टाउका टाउकाले कानेखुसी गरेर पार्टीमा समस्या बल्झिएको हो : शर्मा

बिनु सुवेदी

काठमाडौँ — २०७५ जेठ ३ गते पार्टी एकता गर्दा नेताहरूको बाचा थियो– दुई वर्षभित्रमा महाधिवेशन गरिसक्छौं । घोषणा र बाचाअनुसार भएको भए यतिखेर नेकपा नयाँ नेतृत्वसहित पार्टी काममा एकताबद्ध भइसक्नुपर्थ्यो तर अहिले पनि आन्तरिक भागबन्डामा कसको भूमिका के हुने भन्नेमै नेताहरूको ध्याउन्न छ ।

टाउका टाउकाले कानेखुसी गरेर पार्टीमा समस्या बल्झिएको हो : शर्मा

उदाहरणका रूपमा गत वैशाख २४ र २० गते बसेको सचिवालय बैठकको परिदृश्य मात्रै हेर्दा पनि त्यसभित्रको किचलोबारे धेरै प्रस्ट हुन सकिन्छ । नेताहरुले एकता प्रक्रिया अन्तिम टुंगोमा पुगेको बताए पनि पार्टीभित्रको शक्तिसन्तुलनका लागि गुट-उपगुटबीच रस्साकस्सी चलिरहेको छ । एकीकरण घोषणाको दुई वर्ष पुग्दा पनि किन टुंगोमा पुगेन भन्‍ने विषयमा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मासँग बिनु सुवेदीले गरेको कुराकानी :

पार्टी एकीकरणको मर्मअनुसार नेकपा चलेको छ ?

नेकपाको एकताका दुई मुख्य उद्देश्य थिए । पहिलो उद्देश्य कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गरेर संविधानले परिकल्पना गरेअनुसार समाजवादको दिशातिर राष्ट्रलाई लैजाने थियो भने दोस्रो उद्देश्य अस्थिरताको अन्त्य गरी राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउने हो । मूलत: एकीकरणको मर्म र उद्देश्यअनुसार नै पार्टी चलेको छ तर पछिल्लो समयमा आएर उद्देश्यअनुसार पार्टी चलेकोजस्तो नदेखिनुमा नेताहरूले विधि र पद्धतिभन्दा आफ्ना स्वार्थलाई केन्द्रमा राख्नु मुख्य कारण हो ।

त्यो बेलाको रातबिरातको यहाँहरूको दौडधुप अहिले सार्थक भएन उसो भए ?

आमकार्यकर्ता संस्थागत रूपमा पार्टीको विधि पद्धति, सामूहिक नेतृत्व प्रणालीको पक्षमा छन् । सचिवालयबाहेकका कमिटीहरू विधि र पद्धतिमै चलेका छन् । सचिवालयका नेताहरूले विधि र पद्धतिभन्दा माथि हुन खोज्नुभएको छ र देखिनुभएको छ । त्यसको समाधानका लागि हामीले बैठक पनि माग गरेका छौं । अहिले कोभिड र नीति कार्यक्रमले हाम्रो बैठक केही पर सरेको छ । सचिवालयलाई विधि पद्धतिभित्र ल्याउने र नेताहरूलाई सामूहिक नेतृत्व प्रणालीमा ल्याउने चुनौती आमकार्यकर्तामा आएको छ, हामी त्यसको प्रयासमा छौं । हाम्रो दौडधुप पनि समाजवादउन्मुख समाजकै लागि हो । त्यो खेर जाँदैन । अहिले मूल नेतृत्व टिममा देखा परेको संकटले समस्या निम्त्याएको हो । हामी तल्लो तहका कार्यकर्तालाई मिलेर संकट समाधान गर्छाैं भन्ने विश्वास छ ।

त्यो बेला पार्टी महाधिवेशन दुई वर्षमा गर्ने भनिएको थियो, तर एकता प्रक्रिया पनि टुंगिएन । जुन हतारोले पार्टी एकता भएको थियो, उपलब्धि त त्यसअनुरूप भएन नि ?

नेतृत्वले समग्रमा पार्टी आन्दोलन कसरी हाँक्नुपर्छ भन्ने नसोच्दा यी समस्या निम्तिएका हुन् । हामी यी समस्या समाधान गर्ने संघर्षमै छौं । हामीले जनवादी क्रान्ति आधारभूत रूपले सम्पन्न भएपछि नेपाली आन्दोलन समाजवादी क्रान्तिको ऐतिहासिक चरणमा प्रवेश गरेको छ भनेर संश्लेषण गरेका छौं । त्यही लक्ष्यमा अघि बढ्न शान्तिपूर्ण संघर्ष र प्रतिस्पर्धाको बाटो अंगाल्ने स्पष्ट गरेका छौं ।

यहाँहरूको दुई वर्ष त कसका मान्छे कति भनेर टाउको गन्दैमा बित्यो नि ?

