उद्यमी बनाउने सीपमूलक अध्ययन- शिक्षा - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उद्यमी बनाउने सीपमूलक अध्ययन

अहिले १२ पास भएका होटल म्यानेजमेन्टका विद्यार्थीले जापानको भाषा तालिम लिएका छन् भने मासिक २ हजार डलरको अफर आइरहेको छ
सुरज कुँवर

दुई दशकअघि होटल म्यानेजमेन्ट पढ्न भारत गएका काठमाडौं सिफलका सञ्जीव थापा आफूले अध्ययन गरिरहेको विषयबारे खुलेर भन्न सक्दैनथे । उनको टोलमा उनले पढिरहेको विषयबारे गफ हुँदा स्थानीय नाक खुम्च्याउँथे । तर, आज समय बदलिएको छ । सञ्जीव भारतमा होटल व्यवस्थापन सकेर काठमाडौं फर्किएपछि लाजिम्पाटको पाँचतारे र्‍याडिसन, बौद्धको हयात हुँदै बुढानीलकण्ठको पार्कभिलेज होटलमा पुगे ।

त्यहाँबाट अहिले उनी काठमाडौंको हटस्पट मानिने चन्द्रागिरि केवलकार तथा पाँचतारे रिसोर्टको महाप्रबन्धक छन् । ‘समय बदलियो अब आतिथ्य सत्कार नेपालमा फ्रन्टलाइनको पेसा भइसक्यो । पहिले जस्तो काठमाडौंका तारे होटल तथा रिसोर्टमा सेफ र होटलका जीएममा भारतीयलगायतका विदेशी छैनन्,’ उनले भने ।

होटल म्यानेजमेन्ट खाना पकाउन सिकाउने प्राविधिक मात्र नभई अतिथि सत्कारसँग सम्बन्धित सम्पूर्ण विषय हो । संसारभर फस्टाउँदो पर्यटन व्यवसायसँग प्रत्यक्ष जोडिएको होटल म्यानेजमेन्ट अध्ययन गर्न दुई दशकअघि सोल्टीमोडमा नाथम (नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान) मात्रै थियो । त्यहाँ अध्ययन गर्न कि त जेहेन्दार हुनुपर्थ्यो कि शक्तिकेन्द्रमा पहँॅच हुनुपर्थ्यो । तर आज देशभर होटल व्यवस्थापन अध्यापन गराउने कलेज, तालिम केन्द्र सयौं छन् ।

‘अहिले त्रिभुवन विश्वविद्यालयबाट अनुमति लिई सातवटै प्रदेशमा ३० भन्दा बढी कलेज चलिरहेका छन्,’ गेट कलेजका सञ्चालक खेमराज लकाईले भने, ‘त्यसैगरी विदेशी विश्वविद्यालयबाट अनुबन्धित कलेजको संख्या पनि कम्तीमा २० नाघिसकेको छ । जसमा काठमाडौं बाहिर पनि विदेशी विश्वविद्यालयद्वारा अनुबन्धित कलेज खुलिसकेका छन् ।’

उनका अनुसार, डिप्लोमा बाहेक हरेक वर्ष २ हजार विद्यार्थी कलेजबाट होटल म्यानेजमेन्ट विषयमा उत्तीर्ण हुन्छन् । त्यसमा धेरै विद्यार्थी नेपालमा बस्न रुचाउँदैनन् । विदेश जान्छन् । अहिले विश्वभरका हस्पिटालिटी उद्योगमा नेपाली विद्यार्थीहरू रुचाइने प्रमुख सूचीमा छन् ।

‘जापानमा हाम्रा विद्यार्थीले काम पाउलान् भनेर कहिल्यै सोचेकै थिएनौं,’ पर्यटन व्यवसायीसमेत रहेका लकाईले भने, ‘अहिले १२ पास भएका होटल म्यानेजमेन्टका विद्यार्थीले यदि जापानको भाषा तालिम लिएका छन् भने मासिक २ हजार डलरको अफर आइरहेको छ । जापानी युवाहरू अरू नै विकल्पमा आकर्षित भएकाले नेपाली, कम्बोडियन, भियतनामी विद्यार्थी जापानका उद्योगमा रुचाइएका छन् ।’ सीपसँगै जोडिएको होटल म्यानेजमेन्ट विषय अध्ययन गरेका नेपाली विद्यार्थीलाई जापान मात्रै होइन, युरोपका अधिकांश मुलुकले पनि अहिले सजिलै भिसा दिने गरेको छ । ‘मध्यपूर्वका देशमा नेपाली विद्यार्थीहरू रोजाइमा थिए नै, अब त पूर्वी एसियामा पनि नेपाली विद्यार्थीहरू फैलिरहेका छन्,’ लकाईले भने, ‘बाहिर अध्ययन गर्न गएका विद्यार्थीहरू आफैं उद्यमी बनेर थुप्रैलाई रोजगार दिइरहेका छन् ।’

