कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५६

त्रिविका चार पूर्वउपकुलपतिले भने- 'अदृश्य रुपमा भागबन्डालाई प्रश्रय नदिइयोस्'

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका चार जना पूर्वउपकुलपतिहरुले उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न आग्रह गरेका छन् ।शुक्रबार पूर्वउपकुलपतिहरु केदारभक्त माथेमा, महेशकुमार उपाध्याय, कमलकृष्ण जोशी र नविनजङ्ग शाहले संयुक्त विज्ञप्ति जारी गर्दै उत्कृष्ट उम्मेद्वार सिफारिस गर्न उपकुलपति छनोट तथा सिफारिस समितिको ध्यानार्कषण गराए ।

त्रिविका चार पूर्वउपकुलपतिले भने- 'अदृश्य रुपमा भागबन्डालाई प्रश्रय नदिइयोस्'

शिक्षामन्त्री अशोकुमार राई अध्यक्षताको समितिले बिहीबार आवेदन दिने ४३ जनामध्ये सटलिष्ट गरेर १४ जनाको नाम सार्वजनिक गरेको छ । छनोटमा परेका १४ जनाको प्रस्तुतीकरण र अन्तर्वार्ता हुन बाँकी छ । तर पूर्व उपकुलपतिहरुले भने विश्वविद्यालय नेतृत्वविहीन रहेकाले ढिला नगरी उत्कृष्ट उम्मेद्वारको नाम सिफारिस गर्न आग्रह गरेका हुन् ।

‘विश्वविद्यालयहरुको नेतृत्व चयनमा अदृश्य रुपमा भागबन्डाले प्रश्रय पाएमा उच्च शिक्षालाई अझै कमजोर बनाउनेछ । त्यसतर्फ पनि हामी निर्णायकहरुको ध्यान आकृष्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

सम्भावित १४ जनाको सुची सार्वजनिक भएपछि खुल्ला प्रतिस्पर्धा भनिए पनि अन्त्यमा भागबन्डा हुने आंशकाहरु पनि गरिएको छ । समितिले छनोट प्रक्रियालाई निष्पक्ष र विश्वासनीय बनाउन विज्ञहरु नियुक्त गरेर कार्ययोजना र सोचपत्र मुल्याङ्कन गरेको जनाएको छ । प्रस्तुतीकरण र अन्तरवार्ता पनि विज्ञ निर्णयकहरुबाट गराउने जनाएको छ ।

तर पूर्वउपकुलपतिहरुले भने त्रिविमा दलगत राजनीतिबाट अत्याधिक अतिक्रमण भएर प्राज्ञिक गतिविधि प्रभावित हुने गरेको भन्दै भागबन्डा नगर्न दबाब दिएका छन् ।

उपकुलपति नियुक्तिमा राजनीतिक प्रश्रय भन्दा पनि प्राज्ञिक एवं विश्वविद्यालय हाँक्ने क्षमता भएकालाई प्राथमिकता दिनुपर्ने उनीहरुको सुझाव छ । उत्कृष्टताको आधारमा नियुक्त हुने उपकुलपतिलाई रेक्टर, रजिष्ट्रार, डिन, विभागीय प्रमुख लगायत पदाधिकारी चयन पनि आफैंले गर्न पाउने व्यवस्था मिलाउनुपर्ने उनीहरुको सुझाव छ ।

‘उपकुलपति राम्रो छनोट नै सबै समस्याको समाधान होइन । नियुक्त हुने उपकुलपतिले अन्य पदाधिकारीहरु समेतको आफ्नै टोली बनाएर काम गर्न पाए मात्र उपकुलपतिको नेतृत्व प्रभावकारी हुने हुँदा आफ्नो टोली आफैं बनाउन सक्ने प्रावधानको प्रादुर्भाव हुनपनि उत्तिकै आवश्यक छ,’ विज्ञप्तिमा उल्लेख छ ।

विश्वविद्यालयलाई समस्याबाट मुक्त गर्दै व्यापक सुधारसहित अघि बढाउन राजनीतिक दलहरुबीचको सहमति समेत आवश्यक रहेको पूर्वउपकुलपतिहरुले जनाएका छन् । त्यसका लागि राज्यले अग्रसरता लिनुपर्ने सुझाव छ । उनीहरुले प्रतिस्पर्धासँगै योग्य व्यक्तिलाई सीधै सर्म्पक गरी उपकुलपति नियुक्त गर्न सकिने अर्न्तराष्ट्रिय अभ्यास समेत स्मरण गराएका छन् ।

छनौट समितिले कुसुम शाक्य, केशरजंग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी ज्ञानेन्द्रप्रसाद पौड्याल, टंकनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद बेलबासे, प्रकाश घिमिरे, भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल, सूर्यबहादुर थापाको नाम सटलिष्टमा सार्वजनिक गरेको छ ।

उनीहरुको प्रस्तुतीकरण माघ २९ देखि फागुन २ गते सम्म तोकिएको छ । समितिले यी मध्येबाट ३ जना छनोट गर्ने र नियुक्तिका लागि प्रधानमन्त्री तथा कुलपतिलाई सिफारिस गर्नेछ । ती मध्ये एक जना त्रिविको २० औं उपकुलपति नियुक्त हुनेछन् ।

सिफारिस समितिले सिफारिस गरेकामध्ये एक जनालाई प्रधानमन्त्रीले उपकुलपति नियुक्त गर्नेछन् । कात्तिक १७ गतेदेखि त्रिवि उपकुलपतिबिहीन भएपछि रेक्टर शिवलाल भुसासलाई बढीमा ३ महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी कुलपतिले दिएका थिए ।

३ महिनासम्म पनि ४ वर्षका लागि उपकुलपति सिफारिस तथा नियुक्त हुन नसकेपछि भुसालको म्याद पुनः बढीमा ३ महिना लागि थप भएको छ । प्रधानमन्त्रीले मेरिटको आधारमा उपकुलपति चयन र नियुक्ति गरिने घोषणा गरेपछि शिक्षा सचिव सुरेश अधिकारी र त्रिवि सभा सदस्य चन्द्रकला घिमिरे सदस्य रहेको समितिले कार्यविधि जारी गरेर छनोट र नियुक्ति प्रक्रिया अघि बढाएको छ । समितिले गरेको आव्ह्रानमा उपकुलपति बन्न ४३ जनाले आवेदन दिएका थिए ।

प्रकाशित : माघ २६, २०८० १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार अभियुक्तसँग आर्थिक लेनदेनमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याललाई अब के गर्नुपर्छ ?