कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

व्यावहारिक र जीवन उपयोगी शिक्षा आवश्यक

कान्तिपुर संवाददाता

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक भएसँगै विद्यार्थी तथा अभिभावकमा कक्षा ११ मा पढ्ने विषय र विद्यालय छनोटका लागि दुविधा उत्पन्न भएको हुन सक्छ । कक्षा ११ मा पढ्दा व्यावहारिक र जीवन उपयोगी शिक्षा आवश्यक रहने विज्ञहरुको राय छ ।

व्यावहारिक र जीवन उपयोगी शिक्षा आवश्यक

हामीले पढ्दाताका भन्दा शैक्षिक विधि सुधार हुँदै छ

रोशी लामिछाने

सहायक प्राध्यापक, काठमाडौं विश्वविद्यालय

सन् २००३–२००५ एस इन्स्टिच्युट अफ म्यानेजमेन्टमा प्लस टुको अध्ययन गरेकी हुँ । त्यसपछि स्नातक तह काठमाडौं स्कुल अफ म्यानेजमेन्टबाट पूरा गरें । त्यसपछि भारत सरकारको छात्रवृत्तिमा हैदरावादस्थित उस्मानिया विश्वविद्यालयमा स्नातकोत्तर गर्ने अवसर पाएँ । त्यसपछि काठमाडौं विश्वविद्यालयबाट एमफिल गरें । अहिले एसियन इन्स्टिच्युट टेक्नोलोजी (एआईटी) मा पीएचडी गर्दै छु ।

एक दशकदेखि अध्यापनमा सक्रिय छु । त्यसले गर्दा नयाँनयाँ विद्यार्थीहरूसँग अन्तर्क्रिया हुन्छ । हामीले पढ्दा र अहिले कति फरक भयो र त्यसलाई विद्यार्थीले कसरी लिइरहेका छन् केही जानकारी हुन्छ । कुनै निश्चित विषयमाथि टिप्पणी गर्नुभन्दा समग्रमा हेर्नुपर्छ । हाम्रो पाठ्यक्रम ‘प्लस टु’ लेभलसम्म प्रतिस्पर्धात्मक नै छ । २–३ महिनामा विदेश अध्ययनका लागि ६०–७० हजार विद्यार्थीले अनुमति लिएको आवेदन दिएको र बाहिर गइरहेको समाचार नै आएको छ । बाहिरका राम्रो विश्वविद्यालयहरूमा भर्ना हुने कुराले प्रतिस्पर्धात्मक क्षमता पनि देखाउँछ । विषयवस्तुमा सैद्धान्तिक विषयलाई हेर्ने हो भने राम्रो रहेको छ । तर कमजोरी भनेको प्रयोगात्मक क्षेत्रमा हो ।

भावी पुस्ताको विषयमा कुरा गर्दा विद्यार्थीलाई पूर्ण रूपमा सक्षम बनाउनका लागि सामाजिक विज्ञानको विषयलाई जोड दिनुपर्ने हुन्छ । हामी विज्ञान वा व्यवस्थापनको विषयहरू पढाउँदा त्यस विषय सम्बन्धमा जानकार हुने भए, तर त्यसबाहेक जीवनमा अन्य कुरा पनि आवश्यक पर्छन् । आचार–विचार, नैतिकता वा एउटा नागरिकको रूपमा भूमिका विषयहरू त्यति जोडिएको छैन । अर्को विषयमा भने प्रयोगात्मक रूपमा अध्यापन हुँदैन । अहिले सैद्धान्तिक र प्रयोगात्मक भनेर नम्बर भने दिने गरिएकोे छ । विद्यार्थीहरूको ग्रेड हेर्दा त्यो देखिन्छ । ग्रेडको प्याटर्न हाम्रो समयभन्दा फरक रहेको छ ।

