१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘संक्रमित भेटिँदैमा अस्पताल सिल गर्नु पर्दैन’

मापदण्ड पुगेका क्वारेन्टाइनलाई आइसोलेसनका रूपमा अपग्रेड गर्न सकिन्छ
अस्पताल सिल गर्ने वा धेरै दिनसम्म बन्द गर्ने पक्षमा मन्त्रालय सहमत छैन
बुनु थारु

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखा छ । यसले सरकारी तथा निजी अस्पतालका साथै स्वास्थ्य संस्थाहरूको सेवाको गुणस्तर निर्धारण र नियमन गर्छ । कोभिड महामारीका बेला अस्पतालहरूको सेवा प्रवाह र गुणस्तर कार्यान्वयनका विषयमा महाशाखा प्रमुख डा. विकास देवकोटासँग कान्तिपुरकी बुनु थारूले गरेको कुराकानी :

‘संक्रमित भेटिँदैमा अस्पताल सिल गर्नु पर्दैन’

कोरोना संक्रमणको समयमा महाशाखाले स्वास्थ्य क्षेत्रको अनुगमन कसरी गरिरहेको छ ?

महाशाखाको मुख्य काम स्वास्थ्य सेवाहरूको गुणस्तर कस्तो छ भनेर हेर्ने हो । यसले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाबाट दिइने सेवाहरूको गुणस्तरमाथि नियमन गर्छ । त्यहाँ लाग्ने जनशक्ति, उपकरण, सेवाको स्तर तथा आधारभूत सेवा तथा मापदण्डजस्ता कुरालाई हेर्छ । सुरुमा हामीले कोभिडको मात्र उपचार गर्ने अस्पतालहरू तोक्यौं । यसका लागि विभिन्न १ सय २६ वटा अस्पतालमा उपचारको सुविधा छ । त्यस्ता अस्पतालले आकस्मिक सेवा नरोक्ने, सेवा दिँदै गर्दा कुनै डिपार्टमेन्ट कोभिडका लागि बनाएर अर्कोमा ननकोभिड बिरामीको उपचार गरेका छन् । कतिले सबै अस्पताल कोभिड पनि बनाएका छन् र कतिले मिक्स पनि गरेका छन् ।

कोभिडबाहेकका बिरामी झन् समस्यामा छन् भन्ने सुनिन्छ नि...

ननकोभिडका बिरामी समस्यामा परेको गुनासो आइरहेको छ, यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ । त्यस्ता बिरामीका लागि कसरी उपचार सहज गर्ने भन्नेमा अनुगमन गरिरहेका छौं । विभिन्न अस्पतालसँग छलफल भइरहेको छ । ननकोभिडका बिरामीलाई कुनै पनि हिसाबले पक्षपात नहुने गरी सेवा दिन अस्पताललाई भनेका छौं । अहिले संक्रमितमा लक्षण नदेखिएकाले उनीहरूलाई खासै उपचारको जरुरी छैन । तत्काललाई आइसोलेसन भए हुन्छ । बरु ननकोभिडका बिरामीलाई अलि जटिल समस्या पाएका छौं । त्यसैले यसमा बढी केन्द्रित छौं ।

अनुगमन टिमले कसरी काम गर्छ ?

हामीले अस्पताल अनुगमनका लागि ज्वाइन्ट र्‍यापिड एक्सन टिम बनाएका छौं । महाशाखाको नेतृत्वमा नेपाल मेडिकल काउन्सिल, सीसीएमसी लगायतको टिम संलग्न छ । टिम भर्खर निर्माण भएकाले अझै तयारी गरिरहेका छौं । ७७ वटै जिल्लामा अनुगमनका लागि टिम रहन्छ । यसले कोभिडसम्बन्धी व्यवस्थापन र हरेक जिल्लामा कोभिड र ननकोभिडको उपचार भए/नभएको हेर्ने र नभए सुरु गराउने काम गर्छ । यो काम एक साताभित्र सुरु गर्नेछौं ।

निजी अस्पतालमा संक्रमण बढ्दो छ । तिनको सेवा प्रवाहमाथि कसरी निगरानी गर्नुभएको छ ?

