कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

इन्जिनियरिङको शुल्क ४ लाख ९० हजार

आश्विन २१, २०८०
इन्जिनियरिङको शुल्क ४ लाख ९० हजार

Highlights

  • भदौदेखि रोकिएको प्रवेश परीक्षा कात्तिक १४ देखि

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक इन्जिनियरिङ (बीई/बीआर्क) को शिक्षण शुल्क ४ लाख ९० हजार रुपैयाँ तोकेको छ ।

शुल्क तोकिएसँगै भदौदेखि रोकिएको प्रवेश परीक्षा कात्तिक १४ देखि सञ्चालन गरिने सहायक डिन तथा परीक्षा बोर्डका अध्यक्ष सुशीलबहादुर वज्राचार्यले बताए । प्रवेश परीक्षामा सहभागी हुन छुट भएका विद्यार्थीले असोज २२ देखि २४ गतेसम्म आवेदन दिन सक्ने उनले जानकारी दिए । यसअघि नै आवेदन फाराम लिएको भए पनि शुल्क विवादका कारण भदौमा तोकिएको प्रवेश परीक्षा स्थगित गरिएको थियो । छुट भएका विद्यार्थीलाई आवेदन दिन ३ दिनको म्याद थप गरिएको हो ।

आईओईको कार्यान्वयन समितिले शुक्रबार धरौटीसहित पूर्ण शुल्कीयतर्फ ४ लाख ९० हजार शुल्क कायम गर्ने निर्णय गरेको वज्राचार्यले जनाए । डिन शशिधरराम जोशीको अध्यक्षतामा बसेको समितिको बैठकले शुल्क तोक्ने निर्णय गरेको हो । समितिमा सहायक डिन, क्याम्पस प्रमुख, प्राध्यापक प्रतिनिधि सदस्य हुने व्यवस्था छ । गत साउन २५ मा आईओईले ३ लाख १८ हजारबाट शिक्षण शुल्क वृद्धि गरेर ७ लाख ७७ हजार कायम गर्ने निर्णय गरेको थियो । उक्त निर्णयको विरोधमा विद्यार्थीले आमरण अनशनसहितको आन्दोलनका कार्यक्रम गरेपछि शुल्क वृद्धिको निर्णय रद्द गरिएको थियो । शुक्रबार विद्यार्थीसँग सहमति र समन्वय गरेर शुल्क तोकिएको सहायक डिन वज्राचार्यले बताए ।

नियमिततर्फको शुल्क ५६ हजार ७ सय र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार ५ सय तोकिएको छ । सर्वपक्षीय सहमतिमा शुल्क कायम गरिएकाले अब प्रवेश परीक्षा, भर्ना र पठनपाठन नियमित हुने डिन कार्यालयले जनाएको छ । ‘शुल्क विवादले प्रवेश परीक्षा केही ढिला भयो । भर्ना हुन पाइँदैन कि भनेर विद्यार्थी बाहिर जानु पर्दैन,’ डिन वज्राचार्यले भने, ‘आईओईको १५ वटै क्याम्पसमा विद्यार्थी भर्ना लिन्छौं । इन्जिनियरिङतर्फका १२ वटा विषयमा ४ हजार ३ सय ४४ सिटका लागि प्रवेश परीक्षा सञ्चालन गरेर भर्ना खुल्छ ।’ आईओईका पुल्चोक, थापाथलीसहित ५ आंगिक र १० वटा निजी क्याम्पस सञ्चालनमा रहेका छन् ।

