'शेरबहादुर र रामचन्द्रजी अब किताब लेखेर बस्नुपर्छ'

कान्तिपुर संवाददाता

कांग्रेसमा कोइराला परिवारका तीन सदस्य राजनीतिको केन्द्रबिन्दुमा छन्  । बीपीपुत्र शशांक पार्टीका महामन्त्री छन् भने गिरिजाप्रसादकी छोरी सुजाता र केशव (बीपीका भाइ) का छोरा शेखर कोइराला केन्द्रीय सदस्य  ।

यी तीन सदस्यमध्ये शशांक र शेखरबीचको सम्बन्ध यति बेला दाजुभाइमा मात्रै सीमित छैन, उनीहरु आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा कसले दाबी गर्ने भन्ने प्रतिस्पर्धामा छन् । केन्द्रीय राजनीतिमा कोइराला परिवारका यी तीन सदस्यको प्रवेश एकैसाथ भएको थियो । पार्टीको एघारौं महाधिवेशनमा शशांक निर्वाचित केन्द्रीय सदस्य बनेका थिए भने शेखर मनोनीत सदस्य ।

संसदीय राजनीतिमा पनि उनीहरूको प्रवेश एकसाथै भयो । ०६४ सालको संविधानसभा निर्वाचनपछि शशांक निरन्तर चुनाव जित्दै आएका छन् भने शेखरले दुई निर्वाचन हारे । पछिल्लो संसदीय निर्वाचन हारेदेखि नै पार्टी नेतृत्वका लागि उनले दौडधुप थालेका छन् । कर्णाली र सुदूरपश्चिमका ४ बाहेक सबै जिल्ला भ्रमण गरिसकेका शेखरसँग कान्तिपुरका कुलचन्द्र न्यौपानेले शनिबार गरेको कुराकानी :

बिहीबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक किन बस्न नसकेको ?
उपनिर्वाचन प्रयोजनका लागि छलफल गर्न बैठक बोलाइएको थियो । तर अचानक पार्टीका केन्द्रीय विभागको संख्या थप्ने कुरा सभापतिजीबाट आयो । विधानमा आवश्यकताअनुसार संख्या थप्ने प्रावधान त छ । तर केन्द्रीय कार्यसमितिकै कार्यकाल सकिन अब तीन महिना मात्रै बाँकी छ । विभाग बनेको पनि छैन । विभाग बनेकै भएको भए कुन–कुन थप्नुपर्ने आवश्यक हो, सोच्न सकिन्थ्यो । यतिका समयसम्म विभाग बनाउन नसक्ने र अहिले कार्यकाल सकिने बेलामा विभागको संख्या थप्ने कुराले अचम्मित छु । अहिले त हाम्रो प्रयत्न उपनिर्वाचनमा केन्द्रित हुनुपर्ने हो । विवाद बढाउने काम ल्याउन नहुने हो । सभापतिले त्यसरी विभागको कुरा ल्याउँदा बैठक बस्न सकेन ।

विभागको संख्या थप्ने कुरा किन आएको होला ?
आकस्मिक रूपमा प्रस्ताव आएको छ । केन्द्रीय कार्यसमिति ८५ जनाको छ । केही पदाधिकारी छन् । कतिलाई विभाग प्रमुख बनाएर व्यवस्थापन गर्ने सभापतिजीको मनसाय होला । नेताहरूको व्यवस्थापनका नाममा विभागको संख्या थप्ने कुरा राम्रो भएन । सोझै महाधिवेशनको तयारीमा जानुपर्छ ।

विभाग गठन गर्न आवश्यक छैन भन्ने तपाईंहरूको तर्क हो ?
हो, अब विभाग बनाउनु जरुरी छैन । २८ बाट ४५ वटा विभाग बनाउने कुरा किन र कसरी आयो ? सभापतिजीले महाधिवेशनलाई हेरेर यस्तो प्रस्ताव ल्याउन लाग्नुभएको होला । यसले कांग्रेसलाई कमजोर बनाउँछ । भोलि कसले जित्छ, कसले हार्छ आफ्नो ठाउँमा छ । तर पार्टी सत्तालाई आफ्नो प्रयोजनका लागि दुरुपयोग गर्नु राम्रो होइन । पक्कै पनि सभापतिका वरिपरिका व्यक्तिले दबाब दिएर यस्तो कुरा आएको होला ।

