर भइरहेका छौं ?

हो, समुदायस्तरमा व्यापक संक्रमण देखा पर्न सक्छ ।

हामीकहाँ ठूलो मात्रामा समुदायस्तरमा संक्रमण फैलियो भने धेरै मानिसलाई अस्पतालको सेवा चाहिन सक्छ । के हाम्रो स्वास्थ्य क्षेत्र त्यो अवस्थाका लागि तयार छ ?

त्यसको तयारीका लागि धेरै काम भइरहेका छन् । लक्षणसहितका संक्रमितमा पनि ८० प्रतिशतलाई सामान्य रुघाखोकी लागे जस्तो मात्रै हुन्छ भने करिब १५ प्रतिशतलाई उपचार आवश्यक पर्न सक्छ र करिब ५ प्रतिशतलाई मात्र आईसीयूको सुविधा चाहिन्छ । त्यसैले लक्षणसहितका संक्रमितहरूको संख्या कति हुन्छ भन्नेमा पनि धेरै कुरा निर्भर गर्छ । तर, यहाँ अस्पतालको क्षमता सीमित छ, त्यो सत्य हो । उपचार आवश्यक पर्ने बिरामीको संख्यामा बढोत्तरी भए अस्पतालमा धेरै दबाब बढ्ने निश्चित छ ।

डब्लूएचओले विभिन्न देशमा भइरहेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको विकास तथा उपचारमा सहयोगी औषधिको प्रयोगलाई कसरी नियालिरहेको छ ?

लगभग १२८ वटा समूह भ्याक्सिन विकासमा जुटिरहेका छन् । ती सबै विभिन्न चरणमा छन् । केहीको त मान्छेमै अन्तिम परीक्षण भइरहेको छ । हामीलाई अझै पनि कुन भ्याक्सिनले पूर्ण रूपमा काम गर्छ भन्ने थाहा छैन । ती सबै कति सुरक्षित छन्/छैनन् भनेर अनुसन्धान गर्नुपर्ने हुन्छ ।

डब्लूएचओले सबै भ्याक्सिनको अनुसन्धानलाई नजिकबाट नियालिरहेको छ । जसका कारण हामीलाई कुन समूहले विकास गर्न लागेको भ्याक्सिन कुन चरणमा पुगेको छ भन्ने यकिन छ । भ्याक्सिनको विकास भएको खण्डमा त्यसको उत्पादनलाई कसरी बढाउन सकिन्छ भनेर पनि छलफल भइरहेको छ । सुरुका दिनमा कसलाई भ्याक्सिन उपलब्ध गराउने भन्ने नीतिमा पनि छलफल भइरहेको छ । जस्तो कि सबैभन्दा पहिला चिकित्सकलाई दिनुपर्ने हुन सक्छ । त्यसपछि भ्याक्सिन कसरी सबैलाई सुलभ मूल्यमा उपलब्ध गराउने भनेर छलफल भइरहेको छ । नेपाल जस्ता गरिब देशलाई भ्याक्सिनका लागि पैसा तिर्न समस्या हुन सक्छ । यस्तोमा कसरी उपलब्ध गराउने भन्ने प्रणालीको विकास पनि भइरहेको छ । भ्याक्सिनको विकास एउटा पाटो हो भने विकास भएको अवस्थामा सबैले सुलभ तरिकाले भ्याक्सिन लगाउन पाउन् भन्ने अर्को पाटो हो ।

उपचारको पाटोमा पनि धेरै कार्य भइरहेका छन् । अहिले मुख्य गरेर चार वटा उपचार मापदण्डमा अनुसन्धान भइरहेको छ । त्यसमा पनि डब्लूएचओले विश्वभरका चिकित्सकहरूसँग समन्वय गरिरहेको छ । जस्तो कि यस्तै अनुसन्धानपछि क्लोरोक्विनले काम गर्दैन भनेर प्रमाणित भइसकेको पनि छ ।

नेपालमा मृत्युदर कम हुनुमा यहाँको खानपान, रहनसहन पनि कारण हो भन्ने बुझाइ छ । हाम्रा प्रधानमन्त्रीले पनि धेरै फोरम त्यस प्रकारको अभिव्यक्ति दिनुभएको छ । वैकल्पिक उपचार पद्धतिबारे तपाईंको धारणा के छ ?

