कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

‘अब जहाँ संक्रमण देखिन्छ, त्यहाँ सिल’

जनकराज सापकोटा

लक्षणसहितका कोरोना संक्रमित र संक्रमितहरुको मृत्यु संख्या बढेसँगै जोखिम थप बढेको देखिन्छ । कोरोना संक्रमण नियन्त्रणका निम्ति सरकारी निकायहरुसँगको समन्वय गरिरहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तत्कालै लकडाउन गरिनहाले पनि संक्रमणको विस्तार रोक्न आवतजावतमा कडाइ गर्ने र संक्रमण देखिएका क्षेत्रमा सिलबन्दी गर्ने नीति अगाडि सारेको छ ।

‘अब जहाँ संक्रमण देखिन्छ, त्यहाँ सिल’

राजधानीलगायत केही सहरमा देखिएको बढ्दो संक्रमण र सरकारको आगामी बाटोबारे कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सचिव महेन्द्र गुरागाईंसँग जनकराज सापकोटाले गरेको कुराकानीको मुख्य अंश :

  • काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ, सीसीएमसीले यसलाई कसरी हेरिरहेको छ ?

–बिहीबार निर्देशक समितिको बैठक बसेको थियो । बैठकमा शंकास्पद स्थानहरूमा परीक्षण दायरा बढाउने, बाहिरबाट आउनेमा बढी संक्रमण देखिएकाले त्यस्तो आवातजावतलाई नियन्त्रण गर्ने, भारतबाट आउने नाकामा क्वारेन्टाइन बनाएर १४ दिन राखी संक्रमण नभएको पुष्टि भएपछि मात्रै गन्तव्यमा जान दिने र कुनै स्थानमा संक्रमण देखियो र त्यो बढ्ने सम्भावना देखियो भने त्यो क्षेत्रलाई सिल गरेर परीक्षण बढाउने रणनीतिमा छलफल भएको थियो ।

  • प्रहरी प्रधान कार्यालय, सभामुख निवासमा कार्यरत र सीमा नाकामा कार्यरत प्रहरीहरूमा पनि संक्रमण देखिएको छ । यसलाई कसरी हेर्नुभएको छ ?

–जोखिम भएका सम्भावित ठाउँहरूमा परीक्षण गरेर फिल्टर गर्ने र संक्रमितहरूलाई आइसोलेसनमा राख्ने हो । अहिले बाहिरबाट आउनेलाई कन्ट्रोल गर्ने नै मुख्य काम हो ।

  • तपाईंहरूले कुन कुरालाई सम्भावित खतरा ठान्नुभएको छ ? सुरक्षाकर्मीमा बढ्दो संक्रमण, राजधानी, वीरगन्ज र सप्तरीमा देखिएको ठूलो संख्याको संक्रमण वा अरू केही ?

–संक्रमणको प्रकृति पहिलेको भन्दा फरक छ । लक्षणसहितका संक्रमित देखिन थालेका छन् र संक्रमितको मृत्यु पनि बढ्दै गएको छ । यो सबैभन्दा ठूलो खतरा हो । सुरक्षाकर्मी ब्यारेकमा बस्ने भएकाले एक जनाबाट धेरैमा संक्रमण सर्ने सम्भावना रहन्छ । त्योभन्दा पनि परिवारमा बूढाबूढी, रोगी र अशक्त मानिसमा संक्रमण सर्‍यो भने जोखिम झनै बढ्छ । त्यसैले जहाँ संक्रमण देखिन्छ, त्यो ठाउँलाई सिल गरेर नियन्त्रण गर्ने हो । अनि बाहिरबाट आउनेलाई रोक्ने भन्ने नै हो ।

  • काठमाडौं उपत्यकामा बढ्दो संक्रमणलाई लिएर केही विशेष निर्णय हुन सक्ने सम्भावना छ ?

