१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

कीर्तीमानी धाविका भन्छिन्- 'ओलम्पिकमा दौडिने धोको छ' [भिडियोसहित]

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद सागमा १० हजार मिटर दौडमा महिलातर्फ स्वर्ण पदक जितेर सन्तोषी श्रेष्ठले ऐतिहासिक कीर्तिमान बनाइन् । सागमा एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो महिलाको । सन्तोषीसँगको रवीन्द्र ढकालले गरेको कुराकानी :

कीर्तीमानी धाविका भन्छिन्- 'ओलम्पिकमा दौडिने धोको छ' [भिडियोसहित]

दौडिन कहिले सुरु गर्नुभयो ?

स्कूलमा हुँदादेखि नै दौडिन सुरु गरेको हो । स्कूलकै रनिङ कम्पिटिसनमा भाग लिएँ । हुन त पहिला पनि ‘यो कुद्छे, यो कुद्छ’ भन्ने सुनिरहेको थिएँ । तर, कुद्ने प्रतियोगितामा भाग लिएको थिइनँ । प्रतियोगिता हुन्छ भन्ने पनि थाहा थिएन ।

तपाईंको पहिलो खेल कुन थियो ?

म छ कक्षामा पढ्दा पहिलोपटक खेलें । पहिलोलाई मात्र पुरस्कार दिने भन्ने थियो । त्यहीँबाट सुरु भएको थियो ।

पढाइ, जागिर र एथलेटिक्स कसरीसँगै लौजानु भयो ?

स्कुलले रनिङ प्रतियोगिताको लागि चिठी आयो भने मात्र पठाउने नत्र नपठाउने गर्थ्यो । मेरो दाइ र अर्को एकजना दाइको साथले मैले स्कूलबाहिरको अरु गेमहरुको बारेमा पनि थाहा पाएँ । त्यसरी मैले आफैँ खोजीखोजी भाग लिन थालेको थिएँ ।

एसएलसीपछि खोज्ने क्रम मेरो अलि कम भयो । तैपनि मैले एउटा दुईटा गेम त खेलें । मैले पहिलाको जस्तो इन्ट्रेस्ट दिएर खोजीखोजी कुदिरहेको थिइनँ । जब ब्याचलर पढ्न सुरु गरें पहिलो सेमेस्टर सकिने बेला जगिङ र ट्रेनिङसँगै गरें । रिजल्ट नआउँदै मैले आफूलाई ट्रेनिङमा ढाल्दै थिएँ । मलाई पनि दौडिने रहर थियो ।

व्यावसायिक रुपमा नै कठीन प्रशिक्षण गरें भने मैले कस्तो प्रदर्शन गर्न सक्छु भन्ने प्रश्नले मलाई सताइरहन्थ्यो । प्रशिक्षण नगरे पनि सिनियरहरुलाई जितिरहेको थिएँ । झन् प्रशिक्षण गर्‍यो भने त कस्तो होला भन्ने लागिरह्यो । मलाई यसको उत्तर चाहिएको थियो । त्यही उत्तर खोज्न जागिर गर्दै कठिन प्रशिक्षण पनि गर्न थालें । राष्ट्रिय खेल आएपछि पूरै ध्यान त्यसैमा केन्द्रित गरेर कुद्नुपर्छ भन्ने सोचिरहेको थिएँ । ठ्याक्क प्रोजेक्ट सकियो र जागिर पनि । त्यसपछिका जागिरका अरु सबै अफरहरु रिजेक्ट गरें ।

मैले कतिसम्म गर्न सक्छु भन्ने थाहा पाउन मन थियो । ट्रेनिङ गरेर साँच्चै सुधार हुन्छ वा हुँदैन थाहा थिएन । सुधार भयो भने राम्रो, भएन भने पनि त बुढेसकालमा लाइफको रिभ्यू गर्दा पश्चताप भएन नि त !

पढ्ने, पैसा कमाउने र सिक्ने उमेर त आउँछ, तर शरीरिक रुपमा कुद्ने, खेल्ने सयम त ४० कटेपछि आउँदैन । त्यसैले मैले जागिर छोडेर पढें र पढ्दै कुदें ।

म व्यावसायिक एथलिट हो भन्ने कहिले महसुस भयो ?

