कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतिवादका स्वर पहिलाभन्दा कमजोर हुँदै गएका छन् : मनोरञ्जन व्यापारी 

सुरज सुवेदी

काठमाडौँ — ‘मैले तपाईंको किताब ल्याएको छु। अटोग्राफ दिनुहुन्छ?’ फेवातालको किनारमा बसेर कुराकानी सुरु गर्नुभन्दा पहिला मनोरञ्जन व्यापारीलाई सोधेँ। 

प्रतिवादका स्वर पहिलाभन्दा कमजोर हुँदै गएका छन् : मनोरञ्जन व्यापारी 

‘किन नदिनु। म व्यापारी हुँ। तपाईंले किनेको यस किताबमा १० रुपैयाँ त मेरो पनि हो।’ यति भनेर हाँस्दै उनले बङ्गाली अक्षरमा हस्ताक्षर गरिदिए।

आफ्नो सेन्स अफ ह्युमर गज्जबको छ भन्ने कुरा उनले नेपाल साहित्य महोत्सबमा दिनेश काफ्लेसँग ‘बतासमा बारूदको गन्ध: नक्सलबाददेखि लेखनसम्म’नामको सत्रमा नै प्रमाणित गरिसकेका थिए। उनीसँगको कुराकानी सहज हुने कुरामा शंका थिएन।


साहित्य महोत्सव सुरु हुने पहिलो दिन देखि नै पोखरामा आइसकेका उनीसँग अन्तर्वार्ता लिन्छु भनेर अघिल्लो दिन भनेको थिएँ। अरूणभ सिन्हाले बङ्गालीबाट अङ्ग्रेजीमा अनुवाद गरेको उनको कृति ‘देयर इज दि गनपाउडर इन दि एअर।’ दक्षिण एसियाकै प्रतिष्ठित डिएससी पुरस्कारको सर्ट लिस्टमा परेको थियो। उक्त पुरस्कार यसपल्ट पोखराबाट घोषणा हुँदै थियो।

शिल्पा मुखर्जीको अङ्ग्रेजी अनुवादमा ‘इन्टोरोगेटिङ माइ चण्डल लाइफ’ पुस्तक प्रकाशित भएपछि बङ्गाली भाषा बाहिरका पाठक सामु उनी पुगेका हुन्। उनको पोखरा आउने संयोग पनि अनुवादले नै जुराएको थियो।


मनोरञ्जन व्यापारी लेखनमा आउनुभन्दा पहिला रिक्सा चलाउने काम गर्थे। समाजमा विद्यमान असमानता र भेदभावलाई सानैबाट बुझेका उनी पछि नक्सल आन्दोलनसँग जोडिए। जेल परे। जेलमै रहँदा २४ वर्षको उमेरमा पहिलोपल्ट अक्षर सिके। पढ्न थाले। लेख्न थाले।


त्यसरी सुरु भएको उनको लेखन यात्राले ४० वर्ष नाघिसकेको छ। दर्जनौँ किताबहरू प्रकाशित छन्। उपन्यासका विभिन्न पात्रमार्फत वर्तमान समाजमा व्याप्त बेथिति र असमानतालाई ढुङ्गा हान्छन्। उनकै शब्दमा भन्नुपर्दा रिस उठेका पात्रहरूलाई मार्छन्। समाजमा दबिएर रहेका आवाजहरूलाई बुलन्द गर्छन्।


उनको बारेमा गएको हप्ता दिनेश काफ्लेले कान्तिपुरमा फिचर पनि लेखेका थिए। उक्त लिङ्क यहाँ गएर पढ्न सक्नुहुन्छ

यसलाई पछि पढे पनि हुन्छ। अहिले उनको र मेरो कुराकानीको सम्पादित स्वर सुन्नुहोस्।


जेलमा अक्षर सिकेपछि पहिलोपल्ट केही लेख्न थाल्दा कस्तो लाग्थ्यो?

