सामुदायिक क्याम्पसलाई पहिलो पटक इन्जिनियरिङ अध्ययन अनुमति


झापा — मेचीनगरको धुलाबारी क्याम्पसले सिभिल इन्जिनियरिङ पठनपाठनका लागि अनुमति पाएको छ । नेपाल इन्जिनियरिङ काउन्सिलले गत भदौ १५ मा इन्जिनियरिङ संकायको पठनपाठनका लागि सम्बन्धन दिएको हो ।


पूर्वाञ्चल विश्वविद्यालयबाट अर्न्तगत देशभर १७ वटा क्याम्पसले इन्जिनियरिङ संकायको अनमुति पाएका छन् । धुलाबारी क्याम्पस भने पहिलो सामुदायिक क्याम्पस हो ।
‘इन्जिनियरिङ काउन्सिलबाट पठनपाठनको सम्बन्धन पाउने हामी देशकै पहिलो सामुदायिक क्याम्पस भएका छौं,’ क्याम्पस प्रमुख पुष्पराज पौड्यालले दाबी गर्दै भने, ‘यो नगरको मात्रै नभएर सिंगो जिल्लाकै गर्वको विषय हो ।’
क्याम्पस प्रमुख पौड्यालका अनुसार देशभर ५ सय ६३ सामुदायिक क्याम्पस छन् । जसमध्ये स्नातक तहमा इन्जिनियरिङ पठनपाठनको अनुमति धुलाबारी क्याम्पसले मात्रै पाएको हो । ‘पब्लिक क्याम्पसमा इन्जिनियरिङ विषयको पढाइ गर्ने हामी पहिलो भएका छौं,’ पौड्यालले भने ।
पूर्वाञ्चल विश्वविद्यालयले गत चैत १४ गते शैक्षिक सत्र २०७९/०८० देखि स्नातक तहको चार वर्षे (बीई, सिभिल) कोर्षका लागि छात्रवृत्तिसहित ४८ जना विद्यार्थी रहने गरी शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिएको क्याम्पसका इन्जिनियर संकायका निर्देशक रुद्रप्रसाद मैनालीले जनाए । मैनालीले आगामी ४ वर्षे पूर्ण कोषका लागि साढे ६ लाख रुपैयाँ खर्च लाग्ने बताउँदै असोज ६ असोजभित्र भर्नाका आवेदन समेत खुलेको जनाए ।
२०४८ सालमा मेचीनगर– १० स्थित रघुवीर बारीमा स्थापित धुलाबारी क्याम्पस ७ बिगाहा क्षेत्रफलमा फैलिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष भीम खवासले धुलाबारीमा इन्जिनियरिङ अनुमति ल्याउन धेरै ‘पापड’ पेल्नु परेको जनाए । उनले भने, ‘धेरै दुःखका बावजुद नगरमा इन्जिनियरिङ क्याम्पस आएको छ, अब यसलाई सबैले माया चाहिएको छ ।’
प्रकाशित : भाद्र १८, २०८० १४:३३