खाली रहेको ११२ सिटका लागि भर्ना आह्वान गर्दा ७७१ जनाको आवेदन, जसमध्ये ७५ प्रतिशत निजी विद्यालय पढ्दै गरेका
काठमाडौँ — मुलुकको पहिलो विद्यालय दरबार हाईस्कुलमा ७ वर्षमा १० गुणा विद्यार्थी बढेका छन् । काठमाडौंको रानीपोखरीस्थित उक्त सामुदायिक विद्यालयमा निजी छाडेर आउने विद्यार्थीको संख्या धेरै देखिएको छ ।
२०७२ को भूकम्पमा भत्किएको संरचनालाई पुनर्निर्माणपछि चिटिक्क मात्र पारिएको छैन, यहाँको पढाइ पनि गुणस्तरीय बनाइएपछि विद्यार्थी र अभिभावक आकर्षित भएका हुन् ।
२०७५ मा ७६ जना मात्र विद्यार्थी भर्ना भएको दरबार हाईस्कुलमा आगामी शैक्षिक सत्रका लागि ७७१ जनाले नयाँ भर्नाका लागि दरखास्त आवेदन दिएको प्रधानाध्यापक शारदा पौडेलले बताइन् । विद्यालयले नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि ९ सम्म कुल ७५० विद्यार्थी मात्र हुने गरी रिक्त ११२ सिटमा भर्नाका लागि दरखास्त आह्वान गरेको थियो ।
जसमा अन्तिम दिन मंगलबारसम्म ७ सय ७१ जनाले आवेदन दिएका हुन् । आवेदन दिनेमध्ये ५ सय ७४ जना (७४.४४ प्रतिशत) विद्यार्थी निजी विद्यालय छाडेर यहाँ भर्ना हुन चाहने रहेको विद्यालय स्रोतले जनायो । काठमाडौंका नाम चलेकादेखि मध्यम र सामान्य सबै स्तरका निजी विद्यालयका विद्यार्थीको रोजाइमा दरबार हाईस्कुल पर्न थालेको यहाँका शिक्षक बताउँछन् । भूकम्पले भवन ढालेपछि विद्यार्थी अभावको संकट खेपेको यस विद्यालयको भवन पुनर्निर्माणपछि भने तंग्रिन थालेको उनीहरू बताउँछन् । प्रअ पौडेलले लोभलाग्दो भौतिक संरचना, गुणस्तरीय शिक्षा, अतिरिक्त क्रियाकलाप, क्षमतावान शिक्षकहरूका कारण विद्यालयप्रति विश्वास बढ्दै गएको प्रअ पौडेलले दाबी गरिन् । ७ सय ७१ जनाले आवेदन दिए पनि सिट संख्याअनुसार १ सय १२ जनालाई मात्र आगामी शैक्षिक सत्रका लागि भर्ना लिन सकिने विद्यालयले जनाएको छ । प्रत्येक कक्षामा दुई वटा सेक्सन सञ्चालन गरिएको छ । एउटा सेक्सनमा ४० देखि ५० जनाका दरले विद्यार्थी पढ्छन् ।
विद्यार्थीको चाप बढेपछि विद्यालय प्रशासनले बिहान र दिउँसो गरी दुई सिफ्टमा कक्षा सञ्चालन गर्नेबारे विद्यालय व्यवस्थापन समितिसँग छलफल चलाइरहेको पनि पौडेलले बताइन् । दरबार हाईस्कुलमा पूर्वप्राथमिकदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ । यस विद्यालयबाट यसपालि ८५ जना विद्यार्थी एसईईमा सहभागी भएका छन् । विद्यालयमा २०७६ मा १ सय ४३ जना विद्यार्थी भर्ना भएका थिए । त्यसयता भने विद्यार्थी संख्या बढेको बढ्यै छ । विद्यार्थी संख्या बढेसँगै विद्यालयले पनि कक्षा क्षमता विस्तार गर्दै आएको छ । २०७७ मा ३ सय ३५ जना, २०७८ मा ५ सय १८ जना हुँदै २०७९ मा ४ सय ९१ र २०८० मा ६ सय ९३ जना विद्यार्थी भर्ना भएका थिए ।
विद्यार्थी संख्या बर्सेनि बढिरहेपछि विद्यालयले २०८१ को नयाँ शैक्षिक सत्रका लागि ७ सय ५० जनाका लागि सिट संख्या तोकेको हो । जसमा आवेदन दिनेको संख्या ७ सय ७१ पुगेको छ । २०७८ मा अनलाइन कक्षामा भर्ना भएका सबै विद्यार्थी भौतिक कक्षामा उपस्थिति नभएपछि २०७९ मा संख्या घटेको थियो । ईसीडीदेखि कक्षा १२ सम्म २५ जना शिक्षकको दरबन्दी रहेको यस विद्यालयले थप ६ शिक्षक निजी स्रोतमा राखेको छ । निजी स्रोतको शिक्षकसहित अन्य खर्चका लागि विद्यालयले अभिभावकसँग मासिक ५ सयका दरले स्वैच्छिक सहयोग संकलन गर्दै आएको प्रअ पौडेलले बताइन् । ‘विद्यार्थीको चाप बढ्दै गएकाले ९ देखि १२ कक्षाका लागि बिहानी र ईसीडीदेखि ८ कक्षासम्मका लागि दिवा सत्रमा कक्षा सञ्चालन गर्ने प्रयास भइरहेको छ,’ उनले भनिन् ।
काठमाडौं महानगरपालिका शिक्षा विभागका पूर्वप्रमुख रामप्रसाद सुवेदीले दरबार हाईस्कुलको गुमिसकेको पुरानो साख ५ वर्षयता फर्कंदै आएको बताए । महानगरको नीति तथा कार्यक्रम, प्रधानाध्यापक, शिक्षकहरूको सामूहिक सक्रियताले स्कुलले फड्को मारेको उनले जनाए । ‘राष्ट्रियस्तरको विद्यालयका रूपमा विकास गर्न लगानी गर्दै महानगरले प्राथमिकता दियो ।
