कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'पार्टीमा फुट आयो भने जनतासमक्ष के भन्‍ने ?'

बिनु सुवेदी

काठमाडौँ — नेकपा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओलीका बलिया खम्बा हुन् । ओली पक्षीय भेला र हरेकजसो संवादमा उनी छुट्दैनन् ।

'पार्टीमा फुट आयो भने जनतासमक्ष के भन्‍ने ?'

सहमतिका लागि दुई दिन स्थायी कमिटी बैठक स्थगित गरेर अनौपचारिक संवाद थालेको नेकपाभित्र भइरहेको छलफलको प्रगतिबारे नेम्वाङसँग कान्तिपुरका लागि बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :

सहमतिका लागि दुई दिन स्थायी कमिटी बैठक रोकेर थालिएको अनौपचारिक बैठकको प्रगति के छ ?

हामीले केही साथीहरूलाई अनौपचारिक कार्यदलजस्तो बनाएर सहमतिको आधार खोज्न जिम्मा लगाएका छौं । उहाँहरू यसमा निरन्तर कार्यरत हुनुुहुन्छ । छलफल चलिरहेको छ, त्यो एकदम ठीक भइरहेको छ भन्ने लागिरहेको छ, तर कुरा टुंगिएको छैन ।

तपाईंहरू विभिन्न पक्षीय छलफलमै हुनुहुन्छ, धेरैजसो छलफलमा तपाईं पनि सहभागी हुनुहुन्छ । अहिले छलफल कुन बिन्दुमा पुगेको छ ?

हिजोअस्ति हामी कुन अवस्थामा थियौं, त्यो मैले भनिराख्नै पर्दैन । अहिले हामी छलफल गरिरहेका छौं र त्यो छलफलको परिणाम पर्खेर हाम्रा बैठक स्थगन गरेका छौं । त्यसबाट यो छलफल सकारात्मक ढंगले हार्दिकतापूर्वक अघि बढिरहेको छ भन्ने प्रस्ट हुन्छ । हामीले, हाम्रो पार्टीले र हाम्रा अध्यक्षहरूले कार्यकर्ता र जनतासमक्ष प्रतिबद्धता व्यक्त गरेर यहाँसम्म आइपुगेका हौं । अब पार्टीमा टुटफुट आयो भने जनतासमक्ष हामी के भनेर जान्छौं, कार्यकर्तालाई के भन्छौं, यो गम्भीर प्रश्न सोचनीय छ । यसको जवाफ दिन हामीलाई अप्ठ्यारो पर्नेछ । यो कुरा बुझेका पार्टी र नेताहरूले यसलाई निष्कर्षमा पुर्‍याउँछन् भन्ने विश्वास छ ।

प्रधानमन्त्रीचाँहि अहिले कस्तो मनस्थितिमा हुनुहुन्छ ?

प्रधानमन्त्रीज्यू अनि हाम्रा अर्का अध्यक्ष दुवै जना अहिले एकीकरणपश्चात् पार्टीको जीवनमा यो निकै गम्भीर र चुनौतीपूर्ण अवस्था आएको हो भन्ने स्वीकार गर्नुहुन्छ । साथसाथै हाम्रा लागि यो अवसर हो र यो अवसरलाई सदुपयोग गर्दै हामी सकारात्मक टुंगोमा पुग्नुपर्छ, वार्ता र संवादबाहेक हाम्रा लागि विकल्प छैन, त्यसैले जति समय लागोस् संवाद गरेरै यसलाई टुंगोमा पुर्‍याउनुपर्छ भन्ने उहाँहरूको मनस्थिति मैले देखेको छु ।

स्थायी कमिटीमा प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिनुपर्छ भन्ने कुरा नै उठेको छ । प्रधानमन्त्रीले राजीनामा दिन्न भनेर अडान राख्नुभएकै छ । त्यसो हुँदा तपाईंले देखेको निकास के हो ?

मैले देखेको निकास भनेर अहिले भन्नु उपयुक्त हुँदैन, किनभने एउटा अनौपचारिक कार्यदल बनेर काम गरिराखेको छ । म यति भन्छु पार्टी एकता गरेर यो ठाउँसम्म आएका नेताहरू र पार्टीले यसलाई वार्ता र संवादमार्फत निष्कर्षमा पुर्‍याउनुपर्छ भन्नेमा हाम्राबीचमा विवाद छैन । हामीले यसलाई निष्कर्षमा पुर्‍याउनुपर्छ ।

निष्कर्ष ठ्याक्कै के निस्किएला भन्ने प्रश्न जताततै छ नि ?