मलाई त यो कुद्ने खेलाडी हो भनेर नभनिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । म इमान्दार त थिएँ तर अघिल्लो वर्षसम्म पनि व्यवसायिक रुपमा लागेको थिइनँ । जब मेरो ब्याचलर सकियो, मैले प्रशिक्षण सुरु गरें । त्यसपछि अरुले ‘यो पनि खेलाडी हो’ भन्दा ठीकै लाग्न थाल्यो ।

जागिर छोडेर बिहान–बेलुका नै रनिङको बारेमा सोच्न थालें । राष्ट्रिय खेलभन्दा दुई–तीन महिना अगाडि मात्र आफू खेलाडी हुँ भन्ने लाग्यो । त्यसरी सोचेको एक वर्षमात्र भयो ।


१३ औं सागमा रंगशालामा २५ चक्कर लगाउँदा के सोचिरहनु भएको थियो ?

म आफैं छक्क परिरहेको छु । हुन त एक सेकेण्डमा मान्छेलाई १५ हजार विचार आउँछ रे। लामोलामो जगिङ जाँदा धेरै कुरा आउँथ्यो । २५ चक्कर लगाउँदा गाह्रो भन्दा पनि अहिलेसम्मको सबै कुराहरु सम्झिरहेकी थिएँ ।

मैले अहिलेसम्म त्यागेको कुरा मलाई गुरु, दाई, परिवार सबैजनाले गरेको सहयोग । मैले क्याम्पमा बस्दा झेलेको समस्या । मेरो लाइफको समस्या, अवसर र चुनौती सबै । फिल्म हेर्दा कसरी हेरिरहेको हुन्छौैं, मैले लाइफलाई त्यसरी हेरिराथें । अनि अर्को अच्चमको कुरा यस्तो हुँदापनि मेरो पेस बिग्रेको थिएन ।

सडकमा हावा भरमा आफ्नै तालमा कुद्ने केटीलाई ट्रेनिङमा पेस मिलाएर कुद्न ठूलो चुनौती थियो । सिकिरहेकी थिएँ । मेरो ट्रेनिङ पार्टनरहरुले सहयोग गरिराथे ।

१० हजार मिटरमा स्वर्ण जिते पनि ५ हजार मिटर दौडमा हार्नुभयो । जितसँगैको हार कस्तो हुँदोरहेछ ?

गेम खेल्ने भनेपछि जित्न पाए हुन्थ्यो, गोल्ड मेडल नै ल्याउन पाए हुन्थ्यो भन्ने हुन्थ्यो । खेलाडीले गोल्ड मेडल पाएको दृश्य ‘भिजुअलाइज’ गरेर ट्रेनिङ गरेको हुन्छ । म आफूले सक्नेसम्मको उत्कृष्ट प्रदर्शन गर्छु भन्ने हुन्छ ।

जितेर पनि नराम्रो टाइममा कुदेको भए मलाई नरमाइलो लाग्थ्यो होला । टाइम पनि राम्रो गरेको थिएँ । ५ हजार दौडमा पनि म गोल्ड नै ल्याउँछु भन्दा पनि आफूले सकेको गर्छु भनेर कुदेको हो । त्यहीखेर पाँच हजार कुद्दा पनि दस हजारकै पेसमा कुदिरहेकी थिएँ । सुरुमा अरुभन्दा अगाडि गएको जस्तो देखिन्थ्यो । तर, मेरो पेसचाहिँ दस किलोकै थियो, पाँच किलोको थिएन । सायद पाँच किलोको पेस सुरुमा र दस किलोपछि भएको भए धेरै राम्रो हुन्थ्यो जस्तो लागेको थियो ।

जित्दा खुशी र हार्दा दुखी हुने मान्छेको स्वभाव नै हो । इमानदार भएर बोल्दा मलाई पनि अलिअलि निराशा भयो । तर, मैले दौडेको टाइम ठीक छ । मैले सकेको ट्राई गरेको हो । ट्राई नगरी हारेको भए रिग्रेट फिल हुन्थ्यो । त्यसबेला पनि लिड गरेर अगाडि गएको हो ।

पछि चार चोटी झड्का दिँदा पनि उनीहरु छुटेनन् । ममा केही कमी भयो । यो दुई तीन दिनमा, रेस्ट पुगेन । दश किलोमा मैले फूल पावर दिइसकेकी थिएँ, उनीहरु त फ्रेस थिए । दश किलो कुदेका थिएनन् । मैले यसरी चित्त बुझाएँ ।

मैले जित र हार दुवैलाई बराबरी रुपमा हेरें । गोल्ड हात लाग्दा, ओहो के के न गरें भन्ने पनि फिल भएन । हारेपछि मैले हारें भनेर त्यस्तो नरमाइलो पनि लागेन ।

रंगशालाको ट्रयाक र सडकमा दौड्दा के फरक हुँदोरहेछ ?

