१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सन्दीप लामिछाने  भन्छन्– ‘सबै समर्थकको मुहारमा खुसी ल्याउने इच्छा छ’

काठमाडौँ — विदेशमा गएर ट्वान्टी–२० लिग खेल्ने नेपालका पहिलो खेलाडी हुन्, सन्दीप लामिछाने । सन् २०१८ देखि लिग खेल्न थालेका उनले सन् २०१९ मा २८ विकेट लिए भने ३८४ रन खर्चिए ।

सन्दीप लामिछाने  भन्छन्– ‘सबै समर्थकको मुहारमा खुसी ल्याउने इच्छा छ’

इन्डियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग, बिगबास, क्यारेबियन लिग लगायतका विश्वका चर्चित लिगहरु खेलिसकेका छन् सन्दीपले । क्रिकेटलाई मुख्य पेशा बनाएका सन्दीप ५ दिनअघि मात्रै अस्ट्रेलियाबाट नेपाल आएका छन् । माघ २२ देखि २९ गतेसम्म काठमाडौंमा हुने अमेरिका, ओमान सम्मिलित त्रिकोणात्मक लिग खेल्न उनी नेपाल आएका हुन् ।

अस्ट्रेलियाको मेलवर्न स्टार्सबाट बिग बास खेलिरहेका सन्दीप बीचैमा खेल छाडेर आएका छन् । उनको टिम मेलबर्न स्टार्स लिगको शीर्ष स्थानमा रहेको थियो । यही सेरोफेरोमा रहेर इकान्तिपुरकी नमिता दाहालले गरेको कुराकानी :

विदेशमा फ्रेन्चाइज लिग खेल्दा नेपालको के कुरा सम्झिनुभयो ?

त्यस्तो साह्रै त खासै केही कुरा सम्झिनँ । केही छुटेको जस्तो लागेन तर नेपाली समर्थकहरुको माया उहाँहरुको सपोर्ट चाहिँ एकदमै सम्झेको थिएँ । हो केही हदसम्म त्यहाँ पनि आउनुहुन्थ्यो । बिग बासमा खेल्दा पनि मैले धेरै शुभचिन्तकहरु फ्यानहरु हुनुहुन्थ्यो तर पनि नेपालमा खेल्दा जसरी नेपाली टिमको लागि उहाँहरुको सपोर्ट हुन्छ । त्यो कुरा सबैभन्दा बढी सम्झिन्थेँ ।

विदेशी लिग खेल्दा तपाईं साह्रै व्यस्त हुनुभयो, यसबिच आफ्नो जीवनशैली र खेल तालिकालाई कसरी व्यवस्थित गर्नुहुन्छ ?

व्यवस्थापनभन्दा पनि म आफ्नो जीवन खुसी भएर रमाउँदै छु । जीवन जिउँदै छु, रमाइलो गर्दैछु । सानै उमेरमा यति धेरै अवसर पाइरहेको छु । यो मेरो भाग्यको कुरा हो । मेरो जीवनको मुख्य उद्देश्य नै जीवनलाई खुसी साथ जीउनु हो ।

राष्ट्रिय टोलीबाट खेल्न नेपाल आउनुभयो, तपाईंको टोली मेलर्बन स्टार्स बिग बासमा प्लेअफजस्तो महत्वपूर्ण खेल खेलिरहेको छ, कत्तिको खुल्दुली हुन्छ ?

मेरो लागि राष्ट्रिय टोलीबाट खेल्नु धेरे ठूलो कुरा हो । हो मेलर्बन स्टार्सको लागि यति धेरै मेहनत गरे तर फाइनल खेल्न पाइनँ त्यस कारणले अलिकति दुःख त लागिहाल्छ । किनभने आफूले यति धेरै मेहनत गरेको टिमका लागि फाइनल खेल्न पाइनँ । तर खुसी छु आफ्नो देशको लागि खेल्न भनेर आएँ । जुन मेरो राष्ट्रिय कर्तव्य हो । यी सम्पूर्ण अवसर पनि मैले मेरो राष्ट्रको लागि खेल्दा पाएको हो । त्यसकारण म आफ्नो देशप्रति एकदमै आभारी छु ।

फेरि राष्ट्रिय टिममा खेल्नको लागि कत्तिको उत्साहित हुनुहुन्छ ?

