एकलौटी अघि बढ्ने प्रधानमन्त्रीको निर्णयले सीमा नाघेको छ : नेता शर्मा- कुराकानी - कान्तिपुर समाचार

एकलौटी अघि बढ्ने प्रधानमन्त्रीको निर्णयले सीमा नाघेको छ : नेता शर्मा

'हामीले उहाँलाई बदल्न र सच्याउन धेरै कोसिस गरेका हौं तर पार्टीले समयमै दिएको सुझाव उहाँले सुन्नुभएन ।'
बिनु सुवेदी

काठमाडौँ — अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाललाई मिलेर जान प्रस्ताव गरेका छन् । स्थायी कमिटीका बहुमतभन्दा बढी सदस्यले प्रधानमन्त्री ओलीका पछिल्ला कदममाथि प्रश्न उठाउँदै बैठक माग गरेपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् ।

यसै सन्दर्भमा नेकपाका स्थायी कमिटी सदस्‍य जनार्दन शर्मासँग कान्तिपुरका लागि बिनु सुवेदीले गरेको कुराकानी :

पार्टी एकीकरण हुने बेलामा दुई अध्यक्ष मिलाउने कोर टिममा हुनुहुन्थ्यो, यो दुई वर्षको बीचमा त अध्यक्षहरू धेरैपटक दुई धारमा देखिए । एकताका बेला के त्यस्तो कमजोरी भयो र यति छिट्टै समस्या आयो ?

जुन उद्देश्यमा आधारित भएर पार्टी एकता गरिएको हो, त्यसमा प्रधानमन्त्रीजी टिक्नुभएन । उहाँलाई एकलौटी सरकार सञ्चालन गर्नेसमेत अधिकार दिइयो तर उहाँले सहमति–सम्झौताभन्दा पार्टी एकताको मर्मविपरीत विधेयक ल्याउनुभयो । पार्टी र विधिलाई महत्त्व दिनुभएन । आफ्नो एकलौटी सोच र धारणबाट चल्नुभयो । त्यसले नै गडबड भएको हो । त्यही कुरालाई सच्याउनुपर्ने भएकाले हामीले पार्टी बैठक माग गरेका छौं । बिगार्दाखेरी प्रधानमन्त्रीले बिगार्ने र जिम्मा पार्टीले लिने जुन खालको परम्परा बनेको छ, त्यो अन्त्य गर्न हामीले चाहेका हौं ।

सरकार सम्पूर्ण रूपमा प्रधानमन्त्रीले सम्हाल्ने भन्ने आधारमा उहाँले निर्णयहरु गर्नुभएको होला । सरकारमा प्रधानमन्त्रीले गरेको निर्णयकै आधारमा उहाँ सहमतिमा टिक्नुभएन भन्न मिल्छ ?

सरकार चलाउने भनेको सैद्धान्तिक, नीतिगत, संवैधानिक कुरालाई उथलपुथल पार्ने भनेको हैन । उहाँले को सचिव सरुवा गर्नुहुन्छ, त्यसमा त हामीले केही भनेका छैनौं तर संबिधान र कानुन नै चेन्ज गर्ने कुरा त सरकारको मात्रै होइन । पार्टी र जनतालाई असर पर्ने कुरा हुन थाल्यो भने त पार्टीले जिम्मा लिनुपर्छ । आखिर यो सरकार बनाएको त पार्टीले हो । जनताले भोट दिएको पार्टीलाई हो । पार्टीको योजना र लक्ष्यलाई पनि मार पर्दै जाने र हुँदाहुँदै अरु पार्टी फुटाउनसमेत आफै कस्सिएर लाग्ने अवस्था आयो । त्यतिखेर सरकारले गर्ने काम हो भने चुप लागेर बस्न सकिँदैन । सरकारले गरेका विकास निर्माणलगायत काममा त पार्टीले समर्थन गरेकै छ नि †

भन्नाले यहाँहरु पहिले सरकारका कामसँग सहमत हुनुहुन्थ्यो, अध्यादेश ल्याउने कुरामा चाहिँ असन्तुष्टि रह्यो ?

