२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

‘कोभिड-१९ उपचारमा प्रभावकारी केही एन्टिभाइरलका लागि अनुमति दिने प्रक्रियामा छौं’

बुनु थारु

काठमाडौँ — विश्‍वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको औषधि अहिलेसम्म पत्ता लागेको छैन । तर विभिन्न मुलुकले रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि केही औषधिहरु चलाइरहेका छन् ।

‘कोभिड-१९ उपचारमा प्रभावकारी केही एन्टिभाइरलका लागि अनुमति दिने प्रक्रियामा छौं’

यसै सन्दर्भमा कोरोना भाइरसको महामारी र लकडाउनले गर्दा औषधि आपूर्तिमा परेको अप्ठ्यारो, औषधि अनुगमन लगायतका विषयमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालसँग बुनु थारुले गरेको कुराकानी :

लकडाउनयता औषधिको आयात कसरी भइरहेको छ ? कत्तिको सहज छ ?

नेपालमा एलोपेथिक औषधि तयारी अवस्थामा तथा कच्चा पदार्थका रुपमा पैठारी भइ आउँछ । नेपाली उत्पादकहरुले कच्चा पदार्थ ल्याउँछन् भने पैठारीकर्ताहरुले तयारी औषधि बाहिरबाट ल्याएर वितरण गर्छन् । त्यसको आपूर्ति व्यवस्थापन पनि सरकारी तथा निजी स्तरमा हुने गरेको छ । लकडाउन सुरु भएपश्चात सुरुका दिनमा कोभिड–१९ को महामारीलाई दृष्टिगत गरेर अभाव हुनसक्ने खालका केही औषधिको निश्चित सूची तयार पारेका थियौं । स्वास्थ्य मन्त्रालयले पनि ती औषधिको स्वीकृति दियो । त्यही औषधिको हामीले मनिटरिङ गर्‍यौं । खास गरेर निजी व्यवसायीहरु जसले पैठारी गर्छन् र केही औषधि स्वदेशमा बनाउनेहरुले पनि नेपाली उद्योगहरुलाई त्यो सूचना माग गर्‍र्यौं र सानो एप पनि बनायौं । अनलाइनमा त्यसको सूचना दिने व्यवस्था मिलायौं र मनिटर गर्दै गयौं । त्यसमा अभाव देखिएका औषधिको हकमा भने के कस्तो परिमाणमा उपलब्ध छ र बजारमा साँच्चै अभाव छ कि छैन भनेर यकिन गर्ने काम पनि गर्‍याैं।

दोस्रो भनेको नेपाली उद्योगलाई उनीहरुसँग भएका कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गर्न र अभावको हुन नदिन अनुरोध गर्‍याैं । यहाँका उद्योगीले उत्पादन गरेर सहयोग नै गरे । तेस्रो भनेको, भारतबाट वा अन्य मुलुकबाट आउने औषधिको भन्सार सहजीकरणका लागि हामीले प्रयास गर्‍र्यौं । त्यसैगरी वाणिज्य विभागसँग र मन्त्रालयसँग समन्वय गरेर रोकिएका जति पनि औषधि थिए तिनीहरुलाई नेपाल भित्र प्रवेश गराउने र आन्तरिक ढुवानीको लागि पनि स्थापित गर्न प्रशासनसँग समन्वय गरेर सहजीकरणका लागि काम गर्‍याैं । यसमा हामी निरन्तर लागि परेका छौं ।

बजारमा औषधि अभाव नहुन दिनका लागि केही औषधिलाई विशेष सिफारिस दिएर बाहिरबाट नेपालमा आयात गर्न अनुमति पनि प्रदान गरेका छौं । अहिलेसम्म औषधिको अभाव भएको छैन ।

यो समयमा कति औषधि आयात भए ?

कति औषधि आए भनेर यकिनका साथ भन्न सकिँदैन । किनभने, हरेक पैठारीकर्ताले आफूले ल्याएको औषधि के कति ल्यायो त्यसको निरन्तर रिपोर्टिङ नगरेसम्म हामी तथ्यांक राख्न सक्ने अवस्थामा छैनौं । भन्सारमा उसले पैठारी गरेको मूल्य तथा संख्या कति छ भन्ने विवरण हामीले नपाएसम्म भन्न सकिँदैन । मोटामोटी अहिले बजारमा जुन किसिमको माग र आपूर्तिको अवस्था हेर्दा सामान्य तरिकाले चलिरहेको अवस्था छ भन्ने बुझिएको छ ।

बजारमा औषधि अभाव छैन भन्नुभयो, विभिन्न ठाउँमा जस्तै क्वारेन्टाइनमा औषधि नपाएर मृत्यु भएका खबर आएका छन् त ?

