२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

अंग प्रत्यारोपण गराएकामा एपेन्डिसाइटिसको शल्यक्रिया जोखिमपूर्ण : डा. राकेशकुमार साह

डा. राकेशकुमार साह, (ग्यास्ट्रोइन्टेस्टाइनल सर्जन)

अंग प्रत्यारोपण गराएकामा एपेन्डिसाइटिसको शल्यक्रिया जोखिमपूर्ण : डा. राकेशकुमार साह

ल्यापरोटोमी र एपेन्डेक्टोमी दुवै शल्यक्रिया कुन अवस्थामा एकैपल्ट गर्नुपर्ने हुन्छ ?

एपेन्डिक्स पेटभित्रै फुटेको अवस्थामा, पेटभित्र पीप, पानी आदि जमेको छ भने त्यो अवस्थामा ल्यापरोटोमी र एपेन्डेक्टोमी एकैपटक गरिन्छ । पेटभित्र थप संक्रमण हुन नदिन र पेटभित्र जम्मा भएको पीप आदि हटाउन यी विधि अपनाइन्छ । एपेन्डिक्स वरिपरि पीप जमेको छ वा पेटभित्र एपेन्डिक्स फुटेर पीप जमेको छ भने राम्ररी सफा गर्न ल्यापरोटोमी गरेर एपेन्डेक्टोमी गरिन्छ । यस्तै एपेन्डिक्स कहिलेकाहीँ आन्द्राभित्र जेलिएको हुन्छ । यस्तो अवस्थामा समेत शल्यक्रिया गर्न सहज होस् भनेर ल्यापरोटोमी गरेर एपेन्डेक्टोमी गर्छौं ।


एपेन्डिसाइटिस फुटेको अवस्थामा शल्यक्रिया गर्दा कस्तो जटिलता देखिन सक्छ ?

पेटभित्र पुन: पीप जम्न सक्छ । कहिलेकाहीँ सेप्सिस (शरीरभरि संक्रमण) को अवस्थासमेत आउन सक्छ । सेप्सिस भयो भने यसले थुप्रै जटिलता निम्त्याउन सक्छ । यसअन्तर्गत मिर्गौला, फोक्सो, मुट आदि अंगहरूले काम गर्न छाड्ने स्थितिसमेत आउन सक्छ ।

एपेन्डिक्सको शल्यक्रियापछि देखिन सक्ने अन्य जटिलता के हुन् ?

शल्यक्रिया गरेर पेट राम्ररी सफा गरेपछि ‘ड्रेन पाइप’ पनि राख्नुपर्ने हुन सक्छ । केही दिनमा एभहेसिभ इन्टेस्टाइनल अब्सट्रक्सन (आन्द्रा एकअर्कामा टाँसिएर उत्पन्न हुने समस्या) देखिन सक्छ ।

मिर्गौला प्रत्यारोपण गराएकाहरूमा एपेन्डिक्सको शल्यक्रिया कति जटिल हुन सक्छ ?

सामान्य मान्छेको भन्दा मिर्गौला वा अंग प्रत्यारोपण गराएकाहरूमा एपेन्डिक्सको शल्यक्रिया धेरै जटिल हुन्छ । यस्ता व्यक्तिमा संक्रमण हुने सम्भावना धेरै बढी हुन्छ । यस्ता बिरामीमा प्रत्यारोपण गरिएका मिर्गौलामा समेत संक्रमण हुन सक्छ ।

अंग प्रत्यारोपण गराएकाहरूमा रोगसँग लड्ने क्षमता कम हुने भएकाले विभिन्न संक्रमणको सम्भावना शल्यक्रियापछि झनै बढ्छ ।

मिर्गौला प्रत्यारोपण गराएकाहरूमा समयमै एपेन्डेसाइटिस थाहा पाउन कति गाह्रो हुन्छ ?

मिर्गौला प्रत्यारोपण गराएकाहरूले ‘इम्युनोसप्रेसेन्ट’ (शरीरको प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि) खाइरहेका हुन्छन् । धेरैजसो इम्युनोसप्रसेन्टमा एस्टेराइड पनि हुन्छ । यसले गर्दा प्रभावित व्यक्तिलाई तत्काल दुखाइ महसुस नहुन सक्छ । यतिसम्म कि कतिलाई पेटभित्र एपेन्डिक्स फुटेपछि मात्र थाहा हुन सक्छ ।

प्रत्यारोपण गराएकाहरूमा एपेन्डिक्सको शल्यक्रियापछिको उपचार प्रक्रिया कस्तो हुन्छ ?

मुख्य रूपले एन्टिबायोटिककै सहारा लिनुपर्छ । त्यसले काम नगरे सेप्टिसिमिया, मल्टिपल अर्गेन फेल्योरलगायतका दु:खद स्थिति पनि आउन सक्छ ।


प्रकाशित : मंसिर ११, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?