१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११३

कृषि र वन विश्वविद्यालयमा अनुसन्धानबारे बहस  

रमेशकुमार पौडेल

चितवन — विश्व विद्यालयका विद्यार्थी, प्राध्यापक र अन्य विज्ञहरुले गरेका अनुसन्धानबारे चर्चा गर्न चितवन रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा बिहीबारदेखि ‘पहिलो ग्राजुयट कन्फ्रेन्स’ सुरु भएको छ । 

कृषि र वन विश्वविद्यालयमा अनुसन्धानबारे बहस  

तीन दिनसम्म सम्मेलनको उद्घाटन रामपुर क्याम्पसमै पढेकी राष्ट्रिय सभा सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री विमला पौडेल राईले गरिन् । राईले जलवायु परिवर्तन, सामाजिक जीवन र विश्व परिवेशलाई मूल्यांकन गरेर नेपालमा कृषि योजना, नीति र प्रविधि बन्नु पर्ने बताइन् ।

कृषिमा लगानी धेरै गर्नु पर्ने भएका कारण सामान्य मान्छेहरु खेती छाडेर मजदुरीतिर गएको अवस्था अन्य गर्न कृषि पढेका विद्यार्थी, विज्ञ र अध्ययनकर्ताहरु लाग्नु पर्ने उनको भनाइ थियो । उनले कृषि प्रविधिको माग र आपूर्तिबीच तालमेल हुन नसकेको बताइन् ।

कृषि विश्वविद्यालय शिक्षा मन्त्रालयअन्तर्गत रहे पनि कृषि र वन मन्त्रालयसँग यसको समन्वय गर्न कुनै संयन्त्र बनाउनु पर्ने उनको राय थियो । कृषि मन्त्रालय र वन मन्त्रालयका नीतिहरुका बारेमा विश्व विद्यालयले अध्ययन अनुसन्धान गर्न पनि आवश्यक रहेको उनले बताइन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति पुण्यप्रसाद रेग्मीले कृषि मन्त्रालयअन्तर्गत राख्ने सोच भए पनि शिक्षा मन्त्रालयअन्तर्गत रहेको बताए ।

सम्मेलनको आयोजक समितिका संयोजक ऋषिराम कट्टेलका अनुसार तीन दिनसम्म सयभन्दा बढी कार्यपत्रहरु पेस हुनेछन् । विभिन्न देशका विज्ञहरु पनि प्रमुख वक्ताका रुपमा आएका छन् ।

विश्वविद्यालयका विद्यार्थी र प्राध्यापक तथा अन्य विज्ञले गरेको अध्ययन अनुसन्धानको निचोड सामान्य किसानसम्म पुर्‍याउने विधिका विषयमा पनि चर्चा हुने छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शैक्षिक कार्यक्रम सुरु गरेको १० वर्ष भएको छ ।

प्रकाशित : मंसिर ७, २०८० १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवाका २७ सहसचिवलाई एक महिनादेखि काम नदिई संघीय मन्त्रालयमा हाजिर मात्रै गराएर राखिएकोबारे के टिप्पणी छ ?