के पढ्ने, कहाँ पढ्ने ?- शिक्षा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के पढ्ने, कहाँ पढ्ने ?

अनिवार्य विषय : अंग्रेजी, नेपाली, सामाजिक तथा जीवन उपयोगी शिक्षा वा गणित
ऐच्छिकतर्फ ४ समूह : प्रत्येक समूहबाट १/१ गरी ३ वटा विषय छनोट गरी पढ्न सकिने
सुदीप कैनी

काठमाडौँ — माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक भएसँगै विद्यार्थी तथा अभिभावकमा कक्षा ११ मा पढ्ने विषय र विद्यालय छनोटका लागि दुविधा उत्पन्न भएको हुन सक्छ । 

दुई वर्षअघि कक्षा ११ र १२ मा हुने संकाय प्रणाली हटाइएपछि विद्यार्थीले ऐच्छिक विषय रोजेर पढ्न पाउने व्यवस्था गरिएको छ । यसको आधारमा कक्षा ८ पछि ९ मा भर्ना भएर अध्ययन गर्नु र कक्षा ११ को पढाइ सुरु गर्नुलाई उस्तै मान्न सकिन्छ । तर कक्षा ११ मा विद्यार्थीले ऐच्छिक विषय रोज्न पाउने दायरा निकै फराकिलो भएकाले विद्यार्थी अलमलमा पर्न सक्छन् । कक्षा ११ र १२ मा रोजेर पढ्ने ऐच्छिक विषयले नै भविष्यमा उच्च शिक्षातर्फ कुन विषय अध्ययन गर्ने भन्ने ढोका खुल्छ । त्यसैले पनि विद्यार्थी र अभिभावक अलि चनाखो हुन आवश्यक रहेको शिक्षाविद्हरू बताउँछन् ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतका ४ हजार १ सय ८७ विद्यालयमा कक्षा ११ र १२ को पढाइ हुन्छ । विद्यार्थीले आफ्नो चाहनाअनुसारका विषय छनोट गरेर सामुदायिक र निजी विद्यालयमा अध्ययन गर्ने अवसर पाउँछन् ।

पाठ्यक्रम संरचनामा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन, पत्रकारिता विषयतर्फ विभिन्न विषय छनोट गरेर पढ्ने व्यवस्था मिलाइएको छ ।

अंग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवन उपयोगी शिक्षा वा गणित अनिवार्य विषय छन् भने अन्य विषय विद्यार्थीले रोजेर अध्ययन गर्न पाउँछन् । सामुदायिक विद्यालयमा अनिवार्य विषयका पुस्तकहरू सरकारले निःशुल्क दिने व्यवस्था छ ।

कक्षा ११ र १२ मा पढ्ने ऐच्छिक विषयले नै उच्चशिक्षा (स्नातक तथा स्नातकोत्तर) मा चिकित्सा, इन्जिनियरिङ, विज्ञान प्रविधि, कृषि/पशुविज्ञान, व्यवस्थापन, मानविकी, कानुन, शिक्षा के पढ्ने निर्क्योल गर्छ । कक्षा ११ र १२ को पाठ्यक्रममा विज्ञान, व्यवस्थापन, मानविकी, कानुनलगायत संकाय भनेर ठ्याक्कै विषय किटान नगरे पनि ऐच्छिक समूहबाट यी संकायसँग सम्बन्धित विषय विद्यार्थीले छानेर पढ्न सक्छन् ।

पाठ्यक्रममा ऐच्छिक विषयको चार समूह छ । कोभिडपछि कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्छ भने १२ को परीक्षा बोर्डले लिँदै आएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जनाए । त्यसअघि बोर्डले नै परीक्षा सञ्चालन गर्दै आएको थियो । लेटरग्रेडिङ निर्देशिका २०७८ अनुसार कक्षा ११ र १२ को परीक्षामा सैद्धान्तिकतर्फ न्यूनतम ३५ अंक प्राप्त नगरे ग्रेटसिटमा ‘ननग्रेडिङ’ उल्लेख गरिनेछ । त्यस्ता विद्यार्थीले माथिल्लो कक्षामा पढ्न पाउँदैनन् । यो निर्देशिका २०७९ देखि कार्यान्वयनमा आएको छ ।

एसईईमा भने ग्रेडिङ निर्देशिका २०७२ नै प्रयोग गरेर नतिजा प्रकाशित गरिएको हो । प्रयोगात्मकतर्फको अंक सैद्धान्तिकतर्फ जोडेर ग्रेडिङ गरिएको छ । कक्षा ११ र १२ मा भने न्यूनतम ३५ प्रतिशत अंक ल्याउनैपर्ने अर्यालले जनाए । कक्षा १–१२ मै यही शैक्षिक सत्रदेखि नयाँ लेटर ग्रेडिङ लागू हुने निर्देशिकामा उल्लेख छ ।

के पढ्ने...