म एकदमै धेरै उत्साहित छु । नेपाली समर्थकमाझ खेल्न पाउनु गर्वको कुरा हो । उहाँहरुले हालसम्म यति धेरै माया दिनुभएको छ । आगामी दिनहरुमा पनि म अझ उहाँहरुलाई मुस्कुराउने कारण बन्न सकुँ । म मात्रै नभएर पूरै टिमको नै नेपाली समर्थकलाई खुसी बनाउने लक्ष्य रहन्छ ।

शक्ति गौचन र वसन्त रेग्मीजस्ता खेलाडी अहिले टिममा छैनन् उनीहरुको अनुपस्थितिमा स्पीन आक्रमणको जिम्मेवारी लिन कत्तिको तयार हुनुहुन्छ ?

टिममा आएपछि एउटा जिम्मेवारी त बहन गर्नैपर्छ । जहिले पनि आफूले पाएको अवसरको सदुपयोग गर्नुपर्छ जस्तो लाग्छ । र, मैले अवसरहरु पाएँ । यदि मैले पाँच प्रतिशत अथवा दस प्रतिशत मात्रै भएपनि अरु खेलाडीहरुलाई सेयर गर्न सके भने एकदमै धेरै सहयोग हुन सक्छ । स्पीनको जिम्मेवारी सम्हाल्न सजिलै हुन्छ किनभने अहिले एकदमै राम्रो खेलाडीहरु जस्तै ललित राजवंशी, सुसान भारी आउनु भएको छ । मलाई त्यस्तो दबाब अनुभव भएको छैन । किनभने म उहाँहरुलाई विश्वास गर्छु त्यही भएर सजिलो हुन्छ जस्तो लाग्छ ।

केहीअघि साग सम्पन्न भयो । आँखामा समस्या भएका कारण तपाईं खेल्न पाउनुभएन । कत्तिको सम्झनुभयो सागमा भएको खेललाई ?

मैले मेरो क्रिकेट करियरमा लामो दूरी तय गर्नु छ । त्यहि भएर अब हो यो सागको प्रतियोगिता खेल्न पाइनँ । आँखाको समस्या नै त्यस्तै भयो । एउटा खेलले त त्यति धेरै असर त नपार्ला तर अब नेपालको लागि एकदमै धेरै टुर्नामेन्टहरु छ । नचाहँदा नचाहँदै छुट्यो । सबैभन्दा बढी त त्रिविको मैदानमा खेल्नु नै छुट्टै अनुभव हुन्छ । त्यो एकदमै सम्झिएँ ।

अहिले आँखाको समस्या त छैन ?

छैन अहिले एकदमै ठिक छु ।

नेपाली टिममा अहिले गुट छ भन्ने सुनिन्छ, यो कत्तिको सत्य हो ?

त्यस्तो छैन । मैले अनुभव गरेको छैन । सबैले टिममा आफ्नो शतप्रतिशत दिने कोसिस गर्छन् । क्रिकेट टिमबाहेक सबैलाई आफ्नो आफ्नो स्वतन्त्रता हुन्छ । कोसँग हिँड्ने, कोसँग बस्ने भन्ने ।

तपाईंले महसुस गर्नुभएको छ ?

गुट छ भन्ने मैले त्यति महसुस गर्न नपाएको के पनि हुन सक्छ भने म पछिल्ला वर्षहरुमा बाहिर नै हुन्छु । खेलको बेला मात्रै भेट हुन्छ । त्यही भएर मलाई त्यत्ति असर गर्दैन । तर मेरो विचारमा गुट छ जस्तो लाग्दैन । मैले छ वा छैन भनेर वर्णन गर्न पनि नमिल्ला ।

नेपाली टिमका खेलाडीहरुसँग तपाईंको सम्बन्ध कस्तो छ ?