तपाईं नेतृत्वको आकांक्षी हुनुहुन्छ । तयारी कसरी अघि बढ्दै छ ?
चाडपर्वका बेलामा खासै हिँड्डुल भएको छैन । चाडपर्व सकिनासाथ उपनिर्वाचनमा व्यस्त हुनुपर्नेछ । तैपनि साथीभाइसँग भेटघाट भइरहेको छ । अहिले सभापतिमा उठ्छु नै भनेर ‘कमिट’ गरिसकेको छैन । छलफलमै छु । कांग्रेस कमजोर अवस्थामा छ । दुई तिहाइको सरकार छ । यो प्रतिकूल अवस्थामा जुध्न सक्ने कांग्रेस बनाउनुपर्छ । होइन भने कांग्रेसको भविष्य राम्रो छैन । निर्वाचनमा पार्टी हार्‍यो । त्यसलाई अन्यथा लिन हुन्न । लोकतान्त्रिक पद्धतिमा हारजित हुन्छ । तर निर्वाचनपछि यहाँ आइपुग्दासमेत पार्टी संगठित हिसाबले अघि बढ्ने अवस्था देखिएको छैन । भ्रातृ संस्थाहरूको अवस्था नाजुक छ ।

अहिलेको नेतृत्वबाट पार्टी चल्दैन भन्न खोज्नुभएको हो ?
मैले त्यसो भन्न खोजेको होइन । अहिलेसम्म कांग्रेस जसरी अघि बढिरहेको छ, संगठन जसरी कमजोर बन्दै गएको छ, यसले अहिलेको २१ औं शताब्दीको नेपाल र दुई तिहाइको सरकारसँग सामना गर्न सक्दैन ।

यही सोचेर तपाईंले पार्टी नेतृत्वका लागि दुई वर्ष अगाडिदेखि नै तयारी थाल्नुभएको हो ?
एकदम हो, तयारी गर्दै छु । तर साथीभाइसँग सल्लाह नगरी अघि बढ्न सकिन्न । त्यसैले जिल्ला–जिल्ला घुम्दै छु । केन्द्रका साथीहरूको सहयोगमा मात्रै चुनाव जितिँदैन । जिल्ला र गाउँका साथीहरूको भोट नै निर्णायक हुन्छ । त्यसैले जिल्लाहरूमा पुगेर सल्लाह गर्दै छु ।

अहिलेसम्म कति जिल्ला पुग्नुभयो ?
कर्णालीका दुई र सुदूरपश्चिमका दुई जिल्लाबाहेक सबै घुमिसकेको छु । अब फेरि जिल्ला जाने कार्यक्रम बनाउँदै छु ।

जिल्ला पुग्दा स्थानीय नेता–कार्यकर्ताको भावना कस्तो पाउनुभएको छ ?
जिल्लाका साथीहरू पनि अहिलेको नेतृत्वबाट पार्टी अघि बढ्न सक्दैन भन्नेमै हुनुहुन्छ ।

तपाईंहरूको घरमै प्रतिस्पर्धा चल्दै छ, एक हुने सम्भावना छ ?
सम्भावना छ । हामीहरूबीच छलफल हुँदै छ । छलफलले एउटा निचोड निकाल्छ भन्ने मलाई लाग्छ । एक जना नै उम्मेदवार हुन्छ भन्नेमा म ढुक्क छु ।

