२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१५

कक्षा-८ मा १७८ विद्यार्थीमध्ये ५ जनामात्रै उत्तीर्ण

आनन्द गौतम

ताप्लेजुङ — मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको कक्षा-८ को परीक्षामा पालिका भरिका बिद्यार्थीमध्ये ५ जना मात्रै उर्तीर्ण भएका छन् । एक सय ७८ जनाले परीक्षा लेखेका थिए । गाउँपालिकाका अनुसार २५ जनाले ग्रेड बृद्धिको परीक्षा लेख्न पाउने छन् । एक सय ४८ जनाले भने कक्षा दोहोर्‍याउनु पर्ने भएको छ । 

कक्षा-८ मा १७८ विद्यार्थीमध्ये ५ जनामात्रै उत्तीर्ण

गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमका अनुसार विद्यालय र विद्यार्थीको वास्तविक अवस्था जाँच गर्नका लागि यो पटक परीक्षा प्रणालीलाई कडाइ गरिएको हो । पालिकाको वास्तविक शैक्षिक अवस्था अवलोकन गर्ने उद्देश्यले गाउँपालिका बाहिरबाट बिषय विज्ञ ल्याएर प्रश्न पत्र बनाइएको र बाहिरकै विषय शिक्षकबाट उत्तर पुस्तिका जाँच गरिएको वनेमले बताए ।

दुई विषयमा नन ग्रेड ल्याउनेलाई बैशाख १० गतेदेखि ग्रेड बृद्धिको परीक्षा लेख्न दिइने परीक्षा तालिका सार्वजनिक गरिएको छ । मैवाखोलाले गत चैत ७ देखि १५ गतेसम्म कक्षा-८ को पालकिास्तरीय परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा पालिकाभरिका ८ विद्यालय सहभागी थिए ।

जसमध्ये चार विद्यालयका कुनैपनि बिद्यार्थीले उत्तीर्ण भएनन् । दुई विद्यालयका बिद्यार्थीले ग्रेडबृद्धिको परीक्षा लेख्न पाउने भएपनि दुईवटाका विद्यार्थीले भने त्योपनि नपाउने भएका गाउँपालिका शिक्षा प्राविधिक अर्जुन घिमिरेले बताए ।

विद्यालयको नाम भने सार्वजनिक गरिएको छैन । केन्द्रीकृत रुपमा मर्यादित परीक्षाको थालनी गरेको र यी कमजोरीबाट शिक्षा लिँदै आगामी दिनमा कसरी अगाडि बड्ने भन्ने योजना बनाउने पालिकाले जनाएको छ । ‘यो नतिजाले हाम्रो सामुदायिक बिद्यालयको चित्र स्पष्ट बनाउँछ,’ पालिका अध्यक्ष वनेमले भने, ‘विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी, तथा सम्पूर्ण शिक्षाप्रेमी नागरिक समाजले गम्भीर भएर सोच्न ढिला भइसकेको छ ।’

फक्ताङलुङ गाउँपालिकाले पनि ८ को परीक्षामा यस्तै नीति अवलम्वन गरेको छ । तर नतिजामा भने थोरै पृथकता देखिएको छ । फक्ताङलुङका एक सय ९७ मध्ये ६५ जनाले उतीर्ण गरेका छन् । ५६ जनाले कक्षा दोहोर्‍याउनेु पर्ने भएको छ । ७६ जनाले ग्रेडबृद्धिको परीक्षा लेख्न पाउने छन् । ग्रेड बृद्धिका लागि बैशाख नौ गतेबाट परीक्षा तालिका सार्वजनिक गरिएको छ ।

अहिलेकै अवस्थामा दुई पालिकाका अधिकांश विद्यालय कक्षा नौमा बिद्यार्थीविहीन हुनेछन् । फक्ताङलुङले चैत ४ देखि १३ गतेसम्म कक्षा ८ को परीक्षा सञ्चालन गरेको थियो । मैवाखोलाका विजय प्रकाश वनेम र फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्वू दुवै माओवादी केन्द्रबाट निर्बाचित अध्यक्ष हुन् ।

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र ताप्लेजुङका प्रवन्धक राजेन्द्र पन्त बच्चाहरुको मानसिकतामा असर नपर्ने गरी काम गर्नु उपयुक्त हुने बताउँछन् । ‘प्रश्नपत्र तयार गर्दा ज्ञान तह, बोध तह, प्रयोग तह र उच्च दक्षता गरी चार विधिको प्रयोग गर्नुपर्छ, सवै प्रश्नपत्र समान तहकापनि हुनुपर्छ,’ पन्तले भने, ‘जसले प्रश्न पत्र बनाएको छ, उसले उत्तर पुस्तिका जाॅच्नेलाई उक्तर कुञ्जिका दिनुपर्छ, यदि दिइएको छैन भने प्रश्न चिन्ह खडा हुन्छ, त्यसमा पनि ध्यान दिनुपर्छ ।’

यो विधि अपनाउनु अघि गाउँपालिकाले कुन पाठलाई बच्चाले कति समय दिएको छ भनेर बिश्लेषण गर्नु र बच्चाहरुलाई पटक/पटक जाँच गरेर अगाडि बड्दा उनीहरुमा पास/फेलको असर कम हुन्थ्यो कि भन्ने आफूलाई लागेको पन्त बताउँछन् ।

शिक्षक महासंघ ताप्लेजुङका अध्यक्ष तथा सिनाम माविका प्रधानाध्यापक महेन्द्र प्रकाश गौतम यसमा विद्यार्थी, शिक्षक मात्रै नभएर गाउँपालिकाहरु पनि फेल भएको बताउॅछन् । यसले दीर्घकालीन रुपमा ती गाउँपालिकालाई ठुलो असर पर्ने उनको दाबी छ ।

प्रकाशित : चैत्र २६, २०८० २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले ल्याएको आर्थिक वर्ष २०८१/०८२ को बजेट कस्तो लाग्यो ?