२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

घटनास्थल महोत्तरी देखाइएको छ, काठमाडौंबाट कसरी जाहेरी दर्ता गर्नु ? : एसएसपी ज्ञवाली

मातृका दाहाल

काठमाडौँ — महानगरीय प्रहरी परिसर टेकुले सांसद अपहरणको जाहेरी लिन अस्वीकार गरेको छ । जनता समाजवादीले आफ्ना सांसद डा.सुरेन्द्र यादवलाई पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल तथा सत्तारुढ नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भनेर दिएको उजुरी किन दर्ता भएन ? परिसरका एसएसपी श्यामलाल ज्ञवालीसँग गरिएको संक्षिप्त कुराकारी :

घटनास्थल महोत्तरी देखाइएको छ, काठमाडौंबाट कसरी जाहेरी दर्ता गर्नु ? : एसएसपी ज्ञवाली

जनता समाजवादी पार्टीको सांसद अपहरणको जाहेरी किन दर्ता गर्नु भएन ?

जाहेरी सरसर्ती पढ्यौं । घटनास्थल महोत्तरी राखेर ल्याइएको थियो, उतैबाट प्रक्रिया अघि बढाउनुस् भनेर फिर्ता गरिदिएका हौं ।

कानुनमा त नजिकको प्रहरी कार्यालयबाट पनि दर्ता गर्न मिल्छ भन्ने छ नि ?

हो, तपाईंले भनेको सही हो । अर्को विकल्प नहुँदा त्यो पनि गर्न सकिन्छ । घटनास्थल महोत्तरी उल्लेख छ। अहिले महोत्तरीबाटै यो केस दर्ता गर्न के कठिनाई छ र ?

आफ्नै निवर्तमान आईजीपी र सत्तारुढ दलका बहालवाला सांसदविरुद्धको केस भएर दर्ता गर्न अस्वीकार गर्नुभएको भन्ने आरोप छ नि ?

अपराधको अनुसन्धान गर्न को, कहाँ र के पदमा छ भन्नेले अर्थ राख्दैन ।

जाहेरी दर्ता गर्न नमिल्ने कारण लिखितमा दिन पनि माग गरिएको थियो, तर त्यो पनि दिनुभएन रे ?

मैले अघि पनि भने नि, वारदात (घटनास्थल) अरु नै जिल्ला राखिएको थियो । त्यही भएर उतैबाट दर्ता गर्नुस् भनेका हौं ।

तपाईंले उजुरी दर्ता गरेर महोत्तरी पठाउन मिल्थेन ?

हामीलाई त्यो जरुरी लागेन । अरु विकल्प भएन भने त्यो पनि गर्न सकिन्थ्यो । तर उहाँहरुको महोत्तरी जान नसक्ने स्थिति पनि त छैन नि ।

यो प्रकरणको घटनास्थल त काठमाडौं पनि त हो नि ?

हो, तर जाहेरीमै घटनाको उठान महोत्तरीबाट भएको उल्लेख छ । उता दर्ता भयो र हाम्रो सपोर्ट चाहियो भने महोत्तरीले लेखेर पठाउला नि ! त्यसपछि के कस्तो सहयोग गर्नुपर्छ गर्छौं ।

जनता समाजवादीका नेताहरुले माथिको दबाबले दर्ता गर्न नमानेको भनेका छन् त ?

त्यस्तो केही दबाब थिएन । हामीले सहजरुपमा उहाँहरुलाई घटनास्थल जहाँ हो, उतै गएर दर्ता गर्नुस् भनेका हौं । अपहरणजस्तो गम्भीर किसिमको केसमा न हदम्याद जान्छ, न समय अभाव । यो केसमा महोत्तरीमा गएर ढुक्कसँग दर्ता गर्न सकिन्छ ।

तस्बिर : ज्ञवालीको फेसबुकबाट

प्रकाशित : वैशाख १४, २०७७ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?