कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४
स्नातक शिक्षा विशेष

आईटीको व्यापकता

सजना बराल

काठमाडौँ — धरानकी विनिता कुसुम धमला ललितपुरस्थित पुल्चोक क्याम्पसमा मास्टर्स इन इन्फरमेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङ पढ्दै छिन् । नेपाल रिसर्च एन्ड एडुकेसन नेटवर्कमा नेटवर्क इन्जिनियरका रूपमा काम गरिरहेकी उनी सूचना प्रविधिको क्षेत्रमा धेरै सम्भावना रहेको बताउँछिन् । ‘कम्प्युटर, कम्युनिकेसन वा इलेक्ट्रोनिक्ससम्बन्धी रुचि छ भने आईटी पढ्दा हुन्छ,’ उनले भनिन्, ‘काम पाउन, व्यस्त रहन गाह्रो हुँदैन । आफू अपडेटेड भने रहनुपर्छ, अनेक अवसर पाइन्छन् ।’

आईटीको व्यापकता

कम्प्युटर एसोसिएसन अफ नेपालको तथ्यांकअनुसार नेपालमा प्रतिवर्ष सूचना प्रविधिमा करिब १० हजार जनाले स्नातक गर्छन् । जसमध्ये केही विद्यार्थी विदेशमा पढ्न जान्छन्, केही नेपालमै काम गर्छन् । विदेशमा आईटी कामदारको माग उच्च भएकाले अमेरिका, क्यानडातिर पलायन हुने धेरै हुन्छन् । यद्यपि, नेपालको आईटी क्षेत्र पनि विस्तार हुने क्रममा छ । यहाँ उत्पादन भएका आईटी जनशक्तिले निजी र सरकारी सेवामा काम पाइरहेका छन् । कतिले घरमै बसेर विदेशी कम्पनीका लागि काम गरिरहेका हुन्छन् । मध्यबानेश्वरस्थित एपेक्स कलेजकी प्राचार्य दुर्गा रिजाल आईटी पढेका विद्यार्थीहरूले घरमै बसेर अमेरिका र बेलायती संस्थामा काम गरिरहेको बताउँछिन् । ‘अहिले वर्क फ्रम होमको जुन कल्चर विकास भइरहेको छ, यसका लागि आईटी कोर्स अत्यन्तै उपयोगी देखिएको छ,’ उनले भनिन् ।

नेपालका सबैजसो विश्वविद्यालयले आईटीसम्बन्धी कुनै न कुनै विषयको अध्यापन गराइरहेका छन् । कक्षा १२ को शैक्षिक नतिजा र आफ्नो रुचिअनुसार विद्यार्थीले बीएससी सीएसआईटी, बीएससी कम्प्युटिङ, बीसीए, बीएससी कम्प्युटर नेटवर्किङ एन्ड आईटी सेक्युरिटी, बीआईएमजस्ता विषय रोज्न सक्छन् । कक्षा १२ मा विज्ञान विषय पढेकाले स्नातक तहमा इन्जिनियरिङ पढ्न सक्छन् । अन्यलाई बीआईएस, बीसीआईएसजस्ता विषय रोज्ने विकल्प रहन्छ । यसमा पनि नेटवर्किङ, प्रोग्रामिङ, डिजाइनिङ, साइबर सेक्युरिटी, डिजिटल मार्केटिङजस्ता विषयमध्ये कुनै एउटामा विशेषज्ञता हासिल गर्न सकिन्छ । हिजोआज जुनसुकै क्षेत्र, पेसा र व्यवसायमा लाग्न आईटीसम्बन्धी ज्ञान अनिवार्यजस्तै भएको छ । आईटीको विशेषज्ञताले काममा परनिर्भता कम गराउने प्राध्यापक रिजाल बताउँछिन् ।

हामीकहाँ व्यवस्थापन र सूचना प्रविधि, विज्ञान तथा सूचना प्रविधि र मानविकी तथा सूचना प्रविधिजस्ता विभिन्न विषयको संयोजन गरिएका पाठ्यक्रममा पनि विद्यार्थीको आकर्षण देखिन्छ । इन्फरमेसन म्यानेजमेन्ट, कम्प्युटर साइन्स एन्ड इन्फरमेसन टेक्नोलोजी लगायत विषयमा स्नातक पढ्नेले व्यस्थापन र सूचना प्रविधि दुवैको ज्ञान र सीप आर्जन गर्न सक्छन् । आईटी विषयमा मात्रै विशेषज्ञता हासिल गर्छु भन्नेका लागि अहिले ४८ वटा जति पाठ्यक्रम उपलब्ध छन् । कतिपय कलेजले विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर पनि यी विषयको अध्यापन गराइरहेका छन् ।