कोभिडबाहेक इमर्जेन्सी केसलाई टाढैबाट फर्काउने, कोभिड शंकास्पद भनी हेर्दै नहेरी पठाउने समस्या पाएका छौं । यस्तो हुनुहुँदैन । त्यसैले कोभिड क्लिनिकको कुरा गरिएको हो । छुट्टै स्पेस बनाएर बिरामीलाई त्यहाँ सेवा दिइन्छ । यस्तो बेला एउटा मानवीय तथा सेवामूलक कुरा पनि आउँछ । उपचार सेवा पाउनु मान्छेको अधिकार हो । कोभिड त भनिरहेका छौँ तर त्यति बिरामी नदेखिएकाले ननकोभिडका लागि नै सेवामा बढी ध्यान दिनुपर्ने हुन्छ । ननकोभिडलाई सेवा नै प्राथमिकतामा राख्नुपर्छ ।

अहिले अस्पतालहरूमा पनि संक्रमण बढेको छ । हाल काठमाडौं उपत्यका र अरू स्थानमा र्‍यान्डम टेस्टिङ गर्दै छौं । अस्पतालमा काम गर्ने फ्रन्टलाइनरहरूको पनि टेस्ट गर्दैछौं । अस्पतालमा स्वास्थ्यकर्मी नै बढी संक्रमित देखिएका छन् ।

संक्रमण देखिएपछि इमर्जेन्सीमात्र सञ्चालन गर्ने र सम्पूर्ण अस्पताल नै सिल गर्ने गरिएको छ, त्यस्तो गर्नुहुन्न । हामीले त्यस्ता अस्पताललाई सचेत गराएका छौं । कतिपयसँग मौखिक कुराकानी भएको छ । संक्रमण अरू अस्पतालमा पनि देखिँदै जान्छ वा त्यही अस्पतालमा फेरि देखिन सक्छ, त्यसपछि कति पटक अस्पताल सिल गर्ने ? अस्पतालमा जहाँ संक्रमण भेटिन्छ, तत्काल सानो सिल गरेर छिटो परीक्षण गर्ने र अरू सेवा सुचारु गर्नुपर्ने हुन्छ । नत्र उपचारको आशामा अस्पताल पुगेका अरू बिरामी समस्यामा पर्न सक्छन् । मन्त्रालय अस्पताल सिल गर्ने वा धेरै दिनसम्म बन्द गर्ने पक्षमा सहमत छैन । यस विषयमा अस्पताललाई हामीले पत्राचार गरेका छौं ।

बाक्लो जनसंख्या रहेको उपत्यकामा संक्रमित अझ बढ्दै गए आइसोलेसनहरू अपुग हुन सक्छन्, यस विषयमा कस्तो तयारी छ ?

हाललाई हेर्दा ९९ प्रतिशत जतिमा लक्षण नभएको कोरोना संक्रमण देखिएको छ । जो लक्षणविहीन छन्, उनीहरूलाई आइसोलेसन सेन्टरमा राख्न सकिन्छ । राम्रो मापदण्ड पुगेका क्वारेन्टाइनलाई आइसोलेसनका रूपमा अपग्रेड गर्न सकिन्छ । कतिपय अस्पतालका खाली रूममा नयाँ बेड थपेर आइसोलेसन बनाउन सकिन्छ । आईसीयूको आवश्यकताभन्दा पहिले बिरामीलाई अक्सिजनको एकदम जरुरत हुन्छ । त्यसैले अक्सिजन कन्सन्ट्रेटरहरू खरिद गर्नेमा जोड दिएका छौं । विभिन्न दातृ संस्थाले पनि सहयोग गरेका छन् । विभिन्न प्रदेशमा अक्सिजन प्लान्टका लागि बजेट पठाइसकिएको छ । आईसीयू बेड बनाउने र भेन्टिलेटर खरिद गर्ने काम पनि भइरहेको छ ।

तोकिएका सरकारी कोभिड अस्पताल अपुग भए निजी अस्पतालहरूले सहयोग गर्न सक्छन् ?

सबै कोभिडका बिरामीको उपचार सेवा निःशुल्क हुन्छ । क्याबिनेटले निर्णय गरिसकेको छ । सामान्य वा जटिल कुन अवस्थाको बिरामी हो, त्यहीअनुसार उपचार सेवा शुल्क तय गरेका छौं । सो खर्च सरकारले अस्पताललाई उपलब्ध गराउँछ, अस्पतालले निःशुल्क सेवा दिन्छन् । सरकारी अस्पताल अपुग भए भने निजीसँग पक्कै सहयोग माग्नुपर्ने हुन्छ । जति बेला आवश्यक पर्छ, स्वास्थ्य मन्त्रालयले निजी तथा गैरसरकारी संस्थालाई लिएर काम गर्न सक्छ । यस्तो अवस्थामा सबैलाई उपचार निःशुल्क हुन्छ ।

अस्पतालहरूले पीपीईको प्रयोग तथा इन्फेक्सन कन्ट्रोलमा कत्तिको ध्यान दिएका छन् ?