सकारात्मक निष्कर्ष हुन्छ । जे हुन्छ, दुइटा अध्यक्षबीचको सहमतिबाट निस्किन्छ ।

त्यो भनेको राजीनामा दिने विषयमा सहमति पनि हुन सक्ने भयो ?

निष्कर्ष भनिसकेपछि दुई अध्यक्षले सहमति गरेको जुनसुकै निष्कर्ष भन्ने बुझिन्छ ।

राष्ट्रपतिलाई महाअभियोग लगाइँदै छ भनेर हिजो प्रधानमन्त्रीले मन्त्रीहरूसँग गरेको ब्रिफिङबारे तपाईंको भनाइ के हो ?

त्यो प्रधानमन्त्रीज्यूले ल्याउनुभएको कुरा होइन । महाअभियोग, अविश्वास प्रस्ताव जस्ता प्रसंग बजारमा आएका छन् । बजारमा त मध्यावधि निर्वाचन, दल टुटफुटसम्बन्धी थुप्रै प्रसंग आएका छन् । लोकतन्त्रमा यस्ता प्रसंग आउँदा रहेछन् । त्यसमा म धेरै टिप्पणी गर्न चाहन्नँ ।

कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि तपाईंले भेट्नुभयो, त्यहाँ के छलफल भयो ?

उहाँसँग बिहान १० बजे मैले उहाँकै निवासमा भेटेको थिएँ । साथमा मीनेन्द्र रिजालजी पनि हुनुहुन्थ्यो । हामी अहिले देशमा संसदीय प्रणाली हाँकिरहेका छौं । संसदीय प्रणालीमा प्रतिपक्षलाई राज्यको अभिन्न अंगका रूपमा मान्यता दिने चलन हुन्छ । त्यही भएर हामीले कांग्रेसलाई संवैधानिक परिषद्मा सदस्यका रूपमा व्यवस्था गरेका छौं । प्रतिपक्षले पनि छाया सरकार बनाएर प्रत्येक मन्त्रालयमा छाया मन्त्री राखेर निरन्तर अनुगमन गर्ने र टिप्पणी सार्वजनिक गर्ने गरिरहेको छ । यही मान्यताअनुरूप हामीले उहाँहरूसँग निरन्तर वार्ता र संवादमा रहनुपर्छ भनेका छौं । प्रधानमन्त्रीजीले पटकपटक कांग्रेसका नेतासँग छलफल गर्नुभएको छ । अस्ति भर्खरै पनि उहाँहरूको भेटघाट भएको छ, यही सन्दर्भमा समसामयिक विषयमा उहाँहरूलाई ब्रिफिङ गरौं, उहाँहरूसँग कुराकानी गरौं भनेर समय लिएर म गएको हुँ ।

सरकार फेरिने अवस्था आउँदा साथ दिन प्रतिपक्षीलाई आग्रह गरिएको र यहाँ त्यही कुरा गर्न प्रधानमन्त्रीको दूत बनेर भेट्न जानुभएको भन्ने कुरा पनि आएको छ नि ?

नेकपाको एउटा इमानदार कार्यकर्ताको हिसाबले म त्यहाँ प्रधानमन्त्रीजीको अनुमति लिएरै गएको हुँ, त्यसमा विवादै छैन । तर सरकार गठनको छेउछाउ पनि कुरा गरिएन । सञ्चारमाध्यमले माया गरेर नेकपालाई घरी कसको प्रतिपक्षसँग सरकार बन्ने भइसक्यो, कार्यदल पनि बनेको छ भनेर लेखिदिन्छन् । तर त्यस्तो फिटिक्कै होइन, समसामयिक सन्दर्भमा छलफल हो र यो छलफलले निरन्तरता पाउँछ ।

सम्बन्धित समाचार

  • नेकपामा ‘टोन डाउन’: विवादको गाँठो ‘प्रधानमन्त्री’

प्रकाशित : असार २२, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?