विदेशका नाफामूलक संस्थाहरूलाई नेपालमा कलेज खोल्ने वा सम्बन्धन (एफिलिएसन) प्रदान गर्ने स्वीकृति दिएर सरकारले स्वदेशी शिक्षण संस्थालाई मर्कामा पारेको भन्दै कतिपय शिक्षण उद्यमी तथा विज्ञहरूले विरोध गर्ने गरेका छन् । आईटी उद्यमी रुद्र पाण्डे सामाजिक सञ्जालमा यसबारे लेखिरहन्छन् । ‘जसरी खोलामा पानी नभए बिजुली निकाल्न सकिन्न, त्यसैगरी नेपालका कलेजबाट निस्केका ग्य्राजुएट नै ५० प्रतिशत केही नजान्ने र राम्रा कलेजलाई कोटाको फन्दामा फसाएपछि आईटी हब बन्न असम्भव छ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘त्रिविले कोटाद्वारा निम्नस्तरका कलेजलाई संरक्षण गरेको छ । कोटा खारेज गरौं ।’

हाल नेपालमा १३ वटा स्वदेशी र ३५ वटा जति विदेशी विश्वविद्यालयले कलेज खोलेका छन् । यत्रा विदेशी शिक्षण संस्थालाई नेपालमा कलेज खोल्न शिक्षा मन्त्रालयले किन स्वीकृति दियो भन्नेबारे पनि प्रश्न उठ्ने गरेको छ । नेपालका विश्वविद्यालयले स्नातक तहमा १० हजार जति आईटी शिक्षासम्बन्धी कोटा वितरण गरेका छन् । थुप्रै कलेजले कोटाअनुरूप विद्यार्थी पाउँदैनन् । यस्तोमा चर्को शुल्क असुल्ने बग्रेल्ती आईटी कलेजको आवश्यकता किन भन्ने प्रश्न पनि पेचिलो छ ।

नेपालमा सञ्चालित शिक्षण संस्थाले उत्पादन गर्ने जनशक्ति र आईटी उद्योगले खोजेको जनशक्तिका बीचमा थोरै दूरी देखिएको सूचना प्रविधिका जानकार नारायण थापा बताउँछन् । ‘यो दूरी हटाउन सरकारले इन्कुबेटर वा फिनिसिङ स्कुल स्थापनामा केही काम गर्नुपर्छ,’ उनले भने, ‘अहिले शैक्षिक प्रमाणपत्र भएका विद्यार्थीसँग उद्योगलाई चाहिने सीप छैन । कम्पनीहरू आफैंले तालिम दिएर, इन्टर्नसिपमा राखेर सीप सिकाउनुपर्ने अवस्था छ ।’

उनका अनुसार नेपालमा बसेर विदेशी कम्पनीको काम गर्ने वा फ्रिलान्सिङ गर्नेले आम्दानीको १ प्रतिशत कर तिरे पुग्छ । हाम्रै कतिपय दक्ष आईटी कामदारले प्रतिघण्टा ३० देखि ६० अमेरिकी डलर आर्जन गर्ने गरेका छन् । आईटी उद्यमलाई प्रोत्साहन गर्न सरकारले केही नीतिगत सुधार गरेमा जनशक्ति पलायनको समस्या कम हुने उनको बुझाइ छ । ‘अबको ५/१० वर्षपछि आईटी क्षेत्रले नेपालको जीडीपीमा राम्रो योगदान पुर्‍याउन सक्ने गरी जनशक्ति उत्पादनमा सरकारले जोड दिनुपर्छ । आईटी कम्पनी खोल्न प्रोत्साहन गर्ने, विदेशी नियोगमार्फत आईटीसम्बन्धी विदेशी प्रोजेक्ट ल्याउन पहल गर्ने जस्ता काम हुनुपर्छ,’ उनले भने ।

प्रकाशित : भाद्र २६, २०७९ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?