आफूलाई सृष्टि कर्ता सोच्थेँ। हरेकपल्ट नयाँ पात्र निर्माण गरिरहेको हुन्थेँ। लेखनको माध्यमबाट म एक त्यस्तो व्यक्तिलाई जन्म दिइरहेको थिएँ जुन यो दुनियाँमा थिएन। कहानीको पात्र उ मेरो लेखनको माध्यमबाट जीवित हुन्थ्यो। म यस्तो खाले एक व्यक्ति वा मान्छे जीवित छ भन्ने कुरा पढ्नेलाई थाहा दिन चाहन्थेँ।


त्यो समय कस्तो थियो?

लेख्न थालेको समय म प्रताडित र दुखी महसुस गरिरहेको हुन्थेँ। यो दुनियाँ जुन तरिकाले बनाइएको छ त्यो गलत छ भन्ने लागिरहन्थ्यो। शक्तिमा हुने मानिसहरूले समाजलाई जुन ढाँचामा पुर्‍याए त्यहाँ हामी जस्तो मानिसहरूको लागि बाँच्न कठिन हुँदै गएको थियो। अहिले पनि यस्तै छ। आत्मसम्मान बचाउन मुस्किल छ। मेहनतको सही मूल्य मिलेको छैन। खान पाउने, बिरामी हुँदा उपचार पाउने र छोराछोरीलाई पढाउन पाउने, कुरामा समानता ल्याउन सकिएको छैन।


त्यस्तो समान व्यवस्था किन आउन पाएन?

व्यवस्था बनाउनेहरू हामीभन्दा जान्ने र चलाख छन्। उनीहरूसँग पैसा छ। त्यही पैसाको बलमा हामीलाई फुटाउन सक्छन्। उनीहरू यो संसारको जति पनि सम्पत्ति छ त्यो आफ्नो होस् भन्ने चाहन्छन्। बाँकी सबै व्यक्ति गुलाम बनुन्, थोरै खानेकुरा दिएको भरमा काम गरून्, विरोधको कुनै शब्द नबोलुन् भन्ने सोच्छन्। कसैले गरिहालेमा पनि दबाउनको लागि उनीहरूसँग बन्दुक छ। चलाउने मान्छे छन्। शक्ति प्रयोग गरेर दबाइ हाल्छन्। यो पहाड, यो जङ्गल, यो पानी, यी मानिस सबै उनीहरूलाई नै चाहिएको छ। ती कहिल्यै सन्तुष्ट हुँदैनन्।


लेखनमा लाग्नुभन्दा पहिला तपाईंको परिचय एक गुन्डाको थियो। गुण्डा किन बन्नुभयो?

समाजमा कमजोर मान्छेलाई शक्तिमा हुनेले जहिल्यै पनि सताएका छन्। उनीहरूले त कमजोरहरूको रक्षा गर्नुपर्ने हो तर यहाँ त उल्टो भइरहेको छ। दमन, उत्पीडन र अत्याचार ज्यादा गरिरहेका हुन्छन्। म पनि कमजोर थिएँ। मेरो ‘इन्टोरोगेटिङ माइ चण्डल लाइफ’ किताब पढ्नुभयो भने थाहा पाउनुहुन्छ। मानिसले मलाई काम गराए तर पैसा दिएनन्। कुकुरको मुखबाट खाना निकालेर खानु पर्‍यो। रेल्वे स्टेसनको बाटोमा सुतेको बेला रेलबाट ओर्लिनेहरूले लात्ती हानेर हिँड्थे। पुलिसले उठाएर लान्थे किनकि तीनलाई हामीले एक चोरलाई पक्रिएको भनेर देखाउनु थियो। केही सामान हातमा हाल्दिएर थानामा लगेर थुन्थे। चोरीको आरोप बनाउँथे। आफ्नो व्यक्तिगत रेकर्ड बनाउनको लागि त्यसरी धेरै बेकसुर मान्छेलाई उनीहरूले फँसाएका थिए। त्यसैले मलाई पनि शक्तिशाली हुनुपर्छ जस्तो लाग्यो। कसरी बन्ने थाहा थिएन। मैले बक्सिङ सिकेँ। मारपिट गरेँ। दैनिक चलाउने रिक्साको पछिल्तिर सधैँ भाला राखेर हिँडे।


लेखनमा आएपछि कस्तो आवाज बोल्न थाल्नुभयो?

