२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

'कोरोनासँग जुध्ने प्रतिरोधात्मक शक्तिको मानव शरीरमा विकास हुन बाँकी छ'

काठमाडौँ — डा. ऋतु अमात्य नेपाल मेडिकल कलेज, जोरपाटी, अत्तरखेलमा सुक्ष्मजीव विज्ञान (माइक्रोवायोलोजी) विभागकी विभागीय प्रमुख हुन् । अहिले विश्वभरि महामारीको रुपमा फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) बारे प्राध्यापक अमात्यसित गरिएको संक्षिप्त कुराकानी । 

'कोरोनासँग जुध्ने प्रतिरोधात्मक शक्तिको मानव शरीरमा विकास हुन बाँकी छ'

अहिले विश्वभरि कोरोना भाइसरको महामारी फैलिरहेको छ । माइक्रोबायोलोजिस्टको रुपमा यतिबेला तपाईं के सोच्दै हुनुहुन्छ ?

यो भाइरसको महामारी चाँडै रोकियोस् । यसविरुद्ध भ्याक्सिन चाँडै बनोस् । अनि यसका लागि उपयुक्त औषधि चाँडै उपलब्ध होस् भन्ने चाहन्छु ।


यस्तो बेला के गर्दा उचित हुन्छ ?

के सरकार, के आमनागरिक सबैले होसियार हुनुपर्छ । बढीभन्दा बढी सजगता अपनाउनु पर्छ । आफू एउटाले गरेको गल्तीले संसारभरका सबै मानिसको ज्यान जोखिममा नपरोस् भनी सचेत हुनु पर्छ ।


भाइरस र ब्याक्टेरियामा कुन खराब हो ?

सामान्य अवस्थमा दुवै खराब हुँदैनन् । भाइरस र व्याक्टेरिया जीवित कोष (लिभिङ सेल) सँगसँगै हुन्छन् । त्यसैले सामान्य अवस्थामा यसले मानिसलाई खराब गर्दैन । रोगजनकले त रोग लगाउने नै भयो । जुन हानीरहीत भन्छौं त्यसले पनि जब मानिसको रोग प्रतिरोधात्मक शक्ति कम हुन्छ तब बिरामी पार्न सक्छ । कोरोना भाइरेडी समूहमा पर्ने सार कोरोना भाइरस–२ को सम्बन्धमा यो मानव जातिकै लागि बिल्कुलै नयाँ भाइरस हो । त्यसैले गर्दा हामी कसैमा पनि यससँग जुध्ने प्रतिरोधात्मक शक्ति बनेको छैन । त्यही कारण अहिले विश्वभर नै यति ठूलो संख्यामा महामारीको रुपमा यो संक्रमण फैलिएको छ । यसविरुद्धको रोग प्रतिरोधात्मक शक्ति भने संक्रमण पश्चात् अर्थात् खोप (भ्याक्सिन) बाट मात्र प्राप्त हुन्छ ।

तपाईंहरु प्रयोगशालामा भाइरस, ब्याक्टेरिया कसरी उत्पादन गर्नुहुन्छ ? अनि नियन्त्रण गर्नु परे के गर्नु हुन्छ ?

सबैभन्दा पहिले त भाइरस र ब्याक्टेरियालाई प्रयोगशालामा उत्पादन गर्न यी दुईबीचको आधारभूत फरक थाहा पाउनु जरुरी छ । भाइरसलाई शरीरबाहिर उत्पादन गर्न जिउँदो जैवीकोष (लिभिङ सेल) चाहिन्छ भने ब्याक्टेरियाचाहिँ सिन्थेटिक कल्चर माध्यममा पनि बाँच्न र फैलिन सक्छ । जीवाणुको जैविक खतरा (वायोहृयाजर्ड) स्तरअनुसार जैविक सुरक्षासम्बन्धी विभिन्न प्रयोगशालाहरु हुन्छन् । यसरी उत्पादन गरिएका ब्याक्टेरिया र भाइरसलाई अटोक्लेभ गरी मरेको सुनिश्चित गरेर मात्र फ्याँकिन्छ । नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकू (एनपीएचएल)मा मात्रै भाइरस कल्चर गर्ने प्रयोगशाला छ । त्यहाँ इन्फ्लुएन्जा भाइरसको कल्चर गरिन्छ ।


अब कोरोना भाइरसको महामारी त फैलिसकेको छ । यसको नियन्त्रण गर्ने के के उपाय छन् ?

