२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘सार्क एउटा देशकाे बलले चल्दैन’

जगदीश्वर पाण्डे

काठमाडौँ — केही वर्षयता आवधिक सम्मेलनसमेत गर्न नसकिरहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को वर्तमान अवस्था के छ ? यो संस्था अहिले सक्रिय नै छ कि निष्क्रिय ? पाकिस्तानसँगको द्वन्द्वलाई आधार देखाउँदै भारतले सार्क प्रक्रियामा अवरोध गर्दै आएको पृष्ठभूमिमा कोभिड–१९ को आगमनसँगै सार्क फेरि भारतकै कारण चर्चामा आएको छ । कारण हो– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च १५ मा सार्कका नेताहरुबीच गरेको भिडियो कन्फरेन्स ।

‘सार्क एउटा देशकाे बलले चल्दैन’

मोदीले सार्कका नेताहरुसँग वार्ता मात्र गरेनन्, साथमा कोभिड–१९ इमर्जेन्सी फन्ड पनि खडा गरेका छन् । सार्क, यसले गरिरहेको काम र अन्य विषयमा काठमाडौंस्थित सार्क सचिवालयको महासचिवमा केही समयअघि नियुक्त भएका श्रीलंकाली कूटनीतिज्ञ इसला रुवान बिराकोनसँग कान्तिपुरका जगदीश्वर पाण्डेले इमेलमार्फत लिएको अन्तर्वार्ता :

विश्वभरि कोरोना महामारी फैलिरहेका बेला सार्क सचिवालयले के भूमिका खेलिरहेको छ ?

सार्क अन्तरसरकारी संयन्त्र हो । सार्क सचिवालयले सहयोगका गतिविधिहरूको कार्यान्वयनको समन्वय र अनुगमन तथा त्यसको उद्देश्यका लागि बैठकहरू गरेर सेवा पुर्‍याउने काम गर्छ । सार्क मूल रूपमा सदस्यहरूद्वारा सञ्चालित संगठन हो । अहिलेको कोभिड–१९ महामारीको अवस्थामा परिस्थितिअनुसार सचिवालयले सबै सदस्य राष्ट्रहरूसँग नजिक रहेर काम गरिरहेको छ । मैले मार्च १५ मा भएको सार्कका नेताहरूबीचको भिडियो कन्फरेन्समा सहभागिता जनाएको थिएँ । अप्रिल २३ मा भएको सार्क स्वास्थ्य मन्त्रीस्तरीय भिडियो कन्फरेन्सको पनि सचिवालयले समन्वय गरेको थियो । दक्षिण एसियाली जनताको स्वास्थ्य र भलाईका लागि काम गर्न हाम्रा नेताहरूले गरेका पहलको हिस्सा हुन सचिवालय इच्छुक र सक्षम छ ।

के सार्क सचिवालयले कोभिड–१९ नियन्त्रणका सम्बन्धमा आफ्ना सदस्य मुलुकहरूसँग सम्पर्क गरेर छलफल चलाएको छ ?

यो महामारीलाई लिएर हाम्रो सचिवालयले लगातार रूपमा सदस्य राष्ट्रहरूसँग समन्वय र छलफल गरिरहेको छ । मैले माथि नै व्याख्या गरेजस्तै सचिवालय सदस्य राष्ट्रहरू सहमतिको ढाँचाअनुसार क्षेत्रीय रूपमा सहयोग गर्न तयार छन् ।

यो महामारीको स्थितिमा सार्क सचिवालयले भूमिका खेल्न सकेन भन्ने आरोप छ, के यो सत्य हो ? कि सचिवालयलाई काम गर्नका लागि कानुनी अड्चन छन् ?

सचिवालयलाई सार्कको संयन्त्रमा खेल्नुपर्ने स्पष्ट जिम्मेवारी छ । र, कोभिड–१९ महामारीको परिस्थितिमा हामी सदस्य राष्ट्रहरूको मार्ग निर्देशन र निर्णयहरूबमोजिम आफ्नो जिम्मेवारी सक्रियतासाथ निर्वाह गर्छौं । तपाईंलाई थाहा नै छ, जब सार्क राष्ट्रका नेताहरूबीच मार्च १५ मा भिडियो कन्फरेन्स भयो र सार्क कोभिड–१९ इमर्जेसी फन्डको स्थापना भयो, सबै सदस्य राष्ट्रहरूले स्वैच्छिक योगदान गरे । सार्क मुलुकका उच्च तहका चिकित्सक र व्यापार क्षेत्रका अधिकारीहरूबीच बैठक भयो । सार्क विपद् व्यवस्थापन केन्द्रले लगातार रूपमा कोभिड–१९ सम्बन्धी सूचनाहरू त्यसैमा समर्पित बेबसाइटमार्फत प्रदान गर्दै आइरहेको छ । केही सदस्य मुलुकले सार्कको ‘फुड बैंक रिजर्भ’ लाई उपयोग गर्ने इच्छा व्यक्त गरेका छन् । सार्क ‘डेभलपमेन्ट फन्ड’ ले यो क्षेत्रमा कोभिड–१९ को कार्यक्रमका लागि सामाजिक दृष्टिकोणमार्फत पाँच मिलियन अमेरिकी डलर विनियोजन गर्ने प्रस्ताव गरेको छ । सार्क सचिवालयले हाम्रो सदस्य राष्ट्र र संस्थाहरूलाई कोभिड–१९ विरुद्ध लड्न तथा उपयुक्त समयमा काम र पहलका लागि सहकार्य गर्दै आइरहेको छ ।