होटल म्यानेजमेन्ट अध्ययन गरेकाहरू उद्यमी बन्ने सम्भावना त छँदै छ, यसबाहेक होटल, रेस्टुरेन्ट, रिसोर्ट, वायु सेवा कम्पनी, सरकारी कार्यालय, इभेन्ट, क्याटरिङ, टुर एन्ड ट्राभल एजेन्सी, ठूलठूला पानी जहाजलगायत पर्यटन हब भएका मुलुक र गन्तव्यमा रोजगार पाउँछन् ।

कुनै पनि मुलुकमा पर्यटक आउँदा र फर्किंदा कस्तो बिदाइ भयो । कस्तो सत्कार गरियो । नौलो खान्की के खाए आदि यसै विषयसँग जोडिन्छन् । कृषिप्रधान नेपालमा पर्यटनको सम्भावना अत्यधिक भएकाले यो विषय अध्ययन गरेकाले विदेश नै गइरहनु पर्दैन । त्यसैगरी नेपालले दुई पटक भ्रमण वर्ष आयोजना गर्दा अर्बौंका होटल उद्योग स्थापना भएकाले नेपालमै पनि अहिले नेतृत्व तहमा होटल म्यानेजमेन्ट अध्ययन गरेका विद्यार्थीको अभावै देखिन्छ ।

अहिले भक्तपुरमा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले ‘पढ्दै काम गर्दै’ प्रणालीको डिप्लोमा पाठ्यक्रम विकास गरेको छ । जसमा विद्यार्थीले काम गर्दै पढ्दै परीक्षामा भाग लिन पाउँछन् । यसले विद्यार्थीलाई पुस्तकको ज्ञानमा थप सीप सिकाउन मद्दत पुग्छ । त्यस्तै नाथमले देशभर शाखा विस्तारको कार्य अघि बढाइसकेको छ ।

विद्यालय सञ्चालकहरूका अनुसार, दुई वर्षको डिप्लोमा वा प्लसटुमा विद्यार्थीलाई इन्टर्नसिप गराइन्छ । स्नातकमा त विद्यार्थीहरू इन्टर्नसिपका लागि विदेश नै जान पाउँछन् । त्यसैले एसईईपछि ठूलो लगानी नभएका विद्यार्थीका लागि दुई वर्षकै अध्ययनले रोजगार दिलाउने वा उद्यमी बन्ने अवसर दिने विषय हो होटल म्यानेजमेन्ट । गेट कलेजका सञ्चालक लकाईका अनुसार, १२ सकिएपछि पढ्दै कामै गर्छु भन्नेलाई होटल म्यानेजमेन्ट विषय छनोट गर्दा पछुतो हुँदैन ।

प्रकाशित : श्रावण १७, २०७९ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्

‘आगामी शैक्षिक सत्रबाटै स्तरीकृत परीक्षा’

कक्षा १२ सम्म विद्यालय तह भएकाले यसलाई गुणस्तरीय बनाउन शिक्षण प्रद्धति पनि बलियो बनाउनुपर्छ, त्यसका लागि विद्यालयमा गुणस्तरीय शिक्षक तयार गर्ने जिम्मेवारी बोर्डको नभई सरकारको हो
महाश्रम शर्मा

राष्ट्रिय परीक्षा बोर्ड बन्नुभन्दा अगाडि उच्च माध्यमिक शिक्षा परिषद् थियो । परिषद्को काम कक्षा ११ र १२ को परीक्षा लिनेमात्रै नभएर पाठ्यक्रम निर्माण, विद्यालय सञ्चालन अनुमति, अनुगमन, मूल्यांकन, परीक्षा विश्लेषणलगायत सबै किसिमको जिम्मेवारी थियो । तत्कालीन रूपमा परीक्षा नियन्त्रण कार्यालय नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गत थियो । त्यसले कक्षा १० को एसएलसी परीक्षा सञ्चालन गर्थ्यो । त्यसको परीक्षा सञ्चालन र नतिजा प्रकाशन आफैं गर्थ्यो ।