राम्रो छ । मेरो सम्बन्ध सबैजनासँग राम्रो छ । सबैजना मिल्ने हुनुहुन्छ ।

नयाँ कप्तान ज्ञानेन्द्र मल्लबाट कस्तो अपेक्षा गर्नुभएको छ ?

ज्ञानेन्द्र दाइले अहिलेसम्म एकदमै राम्रो गरिरहनुभएको छ । उहाँले गर्न सक्नुहुन्छ । उहाँसँग १० वर्ष उपकप्तानी सम्हालेको अनुभव पनि छ । त्यही भएर मलाई लाग्छ उहाँले नेपाली क्रिकेटलाई र क्रिकेटको स्तरलाई उकास्न मद्दत गर्नुहुन्छ । लामो समयदेखि पारस दाइले राम्रो कप्तानी सम्हाल्दै आउनुभएको थियो । उहाँले अझै एक वर्षजति कप्तानी समहाल्नुपर्ने थियो तर उहाँले छोड्नुभयो । त्यो उहाँको नितान्त व्यक्तिगत स्वतन्त्रताको कुरा हो । हामीले उहाँको निर्णयको कदर गर्नैपर्छ । आशा छ ज्ञानेन्द्र दाइले पनि राम्रो गर्नुहुन्छ ।

पूर्व कप्तान पारस खड्काले भन्दा नयाँ कप्तान ज्ञानेन्द्र मल्लबाट तपाईंले र नेपाली क्रिकेटले के–कस्तो कुरा थप हुने अपेक्षा गरेको छ ?

यो समयमा नेपाली क्रिकेटको मुख्य चुनौती भनेको नै आधारभूत तहदेखि नै सुधार गर्नुपर्ने छ । टिम निमार्णदेखि व्यवस्थापन कसरी एकजुट भएर अझै राम्रो गर्न सकिन्छ, त्यो कुराहरुलाई ध्यान दिनुपर्छ जस्तो लाग्छ । आफूलाई एउटा खेलाडी भनेर चिनाउन सक्ने वातावरण हुनुपर्छ ।

पारस खड्काबाट ज्ञानेन्द्र मल्लमा कप्तानी सरेपछि यो तपाईंको पहिलो खेल हुँदैछ । कस्तो हुन्छ जस्तो लाग्छ ?

ज्ञानेन्द्र दाइको कप्तानीमा मैलै पहिला पनि खेलेको छु । फ्रेन्चाइज लिग, एसीसी इमर्जीङ उहाँकै अन्डरमा खेलेको हो । तर प्रविधिक रुपमा कप्तान भएपछि भने पहिलो नै हो ।

नेपालले पहिलो पटक घरेलु मैदानमा एक दिवसीय अन्तर्राष्ट्रिय लिग खेल्दैछ , कत्तिको उत्साहित हुनुहुन्छ ?

म एकदमै धेरै उत्साहित छु । यो खुसीको कुरा हो हाम्रो लागि । सबैजनाको लागि यो एउटा राम्रो अवसर पनि हो । किनभने यसबाट हामीले नेपालमा पनि क्रिकेट एकदम धेरै गराउन सक्छौं भनेर देखाउन सक्छौं । अहिले पनि आएर हामीले हाम्रो आधारभूत तहहरु सुधार्न सकेनौं भने हामीले भविष्यमा धेरै खेलहरु गुमाउनुपर्ने हुन्छ । यो पूरै नेपाली, क्यान र हामी जति पनि खेलाडीहरु छौं हाम्रो लागि ठूलो अवसर हो ।

बहिर खेलेर आएपछि नेपाली टिममा आबद्ध हुनुभयो केहि गाह्रो त भएन ?

फरक फरक देशहरुमा खेलेर आएपछि त्यहाँको वातावरण अनुसारले आफूलाई ढाल्न सिक्नैपर्छ । त्यसमा गुनासो गर्नै मिल्दैन । हामीले यसलाई सहज रुपमा लिनैपर्छ ।

ओमान र अमेरिका नेपालका लागि कत्तिको बलिया चुनौती हुन् ?

