२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नेकपा कुनै गुटको फेडरेसन होइन : महासचिव पौडेल

बिनु सुवेदी

काठमाडौँ — दुई वर्षअघि ठ्याक्कै आजकै दिन एकताका बेला नेकपा नेताहरूले दुई वर्षमा महाधिवेशन गर्ने घोषणा गरेका थिए । वाचाअनुसार भएको भए यतिखेर नेकपा नयाँ नेतृत्वसहित पार्टी काममा एकताबद्ध भइसक्नुपथ्र्याे तर अहिले पनि आन्तरिक भागबन्डामा कसको भूमिका के हुने भन्नेमै नेताहरूको ध्याउन्न छ ।

नेकपा कुनै गुटको फेडरेसन होइन : महासचिव पौडेल

दुई वर्षसम्म पनि पार्टी एकता टुंगोमा पुग्‍न नसक्नुपछिका कारणका बारेमा बिनु सुवेदीले नेकपा महासचिव विष्णु पौडेलसँग गरेको कुराकानी :

नेकपा एकता केका लागि गरिएको थियो र यो दुई वर्षमा के काम भयो ?

केका लागि गरिएको थियो भन्ने त छलफलको विषय भएन । राजनीतिक स्थायित्व, विकास र समृद्धितर्फ मुलुकलाई लैजानका लागि एउटा लोकतान्त्रिक अग्रगामी समाजवादउन्मुख समाज निर्माणका लागि गरिएको एकता हो । संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनका लागि र न्यायपूर्ण समाज स्थापना गर्नका लागि एकता गरिएको हो । यसबीचमा एकता एकीकरणका अधिकांश काम सकिएका छन् । केही बाँकी छन् ।

एकीकरणको उद्देश्यअनुसार नेकपा चलेको छ त ?

जुन उद्देश्यका लागि एकता र एकीकरण गरिएको हो त्यो उद्देश्यतर्फ नै हामी छौं तर जुन हिसाबले एकतालाई सुदृढ बनाउनुपर्ने हो त्यसमा केही कमीकमजोरी भएको छ । उद्देश्यअनुसार एकता प्रक्रियालाई अघि बढाउँछौं ।

यहाँले नै भनेअनुसार नेकपाको अहिलेको कमजोरी के हो ?

एकता प्रक्रियाबारे टुंगो लगाउन परस्परमा विश्वासको सम्बन्ध बनाउने, सामुन्नेमा आएका विषयहरूलाई एकताबद्ध भएर टुंगो लगाउने सन्दर्भमा केही कमजोरीहरू भएका छन् ।

सैद्धान्तिकभन्दा पनि गणितीय हिसाबले जोडिएको हुनाले पनि नेकपा नेकपाजस्तो हुन सकेन भन्ने टिप्पणी पनि छ नि ?

एकताको घोषणापत्रलाई हेर्नुहुन्छ भने पनि यो एकताको मुख्य आधार भनेको सैद्धान्तिक नै हो । दुईटा फरक पृष्ठभूमिका पार्टी एक ठाउँमा आइपुगेका हौं । दुईवटा धारका राजनीतिक दल एउटा साझा सैद्धान्तिक निष्कर्षमा आइपुगेपछि एकता भएको हो । हामी माक्र्सवादलाई मार्गदर्शक सिद्धान्त मान्दछौं । शान्तिपूर्ण, संवैधानिक र संसदीय माध्यमबाट हामी विकास निर्माण, समृद्धि, सामाजिक न्याय सुनिश्चित गर्न समाजवादको आधार निर्माण गर्न सक्छौं भन्ने विश्वासको आधारमा पार्टी एकता गरिएको हो । त्यसकारण एकता असैद्धान्तिक हो भन्ने होइन ।

पछिल्लो दुई वर्षलाई नियाल्दा त सिद्धान्त, नीति, विधिको बहस त्यति धेरै भएकोजस्तो देखिएन । बरु कसको जिम्मेवारी के हुने, कसले के भाग पाउने भन्ने विषयकै वरिपरि यहाँहरूको केन्द्रित भएको देखियो नि ?