ऐच्छिक विषयको पहिलो र दोस्रो समूहमा रहेका १५/१५ विषयमध्ये विद्यार्थीले एक/एक विषय रोज्न मात्र पाउँछन् । तेस्रो समूहका २८ विषयमध्ये एक विषय अध्ययन गर्न पाइन्छ । चौथो समूहमा २४ विषय छन् । ती ४ समूहमध्ये कुनै ३ समूहबाट एक/एक विषय छानेर अध्ययन गर्न पाउने पाठ्क्रम विकास केन्द्रले जनाएको छ । यद्यपि, अध्ययन गर्न चाहेका विद्यार्थीले अतिरिक्त एक विषय थप गर्न सक्ने व्यवस्था छ ।

कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित विषय अध्ययन गर्न न्यूनतम औसत ग्रेड प्वाइन्ट १.६ जीपीए प्राप्त गरी कक्षा १० मा पढेको अंग्रेजी, गणित र विज्ञान विषयमा न्यूनतम ‘सी प्लस’ ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । विज्ञान र गणितबाहेकका विषय पढ्न न्यूनतम औसत ग्रेड प्वाइन्ट १.६ जीपीए प्राप्त गरेको हुनुपर्ने बोर्डले जनाएको छ ।

कक्षा ९–१० पढाइ हुने विद्यालयको संख्या ११ हजार १ सय ८ भए पनि ११ र १२ पढाइ हुने विद्यालयको संख्या न्यून भएकाले धेरै विद्यार्थी नयाँ विद्यालयमा भर्ना हुनुपर्ने अवस्था छ । विद्यालय छनोट गर्दा आफूले चाहेको विषय पढाइ हुने वा नहुने विद्यार्थी अभिभावकले भर्ना अघि यकिन गर्नुपर्छ । कक्षा ९–१० मा प्राविधिक धारतर्फ अध्ययन गरेका विद्यार्थीले ११–१२ मा तिनै विषयसँग सम्बन्धित विषय पढ्न पाउने व्यवस्था छ ।

उच्च शिक्षाको तयारीसँगै स्वरोजगार र रोजगारीमा जान चाहनेका लागि कक्षा ११ र १२ को पढाइ निर्णायक खुड्किलो मानिन्छ । उच्च शिक्षाको तयारीको मुख्य धरातल पनि कक्षा ११ र १२ को पढाइ नै हो । सरकारले माध्यमिक शिक्षा पूरा गरेपछि मुलुकलाई चाहिने प्रारम्भिक स्तरको दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ । साधारण र प्राविधिक धारतर्फको अध्ययनबाट त्यस्ता जनशक्ति तयार हुने अपेक्षा गरिन्छ ।

अर्कोतर्फ प्राविधिक तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत प्राविधिक धारतर्फ डिप्लोमा तहको पठनपाठन हुन्छ । प्राविधिक धारतर्फ डिप्लोमा तहको पढाइ गर्ने विद्यार्थीले पनि कक्षा १२ बराबरको समकक्षता पाउने व्यवस्था छ ।

सीटीईभीटीमा स्वास्थ्यतर्फ १० वटा विषय अध्ययन गर्न सकिन्छ । त्यस्तै, इन्जिनिरिङतर्फ भने १३ विषय छन् । तीबाहेक वन/कृषि, टुरिजम एन्ड हस्पिटालिटीतर्फ कृषि (बाली/कृषि विज्ञान), होटल म्यानेजमेन्ट, सोसियल बर्कर, फुड एन्ड डेरी टेक्नोलोजी र फरेस्ट्री विषय छन् ।