एसोसिएट क्रिकेटमा सबै टिम बलियो टिम नै हुन्छ । कुनै पनि टिम एक अर्काभन्दा सानो हुँदैन । तर अब विशेष समयमा जसले जसलाई पनि पराजित गर्न सक्छ । हामीले कुनैपनि टिमलाई हल्का रुपमा लिने छैनौं । उनीहरुको लागि पनि यो लिग ठूलो चुनौती हो किनभने नेपालमा आएर नेपालमा खेल्नु भनेको सजिलो कुरा होइन । ट्रयाकहरु राम्रो हुँदैन । हामी यसमा बानी परिसकेका छौं तर उनीहरुलाई यस्तो वातावरणमा खेल्नु सजिलो पक्कै हुँदैन । सायद ओमान र अमेरिकाको लागि पनि ठूलो चुनौती हुनेछ नेपाल आएर खेल्न ।

नेपाल आफ्नो चुनौती प्रस्तुत गर्न कत्तिको तयार छ ?

हामी तयार छौं । आफ्नो तर्फबाट हामीले आफ्नो शतप्रतिशत दिने कोसिस गर्छौ ।

तपाईंले यो प्रतियोगितामा व्यक्तिगत लक्ष्य कस्तो बनाउनुभएको छ ?

व्यक्तिगत रुपमा म कहिल्यै पनि सोच्दिनँ–यति रन बनाउँछु, धेरै विकेट लिन्छु भनेर । दिनदिनै आफूले राम्रो गर्दै जाने र आफूले सकेको जति गर्ने नै हो । कहिले पाँच विकेट कहिलकाहीँ एक विकेटमा नै पनि चित्त बुझाउनुपर्ने हुन्छ । धेरै गर्छु भनेर सोच्दा कहिलेकाहीँ सोचेको जति गर्न सकिएन भने निराशा हुन सक्छ त्यहि भएर म केहि सोच्दिनँ ।

सन् २०१४ देखि अहिलेसम्मको क्रिकेट यात्रालाई कसरी सम्झन चाहनुहुन्छ ?

२०१४ मा त मैले भर्खरभर्खर एकेडेमीमा गएर सिक्न थालेको थिँए । २०१६ मा मेलै आफ्नो खेल देखाउने मौका पाएँ । कतिपय कुराहरुमा म आफूले आफैलाई धेरै भाग्यशाली ठान्दछु । किनभने राष्ट्रिय खेल नहुँदा पनि पुबुदु सरले आएर मैले खेलेको हेर्नु, त्यसपछि राष्ट्रिय टिममा प्रवेश पाउनु, फरक–फरक फ्रेन्चाइज लिगहरुमा माइकल क्लार्कजस्ता खेलाडीहरुसँग खेल्न पाउनु, मलाई लाग्छ यो मेरो जीवनको एकदमै उत्कृष्ट सम्झना हुन् । यो यात्रालाई यसरी नै लिएर जाने र जीवनलाई रमाइलो तरिकाले जीउने नै हो ।

पहिलो अन्तर्राष्ट्रिय खेललाई सम्झिनु पर्दा कसरी सम्झनुहुन्छ ?

२८ जनवरीमा पूरा चार वर्ष भयो, पहिलो पटक यू १९ मा नेपालको तर्फबाट न्युजिल्यान्डसँग खेले । त्यो समय मेरो लागि भावुक समय थियो । त्यो अवसर पाउन मैले कति मेहनत गरेको थिँए । जुन मेरो मेरो जीवनमा आयो । र अहिलेसम्म पनि जेजस्तो भइरहेछ । पहिलो खेल पनि राम्रो थियो । हामीले त्यो बेला न्युजिल्यान्डलाई पराजित गराएका थियौं । यो यात्रा एकदमै रमाइलो र उत्कृष्ट थियो । त्यसपछि नामिबियासँग खेले सबै कुराहरु सम्झना हुँदो रहेछ । सम्झिएर एकदम खुसी लाग्छ कि समय कति चाँडै बदलिँदो रहेछ ।

सानै उमेरमा यति धेरै उपलब्धि हासिल गर्नुभएको छ । क्रिकेटमा लागेका धेरै नयाँ पुस्ताको उदाहरणीय हुनुभएको छ, तपाईंले यस सम्बन्धमा केही भन्न चाहनुहुन्छ ?

