१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अहिले भावनाका कुरा गरेर चल्दैन : प्रदीप ज्ञवाली [अन्तर्वार्ता]

-लकडाउनमा यसरी बेरोकटोक आवागमन भइदियो भने स्थिति के रहला?-संकटको घडीमा फाइदा उठाउन खोज्नेप्रति सरकार सजग छ। स्वास्थ्य सामग्री खरिदको खर्च र आर्थिक पक्षको पनि हिसाबकिताब हुनेछ।

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महामारीका रुपमा फैलिसकेको कोरोना भाइरसको संक्रमणसँग जुध्‍न बहुपक्षीय र बहुराष्ट्रिय सहयोग आवश्यक देखिएकाले नेपाल-भारत सीमावर्ती विन्दुमा आएर बसेका नेपालीको हेरदेख र स्वास्थ्य सुरक्षाको जिम्मेवारीका लागि भारतसँग आग्रह गरिएको बताएका छन्।

अहिले भावनाका कुरा गरेर चल्दैन : प्रदीप ज्ञवाली [अन्तर्वार्ता]

‘नेपालपट्टि पनि भैरहवा, रौतहटसहितका नाकामा केही सयको संख्यामा भारतीय नागरिक अड्किएर बसेका छन्,’ मन्त्री ज्ञवालीले भने, ‘कम्तीमा लकडाउनको अवधिभर हामीले भारतीय नागरिकको सेवासुरक्षा र भारतीयले नेपालीको सेवासुरक्षा हेरदेख गर्ने अहिलेको सहमति बनेको हो।’ आवश्यक देखिएको अवस्थामा दुवैतर्फ नागरिकलाई क्वारेन्टाइनमा राख्न सकिने प्रबन्धसमेत तय भएको मन्त्री ज्ञवालीको भनाइ छ।

मन्त्री ज्ञवालीसँग देवेन्द्र भट्टराईदुर्गा खनालले गरेको कुराकानी :

जीवनको अन्तिम घडी आएझैं गरी ‘आफ्नो देश फर्कन पाउँ' भन्दै सिमानामा अड्किएका आफ्ना नागरिकलाई घर ल्याउन के समस्या पर्‍यो?

आफ्ना नागरिक घर फिर्ता ल्याउन नसकिने होइन। तर, यो संवेदनशील घडीमा जोखिमपूर्ण यात्रालाई प्रोत्साहित गर्ने कि नगर्ने भन्ने महत्वपूर्ण प्रश्न हो। कोरोनाले महामारीको रुप लिइसकेको अवस्थामा अरुभन्दा पनि मनोवैज्ञानिक सन्त्रास बेहोर्दै नेपाल–भारत सीमावर्ती विन्दुमा आएर घर फर्कने पुकारा गरिरहेका नेपाली नागरिकलाई तत्कालको गम्भीर स्थिति मूल्यांकन गरेरै रोक लगाइएको हो। कोरोना संक्रमणको जोखिमका माझ राज्यले निर्धारण गरिसकेको ‘लकडाउन’मा यसरी बेरोकटोक आवागमन भइदियो भने स्थिति के रहला ? उसोभए, तपाईंहरुले पनि काठमाडौंमा रहेर भन्नुहोला- म मेरो गाउँ फर्कन किन नपाउने? हो, यो जोखिमका बेला हरेक प्रश्नको जवाफ खोज्नुभन्दा पनि जोखिम न्यूनीकरणको उत्तम उपाय के होला भनेर ‘जो जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित भएर बस्नुहोस्’ भनिएको हो।

भारतमा रहेका नेपालीको हकहित र सुरक्षाको जिम्मामा बसेको दिल्लीस्थित दूतावासले तपाईंले भनेझैं ‘जो जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित भएर बस्नुहोस्’ भन्नमै ढिलाइ गरेको देखियो। हाम्रा निकाय र पद्धतिमा सहज वा असहज जुनसुकै अवस्थामा पनि ‘कामचलाउ शैली’ मात्रै देखियो नि, किन?