क्वारेन्टाइनमा औषधि नपाएर मृत्यु भएको मेरो जानकारीमा आएको छैन । यसबारे सूचना थाहा पाए हामी खोजी गर्छौं । क्वारेन्टाइन नै त उपचार केन्द्र होइन । औषधि नपाए अस्पताल लगिनुपर्थ्यो ।

तर, लामो समयदेखि औषधि खाइरहेका केही व्यक्तिले नपाएको पनि हुनसक्छ । त्यसमा बुझ्नुपर्ने देखिन्छ । औषधि अभाव छैन । कति स्टक होला भन्नुपर्दा व्यवसायीहरुका अनुसार ६ महिनालाई औषधि पर्याप्त छ भनेर भनेका थिए । तर, औषधि बीचमा खपत भएन भन्ने कुरा पनि थियो । तर, अभाव छैन । निरन्तर पैठारी र उत्पादन प्रक्रिया चलिरहेको र आपूर्ति भइरहने हिसाबले अभाव भएको छैन ।

भिडियो कुराकानी हेर्नुहोस्

कोरोना भाइरससँगै मास्क, स्यानिटाइजर लगायतका मेडिकल सामाग्रीहरु ब्रिकी वितरण भइरहेका छन् ? त्यस्ता वस्तुको गुणस्तरलाई कसरी अनुगमन गरिराख्नु भएको छ ?

यसको अनुगमन हाम्रो नियमित क्रियाकलाप भित्रै पर्छ । विगत आर्थिक वर्षमा र लकडाउन तथा बन्दाबन्दीकै समयमा पनि हाम्रा निरीक्षकहरु बजारमा खटिएर उजुरीहरुको अनुगमन गर्ने काम पनि भइरहेकै थियो । अहिले पनि गरेका छौं ।

स्यानिटाइजरको कुरा गर्दा चैत्र ९ पछि मापदण्ड बनाएर दर्ता तथा नियमन प्रक्रिया अगाडि बढाएका थियौं । मास्क लगायतका अन्य वस्तूहरुको नियमन चाहिँ गरेका छैनौं । यसमा अरु संस्थाहरुसँग समन्वय गरिरहेका छौं । यसका लागि नापतौल तथागुणस्तर विभागसँग पनि समन्वय गर्ने गरेका छौं । यी सामाग्री नेपालमा पनि उत्पादन भइरहेका छन् । औषधि विभागको पुनःसंरचनाको क्रम चलिरहेको हुँदा त्यस्ता सामग्रीलाई स्वास्थ्य वस्तुकै रुपमा नियमन गर्ने सोचाइ चाहिँ छ ।

पहिले मास्क लगायतका सामानको बजार मूल्य बढी भयो भन्ने पनि थियो । तर, अहिले आपूर्ति बढी भएकाले मूल्यमा पनि कमी आएको छ ।

स्यानिटाइजर उत्पादनको लागि म्याद थपिएको विषयमा औषधि उत्पादक संघले आन्दोलन गरिरहेको छ ? कत्तिको जायज छ ?

स्यानिटाइजरको मागको बारेमा खासमा आन्दोलन गर्ने विषय त होइन । हामीले लकडाउनभन्दा अघि निश्चित मापदण्डमा आउनुस्, ३ महिना समय छ भनेका थियौं । लकडाउन भयो तत्पश्चात व्यवसायी, उत्पादनकर्ता तथा पैठारीकर्ताका सरसामान कोही बोर्डरमा अड्किएको लगायत समस्या तथा अनिश्चितताको बीचमा लकडाउन अघि बढ्यो । उनीहरुलाई मापदण्डमा आउन समय पुगेन । त्यसैले लकडाउनको मोडालिटीमा केही परिवर्तन भएपछि थप ३ महिना दिनुपर्छ भनेर स्वाभाविक रुपमा थपेको हो । यो आन्दोलन गर्नुपर्ने विषय होइन ।

नेपाली औषधि उद्योग जो विदेशमा उत्पादन हुने औषधि बनाउने क्षमता राख्छन् । यस्तै ३६ वटा स्यानिटाइजरका फर्महरुलाई अनुमति(लाइसेन्स) दिइसकेका छौं । केही फार्मेस्युटिकल उद्योग नभएपनि स्यानिटाइजरको व्यापार व्यवसाय गरिरहेकाको क्षमता अभिवृद्धि गर्दै औषधि उद्योगको रुपमा अग्रसर हुन चाहनेको ३–४ वटा आवदेन पनि आएको छ । त्यसैगरी विदेशबाट ल्याउनको लागि पनि १ देखि २ वटा आवेदन आएको छ । हामीले उनीहरुलाई लाइसेन्स दिइसकेका छैनौं । मूल्यांकनको क्रममा रहेको छ । मूल्यांकन पछि लाइसेन्स दिने/नदिने निर्णय गर्छौं ।

कोरोना भाइरस संक्रमितको उपचारमा केही एन्टिभाइरल औषधिको प्रयोग राम्रो हुने समाचारहरु आइरहेका छन् । त्यस्ता औषधिलाई अनुमति दिने प्रक्रियामा के गर्दैछ विभाग ?