असन्तुष्टिभन्दा पनि देशको लोकतान्त्रिक प्रणालीमाथि नै संकट आउने कानुन बनाउन उहाँ उद्यत हुनुभयो । संवैधानिक अधिकारलाई फेरबदल गर्ने र अरू पार्टीसमेत उहाँको चाहनामा चल्नुपर्ने किसिमले प्रधानमन्त्री अघि बढ्नुभयो । देशमा जनता त अरू पनि छन्, कम्युनिस्ट मात्रै छैनन् । जनताका भावना, आस्था र विचारमाथि हस्तक्षेप गरेर निर्ममतापूर्वक अगाडि बढेपछि त पार्टी र सरकार केका लागि भन्ने प्रश्न आउँछ । देशलाई अप्ठ्यारो ठाउँमा पुर्‍याउने स्थिति आएपछि पार्टीले हस्तक्षेप गर्ने र निर्देशन दिने कुरा आउँछ । शासकले स्वेच्छाचारी भएर जान त मिल्दैन नि, त्यसलाई उहाँले सच्याउनुपर्‍यो ।

प्रधानमन्त्रीले आफूलाई कसरी सच्याउने भन्ने उपाय पनि त होला नि ?

प्रधानमन्त्रीमाथि नैतिक प्रश्न खडा भयो भनेर मैले भनेको छु, अरू साथीहरुले पनि भन्नुभएको छ । आइतबार पनि सरकारका तर्फबाट काठमाडौंमा घटनाहरु भइरहेका छन् । त्यसैले हामीले पार्टीको बैठक माग गरेका छौं, यो कुरा हामीले बैठकमै भन्छौं र निर्णय गर्छाैं, त्यहींबाट नयाँ प्रक्रिया सुरु हुन्छ । उहाँले के गर्ने कमिटीले भन्छ ।

साढे दुई वर्षको अवधिमा सरकारले सल्लाहबिना काम गरेको यो पहिलोपटक हैन तर पार्टीले नजरअन्दाज गरिरहेको थियो । अहिले पनि त्यही कुरा नदोहोरिएला भन्न त सकिन्न नि ?

दर्जनौं निर्णय छन्, जुन प्रधानमन्त्रीले एकलौटी रूपमा अगाडि बढाउनुभयो । सुरुकै निर्णयबाट हामीले यो नगरौं गलत हुन्छ भनिरहेका थियौं । गल्ती भयो, यसलाई सच्याउनुस् भन्दा उहाँले कहिल्यै स्वीकार गर्नुभएन । जब दबाब पर्‍यो, त्यसपछि पछि हट्नुभयो । गिरिजाप्रसाद कोइराला फाउन्डेसनमा बजेट हाल्ने नहाल्ने विषयदेखि सुरु भएका विवाद गुठी, सञ्चार विधेयक हुँदै यहाँसम्म आउँदाका दर्जनौं कुरा छन् । ती कुराहरु उहाँले ल्याउने, बिगार्ने, पार्टीको इमेज ध्वस्त पार्ने अनि त्यसपछि फिर्ता लिने गर्नुभएको छ । हामीले उहाँलाई बदल्न र सच्याउन धेरै कोसिस गरेका हौं तर पार्टीले समयमै दिएको सुझाव उहाँले सुन्नुभएन । उहाँ स्वेच्छाचारी बाटोमा हिँड्नुभएको छ ।

उसो हो भने पार्टीको निर्णय स्वीकार नगर्ने प्रधानमन्त्रीलाई पार्टीले पनि त स्वीकार गर्नुपर्छ भन्ने छैन होला नि, हैन ?