म जे लेख्छु र जे गर्छु त्यसमा समानता छ। यो समाजलाई मान्छे रहनलायक र बच्चा जन्मिनलायक ठाउँ रहन दिनुपर्छ भनिरहेको छु। लेखक र म फरक मान्छे हैनौँ। यो मेरो पेसा हैन। म एकपल्ट कुल्ली हुने र अर्कोपल्ट धनी मान्छे हुने अभिताभ बच्चन पनि हैन। मलाई अभिनय गर्नु पनि छैन। म जे यकिन गर्छु त्यसैमा विश्वास गर्छु र त्यसकै आधारमा लेख्छु। एक नयाँ समाजको निर्माण गर्न चाहन्छु। पाउँछु पाउँदिन त्यो मेरो कुरा हैन। त्यो सोचलाई बोकेर ५० सालसम्म हिँडिरहेको छु।


सत्य र साहित्यमा फरक छ भनेर भन्नुभएको छ। भनिदिनु न के फरक छ?

साहित्य एक कला हो। कलाकार वा साहित्यकारको लेखनमा अलङ्कार, उपमा, शृङ्गार, उदाहरण हुन्छ। उसको समय यही कुरामा खर्च हुन्छ। मैले पढेको एक किताबमा एक युवा आफ्नो बाउको लास काँधमा बोकेर गइरहेको छ। उसको बाउले गाउँमा नै गाड्नु भनेकाले उ त्यसो गरिरहेको छ। यही कुरामा लेखकले पूर्ण उपन्यास सकाएको छ। तर म त्यति समय उक्त पात्रको लागि दिन सक्दिनँ। त्यति कल्पनाशक्ति मेरो छँदा पनि छैन। म उसले लास लिएर गयो भनेर सिधै भनिदिन्छु। गाड्नलाई केही समस्या भयो भने बरु बताउँछु। मसँग कल्पना र शब्दसँगको खेलको लागि समय छैन। सिधै मुद्दामा जान चाहन्छु। जे देख्यो सिधै लेख्छु।


विगत ४० वर्षदेखि लेखिरहनु भएको छ। देखेका कुराहरू हेर्दा पहिला र अहिलेमा फरक पाउनुहुन्छ?

अवस्था पहिला जस्तो थियो आज पनि उस्तै छ। बरु पहिला यसको विरोधमा प्रतिवाद गर्ने शब्दहरू अहिले भन्दा शक्तिशाली हुन्थे। धेरै मानिसहरूले अन्यायको विरुद्धमा आवाज उठाएका थिए। अहिले न राजनेता, न पत्रकार, न साहित्यकार, न कवि, कोही पनि यो व्यवस्थाको विरुद्धमा पहिलाजस्तो बुलन्द आवाज उठाइरहेका छैनन्। शासन र प्रशासनसँग तालमेल गरेर हामी रिस नउठाउने गरी लेखिरहेका छन् । उनीहरूले प्रशासनको दुश्मन बन्नुभन्दा नबन्दै ठीक छ भन्ने सोच्न थालेका छन्। व्यवस्था र शासन प्रक्रियाको बचाउ गर्दै लेख्ने जुन प्रणाली आज बनेको छ यस्तो पहिला छँदै थिएन।


यस्तो किन भइरहेको छ?

अहिलेका समस्या समाधानभन्दा शक्तिशाली छन्। समाधान खोज्नेभन्दा समस्या बढाउनेहरू बढेका छन्। भारतको उदाहरण हेरौँ न। मानिसहरू खानेकुरा, लाउने कुरा, शिक्षा, दबाई, स्वाभिमान आदि मागिरहेका छन्। तर यो व्यवस्था टिकाउन खोज्नेहरू भन्दैछन् ‘त्यो त पछि हुने कुरा हो, पहिला त धर्मलाई रक्षा गर्न देऊ, राम मन्दिर बनाउन देऊ।’ रिक्सा चलाउने एक भोको मान्छे जसले खान पाएको छैन उसको दिमागलाई यसरी धर्मतिर लम्किनको लागि प्रभावित पारिएको छ। उ ढुङ्गा बोकेर मन्दिर बनाउन हिँडेको छ। म उसलाई भोकको विरुद्ध लडौँ भन्दैछु। उ जातको विरुद्धमा पहिला लड्नुपर्छ भन्दै मलाई सम्झाउन खोज्छ।


