कर्णाली स्वास्थ्य प्रतिष्ठानका शिक्षक/कर्मचारी आन्दोलित


जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलविरुद्ध शिक्षक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।


उपकुलपति डा. रावलले पटकपटक पदाधिकारी नियुक्त गरेर प्रतिष्ठानमा आर्थिक संकट सिर्जना गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
गत शनिबार राति डेन्टल सर्जन प्रेनित पोखरेललाई स्कुल अफ मेडिसिनको डिनका रुपमा उपकुलपति डा. रावलले नियुक्त गरेपछि शिक्षक/कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
२०७७ मंसिर ९ गते प्रतिष्ठानका पदाधिकारी र कर्मचारी कल्याणकारी समाजबीच प्रतिष्ठानमा एक जना मात्र डिनको प्रावधान राख्ने र अन्य संकायहरुमा सहायक डिनहरु राख्ने व्यवस्था गर्ने निर्णयसहित सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सम्झौतापत्र विपरीत डिन नियुक्त गरेपछि प्रतिष्ठानका शिक्षक कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।
सम्झौता अनुसार पब्लिक हेल्थ डिन मुनिराज क्षेत्री हुँदाहुँदै अर्को डिन नियुक्त गर्नु जरुरी नभएको शिक्षक कर्मचारीहरुको ठहर छ । रजिष्टार नृपेन्द्र महत समक्ष शिक्षक कर्मचारीहरुले प्रेस विज्ञप्ति बुझाएर उपकुलपति रावलले प्रतिष्ठानको गरिमामाथि आँच आउने खालका गतिविधि गरेकोले बाध्य भएर आन्दोलनका कार्यक्रम अघि बढाउनुपर्ने अवस्था आइपरेको कर्मचारीहरुले बताएका छन् ।
'कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान एक पिछडिएको क्षेत्रमा स्थापित स्वायत्त संस्था हो । पिछडिएको क्षेत्रमा स्थापना भई शैक्षिक, स्वास्थ्य उपचार तथा अनुसन्धानका क्षेत्रमा फड्को मारिरहेको छ,' प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उपकुलपतिको मनोमानीका कारण हाल प्रतिष्ठान आर्थिक लगायतका क्षेत्रमा संकटग्रस्त अवस्थामा गुज्रिरहेको छ । यो समग्र कर्णालीको लागि नै दु:खद सन्देश हो ।’
प्रतिष्ठानको हितमा प्रतिष्ठान तथा तत्कालीन कर्मचारी कल्याणकारी समाजबीच भएको सम्झौता अनुसार कार्यकारी परिषदले समेत अबउप्रान्त एक मात्र डिन रहने निर्णय गरेको थियो । विज्ञप्तिमा भनिएको छ, ‘उपकुलपति ज्यूले विविध बहाना बनाई राजनीतिक दाउपेचमा परी प्रा. डा. मुनिराज क्षेत्री एक जना डिन कार्यरत हुँदाहुँदै पुन: अर्को डिन नियुक्ति गर्नु उक्त निर्णयको उल्लंघन भएको छ । यो सहेर बस्न सकिने अवस्था छैन । ’
प्रतिष्ठानले कर्मचारीहरुको नियमावलीले तोकेको तलब, भत्ता तथा सेवा सुविधामा समेत बजेट अभाव भन्दै तोकिएको तलब र भत्ता खुवाउन सकेको छैन । जसकारण प्रतिष्ठानका सयौं स्थायी शिक्षक तथा कर्मचारी बढुवा हुनबाट वञ्चित भएका छन् । साथै शिक्षक तथा कर्मचारीहरुले लोकसेवाको प्रक्रियाबाट स्थायी कर्मचारी छनोटमा रोक लगाएको, सम्मानित अदालतको आदेशसमेत अवहेलना गरेका जस्ता कार्यहरुले प्रतिष्ठानलाई फाइदा नगर्ने निष्कर्षमा पुगेको जनाएका छन् ।
आन्दोलनमा उत्रिएका शिक्षक/कर्मचारीले उपकुलपति डा. रावलले नयाँ डिन नियुक्तिको गलत निर्णय यथाशीघ्र २४ घण्टाभित्र सच्याउनुपर्ने माग राखेका छन् । यदि उक्त निर्णय नसच्चिए प्रतिष्ठानका संघ, संगठन र सम्पूर्ण शिक्षक तथा कर्मचारीहरु थप सशक्त आन्दोलनमा जाने समेत उनीहरूले चेतावनी दिएका छन् ।
प्रकाशित : भाद्र १९, २०८० ११:१०