हामीले छलफलहरु गरेका छौं । पार्टीको बैठकमा उहाँका कुरा सुन्छौं र विश्लेषण गरेपछि त्यो विषयमा पार्टीले निर्णय गर्छ ।

प्रधानमन्त्रीले म पार्टीको विधिअनुसार चल्छु भन्नुभयो भने त यहाँहरुले छुट दिनुहुन्छ होला नि ?

घटनाक्रमको फेहरिस्त हेर्छौं, हामीले सच्याउन आग्रह गर्दा पनि एकलौटी ढंगले अघि बढ्ने उहाँको निर्णयले सीमा नाघेको छ । त्यसलाई हामीले हेरिरहेका छौं ।

तर स्थायी कमिटी बैठक नै बस्ने/नबस्ने पनि त टुंगो छैन नि !

पार्टीको बैठक त हामीले बोलाइसकेका छौं । त्यसलाई आयोजना गर्ने कुरा हो, अध्यक्षहरुले आयोजना नगरी सुखै छैन ।

प्रकाशित : वैशाख १५, २०७७ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्

ब्याज सहुलियतको प्याकेज ल्याइँदै

असारमा तिर्नुपर्ने ब्याजमा ऋणीलाई सहुलियत दिइने
यज्ञ बञ्जाडे

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित ऋणीलाई असारमा तिर्नुपर्ने ब्याजमा सहुलियत दिन लागिएको छ । राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवका अवसरमा आइतबार गभर्नर महाप्रसाद अधिकारीले चौथो त्रैमासको ब्याजमा सहुलियत, भुक्तानी अवधि थप, सहज रूपमा चालु कर्जा प्रवाहको व्यवस्था, कर्जाको पुनर्तालिकीकरण, पुन:संरचनालगायत विभिन्न राहत प्याकेज घोषणा गरे ।

संक्रमणकालीन अवस्थाका लागि भन्दै राष्ट्र बैंकले आधा दर्जन सुविधा घोषणा गरे पनि तिनको विधि तथा प्रक्रियाबारे खुलाइएको छैन । ब्याज सहुलियतअन्तर्गत ऋणीले कस्तो सुविधा पाउँछन् भन्ने जिज्ञासामा राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने, ‘ब्याज छुट, सहुलियत दरमा कर्जालगायत हुन सक्छन् ।’ कोरोनाले पारेको क्षेत्रगत प्रभाव र आफ्नो नीतिगत सीमाभित्र रहेर के–कति ब्याज छुट दिन सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ । सोही अध्ययनको सुझावका आधारमा क्षेत्रगत रूपमा परेको प्रभावका आधारमा राहत सुविधा ल्याइने उनले बताए ।

‘चालु आर्थिक वर्षको चौथो त्रैमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेछ,’ गभर्नरको वक्तव्यमा भनिएको छ । यसअघि राष्ट्र बैंकले चैतसम्म भुक्तानी भएको कर्जामा पाकेको ब्याजको १० प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको छ ।

‘हाम्रो उद्देश्य ऋण दिने (बैंक) र ऋण लिने (ऋणी) कोही पनि मर्कामा नपरुन् भन्ने हो,’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यसकारण दुई–तीन वा कति प्रतिशत ब्याज छुट दिँदा दुवै (बैंक र ऋणी) लाई राहत मिल्छ भन्नेबारे अध्ययन गरिरहेका छौं ।’ अध्ययन पूरा भएपछि एक त्रैमासका लागि बैंकहरूलाई ब्याज छुट दिन आग्रह गरिने पनि ती अधिकारीको भनाइ छ ।

‘कोभिड–१९ को संक्रमण न्यूनीकरणका लागि लागू गरिएको घरमै बस्नुपर्ने व्यवस्थाले अर्थतन्त्रमा पारेको प्रभावलाई यस बैंकले सूक्ष्म ढंगले अध्ययन गरिरहेको छ,’ गभर्नर अधिकारीको वक्तव्यमा भनिएको छ, ‘सबैलाई सहज हुने गरी केही राहत कार्यक्रम घोषणा गरी कार्यान्वयनमा ल्याइसकिएको छ ।’