–छुट्टै रणनीति त छैन । संक्रमित देखिएको क्षेत्रलाई सिल गर्ने, त्यहाँका सम्भावितको परीक्षण गर्ने र संक्रमितलाई आइसोलेसन गर्ने भन्ने नै अहिलेको प्राथमिकता हो ।

  • लकडाउन खुलेसँगै चहलपहल बाक्लो भएको, खोल्न अनुमति नदिइएका पसल पनि खुलेको भन्ने विषयमा के भन्नुहुन्छ ?

–अब गृह प्रशासनले यसको नियन्त्रण गर्छ । वाणिज्य मन्त्रालयले पसलहरूको अनुगमन गर्छ । खोल्न पाउने भनिएका बाहेक पसल बन्द गर्ने विषयमा निर्देशन भइसकेको छ । होटल र रेस्टुरेन्टहरू पनि मापदण्डबाहिर रहेर सञ्चालन भइरहेका छन् भन्ने छ । त्यसको पनि अनुगमन हुनेछ । सम्बन्धित क्षेत्र हेर्ने मन्त्रालयहरूले त्यसको अनुगमन गर्छन्, गृह मन्त्रालयले त्यसमा सघाउ पुर्‍याउँछ ।

  • लकडाउन खुलेपछि कोरोना नियन्त्रण गर्ने सन्दर्भमा सरकारी र नागरिक तहबाट कहाँ–कहाँ कमजोरी भयो भन्ने लाग्छ ?

–विदेशबाट आउने र उपत्यका बाहिरबाट भित्रिनेहरूबाटै संक्रमणको जोखिम बढ्यो भन्ने छ । बाहिरबाट आउनेलाई कसरी आइसोलेसनमा राख्ने र कसरी परीक्षण गर्ने भन्ने अहिलेको चुनौती हो ।

  • राजधानी भित्रिनेको स्वाब संकलन गर्न थालिएको छ तर स्वाब दिएकाहरू अरू मानिसहरूसँगै मिसिएर घरसम्म पुग्ने र सामूहिक रूपमा बस्ने गरेको देखिएको छ हैन ?

–उपत्यका भित्रिनेहरूलाई नाकामै स्वाब संकलन गरेर परीक्षण गरिएको छ । त्यसरी स्वाब दिएकालाई होम क्वारेन्टाइनमा बस्ने गरी पठाइएको छ ।

  • यो कत्तिको प्रभावकारी भएको देख्नुहुन्छ ? होम क्वारेन्टाइनको नियम पालना नगर्ने प्रवृत्तिबाट खतरा बढेको छ ?

–नागरिक आफैं सचेत हुनुपर्छ । तपाईं–हामी जोकोहीले पनि जता पायो त्यतै गइदिने, समूहमा बस्नेजस्ता गतिविधि गर्नु हुँदैन । त्यो नगर्ने हो भने त जोखिम बढ्छ । परिवारभित्रै सर्ने जोखिम रहन्छ ।

  • समुदाय तहमा कोरोना संक्रमण फैलिएको छैन भन्नेमै सरकारी अधिकारीहरू अडिग देखिन्छन् । जब कि अरू जनस्वास्थ्यकर्मीहरू यो मान्न तयार छैनन् नि ?

–यो त तपाईंहरूले विश्लेषण गर्ने कुरा हो । अहिले आएको तथ्यांकका आधारमा स्वास्थ्य मन्त्रालयले भनेकै छ । समुदायमा संक्रमण फैलियो भनेर भन्ने अवस्था छैन । संख्या बढेको हुनाले समुदायमा संक्रमण गयो भनेर व्याख्या गर्ने काम पनि भइरहेको छ । जस्तो कि एक जनालाई संक्रमण भयो र त्यसबाट ब्यारेकमा सर्‍यो भन्दैमा समुदायमा संक्रमण गयो भन्न मिल्दैन । परिवारमा संक्रमण भएको वा टोलमा देखिएको संक्रमणलाई डब्लूएचओले ‘क्लस्टर’ संक्रमण भनेको छ, त्यही हो ।

प्रकाशित : श्रावण १८, २०७७ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?