कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०
स्नातक शिक्षा विशेष

बहुआयामिक बन्न बीबीए

यज्ञ बञ्जाडे

व्यवसायका बारेमा बुझ्न मात्र होइन, उद्यमी बन्न वा राम्रो जागिर प्राप्त गर्न पनि ब्याचलर्स इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) उपयुक्त विषय हो । व्यवस्थापन विषय (खासगरी बीबीए) रोजेर स्नातक तहको अध्ययन गर्ने सोच बनाउनुभएको छ भने तपाईंको निर्णय सही छ ।

बहुआयामिक बन्न बीबीए

अहिलेको यो निर्णयले भविष्यमा तपाईंलाई सफल व्यवसायी, व्यवस्थापक र उद्यमी बन्न सघाउनेछ । यद्यपि व्यवस्थापन अध्ययन गरेर मात्र सफल व्यवसायी, व्यवस्थापक र उद्यमी बन्न सकिन्छ भन्ने होइन । अरू विषय पढेका मात्र होइन, औपचारिक शिक्षा निकै कम प्राप्त गरेका व्यक्तिहरू पनि सफल उद्यमी र व्यवस्थापक बनेका थुप्रै उदाहरण हाम्रासामु छन् ।

तर, निर्धारित उद्देश्य प्राप्तिका लागि उपलब्ध मानवीय तथा भौतिक स्रोतसाधनको कुशलतापूर्वक र प्रभावकारी ढंगले परिचालन गर्ने विधि नै व्यवस्थापन हो । सफल व्यवसायी, व्यवस्थापक र उद्यमी बन्न अत्यावश्यक सबैजसो ज्ञान बीबीएबाट पाइन्छ । यसकारण अन्य विषयको तुलनामा व्यवस्थापन अध्ययनले उद्यमी बन्न चाहिने धेरै ज्ञान (गुण) दिने, सिकाउने शिक्षाविद्हरू दाबी गर्छन् ।

व्यवस्थापनभित्र पनि अहिले विभिन्न विषयहरू पढ्न पाइन्छ । बीबीए, बीबीए बीआई, बीआईएम, बीएचएम, बीसीए, ब्याचलर इन ट्राभल एन्ड टुरिजम केही चलेका विषय हुन् । खासगरी आफैं उद्यमी बन्न, बैंक तथा वित्तीय संस्था र कर्पोरेट क्षेत्रमा रोजगारी प्राप्ति गर्न बीबीए निकै उपयोगी रहेको विज्ञहरू बताउँछन् । व्यवस्थापन, त्यसमा पनि बीबीए अध्ययन गरेका विद्यार्थीहरूका लागि कम्तीमा पनि मध्यमस्तरको जीवन बिताउन आर्थिक रूपमा अप्ठेरो नपर्ने उनीहरूको दाबी छ ।

‘बैंकिङ र कर्पोरेट क्षेत्रसँग सम्बन्धित विषय बीबीए हो । यसले वित्तीय बजारको बारेमा ज्ञान दिन्छ । न्यूनतम स्रोतसाधन र प्रयासबाट अधिकतम नतिजा प्राप्त गर्ने कला प्रदान गर्छ,’ त्रिवि व्यवस्थापन केन्द्रीय विभागका सहप्राध्यापक ध्रुवलाल पाण्डेले भने, ‘यो विषय अध्ययन गर्दा सैद्धान्तिकसँगै व्यावहारिक कक्षा पनि धेरै हुन्छ । यसले रोजगारीका लागि मात्र नभएर स्वरोजगार र आत्मनिर्भर बन्न पनि धेरै ज्ञान दिन्छ ।’ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा बीबीए गरेका विद्यार्थी नै बढी उपयोगी हुने उनको दाबी छ । ‘बीबीए गरेका विद्यार्थीमा तुलनात्मक रूपमा वाणिज्य र व्यवसायसम्बन्धी जानकारी, कार्यपत्र प्रस्तुतीकरण र नेतृत्व लिने क्षमता राम्रो हुन्छ,’ उनले थपे ।