डिन कार्यालयले क्याम्पसहरू घाटामा सञ्चालन भइरहेको र सरकारले पर्याप्त बजेट नदिएका कारण विद्यार्थीसँग लिने शिक्षण शुल्क वृद्धि गर्नुपरेको जनाएको छ । ‘हामीले त घाटा नहुने गरी ७ लाख ७७ हजार शुल्क तोकेका थियौं । विद्यार्थीले विरोध गरेर त्यसलाई फिर्ता लिई ५ लाख ५४ हजार शुल्क तोक्न खोज्दा पनि विद्यार्थी मानेनन्,’ उनले भने, ‘सबै पक्षसँगको छलफल, संवादपछि ४ लाख ९० हजार कायम गरिएको छ । यसले जेनतेन क्याम्पस चल्छ ।’ शुल्क विवाद चर्केपछि त्रिवि कार्यकारी परिषद्ले समेत आईओईमा हस्तक्षेप गरेको थियो । उपकुलपति धर्मकान्त बाँस्कोटासहित पदाधिकारीले केन्द्रीय प्राध्यापक संगठनहरूमार्फत विद्यार्थी संगठनसँग छलफल गरेर शुल्क कायम गर्न समन्वय गरेका थिए ।

डिन कार्यालयका पदाधिकारी शुल्क वृद्धि नगरी नयाँ शैक्षिक सत्रको पठनपाठन गराउन नसक्ने पक्षमा थिए भने विद्यार्थीले शुल्क वृद्धि गर्न नहुने अडान लिएका कारण दुई महिनासम्म प्रवेश परीक्षा अनिश्चित बनेको थियो । दुई पक्षको अडानले प्रवेश परीक्षा र भर्नाको तयारीमा रहेका करिब १० हजार विद्यार्थी अन्योलमा फसेका थिए । गतसाता पुरानै शुल्कमा असोज २१ मा प्रवेश परीक्षा सञ्चालन गर्ने सहमतिपत्र र डिन कार्यालयको निर्णय सार्वजनिक भएको थियो । यद्यपि डिन कार्यालयले विद्यार्थीले जबर्जस्ती सहमतिमा हस्ताक्षर गर्न बाध्य पारेकाले सो सहमति र निर्णय कार्यान्वयन गर्न नसक्ने भन्दै वज्राचार्यलगायत पदाधिकारीले राजीनामासमेत दिएका थिए ।

विद्यार्थी सम्मिलित शुल्क पुनरावलोकन समितिले बीईको अध्ययन शुल्क ५ लाख ५४ हजार तोक्न सिफारिस गरेको थियो । त्यही शुल्क स्वीकृत गरेर लागू गर्नुपर्ने पदाधिकारीको भनाइ थियो । तर पछिल्लो शुल्क सहमतिमा कायम गरिएको हो । उक्त शुल्क आईओई आंगिक क्याम्पसमा मात्र लागू हुन्छ । ०५४ सालपछि इन्जिनियरिङको शिक्षण शुल्क वृद्धि गरिएको हो । त्यतिबेला शुल्क तोक्दा वार्षिक रूपमा १० प्रतिशतका दरले वृद्धि गर्दै लैजाने निर्णय भए पनि त्यसलाई कार्यान्वयन गर्न सकिएको थिएन ।

निजी कलेजले भने विद्यार्थीसँग १६ लाखसम्म शिक्षण शुल्क लिँदै आएका छन् । आंगिक क्याम्पसमा नियमिततर्फ ६ सय १० जना र पूर्ण शुल्कीय कार्यक्रममा १ हजार ४ सय ३० विद्यार्थी भर्ना हुन पाउँछन् । नियमित भनेको शिक्षण शुल्कमा छात्रवृत्ति पाउने कोटा हो । प्रवेश परीक्षा पास गरेका विद्यार्थीले मात्र मेरिटका आधारमा क्याम्पसहरूमा भर्ना पाउने व्यवस्था छ । परीक्षामा उत्कृष्ट विद्यार्थीको रोजाइमा पुल्चोक, थापाथली, पोखरा, पूर्वाञ्चल धरान र चितवनलगायत आंगिक इन्जिनियरिङ क्याम्पस पर्ने गरेका छन् । यी क्याम्पसको गुणस्तर राम्रो र शुल्क पनि सस्तो भएकाले भर्ना हुन विद्यार्थीबीच प्रतिस्पर्धा हुने गर्छ ।

प्रकाशित : आश्विन २१, २०८० ०७:३१
×