काम गराइमा कहीँकतै ‘सिष्टमेटिक इरर’ भएको होला। तर, जो जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित भएर बस्नुहोस् भनेर राज्य तहबाटै पनि भनिएको कुरा हो। यो आतेसको घडीमा दिल्लीका बस स्टेसन र अरु सहरमा भारतीय नागरिककै अस्तव्यस्त अवस्था तपाईंले देख्नुभएको छ। लकडाउनअघि र पछिकै अवस्थामा सुदूरपश्चिमका जिल्लाहरुमा मात्रै भारतबाट १ लाख ३५ हजार नेपाली नागरिक घर भित्रिएको डाटा आएको छ। अब यो संक्रमण र महामारीको बेलामा कस्तो असाध्य कुरा हो यो? लकडाउनको आसपासमा हामीले गौरीफन्टा, गड्डाचौकीजस्ता नाकामा आइपरेको अस्तव्यस्त अवस्था पनि देखेकै हो। यसकारण मैले अघि भनिसकेको छु– अरुभन्दा पनि मनोवैज्ञानिक सन्त्रासले निकै आतेस उब्जाएको स्थिति छ। यसबेला भावनाका कुरा गरेर अथवा भावनाले मात्रै चल्ने अवस्था छैन।

लकडाउनकै अवधि हाम्रोभन्दा भारतले बढी तोकेको देखिन्छ। यता लकडाउन खुल्ने, उता बन्द भइरहने अवस्थामा ती बोर्डर आसपासमा बसेका नेपालीको स्थिति के हुनेछ?

यसमा स्थितिको पुनर्मूल्यांकन गर्दै अघि बढ्नेछौं। तर, कसरी सुरक्षित र जोखिमरहित अवस्थामा पुग्न सकिन्छ भन्ने मात्रै अहिलेको ध्येय हो।

अर्को प्रसंग, आफ्ना नागरिकको सेवासुरक्षामा सरकार गम्भीर छ भन्ने देखाउनै पनि आज चार्टर सेवा लिएर ब्रिसबेन जान लागेको नेपाल वायुसेवाको उडान फर्कंदा अस्ट्रेलियामा रहेका ‘जरुरी र इच्छुक नेपाली’लाई घर फर्काउन सकिन्न र?

होइन, यसरी दोहोरो मापदण्ड लिन मिल्दैन। यहाँ सीमापारि आएर बसेका नेपालीलाई ‘लकडाउन’ भनेर भित्रिन नदिने अनि अस्ट्रेलियाबाट यही घडीमा नेपाली फर्काएर ल्याउने? कि त बाहिरी विश्वमा रहेका सबै नेपालीलाई ‘इभ्याकुएट’ गर्न सक्नुपर्‍यो, होइन भने देखाउनैका लागि एक सय जना नेपालीलाई घर ल्याउँदैमा के अर्थ रहन्छ र? सबैले ख्याल गर्नुपर्‍यो कि खाडी मुलुकमा पनि हाम्रा नेपाली उत्तिकै छन्, अमेरिकी–युरोपेली मुलुकमा पनि उत्तिकै छन्। हाम्रो अवस्था र स्थितिका आधारमा यो जोखिमयुक्त घडीमा के बाहिरी विश्वका यी सबै नेपालीलाई घर ल्याउन सकिएला त? यसकारण भावनाले मात्रै हुँदैन भनेको हुँ।

सरकार स्वयंले चीनबाट खरिद गरेर ल्याएको कोरोना परीक्षण किट ‘गुणस्तरहीन’ पाइएपछि आलोचना भइरहेको छ। संकटको घडीमा पनि यस्तो लापरबाही र अनियमितताको संकेत पाइएको अवस्था के सामान्य हो र?

एउटा कुरा स्पष्ट पारिहालौं। यो संकटको घडीमा फाइदा उठाउन खोज्नेहरुप्रति सरकार सजग छ। यसमा भएको (स्वास्थ्य सामग्री खरिद) खर्च र आर्थिक पक्षको पनि हिसाबकिताब हुनेछ। हामीले यस्ता स्वास्थ्य सामग्री उपयोगअघि विश्व स्वास्थ्य संगठनको स्टान्डर्ड मापन गर्ने समिति बनाएका छौं, त्यसले दिने सुझाव र गर्ने गुणस्तर मूल्यांकन आफैंमा महत्वपूर्ण हुनेछ नै। कोरोना संक्रमणको घडीमा स्वास्थ्य सामग्रीको अभाव जहीँतहीँ भइरहेकै देखिन्छ, भारतदेखि अमेरिकासम्म। यसो भन्दैमा जनस्वास्थ्यमा खेलबाड हुने कुनै मापदण्डबिनाको सामग्री उपयोगमा आउन दिइनेछैन, यसबारे सरकार सजग छ।

प्रकाशित : चैत्र १९, २०७६ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?