राष्ट्रिय परीक्षा बोर्ड बनेपछि उच्च माध्यमिक शिक्षा परिषद्ले तत्कालीन गरेका कतिपय काम पाठ्यक्रम विकास केन्द्र र स्थानीय सरकारलाई पुगेको छ । कतिपय शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हेर्छ । खासगरी परीक्षासँग सम्बन्धित विषयहरू परीक्षा र मूल्यांकन, बाह्य परीक्षाका कुराहरू बोर्डले हेर्दछ । आन्तरिक मूल्यांकनको सन्दर्भमा धेरैजसो पाठ्यक्रम विकास केन्द्रले हेर्छ । समग्र नीति निर्माणका निम्ति अभिभावक संस्था राष्ट्रिय परीक्षा बोर्ड हो । यसले विद्यालय तहको परीक्षा प्रणाली हेर्छ । अहिलेको सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्ड परीक्षा लिने र परीक्षाको नतिजा निकाल्ने काममै सीमित भएको छ ।

बोर्डको काम परीक्षा लिने र नतिजा प्रकाशन गर्ने मात्रै होइन । बोर्ड ती कामतर्फ जान खोजिरहेको छ । बोर्ड समग्र परीक्षा तथा मूल्यांकनको अभिभावक संस्था भएको कारणले राष्ट्रव्यापी रूपमा विद्यमान ऐन, नियमको परिधिभित्र रहेर कक्षा १० र कक्षा १२ को परीक्षाको प्रमाणीकरण गर्दै आएको छ ।

यति हुँदाहुँदै यस पटक २०७८ को एसईई परीक्षा सञ्चालनको सन्दर्भमा प्रदेश परीक्षा व्यवस्थापन समिति प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा समिति बनाइयो । समितिले प्रदेशअन्तर्गतका एसईई परीक्षाको सञ्चालन व्यवस्थापनमा काम गर्‍यो । प्रश्नपत्र निर्माण र नतिजा प्रकाशनको काम बोर्डले र प्राप्तांक चढाउनेदेखि परीक्षा सञ्चालन व्यवस्थापन र नतिजा तयारीको कामचाहिँ प्रदेश समितिअन्तर्गत प्रदेश निर्देशनालयले गर्ने भन्यौं । नतिजा प्रकाशन अलि कति प्राविधिक विषय भएको कारणले अझै प्रदेशले नतिजा निकाल्ने, प्रोसेसिङ, प्राप्तांक चढाउने काम गर्न सकेको छैन । क्षमता अभिवृद्धिका निम्ति सूचना प्रविधिमैत्रीका काम भइरहेको छ । त्यसपछि यस पटकभन्दा बढी काम हुनेछ ।

बोर्डले अहिले परीक्षा सञ्चालनका निम्ति प्रश्नपत्र निर्माण, प्रश्नपत्र मोडरेसनका काम गरिरहेको छ । प्रश्नपत्र निर्माण र परीक्षा सञ्चालनपछि उत्तरपुस्तिका परीक्षणभन्दा अगाडि हरेक विषयका ५०–६० शिक्षकको कार्यशाला गरेर, प्रश्नपत्र हेरेर त्यसको मार्किङ स्किम तयार गर्ने, उत्तरकुन्जिका तयार गर्ने र त्यसका आधारमा उत्तरपुस्तिका परीक्षण गर्ने काम गरिएको छ । यसको अर्थ कुनै पनि परीक्षाको नतिजालाई उत्तरपुस्तिका परीक्षण गर्दा त्यसको फरकपन (भेरियसन) धेरै नआओस् । नेपालका विभिन्न ठाउँहरूमा परीक्षा सञ्चालन हुन्छ । तर, विभिन्न शिक्षकबीच भेरियसन नआओस् भनेर डिटेल मार्किङ स्किमको काम भइरहेको छ ।