सार्क स्वास्थ्यमन्त्री स्तरीय भिडियो कन्फरेन्समा महासचिवका तर्फबाट मन्तव्य राख्ने क्रममा ‘कुनै पनि सहयोग आवश्यक परेको मुलुकलाई सार्क सचिवालयले सहयोग गर्छ’ भन्नुभएको थियो । यो भन्न खोजेको के हो ? व्याख्या गर्नुहुन्छ कि ?

माथि मैले व्याख्या गरेजस्तै सार्क सचिवालयले सदस्य राष्ट्रहरू सहमत भएर निर्णय भएको विषयलाई कार्यान्वयन गर्ने हो । हामीलाई सार्क मुलुकका स्वास्थ्यमन्त्री स्तरीय भिडियो कन्फरेन्स गर्नका लागि आग्रह गरिएको थियो र हामीले अप्रिल २३ मा सफलता साथ गर्‍यौं । सबै सदस्य राष्ट्रको सहभागिता भयो । सदस्य मुलुकहरूलाई कोभिड–१९ सँग लड्ने प्रयासमा सहयोग होस् भन्ने हेतुले यस महत्त्वपूर्ण घडीमा सार्क प्रक्रियालाई सहज पार्न हामी आफ्नो जिम्मेवारी निर्वाह गर्दैछौं । महामारीलाई सामना गर्न सचिवालय सधैं सदस्य राष्ट्रहरूको प्रयासमा सहजकर्ताका रूपमा उभिन्छ ।

सार्क राष्ट्रहरूले स्थापना गरेको सार्क कोभिड–१९ इमर्जेन्सी फन्डको अवस्था के छ ? उक्त रकमलाई प्रयोग गर्ने विषयमा सार्क सचिवालयले केही प्रावधान वा कार्यविधि बनाएको छ ? साथै, उक्त फन्डको उपयोगको विषयमा पाकिस्तानले नयाँ प्रस्ताव अघि सारेको छ, यसमा के भन्नु हुन्छ ?

सार्क मुलुकका नेताहरूको भिडियो कन्फरेन्सको दौरान, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त सार्क कोभिड–१९ इमर्जेन्सी फन्डको स्थापनाका लागि प्रस्ताव गर्नुभएको हो । त्यसपछि अन्य सबै मुलुकले त्यस कोषमा आ–आफ्नोतर्फबाट प्रतिबद्धता व्यक्त गरेका छन् । हरेक सदस्य राष्ट्रले उनीहरूको कोभिड–१९ इमर्जेन्सी रेस्पोन्स फन्ड कमिटमेन्टको निर्णय गर्नुपर्छ ।

दिल्लीमा हामीसँग सार्क विपद् व्यवस्थापन केन्द्र छ । के त्यसलाई यस्तो महामारी जस्तो समयमा प्रयोग गर्न सकिन्न ?

उक्त केन्द्रका महानिर्देशकले पनि मार्च १५ को सार्क नेताहरूबीचको भिडियो कन्फरेन्समा सहभागिता जनाएका थिए । त्यसले कोभिड–१८ लाई लक्षित गरेर बेबसाइट निर्माण गरेर सूचनाहरू लगातार रूपमा दिने काम गरिरहेको छ । कोभिड–१९ ले विपद् व्यवस्थापनको क्षेत्रमा विभिन्न विषयहरूलाई एकीकृत रूपमा ध्यान दिनुपर्ने देखाएको छ । जसमध्ये स्वास्थ्य क्षेत्र पहिलो हो ।

यो सबैलाई थाहा भएकै कुरा हो, सार्क अघि बढ्न नसक्नुको कारण भारत र पाकिस्तानको द्वन्द्व हो । यो समस्याको सामना गरेर हामी कसरी अगाडि बढ्न सक्छौं र यो क्षेत्र खुसीसाथ अघि बढ्न सक्छ ?

क्षेत्रीय सहयोगको सम्पूर्ण विचार साझा चुनौतीहरूको समाधान गर्न मिलेर काम गर्नु हो । सार्कले कोभिड–१९ चुनौतीका बेलामा त्यो गर्ने र गर्न सक्ने चाहना देखाएको छ । मैले भनेजस्तै सार्क अन्तर–सरकारी संयन्त्र हो, एक्लो देशबाट चल्ने संगठन होइन ।

श्रीलंकाका पूर्वप्रधानमन्त्री रनिलविक्रमा सिंघेले अप्रिल २४ मा भारतीय पत्रिका ‘द हिन्दु’ लाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘सार्क जहाँ हुनुपर्थ्यो त्यहीं हुनुपर्छ । यो द्वन्द्व गर्नका लागि होइन, सुविधाका लागि हो । यो भारतले नेतृत्व गरेको होइन, सार्कले नेतृत्व गरेको बल हो तर भारतले सुझाव दिन सक्छ ।’ यो भनाइलाई कसरी लिनुभएको छ ?