संस्थापन इतर पक्षबाट दुई जना उम्मेदवार हुनासाथ सभापति शेरबहादुर देउवाले नै चुनाव जित्नुहुन्छ भन्ने आकलन गरिँदै छ नि ?
म त्यस्तो भन्दिनँ । हरेक व्यक्तिको एउटा कालखण्ड हुन्छ । त्यो सकिएपछि उसको औचित्य समाप्त हुन्छ । सभापति र वरिष्ठ नेताले आज कांग्रेसलाई यहाँसम्म ल्याउन योगदान दिनुभयो । अब उहाँहरूको कालखण्ड समाप्त भएको छ । त्यस्तो कालखण्ड समाप्त नभएको इतिहासमा बिरलै हुन्छन् । जुन कांग्रेसमा एउटै व्यक्ति देखिनुभयो– गिरिजाप्रसाद कोइराला । ००७ सालमा क्रान्ति गर्नुभयो । ०४६ सालको आन्दोलनमा लाग्नुभयो । ०६२/०६३ को आन्दोलनको नेतृत्व आफैंले गर्नुभयो । यस्तो इतिहास विश्वमै कम हुन्छ । शेरबहादुरजी र रामचन्द्रजीले लोकतन्त्रका लागि लड्नुभएको छ । जेल जानुभएको छ । कांग्रेसलाई बचाएर यहाँसम्म ल्याइपुर्‍याउनुभएको छ । तर अब कालखण्ड परिवर्तन भइसक्यो । नयाँ परिस्थिति खडा भइसक्यो । उहाँहरूले पार्टीलाई नयाँ ढंगले अघि बढाउन सक्नुहुन्न ।

अब कोइराला परिवारमै पार्टीको नेतृत्व ल्याउनुपर्छ भन्ने मान्यता तपाईंहरूमा पलाएको हो ?
म त्यसो भन्दिनँ । कोइरालाले मात्रै नेतृत्व लिँदा कांग्रेस बाँच्छ भन्ने सोच गलत हो । हामीले काम गर्दै जाने हो । कार्यकर्तालाई विश्वास गर्ने हो । कार्यकर्ताले कोइराला र कोइरालाबाहेक जोसुकैलाई विश्वास गर्न सक्छन् । शेरबहादुरजीले पनि कार्यकर्ताहरूकै विश्वासमा जित्नुभएको हो । यद्यपि उहाँले कांग्रेस फुटाएकै हो । प्रजातन्त्र राजालाई बुझाएकै हो । तर पछि कांग्रेसमा साथीहरूले विश्वास गरे, शेरबहादुरजी सभापति हुनुभयो तर अब उहाँको कालखण्ड सकियो । कार्यकर्ताको विश्वासअनुसार काम गर्न पनि सक्नुभएको छैन । न त पार्टीलाई एक ढिक्का गर्नुभएको छ । न त पार्टीलाई मजबुत बनाई लैजानुभयो । अहिलेको परिस्थितिसँग जुध्न सक्ने व्यक्तित्व भएको नेतृत्व पार्टीले खोजेको छ । त्यो कोइराला होस् या नन कोइराला, अब त्यसको खोजी भएको छ । तर अहिलेको नेतृत्वबाट त्यो सम्भव छैन । उहाँहरू (देउवा–पौडेल) मा जुध्ने सामर्थ्य हराइसकेको छ ।

कोइराला परिवारमा तीन सदस्य हुनुहुन्छ । बेलाबखत लन्च र कार्यक्रममार्फत एकताको सन्देश पनि दिन खोज्नुहुन्छ । तर प्रतिस्पर्धा आफैंभित्र देखिन्छ नि ?
भाइटीकाका दिन हाम्रो भेट हुँदै छ । बहिनी (सुजाता) ले भाइटीकाको निम्तो दिइसकेकी छन् । जानैपर्छ । दसैंको बेलामा श्रीहर्ष कोइरालाले बोलाउनुभयो । भेटघाट भयो । तपाईंहरूलाई थाहा नभएको मात्र हो, यस्तो भेटघाट हामी गरिरहन्छौं ।

सभापतिको उम्मेदवार तपाईं कि महामन्त्री शशांक ?
हामीबीच कुराकानी चल्दै छ । को हुने भन्नेमा प्रस्ट भएको छैन । मलाई भेट्न मेरा, शशांक र सुजाताकै शुभचिन्तक आउँछन् । मलाई भेट्दा उनीहरू दाइ तपाईं नै हो भन्छन् । मैले उनीहरूलाई खबरदार गर्दै यस्तो नभन भन्छु । किनकि उनीहरू भोलि सुजाताकहाँ जान्छन्, दिदी तपाईं नै हो भन्छन् । पर्सि शशांककहाँ जान्छन्, दाजु तपाईं नै हो भन्छन् । म चाहन्छु, मैले जस्तै बहिनी र भाइले पनि खबरदारी गरून् । कसैको लहडमा हामी बग्नुहुन्न ।