धेरै नै फरक छ नि ! रंगशालाको ट्रयाकभन्दा सडकमा दौडन अलि सजिलो हुन्छ । किनभने, त्यहाँ मोनोटोनस हुँदैन । मलाई पहिला ट्रयाक भनेपछि एकदमै गाह्रो लाग्ने । ट्रयाकसँग फेमिलिएर नै थिइनँ । कुदनै गाह्रो लाग्ने । एक राउण्ड लगाउँदा नै कति धेरै कुदेजस्तो लाग्थ्यो । तर, सबै कुरा अभ्यास रहेछ । आफूलाई जुन ठाउँमा ढाल्यो त्यही सजिलो लाग्दोरहेछ । मलाई रोडमात्र सजिलो लाग्थ्यो । अहिले ट्रयाक र रोड दुवै सजिलो लाग्छ ।

रोड र ट्रयाकको फरक भनेको ट्रयाकमा 'अन द टाइम' र 'इन द टाइम' दुवै हुन्छ । टाइममा टक्क कुद्न सकिन्छ । कुनै डिस्टर्बहरु हुँदैन । अनि खुट्टाहरु दुख्ने जोखिम अलि कम हुन्छ । तर, रोडमा ट्राफिकको कुराहरु आउँछ । धुलो–धुवाँ, खाल्डाखुल्डीको कुरा आउँछ । ठ्याक्क कति मिटर कति मिनेटमा कुद्‍यो ट्रयाकमा जसरी थाहा हुँदैन । तर, दिमागलाई कुदेको जस्तो फिल रोडमा हुन्छ । राम्रोसँग कुद्न ट्रयाकमा सकिन्छ । मलाई अहिले दुवै सजिलो लाग्न थाल्यो । पहिला ट्रयाक गाह्रो लाग्थ्यो ।

आउने दिनमा करियर कता लैजाँदै हुनुहुन्छ ?

मेरो त दुइटा प्रश्न जहिले आइहाल्छ । गेमको नै हिसाबले करियरको कुरा गर्दा मैले अहिले जसरी कुदिरहेको छु नि त्यसमा अझै आफ्नो के–के पोजिसन मिलेको छैन त्यसमा सुधार ल्याउने । साथै टाइममा सुधार ल्याउने । टाइम घटाउँदै जाने । सबै खेलाडीको इच्छा भनेको अरु–अरु गेम खेल्ने हुन्छ । योभन्दा माथि ऐसियन गेम खेल्न पाए हुन्थ्यो अनि ओलम्पिक गेमसम्म पुग्न पाए हुन्थ्यो भन्ने छ । पुग्छु, पुग्दिन आफ्नो ठाउँमा छ । त्यहाँसम्म पुग्न पाए हुन्थ्यो भनेर एकदम मिहिनेत गर्ने सोच छ ।

अर्को कुरा स्पोर्ट्सलाईमात्र अघि लगाएर त भएन । करियरलाई नै अघि लैजाने भनेपछि स्पोर्टस र पढाइसँगै अगाडि लानुपर्‍यो । हुन त मैले मास्टर्स गरिरहेकी छु पब्लिक एडमिनिस्ट्रेसनमा । मेरो दुइटा धोको छन्– एउटा ओलम्पिक खेल्ने अर्को पब्लिक हेल्थमा मास्टर्स गर्ने ।

सँगै मैले जे पढें, जे सिकें त्यो सबै उपयोग गर्न मन छ । त्यसको लागि कतै काम पनि गर्नै पर्‍यो । यी तीनवटा कुरालाई बुस्ट गरेर लाने योजना छ ।

प्रकाशित : पुस ६, २०७६ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?