स्वास्थ्यतर्फ भर्ना हुन एसईईमा गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनतम ‘सी ग्रेड’ प्राप्त गरी कम्तीमा २ जीपीए ल्याएको हुनुपर्छ । इन्जिनियरिङका विषय पढ्न एसईईमा गणित, विज्ञानमा कम्तीमा सी ग्रेड र अंग्रेजीमा डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्छ । कृषि तथा वन विज्ञानका विषयमा भर्ना हुन अंग्रेजी, गणित र विज्ञानमध्ये कुनै दुई वटा विषयमा न्यूनतम सी ग्रेड र कुनै एक विषयमा न्यूनतम डी प्लस प्राप्त गरे पनि योग्य हुने सीटीईभीटीले जनाएको छ । यी ३ बाहेक अन्य विषयमा डिप्लोमा अध्ययन गर्न अनिवार्य गणित, अंग्रेजी र विज्ञानमा कम्तीमा ‘डी प्लस’ ल्याएको भए हुन्छ ।

सीटीईभीटीमा प्रि–डिप्लोमा तर्फ विभिन्न १६ विषय छन् । एसईईका सबै विषयमा न्यूनतम ‘ई ग्रेड’ प्राप्त विद्यार्थी प्रि–डिप्लोमा भर्ना हुन पाउने सीटीईभीटीका सूचना अधिकारी विनोद बडालले जानकारी दिए । सीटीईभीटीतर्फको परीक्षा सञ्चालन र प्रमाणीकरणको कामसमेत परीक्षा नियन्त्रण कार्यालय सीटीईभीटीले नै गर्छ । सीटीईभीटीका आंगिक, साझेदारी, सामुदायिक विद्यालय र निजीमा गरी १ हजार १ सय ६ शिक्षण संस्थामा रहेका छन् । यसले एकीकृत रूपमा प्रवेश परीक्षा सञ्चालन गरी विद्यार्थी भर्ना लिन्छ ।

ग्रेडवृद्धि भदौ ११ र १२ मा बोर्डले यस वर्षको एसईईको ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते सञ्चालन हुने जनाएको छ । ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ ५ गतेसम्म फाराम भरेर विद्यालयमा बुझाउनुपर्ने छ । सी वा सीभन्दा कम ग्रेड प्राप्त गरेको विषयमध्ये विद्यार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेको भए ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।

आइतबार सार्वजनिक समयतालिकाअनुसार भदौ ११ र १२ गते बिहान ८ बजेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ । बोर्डले गत बुधबार २०७८ को एसईईको नतिजा सार्वजनिक गरेको थियो । उक्त परीक्षामा सहभागी नियमित परीक्षातर्फका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । ४ लाख ९५ हजार ७ सय ५१ परीक्षार्थीमा सहभागी थिए ।

ऐच्छिक विषय कुन रोज्ने ?

साधारण धारतर्फ

- पहिलो समूह : भौतिक विज्ञान, लेखाविधि, ग्रामीण विकास, विधिशास्त्र/कानुनी सिद्धान्त, स्वास्थ्य तथा शारीरिक शिक्षा, खेलकुद विज्ञान, बालविकास र सिकाइ, मनोविज्ञान, इतिहास, लैंगिक अध्ययन, अतिथि सत्कार व्यवस्थापन, बाली विज्ञान, प्राकृतिक चिकित्सा, मानवमूल्य शिक्षा र मूर्तिकला

- दोस्रो समूह : जीव विज्ञान, शिक्षा विकास, भूगोल, कार्यविधि कानुन, समाजशास्त्र, आयुर्वेद, व्यवसाय अध्ययन, भाषा विज्ञान, राजनीतिशास्त्र, दर्शनशास्त्र, जनसंख्या अध्ययन, बागवानी, खाद्य/पोषण, नृत्य र कम्प्युटर विज्ञान

- तेस्रो समूह : रसायन विज्ञान, अर्थशास्त्र, पर्यटन/पर्वतारोहण अध्ययन, बजारशास्त्र, बुढ्यौली तथा स्याहार शिक्षा, योग, वाद्यवादन, सिलाइ तथा बुनाइ, संवैधानिक कानुन, पाककला, संस्कृति, फेसन, डिजाइनिङ, सिनेमा तथा डकुमेन्ट्री, पशु/पन्छी/माछापालन, नेपाली, अंग्रेजी, मैथिली, नेवारी, हिन्दी, चिनियाँ, जर्मन, जापनिज, कोरियन, उर्दू, फ्रेन्ज, हिब्रु, अरेबिक र संस्कृत