जो उम्मेदवार भए पनि म पछि हट्दिनँ भनेर तपाईंले भन्दै आएको चर्चा सुनिन्छ नि ?
मेरो निश्चित (६९ वर्ष) उमेर भइसक्यो । म सभापतिजी, वरिष्ठ नेता जस्तो सधैं राजनीति गर्छु भन्दिनँ, गर्दा पनि गर्दिनँ । सायद यस पटक अवसर पाएँ भने अघि बढ्छु । अबको कार्यकालपछि युवापुस्तालाई अघि बढाउनुपर्छ भन्नेमा छु । त्यसपछि म पदीय राजनीतिबाट टाढा रहन्छु । ‘कनसाइन्स किपर’ का रूपमा पार्टीमा रहन्छु ।

सभापतिको दाबा गरेर उपसभापति या महामन्त्रीका लागि बार्गेनिङ गर्नुभएको त होइन ?
त्यो सम्भवै छैन । मलाई पछि उठ्नु पनि छैन भने अहिले उपसभापति या महामन्त्री किन हुन्छु ? प्रस्ट हुनुहोस्, म १४ औं महाधिवेशनपछि उठ्दिनँ । पछि उठ्नु नै छैन भने म किन उपसभापति या महामन्त्री हुन्छु ?

महामन्त्री शशांक र तपाईंबीचमै भिडन्त हुने त होइन ?
मलाई त्यस्तो पनि लाग्दैन ।

त्यसो भए मिल्नुहुन्छ ?
कोइराला परिवारको एउटा लिगेसी छ । तर लिगेसी सबै होइन । कोइराला परिवार बाहिर पनि राजनीतिमा धेरै हुनुहुन्छ । शेरबहादुरजी नै नन कोइरालाबाटै नेतृत्वमा पुग्नुभएको हो । तर अहिले उहाँबाट पार्टी चल्न सक्ने देखिएन । अब शेरबहादुरजी र रामचन्द्रजी ‘कनसाइन्स किपर’ भएर बस्नु ठीक हुन्छ । लोकतान्त्रिक आन्दोलनको ठूलो अनुभव छ । अब किताब लेखेर बस्दा राम्रो हुन्छ ।

तपाईंले देउवा र पौडेल दुवैबाट पार्टी चल्न सक्दैन भन्न खोज्नुभएको हो ?
हो, राजनीतिमा सबैको कालखण्ड हुन्छ भन्ने कुरा उहाँहरूले बुझ्नुपर्छ । बुझ्नुहुन्न भने लड्नुहुन्छ, भिड्नुहुन्छ । हामी त तयार नै छौं ।

तपाईंले लिगेसीको लाभ कति पाउनुहुन्छ ?
म कर्ममा विश्वास गर्छु । कोइराला भएर अलिकति लिगेसी त जोडिन्छ । तर मेरा लागि त्यसको माने छैन । एकातिर शशांक बीपीको छोरा, अर्कोतिर गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता । मेरो कुनै माने नै भएन । कोइराला भन्ने मात्रै हो ।

तपाईंको अंकगणित कस्तो छ ?
केही साथीले कोइराला एक ठाउँमा हुनुपर्छ भन्नुभएको छ । अर्कोतर्फ हाम्रो समूह पनि छ । त्यो समूहलाई मिलाउनुपर्छ । त्यसै हामफालेर मात्रै हुन्न । यस विषयमा रामचन्द्रजीलगायत सबै सिनियर साथीसँग सघन कुराकानी भइरहेको छ ।

सहमति भएन भने तपाईंको आफ्नै टिम बन्छ कि ?
कांग्रेसको टिम छँदै छ, किन बनाउने मैले अर्को टिम ? सहमति हुन्छ । विश्वासमा हिँड्दै छौं । काठमाडौंमा बस्ने साथीहरूको कुरा गर्दिनँ, काठमाडौंले दिमाग गडबडाइदिन्छ । काठमाडौं धेरै बस्यो भने मेरो दिमाग पनि गडबडिन्छ । तलका साथीहरूको भनाइ महत्त्वपूर्ण हो ।

