१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

पार्टी विभाजन हुन्‍न, रुपान्तरण हुन्छ : झलनाथ खनाल (अन्तर्वार्ता)

काठमाडौँ — नेकपाको विवाद नाटकीय रुपमा मत्थर भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संवादबाट पार्टीका विवाद हल हुने यसका लागि समय चाहिने बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहालले हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने पक्षमा नरहेको बताएका छन् ।

पार्टी विभाजन हुन्‍न, रुपान्तरण हुन्छ : झलनाथ खनाल (अन्तर्वार्ता)

यहीबीचमा स्थायी कमिटी बैठक एक साता स्थगित भएको छ । सार्वजनिकरुपमा दुवै समूह आ–आफ्नो अडानमै छन् । यस्तोका साउन २ को बैठक के हुन्छ भन्ने प्रश्न पनि छ । यिनै विषयमा कान्तिपुरकी बबिता शर्माले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग गरेको कुराकानी ।

विवादले घाइते नेकपाको स्वास्थ्य कस्तो छ अहिले ?

नेकपा एउटा विशाल पार्टी हो । यसमा निरन्तर छलफल र बहस हुन्छन् । वाद–प्रतिवाद संवादको क्रममा यो रुपान्तरण हुँदै जान्छ । अहिले एउटा महत्वपूर्ण कालखण्डबाट पार्टी गुज्रिदै छ । पार्टीमा केही संकटका अवस्था सिर्जना भएका छन् । त्यसलाई हल गरेर पार्टी उन्नत स्तरबाट अगाडि बढ्छ ।

विवाद मिलाउन एक साता वैठक सार्नुभएको हो कि प्राकृतिक विपत्तिको सामना गर्न ?

स्थायी कमिटीको बैठक जारी थियो । तर, अचानक बाढी पहिरोको प्रकोपले सिंगो राष्ट्रलाई आक्रान्त बनायो । कैयौं जिल्लामा ठूल्ठूला पहिरा गए । बाढीले तराईमा डुवानको स्थिति भयो । थुप्रै मानिसको देहान्त भयो । ती कुराहरुलाई समेत ध्यानमा राखेर अहिले सिंगो पार्टी र सरकार राहत र जनतालाई सुविधा दिनेतर्फ केन्द्रीत हुनुपर्छ भनेर सात दिन बैठक स्थगित गरेका हौं ।

विवाद मिलाउनका लागि हैन ?

अरु सबै कुरा जारी छन् । विवाद मिलाउने कुरा पनि हुनसक्छन् । वार्ताका कुरा पनि हुनसक्छन् । तर, मुख्य कुरा बाढी पहिरोको प्रकोपको कारण सात दिन स्थगित गरेको हो ।

पार्टी विभाजन हुँदैन भनेर नेताहरुले भन्नुभएको छ, कहाँबाट खतरा थियो अनि कसरी टर्‍यो त्यो खतरा ?

पार्टी विभाजन हुने कुनै संभावना म देख्दिनँ । किनभने राजनीतिक, वैचारिक, सैद्धान्तिकरुपले पनि हामी पार्टी विभाजन गर्न चाहदैंनौँ । संगठनात्मक रुपले पनि विभाजित हुने देख्दिनँ । संवैधानिक रुपले पनि पार्टी विभाजन हुने देख्दिनँ । कोही मान्छे पार्टी मन नपरेर निस्केर जान सक्छ । तर, नेकपा विभाजित हुन सक्दैन । यो आफैंमा संवैधानिक पार्टी हो । संवैधानिक प्रक्रिया विना पार्टी विभाजनको कुनै परिकल्पना गर्न सकिदैन ।

हो, नेता र कार्यकर्तामा विभिन्न खालका संवेदनशीलता छाएका छन् । पार्टी कतै विभाजित हुने हो कि भन्ने त्रास पैदा भएको छ । तर, पार्टी विभाजन हुने कुनै आधार नै छैन । पार्टी विभाजन हुन राजनीति, वैचारिक, संगठनात्मक आधार चाहिन्छ । ती कुनै पनि आधार नभएको हुँदा पार्टी विभाजन हुँदैन । तर, पार्टीमा रुपान्तरण अनिवार्य छ ।

चितवन पुगेर अध्यक्ष पुष्पकमल दाहालले मैले हतार गरेको भए जे पनि हुन सक्थ्यो भन्नुभएको छ, त्यो भनेको बहुमतले निर्णय गरेको भए पार्टी विभाजन हुन्थ्यो भनेको हो कि अरु नै हो ?

अरु कुनै पनि नेताहरुका भनाईमा टिप्पणी गर्न चाहन्नँ । त्यसमा सम्बन्धित नेता नै जिम्मेवार हुनुहुन्छ । हरेक नेताले पार्टीका कार्यदिशा, नीति, सिद्धान्त, दृष्टिकोण, लक्ष्य, कार्यक्रमका आधारमा बोल्नुपर्छ । म त्यही आधारमा बोल्छु । अरु नेताले पनि त्यही आधारमा बोल्छन् । सबैको बोली एउटै हुँदैन । मैले जे बोले अरु सबैले यही बोली बोल्दैनन्, भिन्नता यही हो । यो भिन्नता र त्यसमा रहेको साझा कुरा तपाईंहरुले छुट्याउने हो ।

शुक्रबार प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनमा पार्टी विवाद टुंगाउन धैर्यता र संयम आवश्यक छ भन्नुभएको छ । तपाईंलाई के लाग्छ–धैर्य र संयम कहिलेसम्म हुन्छ होला?

पार्टीलाई अगाडि बढाउन नीति, विधि, पद्धति, विधान, प्रक्रिया, मापदण्ड आदीलाई मानेर जानुपर्छ । पार्टीका निर्णयहरुलाई मानेर जानुपर्छ । सबै समस्या समाधान हुन्छन् । त्यसभित्र मान्छे मनोवृत्तिहरु पनि समावेश हुन्छन् ।

अब साउन २ गते बैठक बस्ला त ?

निश्चित रुपमा बैठक बस्छ । बैठकमा जे एजेण्डा छन्, ती एजेण्डा जारी रहन्छन् । बैठकमा जुन एजेण्डा प्रस्तुत छन्, ती एजेण्डाहरुको आधारमा छलफल भइरहेको छ । त्यो छलफल जारी छ । त्यो छलफल एउटा निकास ननिस्किई अन्त्य हुँदैन । छलफलले एउटा निकास अनिवार्य रुपमा निकाल्छ । हामीले जुन प्रक्रियालाई अगाडि बढाएका छौं, त्यसको निकास ननिस्किएसम्म बैठक अन्त्य हुँदैन । पार्टीले जुन एजेण्डामा छलफल गरिरहेको छ, ती एजेण्डाहरु समापन गरेर मात्र बैठक सकिन्छ ।

तपाईहरुले दुवै पदबाट केपी ओलीको राजीनामा माग्नु भएको छ । उहाँले राजीनामा दिने कुनै छनक देख्नुभएको छ त ? उहाँले त बरु पार्टी फुट्छ तर राजीनामा दिन्न भन्ने अडानमा हुनुहुन्छ भनेर नेताहरुले नै भन्नु हुन्छ ।

कसैका व्यक्तिगत ईच्छा र मतका आधारमा यो पार्टी चल्दैन । पार्टी सामूहिक नेतृत्वका आधारमा चल्छ । सामूहिक बुद्धि र विवेकका आधारमा चल्छ । पार्टीले गर्ने निर्णय भिन्दै हो । व्यक्तिका ईच्छा र आकांक्षा बेग्लै हो ।

प्रकाशित : असार २८, २०७७ १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?