यो वर्षदेखि हामीले स्तरीकृत प्रश्नपत्रबाट परीक्षा सञ्चालन तयारी गर्दै छौं । कक्षा १० को तीन विषय अंग्रेजी, गणित र विज्ञानको स्तरीकृत प्रश्नपत्रबाट स्तरीकृत परीक्षा हुनेछ । त्यसको प्रश्नपत्रहरू तयार भएका छन् । प्रश्नपत्र बैंक बनेको छ । त्यो बैंकमा सातै प्रदेशका लागि विभिन्न समानान्तर सेटहरू छन् । त्यसलाई विद्यार्थीमाझ परीक्षण गरिसकेका छौं । जाँच भइसकेको छ, विश्लेषण गर्न बाँकी छ । त्यसको नतिजाअनुसार प्रश्नपत्रको सजिला, अप्ठ्यारा मिलाएर अर्को वर्षबाट कक्षा १० को हकमा यो लागू हुन्छ । परीक्षा व्यवस्थापन भने प्रदेश समितिले गर्दछ ।

यसैगरी तल्लो कक्षा आधारभूत तहमा पनि विद्यालयमा शिक्षकलाई तालिम दिँदै छौं । पाठ्यक्रम, पाठ्यक्रमअनुसारको विशिष्टीकरण तालिका, तालिका अनुसारको प्रश्नपत्र निर्माण र त्यहीअनुसारको सबै ठाउँमा, सबै स्थानीय तहमा एउटै किसिमको स्टान्डर्ड कायम गर्न पहल भएको छ । एउटै स्तर कायम गर्न अंग्रेजी, गणित र विज्ञानको गाइड बुक तयार गरेका छौं । स्थानीय सरकारका शिक्षा हेर्ने अधिकृतहरू र तीनवटै विषयका शिक्षकका लागि अनलाइन ओरिएन्टेसन भएको छ । अब हरेक पालिकामा ओरिएन्टेसन र त्यसअनुसारको प्रश्नपत्र निर्माणका निम्ति केन्द्रीय तहमा तयार गरिएका मास्टर ट्रेनर्सहरू जानेछन् । आउँदो भदौभित्र प्रदेश र जिल्लाहरूमा ट्रेनर तयार हुनेछ । ती ट्रेनर्सहरूले स्थानीय तहमा कार्यशाला सञ्चालन गर्नेछन् ।

त्यस्तै शिक्षकलाई क्षमता अभिवृद्धि गर्ने काममा शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सनजस्ता संस्थाको भूमिका पनि महत्त्वपूर्ण रहन्छ । विद्यालय शिक्षा स्थानीय सरकारले कार्यान्वयन गर्ने हो । त्यसको सहजीकरण संघीय सरकारले गर्नुपर्छ । बोर्डले तयार गरेका हरेक सामग्री वेबसाइटमा मात्रै राखेर पुगेन । हरेक स्थानीय तहसम्म पुग्न त्यो लाइनमा काम गर्दै छौं । कक्षाकोठामा शिक्षण सिकाइ राम्रो हुनुपर्छ ।

परीक्षा केन्द्रित भएरमात्र हुन्न । शिक्षकलाई परीक्षा कसरी लिने, प्रश्नपत्र कसरी बनाउने भन्नेबारे तालिम नदिएसम्म, शिक्षकले थाहा नपाएसम्म विद्यार्थीको उचित मूल्यांकन हुन सक्दैन । विद्यार्थीको राम्रो नतिजाका निम्ति तल्लो तहबाट शिक्षकले थाहा पाउनुपर्छ । त्यही अनुसारको शिक्षण सिकाइ गर्न सक्छ । त्यसो हुँदा शैक्षिक गुणस्तर कायम हुन सक्छ भन्ने मान्यताका साथ अहिले बोर्डले काम गर्दै छ ।

बोर्डले अहिले नतिजा सार्वजनिक भएको नतिजाको विश्लेषण गर्छ । के कारणले नतिजा राम्रो/नराम्रो भयो । के सुधार गर्नुपर्‍यो । विद्यार्थीको स्तर र ककेले नतिजामा असर पार्‍यो । कक्षाकोठाभित्र पठनपाठनका कारण, प्रश्नपत्रको कारण, प्रश्नपत्र सोधिएको समयको कारण अथवा ठाउँअनुसार फरक भएर हो कि ? नीतिगत कुराले हो कि ? बोर्ड यो वर्ष विश्लेषण गर्नेछ । त्यसपछि मानक परीक्षाका निम्ति तालिम दिनेछौं । विद्यार्थी अहिले परीक्षाको नतिजा लिन केन्द्रमै आउनुपर्ने बाध्यता छ । अब सूचना प्रविधिको सफ्टवेयर विस्तार गरी प्रदेश र जिल्लाबाट विद्यालयले आफ्ना सूचना, प्रमाणपत्र पाउने बाटो खुल्दै छ ।