यसको सिधा जवाफ के हो भने अहिले धेरैजसो संक्रमित विदेशबाट फर्किएकाहरू छन् । उनीहरू सामान्यतया २१ देखि ४० वर्षका युवक छन् । भारतमा काम गर्न जाने भनेका पनि युवा पुरुषहरू नै हुन् । र, यो संक्रमणका कारण युवा उमेरको जनसंख्यामा ठूलो क्षति कहीँ पनि भएको देखिँदैन । नेपालमा पनि त्यही देखिएको हो । नेपालमा अहिले देखिएको २० हजार संक्रमितले यहाँको सम्पूर्ण जनसंख्याको प्रतिनिधित्व गर्दैन । त्यसमा स्पष्ट हुनुपर्छ । यो विदेशबाट फर्किएकाहरूको संख्या मात्रै हो, जसमा ८५ प्रतिशत युवा छन् । यो उमेर समूहमा त कोरोना भाइरस मृत्युको कारण हुनु अपवाद मात्र हो । त्यसैले अन्य भनाइ वा दाबीको खासै ठूलो अर्थ छ जस्तो लाग्दैन ।

यहाँ संक्रमितहरूको संख्यामा बढोत्तरी भयो भने स्वास्थ्य पूर्वाधारका कारण हामीले धेरै कम क्षति हुन्छ भनेर आकलन गरेकै उमेर समूहमा पनि धेरै मृत्यु हुने सम्भावना कत्तिको छ ?

विश्वमा अहिले कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ देखि ५ प्रतिशतको बीचमा छ । नेपालमा त्यो दर एक प्रतिशतभन्दा पनि कम छ । संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि बढ्न सक्छ । संक्रमण समुदायमा विस्तार भएपछि त अन्य उमेर समूहकाहरू पनि संक्रमित हुन्छन् । यसको मतलब सबै उमेर समूहमा जोखिम बढ्छ तर बढी उमेर भएकाहरूको समूहमा मृत्युदर बढ्न सक्छ । जति उमेर कम भयो, मृत्युको सम्भावना त्यति नै कम हुन्छ भन्ने हो ।

कोरोना भाइरसका कारण कम मृत्यु हुन्छ भनेको उमेर समूहमा रहेकाहरूमा यही महामारी, लकडाउनलगायतका विभिन्न कारणले आत्महत्या गर्ने दर भने बढेको देखिन्छ । त्यसलाई नियन्त्रण गर्नका लागि पनि डब्लूएचओले केही गरेको छ ?

यो महामारीमा हामीले भौतिक विषयमा मात्रै ध्यान केन्द्रित गरेका छौं तर यसले मानसिक स्वास्थ्यमा पनि धेरै दबाब बढाएको कुरा ठीक हो । यो महामारीले फ्रन्टलाइनमा काम गर्ने चिकित्सकदेखि आममानिस सबैमा मानसिक दबाब सिर्जना गरेको छ । जब भोलि के हुन्छ भन्ने केही पनि निश्चित हुँदैन तब मानिसमा झन् बढी चिन्ता, तनाव र मानसिक दबाब बढ्छ । कसैलाई पनि यस्तो अवस्थामा रहने मन हुँदैन । भोलि हामीलाई स्वास्थ्य वा आर्थिक हिसाबले के हुन्छ भनेर थाहै छैन । नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र सन्तोषजनक रूपमा विकास भएको छैन ।

हामी सरकारसँग समन्वय गरेर तल्लो तहमा काम गर्ने प्राथमिक स्वास्थ्यकर्मीलाई पनि मानसिक स्वास्थ्यबारे केही जानकारी दिन लागिपरेका छौं । भोलि कसैमा मानसिक स्वास्थ्य समस्या देखियो भने त्यसलाई कसरी सम्बोधन गर्ने भनेर प्रशिक्षित गर्दै छौं ताकि त्यो समयमा नै पत्ता लागोस् र त्यो व्यक्तिको उपचार सम्भव होस् । सबैलाई विशिष्टीकृत उपचार नै चाहिन्छ भन्ने पनि हुँदैन । त्यो पाटोमा पनि काम गरिरहेका छौं । यसमा कोभिडपछिको अवस्थालाई पनि दृष्टिगत गरिएको छ । तर मानसिक स्वास्थ्यका लागि वरपरको सामाजिक अवस्थालाई पनि जागरुक बनाउन जरुरी हुन्छ ।

के हामी अर्को लकडाउनतर्फ अगाडि बढिरहेका हौं ?

त्यो डब्लूएचओले गर्ने निर्णय होइन । लकडाउन गर्ने या नगर्ने निर्णय सरकारले गर्ने हो । नेपालमा संक्रमितहरूको संख्या बढ्ने सम्भावना देखिन्छ । पहिला देखिएका संक्रमितहरूमा विदेशबाट आएकाहरू धेरै थिए । अब समुदायमा संक्रमण देखिए, त्यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । त्यसैले सबैले संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि व्यक्तिगत सुरक्षाका उपाय गम्भीरतापूर्वक पालना गर्न जरुरी छ । हामीले ती उपाय पालना गरेनौं भने सरकारले संक्रमण नियन्त्रणका लागि मानिसलाई सामाजिक दूरी कायम गर्न बाध्य पार्नका लागि फेरि लकडाउन घोषणा गर्न सक्छ । लकडाउन स्थानीयस्तरको पनि हुन सक्छ वा देशैभरको पनि हुन सक्छ । पूर्ण लकडाउन नभएर विभिन्न तहको लकडाउन पनि हुन सक्छ ।

भिडियो

प्रकाशित : श्रावण १८, २०७७ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?