संगठनात्मक रूपमा आइपुग्दा संख्याहरू पनि त्यहाँ हुन्छ । हामीले नेकपा एमाले र माओवादी केन्द्र औपचारिक विघटन गरेका हौं तर पार्टी विघटन भए पनि ती पार्टीका पुराना आदत, प्रभाव, संस्कारहरू थिए । ती जस्ताको तस्तै नयाँ पार्टीमा आइपुगे र गुटगत मानसिकताहरू नयाँ पार्टीमा फैलिएको देखियो । आमकार्यकर्ता एकता र रूपान्तरणको पक्षमा देखिन्छन् तर मूल नेतृत्व टिम रूपान्तरणको पक्षमा देखिँदैन । परिस्थितिअनुसार अगाडि बढ्नेभन्दा पनि पुरानै यादमा हराइरहेको छ । आजको मुख्य समस्या भनेको त्यही हो । पुरानो पार्टीका गुटहरू नयाँ पार्टीमा सर्नुले एकीकृत पार्टी पनि वैचारिक र सैद्धान्तिक हिसाबमा पुरानो आदतले नै थिचिएको छ । मूल नेतृत्वमा वैराग्य देखिएको छ, त्यसले पनि समस्यामा पारेको छ । हामी नेतृत्वको एकताप्रतिको उदासीनता र वैराग्यलाई तोडेर नेकपालाई नेकपा बनाउने अभियानमा छौं ।

तर आफैंले बनाएको विधान त पार्टीले मान्दैन नि !

नेकपा पूर्ण रूपले नेकपा भइनसक्नुको मूल कारण नै त्यही हो । पारित भएको राजनीतिक प्रतिवदेन, विधान, नियमावलीअनुरूप मूल नेतृत्व चल्दै चलेनन् । सामान्तवादविरुद्ध लामो समय संघर्ष गरेको हाम्रो नेतृत्वले अहिले नेकपामा भने सामूहिक नेतृत्वमा अरुचि देखायो । हाम्रो पार्टीका शीर्ष नेताहरूमा सामन्तवादका बाछिटा परेको देखिन्छ तर हामीले अन्तरसंघर्षमार्फत परास्त गर्दै जानेछौं ।

तपाईंहरूले परास्त पार्नै पर्ने नेकपाको मूल कमजोरी के हो अहिले ?

समानान्तर नेतृत्व बनाउनु र स्पष्ट कार्यादेश नहुनु आफैंमा सैद्धान्तिक रूपले विरोधाभाष थियो तर त्यतिखेर हाम्रो बाध्यता पनि थियो । एकताको प्रारम्भिक चरणमा भएको सहमति इमान्दारिताका साथ लागू गर्ने या त कमिटी प्रणालीमा ल्याएर पुन: परिभाषित गर्नुपर्थ्यो । तर टाउका टाउकाले कानेखुसी गरेर निर्णय समस्या बल्झिएको हो । हामीले वैचारिक रूपले समाजवाद भनिएपछि यो कसरी अघि बढ्छ, यसको सामाजिक र आर्थिक प्रणाली कस्तो हुन्छ भन्नेमा नेकपा अस्पष्ट छ । यही बेला केन्द्रमा सचिवालय भन्ने संरचना छ त्यो स्वार्थको गठजोडजस्तो देखिएको छ र सचिवालय नै पार्टीको मूल समस्या हो ।

नेकपा अबको दिनमा कसरी अघि बढ्नुपर्छ ?

अमुक नेतृत्वका आ-आफ्ना चिन्तन र शैली त हुन्छन् नै । ती शैली पार्टीको विधि, पद्धति र प्रणालीभन्दा बाहिर हुनै सक्दैनन् । ती सबैलाई हामीले पार्टी प्रणालीभित्र ल्याउँछौं । त्यसमा मूल नेतृत्व टिम अझ गम्भीरतापूर्वक लाग्नुपर्छ ।

सम्बन्धित समाचार

नेकपा कुनै गुटको फेडरेसन होइन : महासचिव पौडेल

नेकपा एकता : रस्साकसीमै अल्झियो दुई वर्ष

प्रकाशित : जेष्ठ २, २०७७ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?