‘थ्री एम’ अर्थात् म्यान, मनी र मेसिनको उचित प्रयोग नै व्यवस्थापन हो । सही समयमा यी तीन कुराको व्यवस्थापन गर्न जाने हरेक व्यक्ति जुनसुकै काममा सफल हुन्छ । व्यवस्थापनको पढाइले विद्यार्थीहरूलाई धन, जन र वस्तुको कुशल प्रयोग गरी सन्तोषजनक सफलता प्राप्त गर्ने उद्देश्यतर्फ उन्मुख हुन सहयोग गर्छ । यसले कुनै पनि विषयमा पूर्वानुमान गर्न, योजना बनाउन, संगठन, आदेश, समन्वयजस्ता काम गर्न सिकाउँछ । मानिसभित्र सीप, कला, क्षमता, सोच, उत्प्रेरणा, मनोबल, दृष्टिकोण, रचनात्मकता आदि हुन्छ भने भौतिक साधनभित्र उपकरण, प्रक्रिया, पद्धति, क्रियाकलाप पर्छन् । वित्तीय साधनभित्र पुँजी, स्रोत, मुद्रा पर्छन् । यी सम्पूर्ण तत्त्वलाई एकीकृत गरी संगठनको लक्ष्य प्राप्तिमा उन्मुख गराउने काम व्यवस्थापनले गर्छ । यसकारण व्यवस्थापनलाई न्यूनतम स्रोतसाधनबाट अधिकतम नतिजा प्राप्त गर्ने कलाका रूपमा विश्लेषण गरिँदै आइएको छ ।

बैंक तथा वित्तीय संस्था, बिमा मात्र होइन, कर्पोरेट र सरकारी क्षेत्रमा काम गर्न चाहनेका लागि पनि बीबीए उपयुक्त विषय भएको हिमालयन ह्वाइटहाउस कलेजका बीबीए संयोजक अमित गुप्ता बताउँछन् । उत्कृष्ट पाठ्यक्रम, बहुआयामिक विषय, विश्वव्यापी रूपमा परिचित, धेरै क्षेत्रमा रोजगारीको अवसर रहेका कारण पछिल्ला वर्षहरूमा बीबीएमा विद्यार्थीहरूको आकर्षण बढेको उनको दाबी छ ।

बीबीए पढेका विद्यार्थीमा दैनिक कामकाज सञ्चालन, क्रेडिट व्यवस्थापन र वित्तीय व्यवस्थापनको राम्रो ज्ञान हुन्छ । पाठ्यक्रम नै बढी व्यावहारिक र प्रयोगात्मक हुने भएकाले विद्यार्थीको ज्ञान र नेतृत्व लिने क्षमता राम्रोसँग विकास हुने ट्रिटन कलेजका व्यवस्थापन संयोजक कमानसिं आरसी दाबी गर्छन् । ‘व्यवस्थापन पढेका विद्यार्थी बैंक तथा वित्तीय संस्था र बिमाका लागि रेडिमेड प्रडक्टजस्तै हुन्,’ बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्मालले भने ।

बीबीएमा अंग्रेजी, नेपाली, अर्थशास्त्र, लेखा, व्यवस्थापकीय सिद्धान्त, होटल व्यवस्थापन, कम्प्युटर, ट्राभल्स एन्ड टुरिजम्सलगायत विभिन्न विषय पढ्न पाइन्छ । बीबीए, बीबीए बीआई, बीआईएमलगायत पाठ्यक्रम स्नातक तहमा केही चलेका विषय हुन् । विगतमा विज्ञान पढ्न नसक्ने विद्यार्थीले मात्र व्यवस्थापन पढ्ने चलन भएकोमा पछिल्ला वर्षहरूमा राम्रो नम्बरमा एसईई र कक्षा १२ पास भएका विद्यार्थीले पनि व्यवस्थापन विषय पढ्न थालेकाले पनि शिक्षाको गुणस्तरमा सुधार भएको छ ।

प्रकाशित : भाद्र २६, २०७९ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?