नेपाल, अंग्रेजी वा गणितसहित सबैमा त्यस्तो देखिन्छ । हेर्दा पूरै प्रयोगात्मकतर्फ गएको जस्तो देखिन्छ तर त्यसको अभ्यास कति छ भनेर सोच्नुपर्ने अवस्था छ । पहिलेभन्दा अहिले प्रयोगात्मक कुरामा जोड भने दिन थालेका छन् । तर त्यो पर्याप्त भने छैन । अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग सम्बन्ध भएका कलेजहरूका कारणले पनि त्यस्तो भएको होला । यति हुँदाहुँदै पनि समाज विज्ञानको विषयलाई त्यति जोड दिएको देखिँदैन ।

विद्यार्थीहरूसँगको अन्तर्क्रियाबाट समकालीन विषयहरूमा उनीहरूको बुझाइ भने कमजोर रहेको देखिन्छ । सामान्य ज्ञान रहेको पाएँ । ‘प्लस टु’ पढेको विद्यार्थीमा जुन स्तरको नागरिक चेतना हुनुपर्ने हो त्यो भने देखिँदैन । देशमा के भइरहेको छ भनेर सोध्दा अधिकांश विद्यार्थीसँग जवाफ हुँदैन ।

पाठ्यक्रम स्तरीय भएर मात्र हुँदैन

सुमन सत्याल

सहायक प्राध्यापक, युनिभर्सिटी अफ अर्लिङटन, टेक्सास, अमेरिका

भक्तपुरको गट्ठाघरको इङ्लिस स्कुलबाट एसएलसी पास गरेपछि बानेश्वरमा रहेको नोबेल एकेडेमी भर्ना भएँ । त्यस समयसम्म ‘प्लस टु’ को त्यति चलन थिएन । अहिले ११–१२ कक्षा भनिन्छ । सन् १९९९ मा नोबेल एकेडेमीको पहिलो ब्याच हामी नै थियौं । पहिले आईएस्सी भर्ना हुनुपर्छ भन्ने पनि थियो । के रहेछ भनेर बुझ्न नोबेल पुग्दा डा. तारानाथ शर्मा प्रिन्सिपल हुनुहुन्थ्यो । उहाँसँग कुराकानी गरेपछि भर्ना भएँ । प्लस टु सकेपछि थप अध्ययनका लागि अमेरिका आएँ । सुरुमा मिजोरी राज्य आएको थिएँ । तर भौतिकशास्त्र टेक्सासमा पढ्न गएँ । विज्ञान पढ्दा त्यहाँ २ वटा सेमेस्टरमा निकै सहयोग भयो । रसायनशास्त्र, गणित र भौतिकशास्त्रको नेपालमै पढेको विषयले सहयोग गरेको थियो । त्यसले हामीले नेपालमा नपढेको अन्य विषयमा बढी ध्यान दिन सकियो । एक प्रकारले भन्ने हो भने नेपालको शिक्षाबाट अमेरिकी शिक्षामा जान/गर्न सहयोग भयो । एक किसिमले भन्दा संक्रमणकाल सहज भयो । टेक्सासस्थित अर्लिङटन विश्वविद्यालयबाट पीएचडी गरें । अहिले यहीं एस्ट्रोफिजिक्स पढाउँदै छु ।

नेपाल र अमेरिकामा अध्यापन विधिमा भने ठूलो अन्तर पाएँ । हामीले नेपालमा पढ्दा सिद्धान्त र फर्मुला कण्ठस्थ गर्न लगाइन्छ । मैले पनि कैयौं रात नसुती विभिन्न सिद्धान्त र फर्मुला कण्ठ पारेको हो । यहाँ विद्यार्थीले सिद्धान्त र फर्मुला परीक्षामा लैजान पाउँछन् । हाम्रोमा व्यावहारिक अभ्यास गर्दै पढ्ने काम हुँदैन । पढ्न त पढ्छौं तर वास्तविक जीवनसँग जोड्ने काम भने हुँदैन । यो कसरी प्रयोग हुन्छ भन्ने जानकारी गराउने गरिएको छैन । त्यो निकै खड्किएको विषय हो । अहिले पनि अध्यापनको कामकै छु र नेपालमा हुनुभएकाहरूसँग पनि सम्पर्क हुन्छ तर शिक्षाको विषयमा पनि कुरा हुन्छ । हाम्रोमा सरहरूले क्याब्रिज र हार्बड बराबरकै पाठ्यक्रम रहेको बताउनुहुन्छ, त्यतिले मात्रै हुने होइन । हाम्रोले त्यस विषयलाई व्यावहारिक बनाइएन भने केही हुँदैन । यी कमजोरीहरू सम्बोधन गर्न सकिएको खण्डमा विद्यालय शिक्षा अन्तर्राष्ट्रियस्तरको हुनेछ ।