सार्क दक्षिण एसियाली क्षेत्रका मानिसहरूको हित, कल्याण र समृद्धिका लागि हो । यो क्षेत्रमा गरिबीविरुद्ध काम गर्नका लागि धेरै मौका हामीहरूसँग भए पनि गरिबी अझै पनि हाम्रो साझा शत्रु हो । यो सत्य हो कि अझै पनि दक्षिण एसिया लगातार रूपमा विश्वमै कमजोर क्षेत्रमध्येमा पर्छ । गरिबी होस् या महामारी, यो क्षेत्रसँग सार्कमा साथमा बसेर काम गर्न धेरै कारणहरू छन् । जसबाट हाम्रा जनताको उन्नति, शान्ति, समृद्धि र विकासको लामो सपना साकार गर्न सकिन्छ ।

पाकिस्तानबाट आएका सार्कका निवर्तमान महासचिवको कार्यकाल सार्कको शिखर सम्मेलन नगराईकनै सकियो । अड्किरहेको सार्कको १९ शिखर सम्मेलन गर्न तपाईंको के प्रयास हुन्छ ? तपाईंको कार्यकालमा शिखर सम्मेलन भएको देख्न सक्छौं ?

सार्क एक अन्तरसरकारी संयन्त्र हो र सार्क संयन्त्रका सबै निर्णयहरू सर्वसम्मतिले लिइन्छ । त्यसकारण १९ औं शिखर सम्मेलनको आयोजना सदस्य राष्ट्रहरूबीच सहमति भएपछि हुनेछ । म विश्वस्त छु, सदस्य राष्ट्रहरू आपसी सहमतिमा अर्को सार्क शिखर सम्मेलन आयोजनाका लागि मिति तय गर्न चाँडो सहमतिमा पुग्नेछन् । म एक सकारात्मक सोचका साथ काम गर्दैछु । मेरो बुझाइमा मेरा प्रत्येक पूर्ववर्तीहरूले आफ्नो सम्बन्धित कार्यकालमा संगठनलाई अगाडि बढाउन यथाशक्य प्रयास गरिसकेका छन् ।

एक कूटनीतिज्ञका रूपमा हेर्दा सार्कको भविष्य कस्तो देख्नुहुन्छ ?

सार्क साझा कारणहरू, चुनौतीहरू र अवरोधहरूका लागि काम गर्ने हाम्रो सामूहिक संकल्पको अभिव्यक्ति हो । दक्षिण एसियाका राष्ट्रहरूबीच मित्रता र सहयोगको भावनाले यस क्षेत्रमा शान्ति, स्थिरता, एकता र प्रगति प्रवर्द्धन गर्न मिलेर काम गर्ने इच्छाशक्तिको अभिव्यक्ति हो । सार्क मात्र यस्तो क्षेत्र हो, जसले दक्षिण एसियामा अर्थपूर्ण सहकार्य गर्छ । क्षेत्रीय संगठन हाम्रो आवश्यकता हो न कि विकल्प । यो संगठन दक्षिण एसियाको सामाजिक–आर्थिक विकासमा क्षमतावान साधक हो । हाम्रा नेताहरूले यसअघि नै दक्षिण एसियाली आर्थिक संगठनको सुरुआत गरिसकेका छन् । त्यसलाई आधार मानेर यो क्षेत्रमा खुला व्यापार क्षेत्र, भन्सार युनियन, साझा बजार, साझा आर्थिक र मौद्रिक युनियनका रूपमा व्यवस्थित योजना बनाएका छन् । सार्कलाई शिखर सम्मेलन गर्ने र सचिवालय मात्र भएको संगठनका रूपमा हेर्नु हुँदैन । यहाँ धेरै निकायहरू जस्तै सार्क केन्द्र, क्षेत्रीय केन्द्रहरू, उच्च र अधिकारप्राप्त निकायहरू पनि छन् ।

निष्कर्षमा एकछिनलाई बिर्सौं कि यो हाम्रो साझा संस्था हो र हरेक सदस्य राष्ट्रले यसका लागि ३५ वर्ष लगानी गरेका छन् । मलाई दृढ विश्वास छ, सदस्य राष्ट्रहरूले यति धेरै वर्षदेखिको उनीहरूको आस्थाअनुसार, साझा चुनौतीलाई सबै मिलेर सम्बोधन गर्नेछन् । सार्कले दक्षिण एसियाली जनताको आशा र आकांक्षालाई बोकेको छ । विज्ञहरू र शिक्षाविद्हरूले बारम्बार दक्षिण एसियामा सार्कको विकल्प छैन भनेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७७ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?