म आफ्नो काम गर्दै छु । आफ्नै तरिकाले अब उहाँहरुले मलाई फलो गर्नुभएको छ । धेरै खुसी लाग्छ । कुनै यस्तो समय थियो जुनबेला मैले पनि कसैलाई फलो गर्थें । आज यस्तो सुन्न पाउँदा धेरै खुसी लाग्छ । मेरो जीवनको लक्ष्य नै त्यहि छ, की नेपालमा क्रिकेटलाई एकदम माथि लिएर जाने मन छ र खेलमा पनि कहि गर्न सकिन्छ भन्ने सोचाइ परिर्वतन गर्न मन छ । खेलमा क्रिकेट मात्रै नभएर सबै खालको खेल खेलेर पनि हामीले जीवन जीउन सक्छौं । हामीले हाम्रो परिवारलाई समर्थन गर्न सक्छौं भन्ने उदाहरण बन्ने मन छ । आफूले आफूलाई धेरै भाग्यमानी ठान्छु कि यति धेरैले माया गर्नु भएको छ ।

तपाईं गीत गाउनुहुन्छ, एल्बमहरु पनि निकाल्नु भएको छ नि ?

म जीवनलाई रमाइलो तरिकाले जीउन चाहन्छु । संगीत मलाई मन पर्छ । त्यही भएर क्रिकेट बाहेक अलि अलि गाउँछु ।

बिग बास खेलेर फर्किएका सन्दीप लामिछाने के भन्छन् ?

क्रिकेटलाई नै मुख्य उद्देश्य बनाउनलाई प्रेरणाको पात्र कसलाई मान्नुहुन्छ ?

प्रेरणाभन्दा पनि मैले सानैबाट फलो गर्ने क्रिकेटर भनेको सचिन तेन्दुलकर र सेन वार्नलाई नै हो । प्रेरणदायी त कोही थिएन खासै किनभने मैले क्रिकेट नै खेल्छु भनेर सोचेकै थिइनँ । सानैबाट क्रिकेट खेल्न रमाइलो लाग्थ्यो । सानोमा टेनिस बल, प्लास्टिकको बलले गल्लीमा खेल्दा पनि रमाइलो लाग्थ्यो । पछि बिस्तारै बिस्तारै यसैलाई निरन्तरता दिएँ । आफैंले आफैसँग नै प्रतिस्पर्धा गर्न थालें । हिजो म के थिएँ र आज म के छु । हिजोभन्दा आज कसरी राम्रो गर्न सक्छु भनेर ऐनाको अगाडि आफूले आफैलाई हेरेर प्रतिस्पर्धा गर्थें ।

नेपालमा हुन गइरहेको एक दिवसीय क्रिकेटमा तपाईंको भूमिका के रहन्छ ?

एउटा अग्रणी बलरको हिसाबले स्पीन तर्फबाट टिमलाई कसरी जिततर्फ लम्काउने भन्ने हो । अहिले हाम्रो टिममा धेरै राम्रो राम्रो फास्ट बलरहरु छन् जसले एक अर्कालाई एकदम विश्वास गर्छन् र हाम्रो टिममा तालमेल राम्रो नै छ । त्यति धेरे गाह्रो साह्रोको अवस्था आउँदैन होला ।

भनेपछि खेल्नलाई केही गाह्रो अवस्था त छैन ?

हामीले एकअर्कालाई लगभग चार पाँच वर्षबाट चिनिराखेका छौं । त्यस्तो गाह्रो भन्ने केही भएको छैन । सबैजना एकदम सजिलो हुनुहुन्छ । खेलमा सजिलो भइरहेको छ ।

प्रकाशित : माघ १९, २०७६ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?