स्तरीकृत परीक्षा आगामी शैक्षिक सत्रको परीक्षाबाट सुरु हुन्छ, कक्षा १० को । कक्षा ८ को परीक्षा ७ सय ५३ मध्ये निश्चित पालिकाले यो वर्षको वार्षिक परीक्षा स्तरीकृत परीक्षा गर्दै छन् । आगामी साढे तीन वर्ष कक्षा ८ को एउटै मापदण्डको स्तरीकृत परीक्षा सञ्चालन भइसक्नेछ । अरू कक्षाको सन्दर्भमा भने राष्ट्रिय परीक्षा बोर्डले गरेर मात्र पुग्दैन । पाठ्यक्रम विकास केन्द्र, मानव स्रोत विकास केन्द्र, स्थानीय सरकार सबैको साझा जिम्मेवारी हो । परीक्षा तथा मूल्यांकनको निम्ति बोर्डले निर्देश (गाइडेन्स) दिन्छ र सहजीकरण गर्छ । काम गर्ने स्थानीय तहले हो । यसका लागि सबैको सहयोग आवश्यक छ । स्रोतको पनि उत्तिकै आवश्यक छ । बोर्डले स्रोत दिँदैन, प्राविधिक सहयोग गर्छ । मास्टर्स ट्रेनर तयार पारेर प्रदेशका आवश्यकताअनुसार उपलब्ध गराउँछौं । त्यसपछि प्रदेश र स्थानीय सरकारले गर्नुपर्छ । स्तरीकृत प्रश्नपत्र निर्माणको चरणमा छौं । त्यसपछि क्रमशः सर्टिफिकेसनका काममा जानेछौं ।

कक्षा १२ सम्म विद्यालय तह भएकाले यसलाई गुणस्तरीय बनाउन सिकाइ पनि बलियो हुनुपर्छ । त्यसका लागि विद्यालयमा गुणस्तरीय शिक्षक तयार गर्ने जिम्मेवारी बोर्डको नभई सरकारको हो । बोर्डले नतिजा विश्लेषण गरेर संघ, स्थानीय तह र विद्यालयगत आधारमा सुधार गर्नेपर्ने सुधारका पाटाहरू सुझाउने छ । परीक्षामा भएका त्रुटि हटाउन अरूसँग सहकार्य गर्दै जानेछौं । त्यो भएमात्र साँच्चै यसको नतिजालाई अझै राम्रो र दक्ष, विद्यार्थीले पढ्ने वातावरण सिर्जना गर्ने, परीक्षा व्यवस्थापन गराउन सकिन्छ ।

अहिले कक्षाकोठामा केही नहेर्ने र परीक्षामात्र हेर्ने भन्ने छ । परीक्षाले पनि पढ्ने कुरालाई मात्र निर्देश गर्छ । तर, आन्तरिक मूल्यांकन विधि पनि हुनुपर्छ । त्यो पनि विद्यार्थीको मूल्यांकन नै हो । समय–समयमा स्तरीकृत परीक्षा भयो विद्यार्थीलाई सामर्थ्य बढाउँछ । कक्षा ८, कक्षा १० र कक्षा १२ को अन्तिममा हुने परीक्षाहरू विद्यार्थीले आफूलाई हेरेर अघि बढ्न सक्छ । कक्षा १२ सम्म आफूलाई प्रगतिशील तुल्याउँदै जाने हो । विद्यालयले पनि आफ्नो विद्यार्थीलाई त्यसैअनुसारको प्रगति गराउनुपर्छ । यसरी कक्षा १२ पछि विश्वविद्यालय जानलायक विद्यार्थी उत्पादन गर्ने हो । सिद्धान्त मात्र भएर पुगेन । हरेक विद्यालयले वास्तविक ढंगमा स्तरीकृत गर्नुपर्छ । सरकारले सन् २०३० सम्म शिक्षा क्षेत्रका लागि दिगो विकास लक्ष्य तय गरेको छ । आठ वर्षमा लक्ष्य प्राप्त गर्न बोर्डको मात्र नभई सरकार र अन्य सरोकारवालाको भूमिका पनि महत्त्वपूर्ण छ ।

(राष्ट्रिय परीक्षा बोर्ड अध्यक्ष शर्मासँग गणेश राईले गरेको कुराकानीमा आधारित)

प्रकाशित : श्रावण १७, २०७९ १०:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×