हामी एकता प्रक्रिया टुंग्याइरहँदा के निष्कर्षमा पुग्यौं भने, एकता प्रक्रियापछि महाधिवेशनको तयारीमा लाग्छौं र त्यसपछि बल्ल हबहसको सुरुवात गर्छाैं भनेर निर्णय गरेको हो । हामीले सबैभन्दा पहिले एकता प्रक्रियालाई आधारभूत रूपमा टुंगो लगाउने र महाधिवेशनको तयारी सुरु गर्ने र त्यसपछि बल्ल उन्नतस्तरको बहसको प्रक्रिया खुला गर्ने तयारी हो ।

यसको मतलब नेकपामा सैद्धान्तिक राजनीतिक बहसको सुरुवात अझै भएको छैन ?

हामीले पार्टी एकता गर्दा जे जति सैद्धान्तिक नीतिगत निष्कर्ष निकाल्यौं, त्यसका आधारमा निर्देशित भएर अगाडि बढेका छौं । अरू बाँकी कतिपय विषयमा महाधिवेशनको मिति तय भएपछि हामी बहस खुल्ला गर्छाैं भन्ने हाम्रो निर्णय छ ।

एकताअघि विभिन्न खालको गोप्य सहमति भएको र समयक्रममा ती सहमतिहरू तोडिँदै गएको कारणले पनि यहाँहरूको पार्टी समस्या नै समस्यामा परेको हो भन्ने पनि हो नि, हैन र ?

विगतमा केही चिज गोप्य थियो भने पनि अब ती गोप्य रहेका छैनन् । आजको मितिमा भन्नुहुन्छ भने जे छ, पार्टीका निर्णयहरू छन्, त्यसको आधारमा पार्टी अघि बढ्छ । हाम्रो पार्टी मूलभूत रूपमा विधानको पालना गरेरै अघि बढेको छ । कतिपय अवस्थामा विधानको अक्षरश: पालना नभएको होला तर हामी अनुशासन बाहिर गएका छैनौं ।

तर छलफलबाट विषयको हल गर्ने र सामूहिक निर्णय गर्ने कम्युनिस्ट परम्पराबाट नेकपा बाहिर गयो भन्ने आक्षेप छ नि ?

नेकपाको आन्तरिक जीवनमा केही समस्या देखिएका थिए । केही न केही समस्या अहिले पनि होलान् । हामी त कमीहरूलाई पनि आपसी एकतालाई प्रभावकारी बनाएरै अघि बढ्छौं । एउटा घरभित्र पनि समस्या आउँछ भने, ठूलो पार्टीमा कामको दौरानमा साना–मसिना समस्या देखिनु स्वाभाविक हो । हामी ती समस्या समाधान गर्दै अघि बढ्छौं ।

तपाईंहरूको पार्टीमा विभिन्न खालका समूहको छलफल हुन्छन्, कहिले को कतातिर ढल्किएको हुन्छ, ती समूह मिलाउन यहाँको विशेष दौडधुप नै देखिन्छ । खासमा तपाईंलाई त दु:ख छ नि है ?

नेकपा कुनै गुटको फेडरेसन होइन । यो सुन्तलाजस्तो हैन, स्याउजस्तो हुनुपर्छ भन्ने मेरो मान्यता छ । स्वाभाविक रूपमा खँदिलो एकता हुन एउटा निश्चित समय त लागिहाल्छ । संस्थागत निर्णय गरेर अघि बढ्छौं भन्ने कुरालाई हामी स्थापित गर्छाैं ।

तर कहिलेकाहीँ समस्या एकदम धेरै देखिन्छ नि, केही कारण त होला ?

भित्र जति समस्या छ, बाहिर अतिरन्जना भएर पनि आउँछन् । तर मलाई के लाग्छ भने हामीसित जति समस्या छन्, ती काबुबाहिर छैनन् । ती समस्या हल गर्न सकिन्छ ।

सम्बन्धित समाचार

टाउका टाउकाले कानेखुसी गरेर पार्टीमा समस्या बल्झिएको हो : शर्मा

नेकपा एकता : रस्साकसीमै अल्झियो दुई वर्ष

प्रकाशित : जेष्ठ २, २०७७ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?