आखिर गाउँसम्मै गुटको प्रभाव त पुगेकै छ नि ?
त्यसैले त गाउँगाउँमा पुग्दै छु । जिल्लामा शेरबहादुरजी, रामचन्द्रजी, कोइरालाजी, सिटौलाजीका कार्यकर्ता पनि भेट्दै छु । अर्जुन, रामशरणजीका कार्यकर्ता पनि भेट्दै छु । जिल्लामा जाँदा भेट हुन्छ । तर काठमाडौंमा भेटिन्नन् ।

प्रकाशित : कार्तिक १०, २०७६ ०७:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

राजमार्गमा दिनहुँ ह्वीलचियर

प्रताप रानामगर

दमौली — पृथ्वी राजमार्गको सवारी चापलाई दिनहुँ छिचोल्दै एउटा ह्वीलचियर म्याग्दे–१ गुणादीको महेन्द्र मावितर्फ मोडिन्छ । ह्वीलचियरमा १५ वर्षीया नवीना खनाल हुन्छिन् । गुडाउँछन् उनका १४ वर्षीय भाइ आनन्द । 

नवीना २ र आनन्द ९ कक्षामा पढ्छन् । शारीरिक रूपमा अशक्त दिदीको पढ्ने रहर पूरा गर्न भाइले स्कुल लैजाने र घर फिराउने गरेका हुन् । ‘दिदीलाई लेखपढ गर्न रहर छ,’ आनन्द भन्छन्, ‘त्यसैले लाने–ल्याउने गर्छु ।’

घरबाट स्कुल पुग्न २० मिनेट लाग्छ । राजमार्गसम्मको बाटो अलि ओरालो छ । कहिलेकाहीँ आनन्दलाई ह्वीलचियर सम्हाल्न गाह्रै पर्छ । गाडीको निकै चाप हुने भएकाले उत्तिकै सतर्क रहनुपर्छ ।

नवीना पढाइमा लगनशील भएको कक्षा शिक्षक देवनारायण श्रेष्ठले बताए । १ कक्षाबाट उत्तीर्ण हुँदा उनी तृतीय भएकी थिइन् । ‘नवीनाका लागि विशेष कक्षा छैन,’ उनले भने, ‘अरू विद्यार्थीसँगै पढाउँदै आएका छौं ।’ उनी अरू साथीजस्तै बेन्चमा बस्न सक्दिनन् । कक्षामा पनि ह्वीलचियरमै हुन्छिन् । खाजा भने साथीहरूसँगै खान्छिन् । उनका दुवै गोडा र दायाँ हात चल्दैनन् । अपांगतामैत्री नभएकाले विद्यालय समयमा शौचालय जान पाउन्नन् ।

जन्मँदा नवीनाका गोडा चल्थे । वर्ष दिन नपुग्दै गुन्द्रीमा अल्झेर लडेपछि चल्न छाडे । क्याल्सियमको कमीले गोडाको हड्डी भाँच्चिएको चिकित्सकले बताएका थिए ।

नवीनाका बुबा नीरज नायर भारतीय हुन् । उनी ७ वर्षअघि भारत गए । सँगै गएकी आमा विमलाको उतिबेलै मृत्यु भयो । आमा बितेपछि फर्केका बुबा एक रात भाइसहित नवीनालाई कोठामा थुनेर बेपत्ता भए । घरबेटीले नवीनाका मामालाई खबर गरेपछि उनीहरूको उद्धार गरिएको थियो । त्यसयता दिदीभाइ मामाघरको आश्रयमा छन् ।

त्यहाँ उनीहरूलाई हजुरआमा रञ्जताखनालले रेखदेख गर्दै आएकी छन् । ‘नातिनीको लालनपालन गर्न अरू बालबालिका स्याहारेजस्तो सजिलो छैन,’ खनालले भनिन्, ‘तर म बाँचुन्जेल रेखदेख गर्छु । मै नभएपछि चाहिँ कसले गर्छ भन्ने चिन्ता लाग्छ ।’

प्रकाशित : कार्तिक १०, २०७६ ०७:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT