गरिब दलितहरू अझै आधारभूत शिक्षाबाटै वञ्चित छन् : जीवन परियार

काठमाडौँ — कांग्रेस सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य जीवन परियारले गरिब दलितहरू अझै पनि आधारभूत शिक्षाबाटै वञ्चित रहेको बताएका छन् । प्रतिनिधिसिभाको शुक्रबारको बैठकमा विद्यालय शिक्षासम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथिको छलफलमा नेता परियारले कक्षा १२ सम्मको पढाइलाई सबैको पहुँचमा पुर्याउनुपर्ने बताए ।

‘विधेयकमा विद्यालय शिक्षा भनेर कक्षा १२ सम्मलाई मानिएको छ । अहिलेको समयमा यतिसम्म पढ्नु भनेको अत्यन्तै महत्वपूर्ण आधारभूत शिक्षा हो । तर अहिले पनि हाम्रो देशका कुना–कन्दराका गरिब र दलितहरूले यही १२ कक्षासम्मको शिक्षा पनि सहज रूपले पाउन सकेको अवस्था छैन,’ परियारले भने, ‘भर्ना प्रतिशत अहिले पनि शतप्रतिशत छैन, ड्रपआउटको अवस्था पनि उस्तै छ । र, त्यो संख्या किन छ भनेर हेर्ने हो भने त्यस्तो बच्चा कि दलित समुदायबाट छ, कि अति गरिब छ । गरिबीका कारण आधारभूत शिक्षाबाट वञ्चित हुने अवस्थाको अन्त्य गरौँ ।’
उनले अहिलेको संरचनाले विद्यालय जान नसकिरहेको बच्चालाई विद्यालयमा ल्याउन कुनै पहल नै नगरिरहेको बताए । ‘जो विद्यालय नै जान सकिरहेको छैन, उसलाई स्कुलमा कसरी ल्याउने ? उसलाई कक्षा १२ सम्म कसरी पढाउने ? भनेर यो विधेयकबाट सोच्नु आवश्यक छ,’ उनले भने ।
नेता परियारले ०७२ सालमा संविधान बने पनि त्यसयताका सरकारले समयमा कानुनहरू बनाउने विषयमा ध्यान नदिएको गुनासो गरे ।
प्रकाशित : आश्विन १९, २०८० १६:३७