भारतमा अहिले नागरिकता विधेयकले आगो बलिरहेको अवस्था छ। मानिसहरू यो सबै किन गरिरहेका छन्? सत्तामा हुनेहरू खास के चाहन्छन्?

विभाजन। उनीहरूले हिन्दु र मुसलमानमा मान्छेलाई बाँडिदिए। अब आपसमा लडाउन कुनै गाह्रो काम रहेन। बङ्गाल र बङ्गालीलाई पनि लडाइएको छ। एक आपसमा लडाएर तिम्रो समस्याको समाधान यीनलाई हटाएपछि मात्र सम्भव छ भन्नेखाले प्रचार शक्तिमा हुनेहरूले गर्छन्। तिम्रो काम, व्यवसाय, जमिन सबै लगिरहेका छन् भनेर ती मान्छेलाई उकासिरहेका छन्। राजनीतिक स्वार्थको कारण बनाइएका यस्ता सन्देशहरूले मैले अगाडी भनेका सामान्य र दैनिक जीवनमा आवश्यक हुने मुद्दाहरू ओझेल पारिएका छन्। बेरोजगारी बढेको छ। भारतमा अहिले पनि १ प्रतिशत मान्छेको हातमा ७१ प्रतिशत सम्पत्ति छ। पास भएका विद्यार्थीहरूले रोजगारी नपाउने अवस्था छ। यसैले उनीहरूलाई आफूतर्फ हेर्नभन्दा पनि अर्कोको विरुद्धमा हेर्न सिकाइँदै छ। तिम्रो बेरोजगारीको कारण उसले रोजगार पाएर हो भनेर जाति विशेषलाई भड्काइँदै छ। यो शासकको कौशल हो।


युवापुस्ता कस्तो छ। उनीहरू कसरी अगाडी जालान्?

यो त उनीहरूले नै सोच्नुपर्ने कुरा हो। मैले बाटो देखाएको छु। यो व्यवस्थामा तपाईँको भविष्य राम्रो छैन भनिरहेको छु। हाम्रो जाधवपुर युनिभर्सिटीको एक केटालाई गुगलमा एक करोड मासिक तलब हुने जागिर मिल्यो। उनीहरू उसलाई देखाएर हेर पढ्यो भने के हुन्छ भन्दै देखाइरहेका छन्। म पढेर पनि जागिर नपाएका बाँकी बेरोजगार युवाहरूलाई देखाइरहेको छु। एक व्यक्तिलाई त्यति तलब मिलेकोमा म खुसी छैन किनकि बाँकी अरूलाई केही पनि मिलेको छैन। त्यसले समाजमा असमानता झन् बढाउँछ। भारतमा गरिबी र भोकमरी बढिरहेको छ। प्रोटिन खुवाउनेमा राम्रो रेकर्ड छैन। भारतमा दलित राष्ट्रपति छन्। उनलाई राष्ट्रपति यस कारण चुनिएको हो किनकि उनी ब्राह्मणवादको पक्षमा कुरा गर्छन्। तर उनलाई इज्जत भयो भन्दैमा आम दलितले इज्जत पाएका छन् भन्ने हुँदैन। युवाहरू यही व्यवस्था ठीक छ भन्दै सहेर बस्छन् भने मलाई केही भन्नु छैन। तर यदि ठीक लागेको छैन भने आवाज उठाउने बेला भनेको अहिले नै हो। के गर्ने के नगर्ने भन्ने कुरा त उनीहरूको नै हातमा छ।

Twitter: @SurajWritesNP

प्रकाशित : पुस ६, २०७६ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?