पहिलो, यो भाइरस मानिसको नाक, मुख र आँखाबाट शरीरमा प्रवेश गर्छ । त्यसैले खोक्दा, हाच्छ्यूँ गर्दा निस्कने भाइरससहितको ड्रप्लेटलाई हावामा फैलिन नदिन टिस्युले मुख छोपेर अर्थात् आफ्नै कुहिनामा खोक्नु, हाच्छ्यूँ गर्नुपर्छ । हातले छोपेको खण्डमा तुरुन्तै साबुनपानीले हात धुनु पर्छ । रुघा, खोकी लागेको अरुलाई नसरोस् भन्नका लागि सर्जिकल मास्क प्रयोग गर्नु पर्छ । हात र औँलाका माध्यमबाट आँखा, नाक, मुखमा भाइरस पुग्न सक्ने हुँदा आफ्नो अनुहारमा हात लैजानु हुँदैन । लैजानै परेमा पनि हातलाई साबुनपानीले राम्ररी धोएर मात्र छुने गर्नु पर्छ ।


दोस्रो, अहिले देशव्यापी लकडाउनलाई सबैले मान्नु पर्छ । लकडाउनको उद्देश्य यो भाइरसको फैलाउमा ब्रेक लगाउनु हो । ‘सोसल डिस्ट्यान्सिङ’ र एकअर्कासित कम से कम ६ फिटको दूरी राख्नु पर्छ । खोक्दा, हाच्छ्यूँ गर्दा निस्कने भाइरस सहितको ड्रप्लेट ६ फिटसम्म जमिनमा झरिसक्ने भएकाले यसो गरिएको हो । सालाखाला १ जना संक्रमितबाट ३ जनासम्म संक्रमित हुन सक्छन् । अनि यसलाई हटाउन अहिलेको अवस्थामा हामीले गर्नसक्ने भनेको सम्पर्क घटाउने नै हो । त्यसैले सबैलाई घरमा बसिदिन र घरबाट बाहिर ननिस्किन भनिएको हो । जुन अहिले संसारका धेरै देशमा कार्यान्वयन भइरहेको छ ।

तेस्रो, केस पत्ता लगाउन अझ जोड दिनुपर्ने देखिन्छ । संक्रमितको सम्पर्कमा आएकाहरुलाई खोजेर जाँच गर्ने र क्वारेन्टाइनमा राख्नु जरुरी देखिन्छ ।


कोरोना भाइरस संक्रमित भएको मानिसबाट स्वस्थ्य मानिसले कति दिनसम्म अलग रहनु पर्छ ?

यसमा दुइटा कुरा बुझ्नु पर्छ : पहिलो, यस भाइरसले संक्रमण गरेर रोगका लक्षण देखिन १ देखि १४ दिनसम्म लाग्ने देखिएको छ । यस अवधिलाई ‘इन्कुवेसन पिरियड’ भनिन्छ । जुन अवधिमा संक्रमित मान्छेले अरुलाई भाइरस सार्न त सक्छ तर ऊ स्वयंलाई भने रोगको कुनै लक्षण देखापरिहालेको हुँदैन । चीन र अन्य देशको अनुभवमा रोगका लक्षण देखिएका संक्रमितभन्दा लक्षण नदेखिएका संक्रमित अझ धेरै भेटिए । त्यसैले यस्ता लक्षण नदेखिएका तर अरुसँग सम्पर्कमा गएकाहरुको पनि जाँच गर्नु जरुरी छ । दोस्रो, संक्रमितको नाक र घाँटीबाट भाइरसको आरएनए ३७ दिनसम्म (लक्षण शुरु भएपछि) पनि भेटिएको छ । चीनमा भने रोगको लक्षणको शुरुवातपछि लगभग ६ दिनसम्ममा भाइरस नेगेटिभ भएको बुझिन्छ । त्यसैले संक्रमित भएकाहरुलाई आइसोलेसनबाट डिस्चार्ज गर्नुअघि पिसिआरबाट दुई पटक नमुना परीक्षण गर्दा नेगेटिभ आएको हुनु पर्छ ।


कोरोनाको विश्वव्यापी त्रासबाट कसरी छुटकारा पाइएला त ?

मानव समाजमा जब यो भाइरसविरुद्ध आमरुपमा प्रतिरोध क्षमता विकास हुन्छ तब यो महामारी सेलाउँछ । यदि भ्याक्सिनको आविष्कार हुनसक्यो भने त्यसबाट पनि यो रोगविरुद्ध प्रतिरोधात्मक शक्ति प्राप्त गर्न सकिन्छ ।


प्रस्तुति : ध्रुव सिम्खडा

प्रकाशित : चैत्र १५, २०७६ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?