कोभिड–१९ को उपचारमा सहयोगी मानिएका केही एन्टिभाइरललाई अनुमति दिने प्रक्रियामा छौं । खास गरेर जसको प्रभावकारिता स्थापित भएका छन् । त्यस्ता औषधिलाई एउटा निश्चित मापदण्ड बनाएर नयाँ औषधिका रुपमा अनुमति दिने कानुनी व्यवस्था छ, त्यही अनुसार गर्छौं ।

कोरोना संक्रमणलाई नै उपयोगी हुने केही औषधि आए भने छिटो अनुमति दिएर बजार तथा बिरामीलाई उपलब्ध गराउने सोचमा छौं । यसमा हाम्रो छलफल भइरहेको छ । ‘रेम्डेसिभिर’ र ‘फ्याबिपिराभिर’को लागि आवेदन आएको छ । दुवै एन्टिभाइरल औषधि हुन् । यी औषधि अन्य भाइरल संक्रमणका लागि प्रयोग हुने एन्टिभाइरल औषधि हुन् । यी कोभिड–१९ उपचारका लागि पनि उपयोगी छ भनेर विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा लेखहरु प्रकाशित पनि भएका छन् ।

मारवाडी सेवा समितिले कोभिड–१९ विरुद्ध उपयोगी भनेर होमियोप्याथिक औषधि खुलेआम वितरण गर्‍यो । विभागले यसमा केही निरीक्षण गरेन ?

मारवाडी सेवा समितिले सुरुमा औषधिको अनुमति दिनुपर्‍यो भनेर प्रमाणिकरणका लागि आएको थियो । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्ने प्रचारका साथ कोभिडको लेबल नै लगाएर औषधि ल्याएका थिए । हामीसँग अनुमति माग्नुभन्दा पहिल्यै नै केही ठाउँमा उनीहरुले ती औषधि बाँडेका रहेछन् । प्रमाणिकरणका लागि पदाधिकारी आउँदा मैले उनीहरुलाई स्पष्टसँग कुनैपनि औषधि कोभिडका विरुद्धमा उपायोगी छ भन्ने प्रमाणित नभएसम्म त्यो लेखिएको लेबल हटाउनुस् र स्वास्थ्य मन्त्रालयसँग अनुमति माग्नुस् भनेको थिएँ । उनीहरु मन्त्रालय पनि गए । तर, अनुमति दिइएन । अनुमति नपाए पनि वितरण गर्दै गए । विभिन्न गुनासो आएपछि विभागमा दोस्रोपटक बोलायौं । र, अनुमति लिएर मात्रै वितरण गर्नुस् भन्यौं । अनुमति लिएको जानकारी अहिलेसम्म छैन । हाल त्यस विषयमा चर्चा नआएकोले सायद वितरण रोकिएको हुनुपर्छ भन्ने लागेको छ ।

त्यो औषधि पहिला पनि प्रयोग हुँदै आएको औषधि हो । तर, कोभिडको लागि उपयोगी हुन्छ भन्ने प्रमाणित भएको छैन । होमियोप्याथिक चिकित्सकको निगरानीमा प्रयोग गर्नुहुन्छ भने ठिक छ नत्र अनुमति लिनपर्छ भनिएको हो ।

विभागमा अहिलेको समयमा कस्ता गुनासाहरु धेरै आउँछन् ? विभागले त्यसमा के गरिरहेको छ ?

हामीलाई आउने गुनासो भनेको पर्याप्त मात्रामा अनुगमन भएन भन्ने हो । केही म्याद गुज्रेका औषधि फार्मेसीमा पाइयो, व्यवसायी बस्दैनन्, बिना दर्ताको औषधि ल्याइएको छ भन्ने गुनासा पनि आएका छन् । हामी जाँदा निरीक्षणमा केही ठाउँमा त्यस्तो पनि पाइएको छ । त्यसैले हामी यो वर्ष वितरण भएका औषधिको गुणस्तर यकिन गर्नका लागि जोखिममा आधारित नमुना संकलन र परीक्षण प्रक्रिया लागू गरेका छौं । निरीक्षण कार्यक्रम प्रभावकारी बनाउन पहिल्यै कार्ययोजना बनाएर अघि बढ्ने सोचेका छौं । नीति तथा कार्यक्रममा फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको कार्यक्रम छ यसलाई साकार पार्न संरचनागत सुधार र कानुनमा संसोधन गर्न पनि हामी लागेका छौं ।

प्रकाशित : श्रावण ७, २०७७ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?