२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चाप धान्न नसकेर प्रवेश परीक्षा लिँदै सामुदायिक विद्यालय

विनोद भण्डारी

विराटनगर — विद्यार्थीको चाप बढेपछि विराटनगरका केही सामुदायिक विद्यालयले नयाँ भर्नाका लागि प्रवेश परीक्षा लिन थालेका छन् । यहाँका पोखरीया, आर्दश र सत्यनारयण माध्यामिक विद्यालयले अंग्रेजी माध्यमबाट पढाएर एसईईमा राम्रो नतिजा ल्याएपछि निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको चाप बढेको हो । ती विद्यालयले प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थीलाई मात्र भर्ना लिने गरेको छ ।

चाप धान्न नसकेर प्रवेश परीक्षा लिँदै सामुदायिक विद्यालय

विराटनगर–३ स्थित पोखरीया माविले नयाँ शैक्षिक सत्रका लागि सोमबार प्रवेश परीक्षा लिएको छ । कक्षा १ देखि ९ सम्म ६ सय ४५ जना विद्यार्थी भर्ना गर्न आवेदन खुला गर्दा निजी विद्यालय छाडेर भर्ना हुन चहाने २ हजार ४ सय ३१ विद्यार्थीले आवेदन दिएपछि प्रवेश परीक्षा लिन बाध्य भएको प्रधानाध्यापक खेमराज भट्टराईले बताए ।

‘निजी विद्यालय छाडेर आउने विद्यार्थीको चाप थेगिसक्नु छैन,’ भट्टराईले भने, ‘आवेदन दिने सबै विद्यार्थीलाई भर्ना गर्नसक्ने स्थिती छैन । त्यसैले प्रवेश परीक्षामा उत्तीर्ण हुनेलाई मात्र भर्ना लिँदै आएका छौं ।’

प्रअ भट्टराईका अनुसार कक्षा ६ मा १ सय २२ विद्यार्थी भर्ना गर्ने कोटामा ४ सय १९, कक्षा ७ मा ६४ मा ४ सय ७६ जना, कक्षा ८ मा १ सय ५० मा ५ सय ३६ र कक्षा ९ मा ६५ कोटामा ३ सय ७४ जनाले प्रवेश परीक्षा दिएका छन् । कक्षा नौमा प्राविधिकतर्फ ४८ जनामा ९१ ले प्रवेश परीक्षा दिएको उनले बताए ।

सुनसरीको दुहबी १० स्थित बुद्ध आइडियल स्कुलमा ७ कक्षाको परीक्षा दिएका खबिस चौधरीले यहाँ कक्षा ८ मा भर्नाका लागि सोमबार प्रवेश परीक्षा लिएका छन् । बुद्ध आइडियलमा कक्षा ८ पढाउँदा वार्षिक कम्तीमा ८० हजार रुपैयाँसम्म शुल्क तिर्नुपर्ने हुन्छ । पोखरीयामा वार्षिक १२ हजार रुपैयाँ शैक्षिक सहयोग शुल्क तिर्दा पुग्ने भएकाले छोरालाई भर्नाकालागि यहाँ प्रवेश परीक्षा दिलाएको उनका बुवा वीरेन्द्रले वताए ।

सोमबार कक्षा ६ देखि कक्षा ९ सम्म भर्ना हुन प्रवेश परीक्षा दिन आएका सबै निजीका विद्यार्थी हुन् । प्रअ भट्टराईका अनुसार यो विद्यालयले अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि मोरङ, सुनसरी, झापा, सप्तरी, सिराह, जनकपुर, धनकुटा, संखुवासभा, भोजपुर र तेह्रथुमका निजी विद्यालय छाडेर विद्यार्थी आउन थालेका छन् ।

यो विद्यालयले २०७० देखि नर्सरीदेखि कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेर एसईईको नतिजा उत्कृष्ट आएपछि निजी विद्यालय छाडेर भर्नाका लागि विद्यार्थी आउने चाप बढेको हो । अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेपछि विद्यालयको एसईई नतिजा प्लस ए, ए र प्लस बी मात्र नभई हालसम्म ६ जना विद्यार्थीले ४ जीपीए ल्याएका छन् । यो विद्यालयमा कक्षा ५ देखि १० सम्म मोरङ बाहिरबाट आएर पढ्ने एक हजारभन्दा बढी विद्यार्थी डेरा लिएर बस्छन् ।

यो विद्यालयमा आˆना बालबालिका पढाउनेप्रति अभिभावकले कक्षा ९ र १० का लागि वार्षिक १४ हजार र कक्षा ६ देखि ८ सम्मकाले वार्षिक १२ हजार शैक्षिक सहयोग शुल्क तिर्दै आएका छन् । यस्तै विराटनगरकै ऐतिहासिक आर्दश स्कुलले पनि नयाँ भर्ना लिन आइतबार प्रवेश परीक्षा लिएको छ । ४ देखि ९ कक्षासम्म ३ सय ७८ जनाको कोटामा २ हजार १ सय १४ जना विद्यार्थीले प्रवेश परीक्षा दिएको विद्यालयका प्रअ सन्तोष पोखरेलले बताए ।

प्रकाशित : चैत्र २६, २०८० १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारी ठग्नेलाई कारबाहीको दबाब दिन प्रमुख विपक्षी दल कांग्रेसले गरेको सडक आन्दोलन घोषणालाई कसरी लिनुभएको छ ?