- चौथो समूह : गणित, प्रयोगिक/वाणिज्य गणित, पुस्तकालय तथा सूचना विज्ञान, मानवअधिकार, गृह विज्ञान, वातावरण विज्ञान, साधारण कानुन, वित्तशास्त्र, सहकारी व्यवस्थापन, बौद्ध अध्ययन, प्रयोगिक कला, गायन, चित्रकला, रेसम खेती/मौरी पालन, सौन्दर्यकला/केशकला, औषधिजन्य जडीबुटी, प्लम्बिङ/वायरिङ, आन्तरिक सजावट, होटल व्यवस्थापन, आमसञ्चार

प्रकाशित : श्रावण १७, २०७९ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्

रुचिका आधारमा छानौं विषय र विद्यालय

गोविन्द पोखरेल

काठमाडौँ — कलंकीकी बिन्दिया अधिकारीले ३.८० जीपीए ल्याएर एलआरआई स्कुलबाट एसईई उत्तीर्ण गरिन् । कक्षा ११ मा उनी गुणस्तरीय र राम्रो वातावरणमा पढाइ हुने विद्यालयमा भर्ना हुन चाहन्छिन् । राजधानीका अधिकांश विद्यालयले कक्षा ११ र १२ मा गुणस्तरीय र राम्रो वातावरणमा पढाइ हुने दाबीसहितका विज्ञापन गरेका छन् । 

विभिन्न सञ्चार माध्यममा आएका विज्ञापन देखेर उनी कुन कलेज छनोट गर्ने अन्योलमा परेकी थिइन् । अभिभावक र विषयविज्ञको सल्लाहमा उनले पहिलो चरणमा ४ विद्यालय छानिन् । तीमध्ये कुनै एउटामा भर्ना हुने उनको सोच छ । उनले रोजेका विद्यालयले गुणस्तरीय शिक्षा दिने गरेका र नतिजा राम्रो आउने गरेको उनको भनाइ छ । तर भर्ना हुन भने सजिलो छैन । यसका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्ने भएकाले उनी तयारीमा छन् । भविष्यमा चिकित्सा विज्ञान पढ्ने योजना भएकाले कक्षा ११ मा के पढ्ने भन्नेमा उनी प्रस्ट छिन् ।

एसईई उत्तीर्ण भएपछि कुन विषय लिने र कहाँ पढ्ने भन्ने विषयमा यतिबेला कतिपय विद्यार्थी र अभिभावक द्विविधामा छन् । तर त्यसका लागि सबैभन्दा पहिले विद्यार्थी स्पष्ट हुनुपर्ने हुन्छ । अभिभावकको करकापले नभई विद्यार्थीले आफ्नो रुचिको विषय छनोट गरे सफल हुन सकिन्छ । रुचिसँगै विषयको महत्त्व र सम्भावना पनि हेर्नुपर्ने विज्ञहरूको भनाइ छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र केन्द्रीय विभागकी प्राध्यापक सुशान अचार्य अभिभावकले विद्यार्थीको रुचिलाई समर्थन गर्नॅपर्ने बताउँछिन् । ‘पहिलो कुरा भनेको विद्यार्थीको इच्छा के हो भन्ने हो । इच्छा भएर मात्रै हुँदैन, त्यो विषयको मार्केट नै छैन भने के गर्ने भन्ने सवाल आउँछ । त्यस्तो अवस्थामा इन्टरडिसिप्लिनरी विषय पढ्न मेरो सुझाव हुन्छ,’ उनले भनिन् ।

भविष्यमा विज्ञान र प्रविधि लिएर पढ्ने योजना बुनेका विद्यार्थीलाई कुनै द्विविधा नभए पनि अन्य विषय छनोट गर्दा ख्याल पुर्‍याउन उनले आग्रह गरिन् । ‘आफ्नो रुचि पनि नमरोस् । पढेको विषयबाट भविष्यमा काम पाउन पनि सजिलो होस्,’ उनले भनिन् । उनी विषय छनोट गर्दा द्विविधा पर्ने विद्यार्थीहरूलाई ‘इन्टरडिसिपिलनरी विषय’ लिन सुझाव दिइन् । यी विषय लिँदा विश्वविद्यालयमा भर्ना हुने बेलामा धेरै अवसर हुने र सम्भावना पनि हुने उनले बताइन् ।

