

कञ्चनपुर — सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका विद्यार्थी प्रयोगात्मक सिकाइका लागि इजरायल जाने भएका छन् । टीकापुर कृषि क्याम्पसका आठौं सेमेस्टरका विद्यार्थी आउँदो साता इजरायल जाने भएका हुन् ।


विश्वविद्यालयले कृषि अध्ययनका लागि नेपालस्थित इजरायली राजदूतावासको सहजीकरणमा सेडट नेगेभ कलेजसँग भएको सम्झौताअनुसार विद्यार्थीहरुले उक्त अवसर पाउन लागेका हुन् । आठौं सेमेस्टरका ४९ जना विद्यार्थीले इजरायलका कृषि फार्ममा प्रयोगात्मक अभ्याससँगै आम्दानी समेत गर्नेछन् ।
‘हाम्रो शिक्षा सैद्धान्तिक बढी छ, यसलाई पेसासँग जोडन सकेका छैनौ, प्रयोगात्मक बनाउन सकेका छैनौं,’ विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले भने, ‘कृषि, इन्जिनियरिंङ लगायतका विद्यार्थीलाई प्रयोगात्मक अनिवार्य हुन्छ ।’
इजरायली दूतावाससँग भएको सम्झौताअनुसार कृषि संकायमा अध्ययनरत आठौं सेमेस्टरका हरेक शैक्षिक सत्रका विद्यार्थी अध्ययनका लागि इजरायल जान पाउने उनले बताए । उनीहरुले ११ महिनासम्म विभिन्न कृषि फार्ममा काम गरेर व्यवसायिक खेतीका विधिको प्रयोगात्मक सिकाइसँगै कमाइ समेत गर्न सक्नेछन् ।
‘अर्न एण्ड लर्न प्रोग्रामअन्तर्गत विद्यार्थीहरु इजरायल जान लागेका हुन,’ कृषि संकायका डीन लालप्रसाद अमगाईले भने, ‘विद्यार्थीहरुले इजरायलको प्रविधि सिक्न पाउनेछन् । यससँगै आम्दानी पनि गर्नेछन् ।’ उनका अनुसार सोमबार १५ जना र मंगलवार ३४ जना प्रस्थान गर्नेछन् ।
विश्वविद्यालयले कृषि संकायमा हरेक वर्ष ११० जना विद्यार्थी भर्ना गर्छ । जसमध्ये १० जना सुदूरपश्चिम प्रदेशका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीहरु हुन्छन् । यसपटक सय विद्यार्थीमध्ये ९२ जना मात्रै अध्ययनरत छन् । तीमध्ये ५५ जनाले इजरायलका लागि आवेदन दिएका थिए । तिनैबाट ५० जना छनोट भएका थिए । एक जना बिरामी भएका कारण जान नसक्ने भएको डीन अमगाइले बताए ।
अहिले इजरायल जान लागेको विश्वविद्यालयको कृषि संकायको पहिलो ब्याच हो । उनीहरुले इजरायलमा गर्ने अध्ययन र कामका आधारमा आगामी वर्ष थप विद्यार्थी पठाउन पहल गरिनेछ । ‘यो कार्यक्रम निरन्तर चलिरहने छ । उनीहरुले यहाँ पनि राम्रो नतिजा ल्याएका छन्,’ अमगाईले भने, ‘स्वदेशमै पनि विभिन्न कार्यक्रममा विद्यार्थीलाई सिकाइसँगै आम्दानीसँग जोडिरहेका छौं ।’
विश्वविद्यालयले ९२ जना विद्यार्थीलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न २४ जिल्लामा पठाएका थियो । हिमाली, पहाडी र तराईमा काम गर्ने विद्यार्थीले भूगोलअनुसार १४ हजारदेखि २४ हजार रुपैयाँसम्म मासिक आम्दानीसमेत गरेका थिए । उक्त परियोजनामा समेत विद्यार्थीले कुनै सिकायत नआउने गरी काम गरेकाले इजरायलमा पनि राम्रो नतिजा ल्याउने अपेक्षा गरिएको डीन अमगाईले बताए ।
विश्वविद्यालयमा अर्न एण्ड लर्न कार्यक्रम गत वर्ष मंसिरमा सुरु गरिएको थियो । त्यही कार्यक्रमअन्तर्गत वैशाखमा इजरायलमा विद्यार्थी पठाउने निश्चित भएपछि असारमा सेडट कलेजसँग सम्झौता भएको हो । अन्य देशमा पनि विभिन्न कलेज र दूतावाससॅंग यही कार्यक्रमका लागि पहल भइरहेको डीन अमगाईले बताए ।
प्रकाशित : भाद्र २३, २०८० २१:०६