लकडाउनका बेला भुक्तानी गर्नुपर्ने कर्जाको अवधि थप गर्ने तयारी पनि राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंकले यसअघि चैतसम्म भुक्तानी गर्नुपर्ने साँवाब्याज असारसम्म तिरे हुने व्यवस्था पनि गरिसकेको छ । ‘कोरोनाबाट बढी प्रभावित क्षेत्रलाई चालु पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइनेछ,’ वक्तव्यमा भनिएको छ, ‘बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपाय अवलम्बन गरिनेछ ।’

साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुने गरी राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि परिमार्जन गर्ने भएको छ । यसले कोरोनाबाट धेरै प्रभावित क्षेत्रमा सहज ढंगले पुनर्कर्जा प्रवाह गर्न सकिने राष्ट्र बैंकको दाबी छ । ‘६० अर्बको विद्यमान पुनर्कर्जा कोषलाई आवश्यकताअनुसार क्रमश: वृद्धि गर्दै लैजाने व्यवस्थासमेत मिलाइनेछ,’ वक्तव्यमा उल्लेख छ ।

सरकारको निर्देशनअनुसार एक महिनाअघि राष्ट्र बैंकले पुनर्कर्जा कोष बढाएर ६० अर्ब रुपैयाँ बनाउने घोषणा गरेको थियो । त्यसलाई फेरि बढाउने संकेत राष्ट्र बैंकले गरेको हो । हालसम्म कोषको आकार ६० अर्ब रुपैयाँ पनि पुर्‍याइएको छैन । गत फागुनसम्म साधारण पुनर्कर्जा १५ अर्ब ८३ करोड, निर्यात पुनर्कर्जा १ अर्ब १ करोड र भूकम्पपीडितलाई १ अर्ब ५३ करोड गरी कुल १८ अर्ब ३७ करोड रुपैयाँ पुनर्कर्जा लगानीमा छ । कोभिड–१९ बाट बढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनर्तालिकीकरण वा पुन:संरचना गर्न सकिने सुविधा पनि राष्ट्र बैंकले दिने भएको छ ।

कोरोना संक्रमणका कारण उत्पन्न महामारीबाट सिर्जित विषम परिस्थितिमा वित्तीय प्रणालीमा लगानीयोग्य साधनको अभाव हुन नदिने पनि राष्ट्र बैंकले बताएको छ । ‘बैंक तथा वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोतसाधनलाई पूर्वाधारका क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, ऊर्जा, पर्यटनलगायत अत्यावश्यक वस्तु तथा सेवाको उत्पादन तथा आपूर्ति गर्ने एवं रोजगारी सिर्जना गर्ने क्षेत्रमा निर्देशित गर्नेतर्फ राष्ट्र बैंक कटिबद्ध छ,’ गभर्नर अधिकारीले भनेका छन् ।

विद्यमान अवस्थामा मुलुकको पर्यटन, उद्योग, व्यापार, व्यवसाय, वैदेशिक रोजगारी, वित्तीय तथा पूर्वाधार निर्माणलगायत क्षेत्रमा परेको असर न्यूनीकरण गर्दै अर्थतन्त्रलाई विस्तारको बाटोमा अगाडि बढाउँदै समष्टिगत आर्थिक स्थायित्व कायम गरिने पनि राष्ट्र बैंकले बताएको छ । ‘विश्व अर्थतन्त्रसँगै नेपालको अर्थतन्त्र पनि प्रभावित भएको छ,’ राष्ट्र बैंकले भनेको छ । विगत तीन वर्षदेखि कायम आर्थिक क्रियाकलापको उत्साहप्रद विस्तारमा कमी आउने प्रक्षेपण पनि राष्ट्र बैंकले गरेको छ ।

प्रकाशित : वैशाख १५, २०७७ ०७:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×