हाल विद्यालय तहअन्तर्गत राखिएको कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा अंग्रेजी, नेपाली र सामाजिक अध्ययन वा गणित अनिवार्य विषय हुन् भने अन्य ऐच्छिक विषय छन् । आफूले पढ्ने विषय प्रस्ट भएपछि त्यससम्बन्धी पढाइ हुने विद्यालय खोजेर विद्यार्थीहरू भर्ना हुन सक्ने विज्ञहरूको सुझाव छ ।

विद्यालय छनोट गर्दा विविध पक्षबारे ध्यान पुर्‍याउनुपर्ने हुन्छ । अध्यापन गर्ने शिक्षकको क्षमता र कार्यकौशलताबारे थाहा पाउनुपर्ने हुन्छ । त्यस्तै, विद्यालयको पुरानो नतिजा र अवस्थाबारे पनि बुझ्नुपर्छ । विद्यालयको पारदर्शिता, व्यवस्थापकीय पक्ष र अनुशासन अर्को पाटो हो । भूतपूर्व विद्यार्थीबाट पनि विद्यालयको अवस्थाबारे थाहा पाउन सकिन्छ । उनीहरूसँगको परामर्शले पनि विद्यालय, विषय छनोटमा मद्दत गर्छ । साथै भविष्यका अवसरहरूका बारेमा पनि राम्रो परामर्श मिल्नेछ ।

विद्यालय छनोटको अर्को महत्त्वपूर्ण पाटो भनेको शुल्क पनि हो । विद्यालयले लिने शुल्कअनुसार अध्यापन र गुणस्तरीयता छ वा छैन भन्ने पनि थाहा पाउनुपर्छ । यस्तै, विद्यार्थीले तिर्नुपर्ने शुल्कका विषयमा पनि अभिभावकसँग सल्लाह लिनुपर्ने हुन्छ । सबै कुरा बुझिसकेपछि विद्यार्थीले कलेज छनोट गर्न सक्छन् । काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति एवं शिक्षाविद् प्राध्यापक सुरेशराज शर्मा विषय छनोट गर्दा भविष्यमा आफूले पढ्न चाहेको विषयसँग मिल्दोजुल्दो विषय लिन सुझाव दिन्छन् । ‘युनिभर्सिटीमा पढाइ हुने र रोजगारी हुने किसिमका विषय छनोट गर्दा राम्रो हुन्छ,’ उनले भने ।

विद्यालय छनोट गर्ने सवालमा सबैभन्दा धेरै टेन्सन अभिभावकलाई हुन्छ । यसमा पनि पढाइसँगै शुल्कको कुरा जोडिन्छ । पढ्न खोजेको विषय पढाइ हुने कलेजको शुल्क क्षमताले धान्न नसक्ने अवस्था भयो भने उनीहरू चिन्तित हुन्छन् । यही बेलामा उनीहरूलाई अन्य तेस्रो कलेजबाट कम शुल्कमा पढाइ हुने भनेर विद्यार्थी भर्ना गरिदिने भन्छन् । उनीहरूको त्यसैको लहलहमा लागेर आफ्ना छोराछोरीलाई भर्ना गरिदिन्छन् । तर त्यसरी छनोट गरिएको विद्यालय गलत सावित हुन सक्छ ।

पढाइ नराम्रो हुने, अनुशासन नभएको, व्यवस्थापकीय कमजोर भएको, विवादमा आइरहने विद्यालय पनि हुन सक्छन । त्यसतर्फ अभिभावकहरू सचेत हुन पनि जरुरी देखिन्छ । उच्च शिक्षा अध्ययनका लागि महत्त्वपूर्ण खुड्किलो रहेको कक्षा ११ र १२ मा सिकेका उपलब्धिबाट विद्यार्थीले आफ्नो शैक्षिक भविष्य निर्धारण गर्ने भएकाले विषय र विद्यालय छनोटमा गम्भीर हुनुपर्छ ।

प्रकाशित : श्रावण १७, २०७९ १०:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×