भौतिकशास्त्र र रसायनशास्त्रमा नेपालमा सिकेको आधारभूत ज्ञान विदेशमा पनि उपयोगी बन्यो

सुषमा गिरी

वैज्ञानिक, काठमाडौं इन्स्टिच्युट अफ एप्लाइड साइन्सेस (क्यास)

मैले प्लस टु (२०६०–०६२) अमरसिंह कलेज पोखरामा गरेकी हुँ । त्यसपछि वन विज्ञान अध्ययन संस्थानमा स्नातक पढें । पछि अमेरिकाबाट विद्यावारिधि गरें । अहिले ‘क्यास’ मा वैज्ञानिकका रूपमा कार्यरत छु । अहिलेसम्मको मेरो शैक्षिक उपलब्धिको एक प्रकारको जग भनेको प्लसटुसँग पनि जोडिएको छ । त्यसले आधारभूत रूपमा जग बसाउने काम गर्‍यो । त्यसले कुन विषयलाई अघि बढाउने भन्ने पनि सहयोग गर्‍यो । आधारभूत ज्ञान प्राप्त गर्नका लागि निकै सहयोगी रह्यो । मेरो सुरुदेखि नै जीवविज्ञान र वनस्पति विज्ञानतर्फ रुचि थियो । भौतिकशास्त्र र रसायनशास्त्रको ‘प्लस टु’ मा गरेको अध्ययन विद्यावारिधि गर्ने समय पनि काम लाग्यो । वन विज्ञान पढ्न थालेपछि ती सबै कुरा छुटे ।

भौतिकशास्त्र र रसायनशास्त्रमा प्राप्त गरेको आधारभूत ज्ञान मैले पीएचडीको अनुसन्धानमा निकै प्रयोग गरें । रसायनशास्त्रमा विषयमा अनुसन्धान स्वअध्ययन भए पनि त्यसलाई प्लस टुमा पढेको विषयले आधार पनि दिएको थियो । नेपाल र विदेशमा फरकफरक तहमा अध्ययन गरें । तर, केही खट्केका विषयहरू पनि छन् । जुन विदेशमा पढेपछि थाहा हुँदो रहेछ । नेपालमा धेरै सैद्धान्तिक विषयहरू मात्रै पढाइन्छ, सिकाइन्छ ।

प्रयोगात्मक विषय भने पनि त्यस्तो हुँदैन । कहिलेकाहीं फिल्डमा गए पनि त्यति प्रभावकारी थिएन । वास्तविक जीवनमा हामीले पढेको विषय कसरी प्रयोग भइरहेको छ भन्ने विषयमा बुझ्नका लागि कठिन थियो । बाहिर पढ्दा कुनै वास्तविक समस्या दिएर त्यस समाधान खोज्न सिकाइन्छ । नेपालमा फरेस्ट्री पढें । त्यस समयमा त्यहीसँग सम्बन्धित विषयहरू मात्रै लिन पाइन्छ । तर बाहिर त्यस्तो हुने रहेनछ । धेरै विषयमध्ये छनोट गर्न पनि पाइने रहेछ । त्यसले धेरै क्षेत्रमा जान बाटो खुल्छ ।

प्रस्तुति : मणि दाहाल

प्रकाशित : श्रावण १७, २०७९ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?