पहिलेभन्दा धेरै सुधार भएको छ । खासगरी मास्क तथा पीपीई प्रयोगबारे हामीले मापदण्ड बनाएका छौं । हामीसँग मौज्दात प्रशस्त छ । इन्फेक्सन कन्ट्रोलतर्फ राष्ट्रिय स्वास्थ्य अनुसन्धानको सर्भे हेर्न हो भने व्यवस्थापन कम पाइएको छ । महामारीका बेला यसले ठूलो महत्त्व राख्छ । त्यसमा हामी सजग छौं । सबै अस्पतालमा चाहिने सामग्री डिस्इन्फेक्टेन्ट, औषधिहरू तयारी अवस्थामा राखेका छौं ।

फोहोरमैला व्यवस्थापन कस्तो छ ?

विभिन्न सर्भेअनुसार अस्पतालले फोहोर व्यवस्थापन राम्रै पाइएको छ । तर छुट्याइसकेपछिको फोहोरमैला फेरि एकै ठाउँमा गएर व्यवस्थापन हुने गर्छ । त्यसलाई चाहिँ हेर्नुपर्ने हुन्छ ।

महामारीका बेला पनि मेडिकल सामग्रीमा कमिसन, गुणस्तरहीन सामान बिक्री वितरणका कुरा आएको छ । यसमा कसरी नियमन गरिराख्नुभएको छ ?

संकटका बेला खेल्ने मान्छे वा समूहहरू पनि हुन्छन् । कोरोनाको सुरुवाती चरणमा गुणस्तरहीन सामान बेचेको पाइएपछि कारबाही गरेका थियौं । यसरी हेर्दा गुणस्तरहीन सामान आउन सक्छ र अर्कोचाहिँ सामग्रीमा मूल्य अत्यधिक वृद्धि भई सर्वसाधारणको पहुँचभन्दा बाहिर हुन सक्छ । यी दुइटै कुरा स्वास्थ्यका लागि घातक हो । महामारी एक त हामीलाई सिकाइको कुरा पनि रह्यो । देशमै उत्पादन गर्नुपर्छ भन्ने भयो । सेनिटाइजर र मास्कहरू उत्पादन भइरहेका छन् । यस्ता अनियमितताको अनुगमन उद्योग मन्त्रालयसहितको सीसीएमसीको टिमले पनि गरिराखेको छ ।

संक्रमण अझ फैलियो भने जोखिम कम गर्ने तयारी कस्तो छ ?

संक्रमण एक व्यक्तिबाट अर्को र समुदायमा संक्रमण नफैलियोस् भनेर कोसिस गरिरहेका छौं । अब समुदायमा फैलिन थालेको जस्तो आभास भएको छ । समुदायमा कत्तिको फैलिएको छ, अध्ययन गर्न बाँकी छ । राम्रो कुरा त संक्रमितहरू लक्षणविहीन छन् । उपचारमा धेरै खर्च भएको छैन । मानिस पनि धेरै गुमाएका छैनौं । अब संक्रमितको संख्या बढ्दै जाँदा जटिल समस्या आउँछन् । त्यसका लागि अस्पतालको तयारी महत्त्वपूर्ण छ । त्यसका लागि टिम मोबिलाइज गर्ने र अस्पताल म्यापिङको काम भइरहेको छ । ७७ जिल्लाकै वडामा रहेका व्यक्तिहरू कुन अस्पतालमा जाने, त्यहाँ उपचार भएन भने विकल्प के हुने भनेर म्यापिङ, नेटवर्क र फ्लोचार्ट बनाएर काम गरिरहेका छौं । केही दिनमा प्रकाशित गर्छौं ।

अस्पतालभित्रको तयारीको कुरा गर्दा जनशक्ति, पूर्वाधार, उपकरण र औषधि नै हो । लक्षणविहीनलाई अस्पतालबाहिर राख्न सक्यौं भने लक्षणका बिरामीलाई अस्पतालमा उपचार गर्न सक्छौं । अहिले भएका क्वारेन्टाइनलाई थप व्यवस्थित गरी आइसोलेसन सेन्टर बनाउनुपर्छ, जसले गर्दा अक्सिजनसहितको सुविधा दिन सकिन्छ । जनशक्ति अहिलेलाई ठिकै छ । विभिन्न डाक्टर, नर्सिङ संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । करारमा कर्मचारी लिन पनि सकिन्छ । २–४ महिनादेखि उपकरण किनिएको छ । करिब ४ महिनाभन्दा बढी पुग्ने औषधि स्टक छ । कोभिडका लागि चाहिने एन्टिभाइरल औषधि प्रयोगका लागि अनुमति दिँदैछौं ।

प्रकाशित : असार २८, २०७७ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?